श्रममन्त्री गोकर्ण विष्टले मलेसियासँग नेपालको हात माथि पर्ने गरी श्रम सम्झौताको मस्यौदामा सहमति जुटाउन सफल भएसँगै अन्य देशसँग पनि पहल शुरु भएको हो । कुवेतले नेपालसँग श्रम सम्झौता गर्न चाहेको छ ।
कुवेतमा ३० हजार भन्दा बढी नेपाली महिला घरेलु कामदारका रुपमा कार्यरत छन् । तर नेपालमा श्रम स्वीकृति बन्द भएपछि उनीहरु आउन पाएका छैनन् । घरेलु कामदारको श्रम स्वीकृति रोकिएपनि अवैध बाटोबाट नेपाली महिला कुवेत गइरहेका छन् ।
अवैध बाटोबाट जाँदा नेपाली महिला जोखिममा परेको भन्दै संसदको श्रम सम्बन्ध समितिमा घरेलु कामदारलाई श्रम स्वीकृति दिन सांसदहरुले सुझाव दिएका छन् । श्रममन्त्री गोकर्ण विष्टले दुई पक्षीय सम्झौताबाट नेपाली महिलाहरुको सम्पूर्ण सुरक्षा हुने गरिमात्र श्रम स्वीकृति खुलाइने बताएका छन् ।
त्यसका लागि कुवेतका मन्त्री नेपाल आउन लागेको श्रम मन्त्रालयका एक उच्च अधिकारीले बताए । कुवेत नेपाली महिलाहरुका लागि घरेलु कामदारको आकर्षक र सुरक्षित गन्तव्य हो । अहिले तेस्रो मुलुक हुँदै अवैध रुपमा नेपाली महिला जाने क्रम नरोकिएकाले यसलाई नेपालबाटै सहज बनाउन मन्त्री बिष्टमाथि दबाब परेको छ ।
सरकारले कतारसँग पनि श्रम सम्झौता गर्दैछ ।