‘जेठमा स्थानीय, कात्तिकमा प्रदेश र मंसिरमा संसद्को निर्वाचन’

सरकारले २१ माघमा निर्वाचन आयोगलाई कानुनी आधार तयार भइसकेको सन्दर्भसमेत उल्लेख गर्दै स्थानीय निर्वाचनको तयारी गर्न लिखित आग्रह गरेको छ । सरकारको पत्रलाई आयोगले जेठमा स्थानीय तहको निर्वाचन तयारीका रूपमा बुझेको छ र जवाफ पठाउने तयारी गरिरहेको छ । पत्र पाएको भोलिपल्ट शनिबार प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग लामो कुराकानी गरेका छन् । यादवसँग गरिएको कुराकानी:
सरकारले स्थानीय निर्वाचनको तयारी गर्न आयोगलाई पत्र पठाएको छ । आयोगले त्यसलाई कसरी लिएको छ ?
मन्त्रिपरिषद्को बैठकको निर्णयपछि सरकारले स्थानीय निर्वाचनको तयारी गर्न आयोगलाई अनुरोध गरी पत्र पठाएको छ । पत्रमा स्थानीय निर्वाचनको आवश्यक तयारीका लागि अनुरोध गर्ने भन्ने शब्द प्रयोग गरिएको छ । आयोगलाई अनुरोध गरी सरकारबाट पत्र आएपछि यसलाई विशेष अनुरोधका रूपमा लिनुपर्ने हुन्छ । आयोग सधैँ निर्वाचनसम्बन्धी काममा लागिरहेको हुन्छ र एउटा निर्वाचनपछि अर्को निर्वाचनको तयारीमा हुन्छ । स्थानीय निर्वाचनको तयारी गर्न आयोगलाई पत्र पठाउनुलाई आयोगले गम्भीरतापूर्वक लिएको छ । पत्रका बारेमा आइतबार छलफल गरेर सरकारलाई आवश्यक जवाफ पनि दिन्छौँ ।
सरकारको पत्रमा स्थानीय तह कि निकाय भन्ने खुल्दैन । निर्वाचन आयोगले बुझेको के हो ?
स्थानीय निर्वाचन भने पनि स्थानीय तह हो कि निकाय भन्ने पत्रमा खुलेको छैन । तर, पत्रमा कानुनहरू निर्माण भइसकेको भनेर उल्लेख गरेका कारण आयोगले बुझेको चाँहि स्थानीय तहको निर्वाचन हो । किनभने, स्थानीय तहको निर्वाचनका लागि कानुनहरू बनेका छन् । अब स्थानीय तहको नै निर्वाचन हुन्छ ।
प्रधानमन्त्रीसँग शनिबार भेटघाट पनि गर्नुभयो । के–के कुरा भयो ?
सरकारले निर्वाचनको तयारीका लागि जसरी पत्र पठाएको छ, त्यसको जवाफ आयोगले दिइसकेको छैन । मैले भेटमा सरकारको संवेदनशीलतालाई उच्च मूल्यांकन गर्दै प्रधानमन्त्रीलाई धन्यवाद दिएँ । निर्वाचनको तयारी त हामीले गरिरहेका थियौँ नै, पत्र पाइसकेपछि सरकारको थप विश्वास प्राप्त भएको छ । मैले यही कुरा प्रधानमन्त्रीलाई भनेँ । तर, त्यतिले मात्रै त निर्वाचन हुँदैन । साधन स्रोत आवश्यक पर्छ । निर्वाचन मिति नहुँदासम्म आयोगले सामग्री ल्याउन सक्दैन । प्रधानमन्त्रीले आवश्यक साधन स्रोत उपलब्ध गराइन्छ भन्नुभयो । कार्ययोजना बनाएर अगाडि बढ्नुहोस् भनेर विश्वास दिलाउनुभएको छ । प्रधानमन्त्रीले जेठमा स्थानीय तहको नै निर्वाचन गर्छौं भन्नुभएको छ ।
तर, सरकारले निर्वाचनको मिति घोषणा गरेको छैन । अनि स्थानीय तह पुनर्संंरचना आयोगको प्रतिवेदन कार्यान्वयनमा आएको पनि छैन । आयोगले के आधारमा टेकेर निर्वाचनको तयारी गर्छ त ?
सरकारले निर्वाचनको मिति तोेकेको छैन । मिति तोकेर पत्र पठाएको भए राम्रो हुन्थ्यो । मिति नतोक्नुमा विभिन्न कारण होलान् । तयारी गर्दै जाने अनि मिति तोक्ने भन्ने पनि सरकारलाई लागेको हुन सक्छ । मिति नतोक्ने कारण सरकारलाई सोध्नुपर्छ, किनभने मिति तोक्ने कानुनी आधार सरकारले लिएको छ । वर्तमान राजनीतिक जटिलता र कानुनहरू प्रमाणीकरण भइनसकेको अवस्थाका कारण सरकारले मिति नतोकेको होला । मिति नतोके पनि निश्चित समयका आधारमा काम अगाडि बढाउन सरकारले वातावरण बनाएको छ । जेठमा निर्वाचन गर्ने गरी वातावरण बनाउन आयोगलाई आग्रह गरिएको छ । सरकार स्वयंले पनि त्यहीअनुसार काम अगाडि बढाएको छ । हामीले सरकारलाई भन्दै आएका छौँ कि स्थानीय तहको प्रतिवेदन आयोगलाई समयमा नै दिनुपर्छ । हामी प्रतिवेदनको प्रतीक्षामा छौँ । सरकारले छिट्टै प्रतिवेदन पाउनुहुन्छ भनेको छ । प्रतिवेदनमा दलीय सहमतिका लागि कार्यदल बनाएको भन्ने सुनेका छौ“ । वास्तवमा एकांकी रूपमा निर्वाचनमा जान सकिँदैन । त्यसरकाण वर्तमान राजनीतिक जटिलतालाई पनि सम्बोधन गर्नुपर्ने हुन्छ । निरपेक्ष रूपमा कोही पनि निर्वाचनमा जाँदैन । जटिल राजनीतिक अवस्था रहेकाले चैतमा गर्ने भनिएको स्थानीय निर्वाचन वैशाख हुँदै अहिले जेठमा भनिएको छ ।
स्थानीय तहको प्रतिवेदन नआए पनि केही आधारभूत काम भने आयोगले गरिरहेको छ । आयोगले प्रत्येक मतदान केन्द्रका आधारमा मतदाता नामावली तयार गरेर छपाइ गर्नुपर्छ । त्यसपछि निर्वाचन अधिकृतलाई पठाउनुपर्छ । पहिला गाविसमा नौवटा वडा थिए । अब गाउँपालिकामा पाँचदेखि २१ वटा वडासम्म हुने भनिएको छ । एउटा वडामा २–४ हजार मतदाता हुन सक्छन् । ती मतदातालाई २, ३ वा ४ कतिवटा मतदान केन्द्र राख्ने भन्ने प्रस्ट पार्नुपर्नेछ । त्यसैका आधारमा आयोगले मतदाता नामावली तयार गर्नुपर्छ । त्यसपछि मतदाता परिचयपत्र छाप्नुपर्छ । मतदान केन्द्रको आधारमा मतदाता परिचयपत्र छाप्नुपर्ने हुन्छ । प्रतिवेदन आयो भने मात्रै कुन गाउँपालिकामा कति वडा र कति मतदान केन्द्र हुन्छ भन्ने प्रस्ट हुन्छ । गाउँपालिकाको सीमा र प्रशासनिक केन्द्र थाहा हुन्छ । आयोगले नियुक्त गरेको निर्वाचन अधिकृत केन्द्रमा जानुपर्ने हुन्छ । प्रतिवेदन नहुँदा आयोगलाई व्यावहारिक रूपमा नै कठिनाइ आउने अवस्था छ ।
सरकारले प्रतिवेदन अध्ययनका लागि १५ दिन समय दिएर कार्यदल बनाएको छ । कार्यदलले अध्ययन गरेर सुझाब दिएपछि मन्त्रिपरिषद्ले निर्णय गरेर राजपत्रमा प्रकाशित गर्न अझै समय लाग्ला । यो पृष्ठभूमिमा स्थानीय निर्वाचन कहिले गर्नु उपयुक्त होला ?
निर्वाचन आयोगले अपेक्षा गरेको र निर्वाचन गर्न सकिने समय भनेको जेठ नै हो । हामी जेठमा स्थानीय निर्वाचन गर्न आन्तरिक रूपमा कार्यविधि बनाउँदै छौ“ । यसका लागि चैत अन्तिमतिर सबै केन्द्रमा निर्वाचन अधिकृत पुगिसकेको हुनुपर्छ । समयको चाप निकै छ । तर पनि तयारी गर्दै छौ“ । मैले अघि नै उल्लेख गरेको भन्दाबाहेक मतदाता नामावली संकलन गर्ने काम सकिँदै छ । फागुनको पहिलो हप्तासम्म सबै विवरण आइसक्छ । त्यसपछि अन्तिम अध्ययन गरेर आयोगले छाप्न पठाउँछ । त्यतिवेलासम्म अर्थात् फागुन पहिलो सातासम्म प्रतिवेदन आउँछ भन्ने हामीलाई विश्वास छ । अहिलेको राजनीतिक जटिलतामा आयोगले जटिलता थप्न चाहँदैन र केही लचिलो भएर नै निर्वाचनमा सहयोगी बन्न चाहन्छ ।
राजनीतिक जटिलताको कुरा गर्नुभयो । दलहरूबीच संविधान संशोधनको विषयमा विवाद सुल्झिएको छैन । विशेषगरी, तराई (प्रदेश नम्बर २) मा निर्वाचन होला कि नहोला भन्ने आमचासो छ । यसलाई कसरी हेर्नुभएको छ ?
लोकतान्त्रिक शासन प्रणालीमा सबै दलको सहभागिता अनिवार्य हुन्छ । बहुदलीय व्यवस्थामा दलहरूको सहभागिता, सद्भाव र सहयोग स्वच्छ निर्वाचनका लागि आवश्यक छ । संसद्मा रहेका र नरहेका विभिन्न पक्षहरू तराईमा मात्र होइन, अन्यत्र पनि छन् । सबै पक्षसँग छलफल गरेर सरकारले निर्वाचनको वातावरण बनाउनुपर्छ र मिति तोक्नुपर्छ । निर्वाचनले मात्रै संविधान कार्यान्वयन हुन्छ । सरकारले काम गरिरहेको हुनाले वातावरण सहज हुन्छ भन्ने लाग्छ । स्थानीय निर्वाचन एकैपटक देशभरि हुन सम्भव छैन । आयोगले प्रदेश–प्रदेशमा निर्वाचन गर्छ । १५–२० दिनको अन्तरमा दुईदेखि तीन चरणमा निर्वाचन गर्न सकिन्छ भन्ने आयोगलाई विश्वास छ । किनभने, त्यो समयान्तरमा मतपेटिका, मतपत्र ढुवानी गर्नुपर्ने हुन्छ । अर्थात्, व्यवस्थापनमा समय लाग्छ । जेठमा सुरु गरेर जेठको अन्तिमसम्ममा निर्वाचन टुंगिन सक्छ । सुरक्षाका दृष्टिकोणले पनि यसमा ध्यान दिनुपर्ने हुन्छ ।
तपाईंले सुरक्षाको कुरा नि उठाउनुभयो । आयोगले भौतिक तयारीचाहिँ के–के गर्दै छ ?
निर्वाचनका लागि अति आवश्यकमध्ये मतदाता नामावली, मतदान केन्द्र तय र मतपत्र व्यवस्थापन गर्नुपर्छ त्यसपछि मात्रै मतदान हुन्छ । कति मतपत्र चाहिन्छ, कति केन्द्र चाहिन्छ, कति जनशक्ति लाग्ने हो, त्यसबारे गृहकार्य भइरहेको छ । निर्वाचनको समयतालिकाबारे पनि छलफल भइरहेको छ । बजेटबारे पनि छलफल चलिरहेको छ । विद्युतीय मेसिन प्रयोग गर्ने कि मतपत्र नै प्रयोग गर्ने भन्नेमा पनि छलफल चलिरहेको छ । विद्युतीय मेसिनको प्रयोगको बारेमा दुईचोटि प्रस्तुतीकरण भइसकेको छ । माघ २५ गते प्रधानमन्त्रीको उपस्थितिमा आयोग कार्यालयमा विद्युतीय मेसिनको प्रस्तुतीकरण हुँदै छ ।
सरकारले पत्रमा आर्थिक व्यवस्थापन र अधिकारबारे उल्लेख गरेको छैन । १३ अर्ब रुपैयाँ लाग्छ भन्ने आँकलन पनि भइरहेको सन्दर्भमा सरकारसँग केही कुरा भएको छ ?
योबारेमा मेरो शनिबार प्रधानमन्त्रीसँग कुराकानी भयो । आर्थिक व्यवस्थापन र खर्च अधिकारका लागि कहाँ–कहाँ कसलाई पत्र लेख्नुपर्ने हो, लेख्छु भन्नुभएको छ । १३ अर्ब रुपैयाँ लाग्छ कि कति लाग्छ भन्ने अनुमान छ । तर, विद्युतीय मतदान यन्त्र प्रयोग गरियो भने त्योभन्दा बढी खर्च लाग्न सक्छ । प्रदेश–प्रदेशमा फरक–फरक राजनीतिक दलको उपस्थिति छ । त्यसकारणले सहर र गाउँअनुसार विद्युतीय मतदान यन्त्र प्रयोग गर्ने भन्ने छैन । आयोगले प्रदेश–प्रदेशका आधारमा विद्युतीय मतदान यन्त्र प्रयोग गर्ने सोच बनाएको छ । त्यसरी व्यवस्थापन गर्न पनि सजिलो हुन्छ । यन्त्र प्रयोग गरियो भने एउटा पूरै प्रदेशमा प्रयोग हुन्छ । गाउँ र सहर भनेर हुँदैन । किनभने, एउटै प्रदेशमा गाउँ र सहर हुन्छ र जिल्ला नै फरक पर्न सक्छ ।
स्थानीय निर्वाचनको मात्रै यहाँ चर्चा भयो, तर संवैधानिक प्रावधानअनुसार एक वर्षभित्र स्थानीय, प्रान्त र संघको निर्वाचन गरिसक्नुपर्छ । यसबारे आयोगले के–के तयारी गरिरहेको छ ?
आयोगले यी सबै तहका निर्वाचनका लागि पटक–पटक नेपाल सरकार, राजनीतिक दल, सरोकारवाला, जो–जो ‘प्राइम स्टेकहोल्डर’ र ‘अनस्टेकहोल्डर’ अर्थात् मिडियाका साथीहरूसित छलफल गर्ने, जानकारी गराउने, अनुरोध गर्ने जस्ता कार्य गर्दै छौँ । हाम्रो तयारीअनुसार जेठमा स्थानीय निर्वाचन गर्न सक्छौँ । त्यसैगरी, असोजमा राम्रो तयारी गरेर कात्तिक (दसैँ र तिहारको बीच)मा प्रदेशको निर्वाचन गर्न सकिन्छ । स्थानीय र प्रदेशको निर्वाचन भइसकेपछि राष्ट्रिय सभाको निर्वाचन गर्न सहज हुन्छ । राष्ट्रिय सभाको निर्वाचन गर्न कुनै समस्या हुँदैन । राष्ट्रिय सभाको निर्वाचनपछि एउटा ‘साइकल’ पूरा हुन्छ । त्यसपछि मंसिरको पहिलो सातामा संसद्को निर्वाचन गर्न सकिन्छ । तर, त्यसका लागि सबैभन्दा पहिला निर्वाचन क्षेत्र निर्धारण आयोग गठन हुनुपर्छ भनेर मैले पटक–पटक नेपाल सरकार र अन्य सरोकारवाला निकायलाई जानकारी गराउँदै आएको छु । किनकि, निर्वाचन क्षेत्र निर्धारण आयोगलाई पनि काम गर्न समय त चाहिन्छ । संविधानतः एक सय ६५ वटा निर्वाचन क्षेत्र चाहिन्छ, प्रतिनिधिसभाका लागि । प्रदेशसभामा तीन सय ३० आवश्यक हुन्छ । त्यसको निर्धारण पनि निर्वाचन क्षेत्र निर्धारण आयोगबाटै गरिनुपर्छ । त्यसका लागि छिटोभन्दा छिटो आयोग गठन गर्नुपर्छ । यसका साथै, सरकारले प्रदेशको निर्वाचनका लागि पनि असारमा मिति तोकिदिनुपर्छ । प्रतिनिधिसभाको निर्वाचनका लागि मिति तोक्नुपर्छ । हामीले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनसम्बन्धी कानुन तयार गरिसकेका छौँ । यही महिनाभित्र सरकारलाई दिन्छौँ ।
अहिलेको राजनीतिक वातावरण हेर्दा ०७४ माघसम्ममा तीनवटै निर्वाचन गर्न सकिन्छ भन्नेमा निर्वाचन आयोग कत्तिको ढुक्क छ ?
नेपालमा अस्थिर राजनीतिक वातावरणलाई पनि नेतृत्व वर्गले छलफल र संवादबाट छोटो समयमै स्थिरतामा परिणत गरेको र विश्वसनीय वातावरण निर्माण गरेको इतिहास छ । यो हामीले ०६४ मा देखेका पनि थियौँ । त्यतिखेर हामीले बन्द सूचीको मिति पनि अलिकति बढाइदिएका थियौँ । उम्मेदवारी दिने मिति पनि बढाएका थियौँ । त्यतिखेरका सरकार र मोर्चाको सम्झौताले गर्दा त्यो सम्भव भएको थियो । त्यसैगरी, ०७० को निर्वाचनमा पनि धेरै सहजता सिर्जना गरेका थियौँ । यी सबै उदाहरणबाट निर्वाचन आयोग निर्वाचनका लागि तम्तयारी अवस्थामा बस्छ र राजनीतिक दलहरूको आपसी विश्वासको प्रतीक्षामा रहन्छ भन्ने देखिन्छ । कहिलेकाहीँ अत्यन्तै छोटो समयमा पनि धेरै काम गर्नुपर्ने हुन्छ । त्यस्तोमा पनि निर्वाचन आयोगले सकभर तयारी सम्पन्न गर्न सक्छ । तर, आयोगले नै नसक्ने अवस्था आयो भने त्यसमा केही फेरबदल पनि हुन सक्छ । ०६४ मा जेठमा निर्वाचन हुने भनिए पनि त्यसका लागि आवश्यक कानुन थिएन । यस्तो अवस्थामा २९ चैत ०६३ मा जेठमा निर्वाचन हुन सक्दैन भनेर आयोगले निर्णय नै गरेको थियो । त्यसपछि सरकारले असारमा ६ मंसिरको मिति तोक्यो । त्यो मितिमा पनि दलहरूबीचको आपसी समन्वयको अभावका कारण निर्वाचन हुन सकेन । त्यसपछि फेरि सरकारले २७ पुसमा २८ चैतको मिति तोक्यो । त्यसकारण दलहरूबीचको विश्वास बलियो भयो भने मात्र तीनवटा निर्वाचन सम्भव हुन्छ ।
चुनावको दबाब अहिले आयोगलाई महसुस छ कि छैन ?
अहिले त्यस्तो बोल्नुपर्ने अवस्था छैन । हामीलाई कानुन प्राप्त भइराखेको छ । सरकारबाट पनि विश्वासको वातावरण आइरहेको छ । र, दलहरूबीच पनि अब निर्वाचन हुनुपर्छ भनेर आपसी सम्बन्ध र सहकार्य अघि बढिरहेको छ ।
निर्वाचन सुरक्षाका सन्दर्भमा के–के गर्दै हुनुहुन्छ ?
निर्वाचनका लागि सुरक्षा ज्यादै महत्वपूर्ण हुन्छ । अझ अहिलेको जस्तो अवस्थामा सुरक्षा प्रमुख पाटो हुने नै भयो । त्यसका लागि सुरक्षा निकायसित केही दिनअघि हामीले छलफल पनि गरेका थियौँ । विगतको निर्वाचनको आधारमा निर्वाचन आयोग आफैँले पनि सुरक्षा विश्लेषण गरिरहेको छ । अब हामी छिटै सुरक्षा निकायका उच्च अधिकारीसित पनि छलफल गर्छौं । सुरक्षा निकायले पनि निर्वाचनको सुरक्षाका आन्तरिक रूपमा योजना बनाउँदै होलान् । क्षेत्रगत रूपमा सुरक्षा अवस्था फरक–फरक छ । कतिपय स्थानमा सुरक्षा संवेदनशीलता अलि बढी नै छ भने कतिपय स्थानमा ठीकै पनि होला । निर्वाचन आयोग नयाँ अवधारणामा पनि जान खोज्दै छ । सधैँ प्रहरीलाई उभ्याएर निर्वाचन कति गर्ने ? त्यसमा जनताको सहभागिता पनि होस् न । मतदाता र राजनीतिक दलहरूको आपसी सहयोग र समन्वयबाट पनि निर्वाचन गर्न सक्नुपर्छ हामीले । स्थानीय तहबाट राजनीतिक दलहरूले पनि त्यसको ओनरसिप लिनुपर्छ । लोकतन्त्रका लागि हामीले निर्वाचन गरिरहेका छौँ । यस्तोमा मतदाता आफैँले आफ्नो मतको सुरक्षा गरून्, जहाँ–जहाँ मतदान हुन्छ, त्यहीँ–त्यहीँ मतगणना गरून् । त्यहाँबाट त्यसको परिणाम मात्र पठाइदिऊन् । त्यसैले स्थानीय जनताले नै सुरक्षा व्यवस्था मिलाऊन् भन्ने पक्षबाट हामीले हेरिरहेका छौँ । सुरक्षा व्यवस्था मिलाउँदामिलाउँदै पनि निर्वाचन अभियानका क्रममा राजनीतिक दलहरूबीच जेजस्ता घटना हुने गरेका छन्, त्यसलाई आगामी दिनमा शून्यमा झार्ने प्रयास हाम्रो हुनेछ ।
आयोगले मस्यौदा गरेर पठाउँदा थ्रेसहोल्डको विषय पनि मस्यौदा गरेर पठाएको थियो । तर, गृह मन्त्रालयबाट संसद्मा पुग्दा त्यो हरायो । तर, फेरि अहिले त्यो छलफलमा चाहिँ छ । यसबारे आयोगको भनाइ के छ ?
थ्रेसहोल्ड पनि हाम्रो एउटा पुरानै मान्यता हो । हामीले ०६३ सालदेखि नै कानुन ड्राफ्ट गर्दा यसलाई उठाउँदै आएका छौँ । तर, त्यो सफल हुन सकेको छैन । त्यतिवेलाको संसद् र राजनीतिक दलहरूले त्यसलाई स्वीकार गरेनन् । अहिले फेरि नेपालको नयाँ संविधानअनुसार हामीले नयाँ कानुनहरूको ड्राफ्ट गर्न सुरु गरेपछि विभिन्न सरोकारवाला र विज्ञहरूसँग छलफल गर्यौँ । त्यसक्रममा एउटा औसत किसिमको थ्रेसहोल्ड चाहिन्छ भन्ने सुझाब आयो । समानुपातिकमा प्राप्त मतलाई सिटमा रूपान्तरण गर्ने कार्यका लागि पनि थ्रेसहोल्ड चाहिन्छ । राज्यले पार्टीहरूलाई फाइनान्स गर्ने हो भने त्यसका लागि पनि चाहिन्छ । कति प्रतिशतभन्दा बढी मत ल्याएको खण्डमा राज्यले फाइनान्स गर्ने भन्ने निर्धारण गर्नका लागि पनि थ्रेसहोल्ड चाहिन्छ । त्यसैले हामीले त्यसलाई प्रस्ताव गरेका हौँ । त्यसपछि त्यो गृह मन्त्रालय, कानुन मन्त्रालय, विधेयक समिति, संसद्, राज्य व्यवस्था समिति हुँदै छलफलमा जाँदा कसैले पाँच प्रतिशत, कसैले १० त कसैले तीन प्रतिशत भनेका छन् । छलफलकै क्रममा हामीले एक दशमलव ५ प्रतिशत थ्रेसहोल्ड राख्दा बहुदलीय प्रजातन्त्रको समेत सम्मान हुने भएकाले प्रस्ताव अघि बढाएका छौँ । ०७० को निर्वाचन हेर्दा पनि त्यति थ्रेसहोल्ड राख्दा ११ वटासम्म दल रहने देखिन्छ । तर, यो सब सार्वभौम संसद्भित्रको आफ्नो अधिकार क्षेत्रभित्रको विषय हो । कति प्रतिशत राख्ने भनेर अहिले बहस भइरहेको छ । सकभर थ्रेसहोल्ड राख्दा नै राम्रो हुन्छ भन्ने हाम्रो सुझाब छ । त्यसका लागि आयोगले दबाब सिर्जना गर्दैन ।
सर्वोच्च अदालतले फैसला गरेको ‘राइट टु रिजेक्ट’ को विषयलाई पनि तपाईंहरूले प्रस्ताव गर्नुभएको थियो । त्यो पनि अहिले हटाइएको छ नि ?
हो, सर्वोच्च अदालतले नेपाल सरकार र निर्वाचन आयोगका नाममा एउटा आदेश दिएको छ । सर्वोच्चले स्थानीय निर्वाचनमा ‘नन् अफ द एबोभ’ मतको पनि व्यवस्था गर्न आदेश दिएको छ । भारतमा पनि त्यो सिस्टम आइसकेको छ । अन्य देशमा कतै त्यस्तो व्यवस्था छ, कतै छैन । हाम्रो देशमा भने यो अदालतको आदेश हो । आदेश आएपछि स्थानीय निर्वाचन कार्यविधि २०४८ मा पनि संशोधन गरेर पठाएका थियौँ । सायद निकायकै निर्वाचन हुन्छ कि भनेर हामीले त्यसलाई पठाएका थियौँ । त्यसमा पनि हामीले नन् अफ द एबोभको प्रावधान राखेका थियौँ । त्यसपछि हामीले स्थानीय तहको निर्वाचनका लागि पनि कानुनको ड्राफ्ट गरेर पठायौँ । त्यसमा पनि हामीले त्यो प्रावधान समावेश गरेका थियौँ । तर, अहिलेको संसद्ले त्यसलाई एक्सेप्ट गरेन । यो संसद्को क्षेत्राधिकारको विषय भयो ।नयाँपत्रिकाबाट
Comments
अरु समाचार
-
स्याङ्जा जिप दुर्घटनाका दुई मृतकको पहिचान खुल्यो, १७ घाइतेको उपचार जारी
काठमाडौं । स्याङ्जामा भएको जिप दुर्घटनामा ज्यान गुमाउने दुई मृतकको परिचय खुलेको छ । गल्याङ नगरपालिका–८ करादीमा सोमबार साँझ भएको...
-
युवापुस्ताको मनोविज्ञान बुझेर पार्टीका नीति र कार्यक्रम परिमार्जन गरिनुपर्छ: शंकर पोखरेल
काठमाडौँ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले प्रविधिसँगै हुर्किएको युवापुस्ताको मनोविज्ञान बुझेर राजनीतिक दलहरूले आफ्ना नीति, कार्यक्रम र कार्ययोजना...
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
प्रतिनिधिसभाको बैठक: दफावार छलफलका लागि आज विभिन्न विधेयक समितिमा पठाइँदै
काठमाडौँ। सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक सोमबार बस्दैछ । अपराह्न १ बजे बस्ने बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको...
-
अपाङ्गता भएका २४ प्रतिशत बालबालिका अझै विद्यालयबाहिर
काठमाडौं । अपाङ्गता भएका बालबालिकामध्ये २४ प्रतिशत बालबालिकाहरु शिक्षाबाट बञ्चित भएका छन् । भौगोलिक अवस्था, विद्यालयसम्मको पहुँच, अपाङ्गतामैत्री पूर्वाधारको अभाव,...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
पदीय मर्यादाविपरित उपसभामुख रुवी पत्रकार श्रेष्ठविरुद्ध आक्रोशित
काठमाडौं । उपसभामुख रुबी कुमारी ठाकुरले आफूविरुद्ध समाचार प्रकाशित भएपछि पदीय मर्यादाविपरीतको अभिव्यक्ति दिँदै जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार...
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...












