ताजा समाचार

नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च

काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा रहेको ‘Scotch’ (स्कच) वा ‘Scottish’ (स्कटिस) शब्द प्रयोग गर्न नपाइने सर्वोच्च अदालतले ठहर गरेको छ। यो फैसलाले ट्रेडमार्कको क्षेत्रमा ‘माइलस्टोन’ हुने देखिएको छ।

रुपन्देहीको देवदहस्थित मोहिनी हाइजिन प्रोडक्टस् र बेलायत (UK) स्थित स्कच ह्विस्की एसोसिएसन (The Scotch Whisky Association) बीच ट्रेडमार्क दर्तासम्बन्धी चलेको मुद्दामा सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाल र श्रीकान्त पौडेलको संयुक्त इजलासले गरेको फैसलाको केही दिनअघि मात्रै पूर्ण पाठ सार्वजनिक भएको हो।

मोहिनी हाइजिन प्रोडक्टसले उद्योग विभागमा मदिरा वर्ग (वर्ग ३३) अन्तर्गत ‘VISION (and logo)’ नामको ट्रेडमार्क दर्ताका लागि आवेदन दिएको थियो, जसमा ‘Finest Rare Scotch Whisky’ शब्द उल्लेख गरिएको थियो। तर, बेलायतको स्कच ह्विस्की एसोसिएसनले ‘Scotch’ शब्द स्कटल्यान्डमा उत्पादित ह्विस्कीको भौगोलिक पहिचान (GI) भएको र नेपालमा उत्पादित मदिरामा यसको प्रयोगले उपभोक्तामा भ्रम सिर्जना हुने भन्दै विरोध जनाएको थियो।

उद्योग विभागले २०७४ साउन १० गते मोहिनी हाइजिनको लोगोबाट ‘Scotch’ शब्द हटाएर मात्र ट्रेडमार्क दर्ता गर्न सकिने र औद्योगिक सम्पत्ति शाखालाई यस्ता शब्द अंकित लोगो स्वीकार नगर्न निर्देशन दिने निर्णय गरेको थियो। उक्त निर्णयलाई उच्च अदालत पाटनले २०७५ असार १९ मा सदर गरेको थियो। त्यसपछि मोहिनी हाइजिन प्रोडक्टस् सर्वोच्च अदालत पुगेको थियो।

सर्वोच्च अदालतले नेपाल विश्व व्यापार संगठन (WTO), बौद्धिक सम्पत्ति अधिकारसम्बन्धी ‘ट्रिप्स’ (TRIPS) सम्झौता र पेरिस महासन्धिको पक्ष राष्ट्र भइसकेकाले अन्तर्राष्ट्रिय रूपमा स्थापित भौगोलिक संकेत (GI) लाई संरक्षण गर्नु नेपालको कानूनी र सन्धिजन्य दायित्व भएको स्पष्ट पारेको छ। नेपालमा छुट्टै स्पष्ट GI कानून निर्माण भैनसकेको अवस्थामा पनि अन्तर्राष्ट्रिय सन्धि र पेटेन्ट, डिजाइन र ट्रेडमार्क ऐन, २०२२ को दफा १८(१) अनुसार अन्य मुलुकका प्रतिष्ठित भौगोलिक संकेतको अनधिकृत प्रयोग रोक्नुपर्ने अदालतको ठहर छ।
स्कटल्यान्डको प्राकृतिक जलवायु, पानीको गुणस्तर, परम्परागत प्रविधि र ऐतिहासिक निरन्तरताबाट निर्मित ‘स्कच ह्विस्की’को नाम नेपालमा उत्पादित मदिरामा प्रयोग गर्दा उपभोक्ता भ्रमित हुने र अस्वस्थ प्रतिस्पर्धा बढ्ने अदालतको निष्कर्ष छ।

यससँगै सर्वोच्च अदालतले मोहिनी हाइजिन प्रोडक्टसको पुनरावेदन दाबी नपुग्ने ठहर्‍याउँदै उद्योग विभाग र उच्च अदालत पाटनको पूर्व निर्णयलाई पूर्ण रूपमा सदर गरिदिएको छ। यस निर्णयले स्वदेशी तथा अन्तर्राष्ट्रिय मदिरा बजारमा भौगोलिक संकेत (GI) र ट्रेडमार्कको संरक्षणसम्बन्धी महत्त्वपूर्ण कानूनी व्याख्या हुन गएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org