ताजा समाचार

बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको छ । प्राधिकरणको हवाई यातायात विभागले नेपाल वायुसेवा निगमसहित बुद्ध एयर, यती एयरलाइन्स, श्री एयरलाइन्स, समिट एयर, तारा एयर र सीता एयरलाई पत्र पठाउँदै विपत्तिको समयमा यात्रुको आवागमन सहज बनाउन हाल कायम हवाई भाडा नबढाउन निर्देशन दिएको हो ।

प्राधिकरणले सरकारले स्वीकृत गरेको हवाई भाडादरको अधिकतम सीमाभन्दा कम दरमा तथा हाल कायम भाडादरमा वृद्धि नगरी टिकट उपलब्ध गराउन वायुसेवा कम्पनीहरूलाई आग्रह गरेको छ । देशका विभिन्न क्षेत्रमा बाढी तथा प्राकृतिक विपत्तिका कारण सडक तथा अन्य यातायात सेवा प्रभावित भइरहेका बेला हवाई यातायात यात्रु आवागमनको महत्त्वपूर्ण माध्यम बनेको भन्दै प्राधिकरणले यात्रुको हितलाई ध्यानमा राखेर भाडा निर्धारण गर्न भनेको हो ।

प्राधिकरणको हवाई यातायात विभागका उपप्रबन्धक सन्तोष अधिकारीले २०८३ भदौ १० गते जारी गरेको पत्रमा विपत्तिको विषम परिस्थितिलाई मध्यनजर गर्दै यात्रुलाई सहज हुने गरी हवाई टिकट उपलब्ध गराउन निर्देशनानुसार अनुरोध गरिएको उल्लेख छ । प्राधिकरणले विपत्तिको समयमा यात्रुको आवागमन सहज बनाउन तथा सर्वसाधारणको हित संरक्षण गर्न वायुसेवा कम्पनीहरूले स्वीकृत भाडादरको अधिकतम सीमा ननाघ्ने र हाल कायम भाडादर वृद्धि नगर्ने व्यवस्था मिलाउनुपर्ने स्पष्ट पारेको छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org