ताजा समाचार

राज्य व्यवस्था समितिका सभापती खितवडाले राजीनामा दिनुपर्ने रास्वपा सचिवालयकाे निष्कर्ष !

काठमाडौं । कुलिङ अफ पिरियडको प्रावधानमा अनाधिकृत छेडखानीसम्बन्धी प्रकरणमा राज्य व्यवस्था समितिका सभापति रामहरी खतिवडाले राजीनामा दिनुपर्ने निष्कर्ष राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निकालेको छ ।

हिजो (मंगलबार)बसेको सचिवालय बैठकले सो निष्कर्ष निकालेको प्रवक्ता मनिष झाले जानकारी दिए । निजामती सेवा विधेयकको मस्यौदामा छेडखानी गर्दै कुलिङ अफ पिरियडलाई निस्प्रभावी बनाइएको सम्बन्धी विवादमा छानबिनका लागि बनाइएको संसदीय समितिले हिजाे नै सभामुख देवराज घिमिरेलाइ प्रतिवेदन बुझाएको थियो ।

उक्त प्रतिवेदनले समितिका सभापति रामहरि खतिवडालाई नैतिक जिम्मेवार ठहर्‍याएको छ । उनले आवश्यक समन्वय गर्न नसकेको प्रतिवेदनमा उल्लेख छ । यसैमा टेकेर रास्वपाले खतिवडाको राजीनामा मागेको हो ।

हिजोको बैठकमा रास्वपाभित्र पनि उच्चपदस्थ सरकारी कर्मचारीहरूलाई कुलिङ पिरिड लगाउने प्रस्ताव गरिएको छ । सरकारी सेवाबाट निवृत्त भएको २ वर्षसम्म पार्टी सदस्य नबनाउने गरी विधानमा संसोधन गर्न प्रस्ताव आएको प्रवक्ता झाले जानकारी दिए ।

‘हिजो समयाभावका कारणले यो विषयमा छलफल गर्न भ्याइएन । अर्को वैठकमा थप छलफल गरेर विधान संसोधन हुन्छ,’ प्रवक्ता झाले भने ।
त्यस्तै, रास्वपाकाे सचिवालय बैठकले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानन्यायाधीसलगायत उच्चपदस्थ सम्मानित व्यक्तित्वहरुलाई पार्टीमा नभित्र्याउने समेत प्रस्ताव गरिएको छ ।
बैठकले रुपन्देहीमा उपचुनाव लड्ने हेतु पार्टीको समानुपातिक सूचीबाट नाम हटाउन निवेदन दिएकी कुसुम महर्जनको निवेदन स्वीकृत गरेकाे छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org