ताजा समाचार

उपयोगी ‘सिस्नु’: धेरै रोगको औषधी कसरी खाने ?

काठमाडाैँ । सिस्नुलाई अंग्रेजीमा ‘युटिका डिऐका’ स्टिङिङ नेटल भनिन्छ । किनभने यसमा हुने रौंदार काँडाको स्पर्शले बिच्छीले टोकेझैं छालामा पीडा हुन्छ । सिस्नु युरोपेली प्रजातिको वनस्पति हो, जुन भारतमा बेलायतले शासन गर्दा लगभग ८० वर्षअघि भित्रिएको थियो । भारतबाट नै यो नेपालमा भित्रिएको अनुमान गर्न सकिन्छ ।

नेसनल लाइब्रेरी अफ मेडिसिनका अनुसार सिस्नु युरोपेली देशरुमा १५ औं शताब्दीतिर नै पाइएको थियो ।  १९ औं शताब्दीमा भने जर्मनी र अस्ट्रियामा कपडाको कच्चा पदार्थको रुपमा यसको खेती गरेको पाइएको छ ।

पहिले सिस्नुलाई गरिबको खान्कीको रुपमा लिइन्थ्यो । यो टिप्न गाह्रो र पकाउन पनि झन्झट हुने भएकाले मध्यम र उच्च वर्गको रोजाइमा पर्दैन थियो । तर अहिले सिस्नुको महत्त्व वैज्ञानिक रुपमा समेत पुष्टि हुन थालेको छ । त्यसैले पछिल्ला  दिनमा सिस्नु धनीले पनि औषधि सम्झेर खोजी खोजी खान थालेका छन् ।

यसमा हुने मसिनो झुस फर्मिक अम्लले पोल्ने (जलन) वा हिस्टामाइनका कारण छाला सुन्निने गर्छ । त्यसैले सिस्नुले पोल्ने भएकाले पनि यसको सेवन कम भएको हो । तर पानीमा उमालेपछि ती तत्त्वहरू नास भएर जान्छन् । यसको सोही बेफाइदाको कारण पहिले पहिले यातना दिन तथा सजाय दिन यसको प्रयोग गरिन्थ्यो ।

सिस्नुमा भिटामिन ए, भिटामिन सी, भिटामिन डी, आइरन, पोटासियम, म्यागानिज, क्याल्सियम जस्ता पौष्टिक तत्त्व हुन्छ । यसमा भएको पोषक तत्त्व र औषधीय गुणले मानव स्वास्थ्यमा यसले अनेक फाइदा पुर्‍याउँछ ।

मधुमेहमा फाइदाजनक

टाइप २ मधुमेहमा सिस्नुको सेवन फाइदाजनक हुन्छ । यसमा ‘एन्टि–हाइपरग्लाइसेमिक’ एजेन्टहरू हुन्छन्, जसले ब्लड सुगरलाई नियन्त्रण गर्छ । बेलाबेलामा सिस्नुको सुप बनाउने, सिस्नुको धुलोलाई दालमा हालेर खाने वा तरकारीको रुपमा प्रयोग गर्नाले मधुमेह नियन्त्रण गर्न सकिन्छ ।

घाउ चोट छिटो निको पार्छ

सिस्नुमा हुने ‘हाइड्रोअल्कोहोलिक एक्स्ट्र्याक्ट’ले घाउ निको पार्न मद्दत गर्छ । यसमा एन्टि–इन्फ्लेमेटरी र एन्टि–ब्याक्टेरियल गुण पनि हुन्छ, जसले घाउहरू छिटो निको पार्नमा फाइदाजनक हुन्छ ।

उच्च रक्तचाप नियन्त्रण गर्छ

हिजोआज उच्च रक्तचापको समस्या सामान्य भइसकेको छ, यस्तो अवस्थामा पनि चिकित्सकको सल्लाह लिएर सिस्नुको सेवन गर्न सकिन्छ । सिस्नुमा पाइने एन्टि–हाइपरटेन्सिभ गुणहरूले रक्तचाप कम गर्न पनि मद्दत गर्छ । जसकारण उच्च रक्तचापको समस्यालाई कम गर्न सकिन्छ ।

पाचनसम्बन्धी समस्यामा पनि उपयोगी 

सिस्नुले पेटको स्वास्थ्यलाई पनि कायम राख्न मद्दत गर्छ ।  यसले पाचन प्रक्रियालाई ठीकसँग काम गर्न मद्दत गर्छ । साथै गलत खाने बानीका कारण हुने एसिडिटीको समस्यालाई हटाउन पनि सिस्नु उपयोगी हुन्छ । यसमा पाइने एन्टी अल्सर गुणले अल्सरको समस्यालाई कम गर्न पनि मद्दत गर्छ ।

हाडजोर्नीको समस्याबाट जोगाउँछ

यसमा क्याल्सियम पनि हुन्छ, जसले हड्डीलाई मजबुत बनाउने र ओस्टियोपोरोसिस रोगको जोखिम कम गर्छ । सिस्नुले शरीरमा क्याल्सियमको क्षयलाई रोक्छ र हड्डीहरू खोक्रो हुनबाट रोक्छ । साथै जोर्नी दुख्ने समस्याबाट राहत पाउन पनि सिस्नुको प्रयोग गर्न सकिन्छ । सिस्नुको एन्टि–इन्फ्लेमेटरी गुणले हड्डीको दुखाइ र सुन्निने समस्या कम गर्छ ।

मिर्गौला स्वस्थ राख्छ

मिर्गौलासम्बन्धी समस्या, पिसाबनलीको संक्रमण र मिर्गौलाको पत्थरीलाई पनि सिस्नु उपयोगी हुन्छ । यसले रगत शुद्धीकरण बढाउन, क्रिएटिनिन स्तर घटाउन मदत गर्छ । यसको सेवनले शरीरमा रहेको अतिरिक्त नुन पिसाबसँगै बाहिर निस्कन्छ । त्यसैले मिर्गौलासम्बन्धी समस्यामा पनि सिस्नुको सेवन उपयोगी हुन्छ ।

ध्यान दिनुपर्ने कुरा

लो ब्लड प्रेसरको समस्या भएका व्यक्तिले यसको सेवन गर्नु हुँदैन । यसमा ‘एन्टि–हाइपरटेन्सि व’अर्थात् उच्च रक्तचाप नियन्त्रण गर्ने गुण हुन्छ, त्यसैले यसको सेवनले प्रेसर झन् कम हुनसक्छ ।

यसले एलर्जी वा छालामा दाग आउने समस्या निम्त्याउन सक्छ । त्यसैले यसलाई छुँदा वा धुँदा हातमा पञ्जा लगाउनुपर्छ ।

अहिले बजारमा सिस्नुको पाउडर सजिलै उपलब्ध छ । यसलाई सुप, तरकारीको रुपमा वा दालमा मिसाएर  प्रयोग गर्न सकिन्छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org