ताजा समाचार

आईसीसी महिला टी–२० विश्वकप छनोट : नेपाल थाइल्यान्डसँग पराजित

नेपालले आफ्नो दोस्रो खेल बिहीबार नेदरल्यान्ड्ससँग खेल्नेछ

काठमाडौं । काठमाडौंमा आइतबारदेखि सुरु भएको आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको आफ्नो पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपाल थाइल्यान्डसँग ८ विकेटले हार बेहोरेको हो। नेपालले दिएको १२३ रनको लक्ष्य थाइल्यान्डले १६.५ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्‍यो। जितका लागि २ रन आवश्यक हुँदा थाइल्यान्डले विजयी चौका प्रहार गरेको थियो।

थाइल्यान्डका लागि नथाकन चन्थमले अविजित ५७ रन बनाइन्। नानपत कोन्चारोन्काईले ३२ तथा अफिसरा सुवानचोनराथीले २८ रनको योगदान दिइन्। नेपालका लागि दुवै विकेट सीता रानामगरले लिइन्।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाल २० ओभरमा अलआउट हुँदै १२२ रनमा समेटिएको थियो। नेपालका लागि बिन्दु रावलले सर्वाधिक ४४ रन बनाइन्। सम्झना खड्काले ११ बलमा २६ रन बनाउँदा रुबिना क्षेत्रीले दुई छक्का र एक चौकासहित १० बलमा १७ रन जोडिन्।

थाइल्यान्डका लागि थिपात्चा पुथावङवले ४ ओभरमा १५ रन खर्चेर ४ विकेट लिइन्। ओनिचा काम्चोम्फुले २ विकेट लिँदा सुनिदा चतारंगरतना, सुलिपर्न लाओमी र चनिदा सुथिराङले १–१ विकेट हात पारिन्।

नेपालले अब आफ्नो दोस्रो खेल बिहीबार नेदरल्यान्ड्ससँग खेल्नेछ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org