ओबामाको बिदाइ सम्बोधनको पूर्णपाठ

मेरा अमेरिकी मित्रहरू ! मिसेल र म केही हप्तादेखि प्राप्त तपाईंका शुभकामनाबाट असाध्यै भावुक भएका छौँ । तर, आजको रात धन्यवाद भन्ने पालो मेरो । घर वा स्कुल, खेतबारी वा कालकारखाना, भान्सा वा टाढाका चौकीहरू, जहाँका भए पनि मैले अमेरिकी जनतासँग गरेको संवादले नै मलाई इमानदार बनाइराख्यो, उत्प्रेरित गरिराख्यो र अघि बढाइरह्यो । हरेक दिन मैले तपाईंहरूबाट सिकेँ । तपाईंहरूले मलाई असल राष्ट्रपति बनाउनुभयो, असल मानिस बनाउनुभयो ।
म आफ्नो जीवनको दोस्रो दशकको सुरुवातमा पहिलोपटक सिकागो आएको थिएँ, जतिवेला म आफ्नो परिचय, जीवनको उद्देश्य खोजिरहेको थिएँ । यहीँका सडकहरूमा मैले निष्ठाको शक्ति र संघर्ष तथा श्रमको अनुहारमा श्रमजीवी मानिसहरूको शान्त आत्मसम्मान देखेको थिएँ । यहीँबाट मैले परिवर्तन त्यतिवेला मात्र हुन्छ, जब साधारण मानिसहरू सहभागी हुन्छन्, लागिपर्छन् र त्यसका लागि अगाडि आउँछन् भन्ने सिकेको थिएँ । तपाईंको राष्ट्रपतिका रूपमा आठ वर्ष काम गरेपछि पनि म त्यसैमा अझै विश्वास गर्छु । र, यो मेरो मात्र विश्वास होइन । यो अमेरिकी विचारको हृदयको धड्कन हो, स्वशासनमा हाम्रो निडर प्रयोग हो । यो हाम्रो विश्वास हो कि हामी समान छौँ, हाम्रा निर्माताहरूले जीवन, स्वतन्त्रता र खुसीको खोजीजस्ता अधिकारले सम्पन्न बनाएका छन् । मेहनत र कल्पनाद्वारा हाम्रा आ–आफ्ना सपना पछ्याउने स्वतन्त्रता र महान् उद्देश्य हासिल गर्न संयुक्त प्रयास हाम्रा संस्थापकहरूले दिएका महान् उपहार हुन् ।
दुई सय ४० वर्षदेखि नागरिकप्रति राष्ट्रको अपिलले हरेक नयाँ पुस्ताका लागि उद्देश्य उपलब्ध गराएको छ । यसले तानाशाहीको सट्टा गणतन्त्रको छनोट गर्न, अग्रगामीहरूलाई पश्चिमतर्फ आकर्षित गर्न, दासहरूलाई स्वतन्त्रतातर्फ लाग्न प्रेरित गरेको छ । यसले आप्रवासी तथा शरणार्थीलाई अमेरिकातर्फ डोर्याएको छ, महिलालाई भोट हाल्न अधिकार दिएको छ र श्रमिकहरूलाई संगठित हुन उत्प्रेरित गरेको छ । त्यसैकारण नै अमेरिकी सेना ओमाहा समुद्री किनार होस् वा आयोजीमा, इराक होस् वा अफगानिस्तानमा, आफ्नो जीवन दिइरहेका छन् । त्यसकारण, जब हामी अमेरिका अपवाद हो भन्छौँ, त्यसको विशेष अर्थ छ । सुरुदेखि नै हाम्रो राष्ट्र खोटयुक्त मात्र छैन । हामीले त परिवर्तनका लागि हाम्रो क्षमता देखाएका छौँ, हामीलाई पछ्याउनेको जीवन राम्रो बनाएका छौँ । हो, हाम्रो प्रगति असमान पनि छ । लोकतन्त्रको काम असाध्यै कठिन, विवादास्पद र कहिलेकाहीँ रक्तपातपूर्ण पनि रहेको छ । दुई कदम अगाडि चाल्दा, एक कदम पछि हटेजस्तो पनि लाग्छ । मैले आठ वर्षअघि, अमेरिकाले महान् मन्दीबाट पार पाउनेछ, हाम्रो मोटरगाडी उद्योग फेरि चल्न थाल्नेछ, इतिहासमै सबैभन्दा धेरै रोजगारी सिर्जना हुनेछ भनेको भए… मैले हामी क्युवाली जनतासँग नयाँ अध्यायको थालनी गर्नेछौँ, एउटा गोली प्रहार नगरीकनै इरानको आणविक हतियार कार्यक्रम बन्द गर्नेछौँ, ९-११ को मुख्य योजनाकारलाई ठेगान लगाउनेछौँ भनेको भए … मैले हामी विवाहको अधिकार जित्नेछौँ, थप दुई करोड जनताका लागि स्वास्थ बिमाको अधिकार सुरक्षित गर्नैछौँ भनेको भए, हामीले अलि महात्वाकांक्षी योजना बनायौँ भनेर तपाईंहरूले भन्न सक्नुहुन्थ्यो । तर, हामीले त्यही ग-यौँ । तपाईंहरूले त्यही गर्नुभयो । तपाईंहरू नै परिवर्तनको कारक हो ।
तपाईंहरूले सबै क्षेत्रमा जनताको आशाको जवाफ दिनुभयो । हामीले सुरु गर्दाभन्दा अहिले अमेरिकाको अझ राम्रो र बलियो स्थान भएको छ । अबका १० दिनमा विश्वले हाम्रो लोकतन्त्रको पहिचान देख्नेछ, एकजना स्वतन्त्रतापूर्वक निर्वाचित राष्ट्रपतिबाट अर्कोमा शान्तिपूर्ण शक्ति हस्तान्तरण । म नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई विश्वस्त पार्न चाहन्छु कि मेरो प्रशासनले यथाशक्य सरल शक्ति संक्रमण गर्नेछ, जसरी बुसले मलाई गरेका थिए । किनकि, हाम्रा सरकारले हामी सामुन्नेका थुप्रै चुनौतीको सामना गर्न सहयोग गर्नेछन् भन्ने निश्चित गर्नु हामी सबैको दायित्व हो । हामीले त्यसो गर्नु आवश्यक छ । जे भए पनि यो पृथ्वीका हामी सबैभन्दा धनी, सबैभन्दा शक्तिशाली र सबैभन्दा सम्मानित राष्ट्र हौँ । हाम्रो युवापन तथा अभियान, हाम्रो विविधता र खुलापन, जोखिमप्रति हाम्रो क्षमताको सीमाहीनता तथा पुनराविष्कारको अर्थ के हो भने भविष्य पनि हाम्रो हुनुपर्छ । तर, यो सम्भावना त्यतिवेला मात्र महसुस हुनेछ, जब हाम्रो लोकतन्त्रले काम गर्नेछ, त्यतिवेला मात्र जब हाम्रो राजनीतिले हाम्रा जनताको विनय प्रतिविम्बित गर्नेछ । हाम्रो पार्टी संलग्नता तथा विशिष्ट स्वार्थका बाबजुद हामी सबैले आज असाध्यै आवश्यक भएको साझा उद्देश्यको समझलाई पुनस्र्थापित गर्न सहयोग गछौँ । जबसम्म सबैलाई आर्थिक अवसरहरू प्राप्त हुनेछैन, हाम्रो लोकतन्त्रले काम गर्नैछैन । आज, अर्थतन्त्र फेरि वृद्धि भइरहेको छ । ज्याला, आम्दानी, घरको मूल्य तथा अवकाश कोषहरू बढिरहेका छन्, गरिबी पुनः झरिरहेको छ । धनीहरू करको उचित हिस्सा तिरिरहेका छन् र स्टक बजारले रेकर्ड राखिरहेको छ । बेरोजगारीको दर १० वर्षयताकै सबैभन्दा कम छ । बिमित नगरिएका नागरिकको संख्या यति कम कहिल्यै थिएन । स्वास्थ सेवाको मूल्यवृद्धि ५० वर्षमा यति सुस्त गतिमा कहिल्यै थिएन ।
तर, यी वास्तविक प्रगति गरिसकेपछि पनि हामीलाई थाहा छ, यो पर्याप्त छैन । बढ्दो मध्यम वर्ग पछाडि पर्ने, तर केहीले मात्र तीव्र प्रगति गर्ने स्थिति रहिरह्यो भने हाम्रो अर्थतन्त्रले सही ढंगले काम गर्न सक्दैन । तर, प्रस्ट देखिने असमानताले हाम्रा लोकतान्त्रिक सिद्धान्तहरूलाई क्षय गर्छ । सबैभन्दा माथि रहेका एक प्रतिशतले सम्पत्ति र आम्दानीको ठूलो हिस्सा संकलित गरिरहँदा भित्री सहर तथा ग्रामीण क्षेत्रका धेरै परिवार पछाडि परिरहेका छन् । बन्द कलकारखानाका मजदुर, होटेल मजुदर तथा स्वास्थ सेवाका श्रमिकहरू, जसले खर्च चुक्ता गर्न संघर्ष गरिरहेका छन्, उनीहरू आफूविरुद्ध मिलेमतो भएको, उनीहरू सरकारले शक्तिशालीको स्वास्थ्यमा मात्र काम गर्छ भन्नेमा विश्वस्त छन् । यसले हाम्रो राजनीतिलाई संकीर्ण बनाउन र धु्रवीकरण गर्न सहयोग मात्र गर्छ । सबै नानीबाबुलाई शिक्षाको ग्यारेन्टी गर्न, राम्रो ज्यालाका लागि कामदारलाई संगठित हुने अधिकार दिन, सामाजिक सुरक्षालाई अद्यावधिक गर्न तथा करमा थप सुधार गर्न हामीले नयाँ सामाजिक करार गर्नुपर्छ । यी लक्ष्य कसरी हासिल गर्नेबारे हामी बहस गर्न सक्छौँ, तर यी लक्ष्यलाई लिएर मात्रै सन्तुष्ट हुन सक्दैनौँ । हामीले सबै जनताका लागि अवसरको सिर्जना गरेनौँ भने हाम्रो प्रगतिलाई रोक्ने असन्तुष्टि र विभाजन आउने दिनमा अझ प्रखर हुनेछन् । हाम्रो लोकतन्त्रमाथि अर्को पनि खतरा छ, जुन हाम्रो राष्ट्रजत्तिकै पुरानो छ । म निर्वाचित भएपछि उत्तर–नश्लीय अमेरिकाको चर्चा पनि भएको थियो । तथापि, त्यो दृष्टिकोण कहिल्यै यथार्थ थिएन । किनकि, नश्ल हाम्रो समाजमा विभाजनका लागि प्रमुख शक्ति रहँदै आएको छ । यो धारणामा बितेका १०, २० वा ३० वर्षभन्दा निकै सुधार भएको छ, त्यो केवल तथ्यांकहरूमा मात्र छैन, बरु राजनीतिक वृत्तका युवा अमेरिकीहरूको व्यवहारमा पनि देखिएको छ । तर, हामी जहाँ पुग्नुपर्ने हो, त्यहाँ पुगेकै छैनौँ । हामी सबैले धेरैभन्दा धेरै मिहिनेत गर्नुपर्छ । अन्ततः सबै आर्थिक विषय श्रमजीवी गोरा मध्यम वर्ग र सीमान्त अल्पसंख्यकबीचको संघर्षका रूपमा चित्रित गरियो भने सबै रङका श्रमजीवीहरू कवाडीका लागि संघर्ष गरिरहनेछन् र धनीहरूले थप सम्पत्ति थुपार्नेछन् । हामीले आप्रवासीका बालबालिका हाम्राजस्ता देखिन्नन् भनेर तिनीहरूमाथि लगानी गर्न अनिच्छा देखायौँ भने हामीले हाम्रा बालबालिकाको आशा पनि गुमाउनेछौँ, किनकि ती गहुँगोरा केटाकेटीले नै अमेरिकी जनशक्तिको ठूलो हिस्साको प्रतिनिधित्व गर्नेछन् । हाम्रो अर्थतन्त्र शून्य योगफलको खेल बन्न आवश्यक छैन, किनकि गत वर्ष सबै जाति, उमेर समूह, पुरुष तथा महिलाको आम्दानी बढेको थियो ।
अगाडि बढ्न भेदभावविरुद्धका कानुनप्रति हामी प्रतिबद्ध हुनुपर्छ । तर, कानुन मात्र पर्याप्त हुन्न । हृदय बदलिनुपर्छ । असाध्यै विविधतापूर्ण राष्ट्रमा हाम्रो लोकतन्त्र कामयाबी हुनका लागि अमेरिकी उपन्यासको पात्र एटिकस फिन्चको सुझाबलाई ध्यान दिनुपर्छ, ‘तिमीले उसको दृष्टिकोणबाट नहेरेसम्म उसलाई बुझ्न सक्दैनौ, जबसम्म तिमी उसको छालाको रङ ग्रहण गर्दैनौ र त्यसको वरपर हिँड्दैनौ । हामी जो जहाँ भए पनि यो देशका सबै नागरिकले देशलाई मैले जति नै प्रेम गर्छन् भन्ने सोचबाट सुरुवात गर्नु जरुरी छ । उनीहरू हामीले जत्तिकै परिवार र कामलाई महत्व दिन्छन्, उनीहरूका छोराछोरी पनि मेरा छोराछोरीजस्तै जिज्ञासु, आशावादी र प्रेम गर्न लायक छन् भन्ने सोचबाट सुरु गर्नुपर्छ । यो सबै गर्न सजिलो छैन । हामीमध्ये धेरै छिमेकमा, कलेजमा वा प्रार्थनालयमा, अझ सामाजिक सञ्जालको सानो घेरामा हराउँछौँ । ती स्थानमा हामी आफूजस्तै देखिने मानिसहरूबाट घेरिएका हुन्छौँ, त्यहाँ समान राजनीतिक दृष्टिकोण व्यक्त गर्छौं, तर हाम्रो अनुमानलाई आलोचनात्मक रूपले हेर्दैनौँ । नांगो पार्टी पक्षधरता, बढ्दो आर्थिक तथा क्षेत्रीय स्तरीकरणले त्यसलाई अझ बढावा दिएको छ । साँचो होस् वा नहोस्, हामी आफूले चाहेजस्तो सूचना लिएर हामी त्यो सानो घेरामा सुरक्षित महसुस गर्छौं । यो प्रवृत्तिले हाम्रोे लोकतन्त्रको तेस्रो चुनौतीलाई प्रतिनिधित्व गर्छ । राजनीति विचारहरूको लडाइँ हो । स्वस्थ बहसका क्रममा हामी विभिन्न लक्ष्यलाई प्राथमिकता दिन्छौँ, र त्यो हासिल गर्न विभिन्न उपाय अपनाउँछौँ । तर, तथ्यको केही साझा आधारविना, नयाँ सूचना आत्मसात् गर्ने इच्छाशक्तिविना र विरोधीले पनि सही तर्क गरिरहेको छ भन्ने स्वीकार नगरेसम्म, विज्ञान र तर्कले अर्थ राख्छ भन्ने नमानेसम्म साझा धरातल र सम्झौतालाई असम्भव बनाउँदै केवल तर्क–वितर्क गरिरहेका हुनेछौँ । राजनीतिलाई फोहोरी बनाउन यसले पनि ठूलो भूमिका खेलिरहेको त छैन ? त्यसो हुँदैनथ्यो भने निर्वाचित अधिकारीले बालबालिकाका पूर्वस्कुलको उद्देश्यका लागि खर्च गर्ने प्रस्ताव गर्दा फजुल खर्च गर्न लागेको भनेर आक्रोश पोख्थे, तर ठूला निगमका कर कटौती गर्दा चुप लाग्थे । हामी आफ्नै पार्टीका नैतिक कमजोरीमाथि पर्दा हालेर अर्को पार्टीले त्यही गर्दा आलोचना गर्न सक्छौँ ? यो बेइमानी मात्र होइन, तथ्यहरूको मनपरी छनोट पनि हो, यो आत्मपराजय हो । जलवायु परिवर्तनको चुनौतीलाई नै लिऔँ । आठ वर्षमा हामीले विदेशी तेलमाथि हाम्रो निर्भरतालाई आधा कम गरेका छौँ, नवीकरणीय ऊर्जालाई दोब्बर बनाएका छौँ र यो ग्रहलाई जोगाउने वाचा गरेको सहमतिको नेतृत्व गरेका छौँ । तर, कठोर कदम नचाल्ने हो भने हाम्रा सन्ततिसँग जलवायु परिवर्तनको अस्तित्वका बारेमा बहस गर्ने समय हुनेछैन । उनीहरूलाई त्यसका प्रभावहरू जस्तै : वातावरणीय विपत्ति, आर्थिक विघटन तथा जलवायु शरणार्थीसँग जुझ्दैमा ठिक्क हुन्छ । अब हामीले उक्त समस्याको उत्तम समाधानबारे बहस गर्नुपर्छ । तर, समस्यालाई सजिलै अस्वीकार गर्दा हामीले आगामी पुस्तालाई धोका मात्रै दिइरहेका हुनेछैनौँ । यसले हाम्रो अन्वेषण तथा समस्याको सही समाधान खोज्ने आधारभूत आत्मालाई पनि धोका दिनेछ । त्यो त्यस्तो सार हो, जसले हामीलाई आर्थिक महाशक्ति बनायो, जसले आज कुनै पनि रोगको समाधान सम्भव बनाएको छ र हरेकको गोजीमा कम्प्युटर राखिदिएको छ । यो त्यस्तो आत्मा हो, जसले हामीलाई फासीवादविरुद्ध लड्न, महान् मन्दीका विरुद्धमा उभिन तथा दोस्रो विश्वयुद्धपछि विश्व व्यवस्था कायम गर्न मद्दत गर्यो । हामीले त्यस्तो व्यवस्था सिर्जना गर्यौँ जुन केवल सैन्य शक्तिमा आधारित छैन, बरु कानुनको शासन, मानवअधिकार, धर्मको अधिकार, अभिव्यक्ति तथा संगठित हुने स्वतन्त्रता र स्वतन्त्र प्रेसमा उभिएको छ । तर, यो व्यवस्थामाथि चुनौती दिइँदै छ । पहिलो, इस्लामका लागि बोलिरहेको दाबी गर्ने हिंसात्मक हठधर्मीहरूबाट । हालै मात्रै केही तानाशाहीले पनि त्यही गरिरहेका छन्, जो खुला बजार, खुला लोकतन्त्र तथा नागरिक समाजलाई तिनको शक्तिको चुनौती देख्छन् । तिनले हाम्रो लोकतन्त्रमाथि प्रस्तुत गरेको जोखिम कार बम वा क्षेप्यास्त्रभन्दा बढी छ । त्यसले परिवर्तनको त्रासलाई प्रतिनिधित्व गर्छ । तर, हाम्रा सैनिक, जासुसी अधिकारीहरू, कानुनको कार्यान्वयन, उनीहरूलाई सहयोग गर्ने कूटनीतिकहरूको असाधारण साहसका कारण कुनै पनि विदेशी आतंकवादी संगठनले पछिल्लो आठ वर्षमा हाम्रो भूमिमा कुनै पनि हमलाको सफल योजना बनाउन र त्यसलाई कार्यान्वयन गर्न सफलता प्राप्त गरेका छैनन् । तथापि, बोस्टन र ओर्लान्डोले कट्टरता कति खतरनाक हुन भन्ने स्मरण गराउँछ ।
यी आठ वर्षमा मैले धेरै आसलाग्दा युवा स्नातक र हाम्रा सबैभन्दा नौजवान सैनिक अधिकृतहरू देखेको छु । म जवाफ खोजिरहेका शोकाकुल परिवारसँगै शोकमग्न भएको छु । मैले हाम्रा वैज्ञानिकहरूले प्यारालाइसिस भएको मानिसको चेतना फर्काउन गरेको मिहिनेत देखेको छु, युद्धमा घाइते योद्धाहरू फेरि हिँड्न थालेको देखेको छु । मैले हाम्रा चिकित्सक र स्वयंसेवकले भूकम्पपछिको पुनर्निर्माणमा सघाएको र महामारीबाट उम्कन साथ दिएको पनि देखेको छु । साना नानीहरूले शरणार्र्थीको पक्षमा काम गर्न झकझकाएको पनि देखेको छु । धेरै वर्षअघि यही ठाउँबाट मैले जुन विश्वासमाथि भरोसा गरेको थिएँ, मलाई आशा छ, साधारण अमेरिकीहरूको शक्तिमा परिवर्तन सम्भव छ भन्ने विश्वास पुरस्कृत भएको छ । मलाई लाग्छ, तपाईंहरूको विश्वासको पनि यथेष्ट सम्मान भएको छ । आजको रात यहाँ उपस्थित हुनुभएकामध्ये कतिपय त २००४, २००८ र २०१२ मा पनि मसँगै हुनुहुन्थ्यो । हामीले यी सबै काम ग¥यौँ भनेर तपाईंहरूलाई विश्वास नलाग्न पनि सक्छ ।
मेरा अमेरिकी दाजुभाइ तथा दिदीबहिनीहरू, तपाईंहरूको सेवा गर्न पाउनु मेरा लागि असाध्यै सम्मानको विषय बन्यो । तर, म त्यो सेवाको अभियान रोक्नेछैन । एउटा नागरिकका रूपमा जीवन रहेसम्म म तपाईंहरूसँगै हुनेछु । अहिलेचाहिँ तपाईं युवा हुनुहुन्छ वा युवा हृदयको हुनुहुन्छ भने राष्ट्रपतिका रूपमा म एउटा अन्तिम आग्रह गर्न चाहन्छु, जुन मैले आठ वर्षअघि गरेको थिएँ । म तपाईंहरूलाई फेरि विश्वास गर्नुस् भन्न चाहन्छु, परिवर्तन ल्याउन सक्ने मेरो क्षमतामा होइन, तपाईंहरूको आफ्नै क्षमतामा ।
(अमेरिकी राष्ट्रपति बाराक ओबामाले मंगलबार राति दिएको बिदाइ सम्बोधनको सम्पादित अंश । सामान्यतः अघिल्ला राष्ट्रपतिले ह्वाइटहाउसबाट बिदाइ मन्तव्य दिने गरेका भए पनि ओबामाले राजनीतिक यात्रा सुरु गरेको सिकायो रोजेका थिए । नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले जनवरी २० मा उनलाई प्रतिस्थापन गर्दै छन् ।)
शब्द तस्बिर एजेन्सी
Comments
अरु समाचार
-
Free Air Tickets to China for Friendly Football Spectators
Kathmandu — Nepal–China friendly football match will be held again this year. Organized on the occasion of China’s traditional New...
-
Nepali Consul General Niraula and Yunnan Normal University Professor Lu Hold Meeting
Lhasa, Magh 15 — A meeting was held on Thursday at the Consulate General office in Lhasa between Nepali Consul...
-
Alexander Kadakin: The Diplomat Who Turned Service into a Lifelong Mission
The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most often associated with India, as it were the relations with this...
-
विनोद चाैधरीलाई अदालतको झड्का, केवाइसी भ्यानको मोनोपोली तोडिदै
काठमाडाैं । अदालत गएर भएपनि शक्ति प्रदर्शन गर्ने ठानेका डलर अर्बपति विनोद चाैधरीलाई जिल्ला अदालत काठमाडाैंको आदेशले झड्का दिएको छ...
-
‘नेपाल मानव अधिकारको संरक्षणप्रति प्रतिबद्ध छ’: परराष्ट्र सचिव अमृतबहादुर राई
काठमाडाैं । नेपाल सरकारका परराष्ट्र सचिव अमृतबहादुर राईले मानव अधिकारको संरक्षण र प्रवर्द्धनप्रति नेपाल पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।...
-
चीनकी नेपाल मामिला प्रमुख झेङ युहा काठमाडौँ आउँदै
काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) को एक उच्चस्तरीय टोली बिहीबार काठमाडौँ आउने भएको छ । बदलिँदो अन्तर्राष्ट्रिय शक्ति सन्तुलन,...
-
Kathmandu Event Highlights Mountaineering Tourism in Nepal–Canada Ties
Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program in Kathmandu to commemorate the 61st year of Nepal–Canada diplomatic...
-
अमेरिकी नागरिकलाई तुरुन्तै इरान छोड्न एडभाइजरी
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग व्यापार गर्ने देशहरूमाथि कडा आर्थिक कारबाहीको घोषणा गरेका छन्। ट्रम्पका अनुसार इरानसँग कुनै...
-
ट्रम्पले आफूलाई घोषणा गरे भेनेजुएलाको कार्यवाहक राष्ट्रपति
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति भएको दाबी गर्दै सनसनी फैलाएका छन्। उनले आफ्नै...











