ताजा समाचार

बाढी पीडितको पक्षमा निकालियो ऐक्यवद्धता र्‍याली, बेपत्ताहरूको खोजीमा उच्च प्राथमिकता दिन माग

काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीले पुर्याएको अकल्पनीय क्षतिप्रति दुःख व्यक्त गर्दै काठमाडौँमा ऐक्यवद्धता र्‍याली निकालिएको छ । उपत्यकाका नागरिक महाविपद अभियानले आज बिहान नागरिक ऐक्यवद्धता र्‍याली आयोजना गरेको हो । ख्याति प्राप्त लेखक, पत्रकार, अधिकारकर्मी तथा नेपाल भाषा एकेडेमीका कुलपति मल्ल के. सुन्दरको नेतृत्वमा निस्किएको र्‍यालीमा काठमाडौँ महानगरका कार्यवाहक मेयर सुनिता डंगाेल, २४ नम्बरका वडाध्यक्ष बिनाेद कुमार राजभण्डारी, १७ का नवीन मानन्धरलगायत सहभागी थिए ।

त्यस्तै, नेपाल प्रहरीका डीएसपी चन्द्रबहादुर थापाको कमाण्डमा १/१५, नेपाली सेना शार्दुल जंग गुल्मका उपसेनानी प्रेमबहादुर थापकाे कमाण्डमा १/५ र सशस्त्र प्रहरी नं १८ गण डिएसपी सुरज कार्कीकाे कमाण्डमा १/२० नेफ्रीको उपस्थिति थियो। वसन्तपुरबाट शुरु भएको र्‍याली हनुमानढोका, इन्द्रचोक,असन, भोटाहिटी हुँदै शान्तिबाटिका पुगेर शोक सभा आयोजना गरिएको थियो । कार्यक्रममा सहभागीहरूले विनाशकारी महाविपद्मा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ताहरूको खोजी कार्यलाई राज्यले उच्च प्राथमिकता उनीहरूले माग गरेका छन् ।

बेपत्ताको खोजीका लागि अधिकतम स्रोत–साधन, जनशक्ति तथा आधुनिक प्राविधिक र वैज्ञानिक विधिको प्रयोग गर्न पनि आग्रह गरिएको छ ।बाढी प्रभावित क्षेत्रमा फेला परेका शवहरूको सनाखतमा जटिलता देखिएको उल्लेख गर्दै नागरिक समूहले सबै शवको सम्मानजनक व्यवस्थापन र वैज्ञानिक अभिलेखीकरण गर्न ध्यानाकर्षण गराएको छ । शवको पहिचानका लागि डीएनए लगायतका जैविक नमूनाहरू सुरक्षित राख्न र परिवारबाट नमूना संकलन गरी समन्वय गर्न राज्यले देखाएको तत्परताको स्मरण गर्दै पहिचानपश्चात शव हस्तान्तरण प्रक्रियालाई मानवीय संवेदनशीलताका साथ सरल र सहज बनाउन अनुरोध गरिएको छ ।

संकटको यस कठिन समयमा आफ्नो ज्यानको प्रवाह नगरी उद्धार कार्यमा अहोरात्र खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्वास्थ्यकर्मी, स्थानीय उद्धारकर्मी, चालक, प्राविधिक तथा स्वयंसेवकहरूको योगदानको वक्तव्यमार्फत उच्च सम्मान र प्रशंसा गरेका छन् । महाविपद् प्रभावित क्षेत्रका नागरिकको पुनःस्थापना र पुनर्निर्माण कार्यलाई दीर्घकालीन राष्ट्रिय प्राथमिकतामा राख्न राज्यसँग माग गरिएको छ । आवास र जीविकोपार्जन गुमाएकाहरूको पुनःस्थापनामा सरकार गम्भीर हुनुपर्नेमा जोड दिँदै क्षतिग्रस्त सडक, पुल, विद्यालय, स्वास्थ्य संस्था, खानेपानी, विद्युत् र सञ्चार जस्ता आधारभूत पूर्वाधारहरू यथाशक्य छिटो निर्माण गर्न आग्रह गरेका छन् । यो शोकलाई शक्ति र सहयोगमा रूपान्तरण गर्ने संकल्प गर्दै प्रभावित परिवारसँग ऐक्यवद्धता प्रकट गर्नुका साथै एक–अर्कालाई सहयोग गर्नु नै मानवीय धर्म र नेपाली पहिचान भएकाले सुरक्षित नेपाल निर्माणका लागि सामूहिक प्रतिवद्धता व्यक्त गरिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org