८५ दिनमा छ अर्ब कमाएपछि थप बिजुली निर्यात गर्दै प्राधिकरण
काठमाडौँ । चर्को व्यापार घाटा सहिरहेको मुलुकका लागि पछिल्ला दिनमा केही सुखद सङ्केत देखा परेका छन् । कुनैबेला बिजुली आयात गर्ने मुुलुक अब भने विद्युत् निर्यातक देशका रुपमा परिणत भएको छ ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार पछिल्ला ८५ दिनमा मात्रै झण्डै रु छ अर्ब बराबरको बिजुली भारत निर्यात भएको छ । यसले चर्को खडेरीमा वर्षात् भए जस्तै राहतको महसुस भएको छ । हाल दैनिकरुपमा नै कूल तीन सय ६४ मेगावाट बराबरको बिजुली निर्यात भइरहेको छ । थप छ सय मेगावाट बिजुली निर्यातका लागि प्राधिकरणले पहल गरिरहेको छ । माथिल्लो तामाकोसीको चार सय ५६ मेगावाट र अन्य आयोजनाको एक सय १० मेगावाट बिजुलीसमेत भारत निर्यातका लागि तयारी भइरहेको छ ।
भारतीय पक्षसँग निरन्तर संवाद भइरहेको र छिट्टै निष्कर्ष निस्कने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । प्राधिकरणले चालू आवमा मात्रै रु १६ अर्ब बराबरको बिजुली निर्यात हुने प्रक्षेपण गरेको छ । थप बिजुली निर्यात भएको अवस्थामा आम्दानीमा समेत वृद्धि हुनेछ ।
आगामी दुई वर्षपछि मुलुक पूर्णरुपमा बिजुली निर्यात गर्ने देशका रुपमा परिणत हुने कार्यकारी निर्देशक घिसिङको भनाइ छ । “आगामी हिउँदमा समेत केही मात्रामा बिजुली आयात गर्नुपर्ने हुनसक्छ, तर त्यसको मात्रा असाध्यै न्यून हुनेछ, आगामी वर्षदेखि भने हामी आयात शून्यमा झारेर निर्यात मात्रै गर्नेछाँै”, कार्यकारी निर्देशक घिसिङले भने ।
गत वर्षको लक्ष्मीपूजाको दिनदेखि प्राधिकरणले नुवाकोटमा आयोजनास्थल रहेका दुई आयोजनाको ३९ मेगावाट बिजुली भारत निर्यात सुरु भएको हो । गत जेठको १५ गतेदेखि पुनः बिजुली निर्यात सुरु भएको र जेठ २७ गतेदेखि भारतको ऊर्जा एक्सचेञ्ज मार्केटमा समेत निर्यात शुरु भएको छ । चालु आवको साउन महिनामा मात्रै झण्डै रु दुई अर्ब बराबरको बिजुली निर्यात भएको छ ।
वर्षात्को मौसममा भारतमा गर्मी बढी हुने भएकाले बिजुलीको माग बढी हुने र सोहीअनुसार भाउ पनि पाएको उनको भनाइ छ । प्राधिकरणले बढी माग हुने समयमा प्रतियुनिट १९ रुपैयाँ २० पैसासम्म मूल्य पाएको छ । यो आन्तरिक बजारको तुलनामा धेरै बढी हो । आन्तरिकरुपमा खपत भएर बाँकी रहेको बिजुली निर्यात गर्दा त्यसबाट प्राधिकरणको आर्थिक स्वास्थ्यमा मात्रै सकारात्मक प्रभाव परेको छैन, मुलुकको आर्थिक उन्नयनमा समेत योगदान पुगेको छ ।
गत आर्थिक वर्षमा मात्रै प्रणालीमा थप सात सय ४१ मेगावाट बिजुली थप भएको छ । चालु आवमा झण्डै एक हजार मेगावाट क्षमतामा बिजुली थप हुने विद्युत् विकास विभागका महानिर्देशक सञ्जिव देवको भनाइ छ । मुलुकको कूल जडित क्षमता दुई हजार दुई सय ६९ मेगावाट बराबर पुगेको छ ।
निर्यातका लागि छैन अवरोध
मुलुकभित्र बिजुलीको उत्पादन बढ्दै जाँदा थप निर्यातका लागि प्रसारण लाइन नभएको भन्ने आशङ्का व्यक्त भइरहेका बेला प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ भने त्यसलाई नकारे । उनले हाल भारतका विभिन्न राज्यमा विभिन्न स्थानबाट प्रसारण प्रणाली जोडिएको जानकारी दिए ।
विगतमा बिजुली आयात गर्ने मात्रै विषयले प्राथमिकता पाउने गरेकामा पछिल्ला दिनमा निर्यातको विषयले प्राथमिकता पाएको उल्लेख गर्दै उनले आठ स्थानबाट दुई देश जोडिएको बताए ।
भारतीय कम्पनी सतलजले ढल्केबर हुँदै सीतामढी जोड्नका लागि निर्माण गरिरहेको चार सय केभी क्षमताको प्रसारण लाइनबाटै पनि बिजुली भारत पठाउन सकिने जानकारी दिए । सो प्रसारण लाइनले दुई हजार मेगावाट बिजुली बोक्न सक्छ । यस्तै चार सय केभी क्षमताको ढल्केबर– मुजफ्फपुर अन्तरदेशीय प्रसारण लाइन पूर्ण क्षमतामा चलाउँदा एक हजार दुई सय मेगावाट बराबर बिजुली पठाउन सकिन्छ ।
उता न्यू–बुटवल गोरखपुर अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि बोलपत्र भइसकेको जानकारी दिँदै उनले आगामी दुई वर्षभित्र सो लाइनसमेत निर्माण भइसक्ने उल्लेख गरे । सो प्रसारण लाइन निर्माणका लागि पावर ग्रिड इण्डियाले जिम्मा लिएको छ । त्यसमा प्राधिकरण र भारतीय पक्षको समान लगानी रहनेछ । कूल एक सय ४० किलोमिटर हुने भनिएको सो लाइनको लम्बाइसमेत घटेको छ । त्यस आधारमा लगानी पनि रु एक अर्ब कम लाग्ने देखिएको छ ।
नेपालतर्फको अमेरिकी सहयोग परियोजनाले निर्माण गर्ने भनिएको स्थानमा समेत १८ किलोमिटर प्रसारण लाइन प्राधिकरण आफैले निर्माण गर्ने भएको छ । भारततर्फको कूल एक सय २० किलोमिटरमध्ये ९६ किलोमिटर मात्रै निर्माण हुने भएको छ ।
यस्तै लम्की–बरेली र इनरुवा–पूर्णिया अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि पनि प्रक्रिया सुरु गरिने भएको छ । ती दुवै प्रसारण लाइन चार सय केभी क्षमताका छन् । आन्तरिकरुपमा आयोजना निर्माण सम्पन्न हुँदै जाँदा प्रसारण लाइन तयार भइसक्ने कार्यकारी निर्देशक घिसिङको भनाइ छ ।
प्राधिकरणले सतलजले निर्माण गरिरहेको प्रसारण लाइनमा समेत प्रयोग गर्न पाउने भएको छ । त्यस आधारमा पनि कुनै समस्या नहुने जनाएको छ । आन्तरिकरुपमा निर्माणमा रहेको हेटाैंडा– इनरुवा प्रसारण लाइनको अवरोधसमेत खुलेका अवस्थामा सो लाइनमार्फत थप बिजुली प्रवाहका लागि मार्ग प्रशस्त हुने जनाएको छ ।
हाल देशभर ९५ प्रतिशत घरधुरीमा केन्द्रीय प्रणालीको बिजुली पुगेको उनले जानकारी दिए । सरकारको निरन्तरको प्रयास र प्राधिकरणको सकारात्मक योजना र पहलका कारण चार वर्षअघि ६२ प्रतिशत घरधुरीमा मात्रै बिजुली पुगेको भए पनि हाल त्यो बढेर ९५ प्रतिशत पुग्नु आफैँमा महत्वपूर्ण उपलब्धि भएको उनको भनाइ छ ।
प्राधिकरणले बिजुली नपुगेका दुर्गम स्थानका लागि बोलपत्रसमेत गरिसकेकाले आगामी दुई वर्षभित्र शतप्रतिशत घरधुरीमा बिजुली पुग्नेछ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले ५० हजार घरधुरीमा उज्यालो पुर्याउनेछ ।
आन्तरिकरुपमा पनि बिजुली खपतको मात्रामा २५ प्रतिशतले वृद्धि भएको उनको भनाइ छ । हरेक वर्ष बिजुलीको खपतमा वृद्धि भएको र त्यो निरन्तररुपमा अगाडि बढ्ने क्रममा नै रहेको कार्यकारी निर्देशक घिसिङको भनाइ छ ।
देशभित्रै बिजुली खपतका लागि विद्युतीय चुल्होको प्रवद्र्धन तथा विद्युतीय सवारीसाधनका लागि चार्जिङ स्टेशन निर्माणलाई पनि प्राथमिकतामा राखेर अगाडि बढाइएको उनको भनाइ छ । प्राधिकरणले नेपाल प्रहरी र सशस्त्र प्रहरीसँग मिलेर चार्जिङ स्टेशन र विद्युतीय चुल्हो प्रयोगको अभियान नै सञ्चालन गर्ने भएको छ ।
Comments
अरु समाचार
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर, अमेरिकी डलरको भाउ कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुशाासनका लागि सरकारी कदम: कर्मचारी राजनीतिमा लागे बर्खास्त
काठमाडौँ। सरकारले निजामती र अन्य कुनै सार्वजनिक निकायमा कार्यरत कर्मचारी राजनीतिक दल वा राजनीतिक गतिविधिमा संलग्न भए भविष्यमा सरकारी सेवाका...
-
नीति तथा कार्यक्रम : ‘देवभूमि नेपाल’ अभियान सञ्चालन गरिने
काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा नेपाललाई विश्व आध्यात्मिक पर्यटन केन्द्रका रूपमा स्थापित गर्न ‘देवभूमि नेपाल’...
-
अर्थतन्त्रलाई परम्परागत स्वरूपबाट रूपान्तरण गरी ‘ज्ञान तथा सेवामुखी डिजिटल अर्थतन्त्र’ बनाउने योजना
काठमाडाैं । सरकारले मुलुकको अर्थतन्त्रलाई परम्परागत स्वरूपबाट रूपान्तरण गरी ‘ज्ञान तथा सेवामुखी डिजिटल अर्थतन्त्र’ बनाउने महत्त्वाकांक्षी योजना अघि सारेको छ...
-
बजेटमा प्रधानमन्त्रीको हस्तक्षेप, अर्थमन्त्रीदेखि बजेट लेखनमा सक्रिय टोली अलमलमा
काठमाडाैं । प्रधानमन्त्री कार्यालयले बजेटबारे सुझाव संकलन गर्न भन्दै छुट्टै वेबसाइट ल्याएपछि अर्थमन्त्रालयका कर्मचारीहरु अलमलमा परेका छन्। अर्थमन्त्रालयले बजेट लेखनको...
-
आजदेखि बजेट अधिवेशन, आजै नीति तथा कार्यक्रम प्रस्तुत गरिँदै
काठमाडौं । सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ । आज पहिलो बैठकमै सरकारको नीति कार्यक्रम प्रस्तुत हुने कार्यसूची रहेको...
-
बजेटमा आमनागरिकको सुझाव समेट्ने उद्देश्यसहित ‘सुझाव सङ्कलन पोर्टल’ सञ्चालनमा
काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम र बजेटमा आमनागरिकको सुझाव समेट्ने उद्देश्यसहित सरकारले ‘सुझाव सङ्कलन पोर्टल’...
-
बजार सुशासनका लागि आजदेखि देशभर ‘मूल्य पारदर्शिता सप्ताह’
काठमाडौँ । बजारमा व्याप्त अनियमितता, कृत्रिम मूल्यवृद्धि र उपभोक्ता ठगी नियन्त्रण गर्ने उद्देश्यले सरकारले आजदेखि देशभर विशेष अभियान सञ्चालन गर्ने...
-
सुकुम्वासीको डिजिटल लगत के हो ? धमाधम संकलन गर्दै सरकार
काठमाण्डौ - सरकारले सुकुम्वासी तथा भूमिहीनहरूको समस्या समाधान गर्न एकीकृत डिजिटल लगत सङ्कलन गर्ने भएको छ । काठमाण्डौ उपत्यकाका भूमिहीन...












