ताजा समाचार

बाँकेमा लागूऔषध नियन्त्रण चुनौतीपूर्ण बन्दै

नेपालगञ्ज, २२ असार ।  बाँके जिल्लामा लागूऔषधको सेवन र ओसारपोसार नियन्त्रणको प्रयास प्रभावकारी हुन नसकेकोमा चिन्ता व्यक्त गर्न थालिएको छ ।

यस जिल्लामा लागूऔषधका सेवनकर्ता र कारोबारीलाई बेलाबखत प्रहरीले पक्राउ गरेपनि नतिजा सन्तोषजनक भएको पाइँदैन । अहिले बाँके जिल्लालाई लागूऔषधमुक्त र दुव्र्यसनीलाई पुनःस्थापना गर्नका लागि प्रहरी प्रशासनले सतर्कता बढाएको छ ।

सीमानाकामा चेकजाँचमा कडाइ गर्नुका साथै दुव्र्यसनीका लागि विभिन्न संघसंस्थाले पुनःस्थापनाको कार्यक्रम पनि सञ्चालन गरेको पाइन्छ । यति हुँदा पनि यस जिल्लामा लागूऔषध कारोबार र सेवनकर्ताको संख्यामा कमी नआएको सरोकारवाला निकायका पदाधिकारी नै बताउँछन् ।

“बाँके जिल्लामा लागूऔषध सेवन र कारोबार नियन्त्रणका लागि स्थानीय प्रशासनले सरोकारवाला प्रहरी, सामाजिक संस्था, नागरिक समाजसँगको सहकार्यलाई प्राथमिकतामा राखेर काम गरिरहेको भए पनि नियन्त्रणको प्रयासअनुसार नतिजा आउन भने सकेको छैन”– बाँकेका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीको भनाइ छ ।

चालू आवको अहिलेसम्म जिल्ला प्रहरी कार्यालय, बाँकेले २२९ जना लागूऔषध सेवनकर्तालाई पक्राउ गरेको छ । बाँके जिल्लामा खुला सिमाना भएका कारण लागूऔषध नियन्त्रण चुनौतीपूर्ण भएपनि केही महत्वपूर्ण सफलता हासिल भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक टेकबहादुर तामाङ बताउछन् ।

नेपालगञ्जस्थित सहारा हाउसले चालू आवको अहिलेसम्म १५० जनाको पुनःस्थापना गरिसकेको हाउसका कार्यकारी प्रमुख अभिराज क्षेत्रीले बताए । उनका अनुसार सानैदेखि बालबालिकालाई पारिवारिक वातावरण दिन सकियो भने धेरै हदसम्म युवालाई लागूऔषधको कुचक्रबाट टाढा राख्न सकिन्छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org