ताजा समाचार

७ नम्बर प्रदेशका चार जिल्लाका पाँच सय ७१ केन्द्रमा मतदान सुरु

काठमाडौं, १० मंसिर । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको पहिलो चरण अन्तरगत ७ नम्बर प्रदेशका चार जिल्लामा मतदान सुरु भएको छ । दार्चुला, बैतडी, बझाङ र बाजुरामा प्रदेश र प्रतिनिधि सभा सदस्यका लागि बिहान ७ बजेदेखि मतदान सुरु भएको हो । चार जिल्लामा रहेका पाँच सय ७१ मतदान केन्द्रमा मतदान सुरु भएको सुदूरपश्चिम क्षेत्रीय उपप्रशासक शंकर बिष्टले जानकारी दिए ।

दार्चुलाः
जिल्लाका एक सय २९ वटै मतदान केन्द्रमा बिहान ७ बजेदेखि एकसाथ मतदान सुरु भएको दार्चुलाका मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले जानकारी दिए । मतदान गर्न उत्साहित भएका मतदाताहरु बिहानैदेखि लाइनमा बसेको छन् । दार्चुला प्रतिनिधिसभाका लागि पाँच र प्रदेश सभाका लागि १० जना उम्मेदवारहरु चुनावी मैदानमा छन् । यस जिल्लामा ७८ हजार पाँच सय १२ मतदाताले मतदान गर्दैछन् ।

बैतडीः
बैतडीमा एक सय ८२ मतदान केन्द्रमा बिहानैदेखि मतदान सुरु भएको छ । बैतडीमा प्रतिनिधिसभाका लागि पाँच र प्रदेश सभाका लागि सात उम्मेदवार चुनावी मैदानमा रहेका छन् । बैतडीमा पनि अहिलेसम्म शान्तिपूर्ण रुपमा मतदान भईरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । बैतडीमा एक लाख ३२ हजार तीन सय १७ मतदाता रहेका छन् ।

बझाङ र बाजुराः
बझाङ र बाजुरामा पनि शान्तिपूर्ण तरिकाले मतदान भईरहेको सम्वन्धित जिल्लाका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएका छन् । बझाङबाट प्रतिनिधि सभाका लागि ७ र प्रदेश सभाका लागि १० तथा बाजुरामा प्रतिनिधि सभाका लागि तीन र प्रदेश सभाका लागि आठ गरी जम्मा ५५ उम्मेदवारहरु चुनावी मैदानमा छन् ।

बझाङमा एक लाख चार हजार दुई सय ७५ मतदाता रहेका छन् । एक सय ६० मतदान केन्द्र तोकिएको छ । त्यस्तै एक सय मतदान केन्द्र रहेको बाजुरामा ६९ हजार आठ सय ३४ मतदाता रहेका छन् । शुदूरपश्चिमका चारवटै जिल्लामा तीन लाख ८४ हजार नौ सय ३८ मतदाताले मतदान गर्दैछन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org