ताजा समाचार

भीभीआईपीका कारण सर्वसाधारणलाई सास्ती,उपत्यकाको ट्राफिक व्यवस्थापनमा सकस

काठमाडाै १३,भदाै । काठमाडौंमा हुने बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक विकासका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) सम्मेलनका कारण काठमाडौंको ट्राफिक व्यवस्थापन बुधबारबाटै अस्तव्यस्त भएको छ ।

ट्राफिक प्रहरीले सम्मेलनमा सहभागि हुन आउने पाहुनाको सहजतालाई मध्यनजर गर्दै काठमाडौँ उपत्यकामा बुधबारदेखि शुक्रबारसम्म जोर विजोर नम्बरका सवारी सञ्चालन गर्न अनुमति दिएको छ ।
यहि नियमका कारण पहिलो दिन बुधबार विजोर नम्बरका गाडी मात्रै चलेका छन् ।

जोरविजोर प्रणाली लागुभएपछि सडकमा सवारी साधनको संख्या कम भएको छ । तर, सवारी साधन कम भएपछि सर्वसाधरणले घण्टौ कुर्दा पनि यात्रा गर्न पाएका छैनन् ।

हिँडेरै गन्तव्यतर्फ लाग्न बाध्य भएका छन् ।

ट्राफिक प्रहरी महाशाखाका अनुसार भदौ १३ र १५ गते विजोर नम्बरका गाडी चलाउनुपर्नेछ । १४ गते जोर नम्बरका गाडी चल्न पाउनेछन् । नम्बर प्लेटको अन्तिम अंकका आधारमा जोर विजोर लागु हुने भएकाले बुधबार विजोर नम्बरका गाडी मात्रै चलेका छन्  ।

बुधबारबाटै मुख्य सडकमा विशिष्ट पाहुनाको ओहोर दोहोर भइरहने भएकाले पनि सर्वसाधारणलाई मुख्य सडकको यात्रा थप कष्टकर भएको छ । ट्राफिक प्रहरीले अति विशिष्ट पाहुनाको लागि तय भएको सवारी रुटको विकल्प प्रयोग गर्न सुझाव दिएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलदेखि बिमस्टेक सम्मेलनस्थल सोल्टी होटलसम्म तीनवटा सवारी रुट तय गरिएको छ ।

ट्राफिक प्रहरी महाशाखाले विमानस्थलदेखि तीनकुने, बानेश्वर, माइतीघर, थापाथली, त्रिपुरेश्वर, टेकु र कालिमाटी हुँदै सोल्टी होटलसम्मको सडकलाई मुख्य रुट निर्धारण गरेको छ । वैकल्पिक रुटका रूपमा त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल, गौशाला, चाबहिल, महाराजगञ्ज, गोंगबु, बालाजु, स्वयम्भू सीतापाइला, कलंकी, रविभवन हुँदै सोल्टी होटलसम्म निर्धारण गरिएको छ ।

यसैगरी विमानस्थल, तीनकुने, कोटेश्वर, सातदोबाटो, एकान्तकुना, बल्खु, कालीमाटी हुँदै सोल्टीहोटलसम्मको अर्को वैकल्पिक रुट तय गरिएको छ ।

सकेसम्म यो रुट सर्वुाधारणलाई प्रयोग नगर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org