स्य्वेमो महाशयको “देवीका प्रेमपत्रहरू” अनुवाद गर्दाको अनुभव
म औपचारिक रूपमा चिकित्साशास्त्र पढेको, अहिले पनि पेशागत रूपमा रोगीहरूको उपचारमा जुटिरहेको चिकित्सक, आफ्नै विशुद्ध अभिरुचिले मात्र चिनियाँ भाषाबाट अरू भाषामा अनुवाद गर्ने कार्यमा लाग्न थालेको थिएँ । सुरुका दिनहरूमा आफ्नै चिकित्साशास्त्रका प्राविधिक लेखहरू, थेसिसहरूलाई अंग्रेजी भाषामा अनुवाद गरेको थिएँ, पछि अरू विषयका प्राविधिक लेखहरू, विचारप्रधान अथवा समाचारमूलक लेखहरू र सबैभन्दा पछि मात्र विशुद्ध साहित्यको अनुवाद थालेको थिएँ । अहिले गनी हेर्दा मैले चिनियाँ विशुद्ध साहित्यको अनुवाद गर्न थालेको पनि दश वर्ष भइसकेको रहेछ । दश वर्षको समय बीचमा मैले यो समेत गरी चार साहित्यिक पुस्तकको चिनियाँबाट नेपाली भाषामा अनुवाद गरिसकें, ती मध्ये दुईवटाको प्रकाशन भइसकेको छ । यसका साथै मैले चिनियाँ टिभी सिरियल “पश्चिमतिरको यात्रा” र “ब्रुस लीको अमरकथा”, चिनियाँ चलचित्र “थाङ् राजवंशकालीन स्य्वियान् चाङ्” आदिको संवाद पनि अनुवाद गरेको छु । यी टिभी सिरियल, चलचित्र नेपालका टिभी च्यानलहरूबाट प्रसारण पनि भइसकेका छन् ।
करिब तीन वर्षअघि एक अपरिचित व्यक्तिबाट वी–च्याट्मा अनुरोध आयो, अनुरोध स्वीकारेँ । वहाँले चिनियाँया लेखक स्य्वेमोका विद्यार्थी भनेर परिचय दिनुभयो र चीनको केन्द्रीय टिभीको शृङ्खलाबद्ध कार्यक्रम “परदेशको घर” हेरेर मेरोबारे थाहा पाएकी हुँ भन्नुभयो । त्यसपछि एकैचोटी स्य्वेमोको एउटा उपन्यासको चिनियाँ भाषाबाट नेपालीमा अनुवाद गर्नुपर्ने, समय फुर्सद कस्तो छ भनेर सोध्नुभयो । त्यसबेला म तेस्रो पुस्तकको अनुवाद गरिरहेको थिएँ । मैले त्यो पुस्तकको काम सकिएपछि मात्र थाल्न सक्छु होला भनें । वहाँले ‘केही समय ढिलो भएर केही हुँदैन, तर अनुवादका लागि एउटा कन्ट्र्याक्ट छिट्टै हस्ताक्षर गर्नुपर्यो’ भन्नुभयो । आपसमा परिचय नै भएको छैन, एकैचोटी कन्ट्र्याक्ट गर्ने कुराले म अलि अलमलिएँ । सबैभन्दा मुख्य कुरा मलाई स्य्वेमो उपनामका यी लेखकबारे पटक्कै थाहा थिएन । चीनजस्तो विशाल देश जहाँ दशौं हजार लेखक, साहित्यकारहरू रहेका छन्, सबैको बारे थाहा भइरहने कुरा पनि भएन, कुनै लेखक, साहित्यकारबारे धेरैलाई थाहा हुनका लागि कि त उनको कुनै साहित्यिक कृति धेरै लोकप्रिय भएको हुनुपर्यो, कि त कुनै राष्ट्रियस्तरको ठूलो पुरस्कार जितेको हुनुपर्यो । मैले मेरा चिनियाँ लेखक, साहित्यकार मित्रहरूसँग पनि वहाँको बारे सोधें, बुझें, तर चीनका पूर्वी भागमा निवास गर्नुहुने वहाँहरूले कसैले पनि व्यक्तिगत रूपमा थाहा छ भन्नुभएन । सबैले इन्टरनेटमा हेर्न सल्लाह दिनुभयो, त्यो त पहिले नै हेरिसकेको थिएँ ।
यसैबीच एकचोटी अरनिको समाजको काममा पेइचीङ् जाने अवसर मिल्यो । मैले स्य्वेमोका विद्यार्थीलाई सोको जानकारी गराउँदा, त्यो समयमा स्य्वेमो पेइचीङ्मै हुनुहुन्छ, एकचोटी गएर भेट्नुस्, म समय मिलाइदिन्छु भन्नुभयो । पेइचीङ् पुगेपछि पूर्वनिर्धारित समयमा अरनिको समाजका महासचिव डा. सुशील प्रजापति र म वहाँलाई भेट्न गयौं ।
मझौला कद, दाह्री पालेका, चीनिया परम्परागत पोशाक लगाएका स्य्वेमो योगसाधक हुनुहुँदो रहेछ । सुरुमा वहाँ हामीसँग बोल्न अलि हिच्किचाउनुभयो, र अरूतिर हेरेर भन्नुभयो, ‘मलाई स्तरीय चिनियाँ भाषा बोल्न आउँदैन, मैले बोल्ने आफ्नो गाउँघरको चिनियाँ भाषा वहाँहरूले बुझ्ने हुन् कि होइनन् ?’ त्यो सुनेर मैले भनें, ‘जसलाई तपाईंले आफ्नो उपन्यास अनुवाद गराउन विश्वास गर्नुभएको छ उसैले तपार्ईंले बोल्नुभएको बुझेन भने कसरी अनुवाद गर्न सक्ला ? त्यसकारण निर्धक्क भएर बोल्नुहोला ।’ वहाँले आफ्नो गाउँघर कान्सू प्रान्तको लवजमा बोल्नुभएको कुनै कुनै शब्द नबुझिएको बाहेक कुराकानीमा कुनै अवरोध भएन । छोटो समयावधिमा वहाँले ९ वटा उपन्यास र अन्य विभिन्न साहित्यिक, साँस्कृतिक कृतिहरू लेखेर प्रकाशन गर्नुभएको रहेछ र चीनको प्रतिष्ठित प्रकाशक मध्ये एक “चिनियाँ विश्वकोश प्रकाशन”सँग वहाँको विशेष सम्बन्ध रहेछ । वहाँका कुनै पनि पुस्तक उनीहरूले प्रकाशन गर्ने रहेछन् । उक्त प्रकाशनले “स्य्वेमो पुस्तक केन्द्र” नै स्थापना गरेको रहेछ । चीनका ४ ठाउँमा आफ्नो अध्ययन र सांस्कृतिक क्रियाकलापस्थल स्थापना गरी वहाँले आफ्नो ‘साम्राज्य’ नै खडा गर्नुभएको रहेछ ।
तेस्रो पुस्तकको अनुवाद कार्य सकिएपछि स्य्वेमोको पुस्तकको अनुवाद कार्य प्रारम्भ गरें । त्यो “मृत्युहीन वज्रहृदय” नामक एउटा लामो उपन्यासभित्रको ३६ वटा पत्रको पत्राचार अंशलाई मात्र स्वतन्त्र साहित्यिक कृति बनाइएको पुस्तक रहेछ । पुस्तकमा पाँच भागको करिब चार भाग नेपाल (काठमाडौं उपत्यका) निवासी सरस्वतीले चीनको तिब्बत क्षेत्रबाट आएका तिब्बती बुद्धधर्मका साधकलाई लेखेका पत्रहरू रहेका छन् । ती पत्रहरूमा उनीका मनका भावनाहरूका साथसाथै वरपरको भौतिक अवस्था, चाडपर्व, धार्मिक अनुष्ठान, संस्कारहरू पनि प्रतिबिम्बित छन् । स्य्वेमो काठमाडौं उपत्यकामा कतिचोटी आउनुभयो, यहाँ कति समय बस्नुभयो, यहाँको परम्परागत संस्कृतिबारेको जानकारी वहाँले कसबाट कसरी प्राप्त गर्नुभयो, त्योबारे मलाई राम्ररी थाहा छैन । कुनै पनि नयाँ ठाउँलाई आधार बनाई त्यो ठाउँको भूतकालको परिवेश र घटनाको बारेमा उपन्यास लेख्नु अवश्य पनि सहज कुरा होइन । अनि त्यसरी लेखिएको उपन्यास फेरि त्यही ठाउँका स्थानीयहरूले बुझ्ने भाषामा अनुवाद गराई प्रकाशित गर्न त ठूलो साहस चाहिन्छ । स्य्वेमोले त्यो साहस गर्नुभएको छ ।
मेरो जन्म काठमाडौैं उपत्यकाको पाटन शहरको केन्द्रमा भएको हो । मेरो बाल्यकाल त्यही साना सडक र गल्लीहरू, चोक, बहाल, बहिल, मन्दिर भएको, टोलभरिका मानिसहरूले एकआपसलाई चिन्ने, वर्षैैभरि प्रत्येक हप्ताजस्तो चाडपर्व, जात्रा, गुठी, व्रत, पूजा, बाजागाजा आदि सांस्कृतिक क्रियाकलाप भइरहने ठाउँमा बितेको थियो । यो उपन्यासको अनुवाद गर्ने क्रममा धेरैपटक मलाई आफ्नो बाल्यकाल बितेको त्यो ठाउँमा पुनः मानसिक भ्रमण गरेको अनुभव भएको थियो । तर उपन्यासमा वर्णित परिवेश र मेरो बाल्यकालको स्मृतिबीच कतिपय ठूला भिन्नता नभएको भने होइन ।
ऐतिहासिक उपन्यासमा कुनै एक दुई घटना या पात्र काल्पनिक हुनुबाहेक अरू कुराहरू ऐतिहासिक तथ्यपरक हुनुपर्दछ भन्ने मान्यता राख्ने व्यक्ति हुनाले मैले वहाँको उपन्यासको अनुवादको क्रममा ऐतिहासिक सत्यतथ्य, चालचलनसँग नमिलेका कुराहरू नोट गरें र अनुवाद कार्य पूर्ण भएपछि वहाँका विद्यार्थीहरू मार्फत् वहाँसँग सम्पर्क गरी त्यसमा विद्यमान विसङ्गतिपूर्ण कुराहरू अवगत गराएँ र तिनीहरूलाई यसरी सच्याउन सकिन्छ, भनेर सुझाव पनि दिएँ । तर वहाँले मेरा सुझावहरू ध्यानपूर्वक सुनिसकेपछि, त्यो कुनै गम्भीर अर्थमा ऐतिहासिक उपन्यास होइन, त्यसकारण ऐतिहासिक उपन्यासको मानकबाट त्यसलाई हेरिनुपर्दैन, सामान्य उपन्यासहरूमा यस्ता कुराहरू स्वीकार्य छन् भन्नुभयो र मेरा सुझावहरू अनुसार सबै ठाउँमा सच्याउन वहाँ सहमत हुनुभएन, वहाँले अनुमति दिनुभएका वस्तुगतरूपमै नमिल्ने केही ठाउँमात्र सच्याउने काम गरेँ ।
उपन्यासमा स्थानकाल विरोधाभास हुने कतिपय ठाउँहरू छन्, उदाहरणका लागि आजभन्दा एक हजार वर्ष पहिलेका ऐतिहासिक पुरुषको करिब दुई सय वर्ष पहिलेकी युवतीसँग भेट भई प्रेम हुनु, दुई सय वर्ष पहिलेका नेपाली युवतीले चीनका ऐतिहासिक घटनाहरूको उदाहरण दिनु आदि आदि । उपन्यासकारले सामान्य उपन्यासमा यी सबै कुराहरू स्वीकार्य हुन्छ भन्नुभएको हुँदा मूल चीनियामा जे छ, मैले त्यसको अनुवाद गरेर राखिदिएको छु ।
उपन्यासमा केही ठाउँमा कविता जस्ता लाग्ने तर हामीले सामान्य रूपमा सोच्ने कविताभन्दा फरक खालको साहित्यिक संरचना पनि रहेका छन् । ती संरचनाहरूमा बिम्ब, प्रतीक प्रचुर मात्रामा रहेका हुन्छन् र अभिव्यक्ति अस्पष्टखालको हुन्छ । मैले चीनिया प्राचीन साहित्यमा यस प्रकारका लेखन देखेको छु, तर नेपाली साहित्यमा भने बिरलै मात्र पाइन्छ । यस्ता साहित्यिक संरचनाको अनुवाद अति कठिन छ, धेरै परिश्रम लगाएर गरिएको अनुवादले नेपाली पाठकलाई पनि एक प्रकारको अस्पष्ट अनुभूति मात्रै गराउँदछ होला, र मलाई विश्वास छ, मूल साहित्यिक संरचनाबाट अनुभूति हुने अस्पष्टता र अनुदित पाठबाट अनुभूति हुने अस्पष्टमा धेरै भिन्नता छैन होला ।
स्य्वेमोका विद्यार्थीहरूले कुनै बेला मलाई बताउनुभएको थियो, स्य्वेमोका साहित्यिक रचनाहरू तीसभन्दा बढी भाषामा अनुवाद भइसकेका छन्, र वहाँ जहिले पनि कुनै भाषाका सबैभन्दा उच्चस्तरका अनुवादकलाई मात्र आफ्नो रचना अनुवाद गर्न दिनुहुन्छ र अनुवादको कार्य छिटो सकाउनुपर्यो भनेर कहिले पनि दबाब दिनुहुन्न, त्यसको कारण निस्संन्देह सबैभन्दा उच्चस्तरको अनुवाद कृतिको सिर्जना होस् भनेर हो । वहाँहरूले मलाई वहाँको उपन्यासको नेपाली अनुवाद गर्न दिनुभएपछि म पनि वहाँहरूको नजरमा “सबैभन्दा उच्चस्तरका अनुवादक” परेँ । मैले अचम्म मानेर सोधेको थिएँ, ‘तपाईंहरू कोही पनि नेपाली भाषा जान्नुहुन्न, मैले गरेको अनुवाद राम्रो हुन्छ भन्ने कसरी थाहा पाउनुभयो ?’ वहाँहरूको विचारमा राम्रो अनुवाद गर्नाका लागि सबैभन्दा मुख्य कुरा लेखकले चिनियाँ भाषामा लेखेको कुरालाई सही ढङ्गले गहन रूपमा बुझ्नुपर्दछ, यसका लागि चिनियाँ भाषाको ज्ञान मात्र भएर पुग्दैन, चिनियाँ इतिहास, संस्कृति र साहित्यिक परम्पराको पनि ज्ञान हुनुपर्दछ, ‘विभिन्न पक्ष र सूत्रबाट बुझ्दा यस कुरामा तपाईंलाई विश्वास गर्ने वातावरण बनेको छ ।’ मैले भनें, ‘त्यसो भए ठीक छ, नेपाली भाषा मेरो मातृभाषा नै त होइन, तर धेरै सानो उमेरदेखि बोल्न थालेको हुँदा मातृभाषा नै सरह छ, म भरमग्दुर प्रयास गर्नेछु ।’
सन् २०१९ अप्रिल महिनाको मध्यतिर स्य्वेमो महाशय नेपाल–चीन सांस्कृतिक आदानप्रदानका विभिन्न गतिविधिहरूमा सहभागी हुन काठमाडौं आउनुभयो । त्यसबीच हामीहरूले “ताउतः चीङ्को ज्ञान र व्यावसायिक संस्कृति” तथा साहित्यिक रचनाहरूको अनुवाद आदि विषयमा छलफल कार्यक्रम आयोजना गर्याैं । चीनको “ताउतः चीङ्” नामक प्राचीन पुस्तक मलाई पनि मनपर्ने पुस्तक हो, मैले त्यसको केही अध्ययन पनि गरेको छु, साथै त्यसको नेपाली अनुवाद पनि गरेको छु । स्य्वेमो महाशय जस्तै म पनि चीनिया उत्कृष्ट रचनाहरूलाई नेपाल भित्र्याउने, नेपालका उत्कृष्ट रचनाहरू चीनमा पु¥याउने काम गरी दुई देशका साथीहरूले एक आपसबारे जानुन्, एक आपसमा केही सिकुन् र नेपाल–चीन सांस्कृतिक आदानप्रदान र सहकार्यका लागि एक सेतु निर्माण होओस् भन्ने चाहन्छु ।
Comments
अरु समाचार
-
Free Air Tickets to China for Friendly Football Spectators
Kathmandu — Nepal–China friendly football match will be held again this year. Organized on the occasion of China’s traditional New...
-
Nepali Consul General Niraula and Yunnan Normal University Professor Lu Hold Meeting
Lhasa, Magh 15 — A meeting was held on Thursday at the Consulate General office in Lhasa between Nepali Consul...
-
Alexander Kadakin: The Diplomat Who Turned Service into a Lifelong Mission
The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most often associated with India, as it were the relations with this...
-
विनोद चाैधरीलाई अदालतको झड्का, केवाइसी भ्यानको मोनोपोली तोडिदै
काठमाडाैं । अदालत गएर भएपनि शक्ति प्रदर्शन गर्ने ठानेका डलर अर्बपति विनोद चाैधरीलाई जिल्ला अदालत काठमाडाैंको आदेशले झड्का दिएको छ...
-
‘नेपाल मानव अधिकारको संरक्षणप्रति प्रतिबद्ध छ’: परराष्ट्र सचिव अमृतबहादुर राई
काठमाडाैं । नेपाल सरकारका परराष्ट्र सचिव अमृतबहादुर राईले मानव अधिकारको संरक्षण र प्रवर्द्धनप्रति नेपाल पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।...
-
चीनकी नेपाल मामिला प्रमुख झेङ युहा काठमाडौँ आउँदै
काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) को एक उच्चस्तरीय टोली बिहीबार काठमाडौँ आउने भएको छ । बदलिँदो अन्तर्राष्ट्रिय शक्ति सन्तुलन,...
-
Kathmandu Event Highlights Mountaineering Tourism in Nepal–Canada Ties
Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program in Kathmandu to commemorate the 61st year of Nepal–Canada diplomatic...
-
अमेरिकी नागरिकलाई तुरुन्तै इरान छोड्न एडभाइजरी
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग व्यापार गर्ने देशहरूमाथि कडा आर्थिक कारबाहीको घोषणा गरेका छन्। ट्रम्पका अनुसार इरानसँग कुनै...
-
ट्रम्पले आफूलाई घोषणा गरे भेनेजुएलाको कार्यवाहक राष्ट्रपति
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति भएको दाबी गर्दै सनसनी फैलाएका छन्। उनले आफ्नै...











