ताजा समाचार

भारतको विधानसभा निर्वाचनको मतगणना जारी चारमध्ये तीन राज्यमा भाजपालाई अग्रता

काठमाडौं । भारतमा विधानसभा निर्वाचन अन्तर्गत आइतबार बिहानदेखि चार राज्यको मतगणना सुरु भएको छ । मतगणनाको प्रारम्भिक नतिजा अनुसार तीन राज्यमा भारतीय जनता पार्टी (भाजपा) ले बहुमत सिटमा अग्रता बनाएको छ ।

मध्यप्रदेश, राजस्थान, तेलंगाना र छत्तीसगढ राज्यको विधानसभा निर्वाचन अन्तर्गत जारी मतगणनामा भाजपाले तेलंगानाबाहेक तीन वटै राज्यमा बहुमत सिटमा अग्रता बनाएको हो । यद्यपि, मतगणनाको अन्तिम परिणाम आउन बाँकी नै छ ।

मतगणनाको पछिल्लो विवरण अनुसार मध्यप्रदेशमा भाजपा एकल बहुमततर्फ अग्रसर देखिन्छ । २३० सिट रहेको विधानसभामा बहुमतका लागि कम्तीमा ११६ सांसद आवश्यक पर्दछ । तर भाजपाले १६४ सिटमा अग्रता बनाएको छ । यस्तै, कांग्रेस आईले ६३ र अन्य दलले ३ सिटमा अग्रता बनाएका छन् । मध्य प्रदेशमा अघिल्लो विधानसभा निर्वाचनमा भाजपा १०९ सिटमा सीमित थियो भने कांग्रेस आईले ११४ सिट जितेको थियो । अन्य दलले ७ सिट जितेका थिए ।

यस्तै, राजस्थानमा पनि कांग्रेस आईले आफ्नो प्रभाव कायम राख्न सकेन । १९९ सिट रहेको विधानसभामा बहुमतका लागि कम्तीमा १०० सांसद आवश्यक पर्दछ । तर, राजस्थानमा जारी मतगणना अनुसार भाजपाले ११३ सिटमा अग्रता लिँदा कांग्रेस आई ६९ सिटमा अग्रता कायम गर्न सफल भएको छ । अन्य दलले १७ सिटमा अग्रता बनाएका छन् । सन् २०१८ को निर्वाचमा राजस्थानमा कांग्रेस आईले १०० सिट जितेको थियो भने भाजपा ७३ सिटमा सीमित भएको थियो । अन्य दलले २७ सिटमा जितेका थिए ।

छ्रत्तीसगढमा समेत भाजपाले बहुमत सिटमा अग्रता बनाएको छ । जारी मतगणनाको पछिल्लो परिणाम अनुसार ९० सिट रहेको छत्तीसगढ विधानसभा निर्वाचनमा भाजपाले ५३ सिटमा अग्रता लिँदा कांग्रेस आईले ३४ र अन्य दलले ३ सिटमा अग्रता बनाएका छन् ।सन् २०१८ को निर्वाचनमा छत्तीसगढमा भाजपा १५ सिटमा मात्र विजयी भएको थियो । कांग्रेस आई भने ६८ सिटमा जित हासिल गर्दै सत्तामा पुगेको थियो । अन्य दलले ७ सिट जितेका थिए ।

११९ विधानसभा सिट रहेको तेलंगानामा भने कांग्रेस आईले ६६ सिटमा अग्रता लिएको छ । यस्तै, भारत राष्ट्र समितिले ३८, भाजपाले ९ र अन्यले ६ सिटमा अग्रता बनाएका छन् । सन् २०१८ को निर्वाचनमा तेलंगानामा भारत राष्ट्र समितिले ८८, कांग्रेस आईले १९ र भाजपाले एक सिट जितेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org