ताजा समाचार

सप्तकोशी नदी उर्लिदा सबै ढाेका खाेलियाे, बेलुकासम्म खतरा रहने !

काठमाडौं । सप्तकोशी नदीको बाढीले यस वर्ष पहिलोपटक खतराको तह पार गरेको छ । सप्तकोशी नदीमा खतराको तह बेलुकासम्म नै जारी रहन्छ ।

त्यस्तै, कोशी व्यारेजमा पानीको बहाव अति उच्च भएपछि व्यारेजका सबै ढोका खुला गरिएको छ। हाल नदिमा ३ लाख ३६ हजार क्युसेक भन्दा माथि पानी बहाव पुगेपछि सबै ढोका खोलिएको हो।

सप्तकोशी नदीका सहायक नदीहरु सुनकोशी, अरुण र तमोरमा पनि खतराको तह कायमै छ । यससँगै उदयपुर, सप्तरी र सुनसरीका नदी तटीय क्षेत्र उच्च जोखिममा परेको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । ती क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन भनेर मास एसएमएस पठाइएको बाढी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुलीले जानकारी दिए ।

पराजुलीका अनुसार सुनसरी, मोरङ र झापा भएर बग्ने साना नदीहरु तथा झापाको कन्काई नदीको तटीय क्षेत्रमा पनि सतर्कता अपनाउन भनिएको छ । बाढी पूर्वानुमान शाखाका प्रमुख पराजुलीका अनुसार सप्तकोशी नदीको बाढीको सतह खतराको तह आज बेलुकीसम्म नै रहने पूर्वानुमान छ । भोलि बिहानसम्म सतर्कताको तहभन्दा माथि नै रहने छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org