ताजा समाचार

व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्‍योः दीपक भट्ट

काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले वैधानिक व्यवसायिक गतिविधिलाई अपराधसँग जोडेर प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गरेको दाबी गरेका छन्।

अनुसन्धानका क्रममा दिएको बयान तथा थप बयानमा भट्टले आफू कुनै राजनीतिक वा सार्वजनिक पदमा नरहेको, विशुद्ध व्यवसायीका रूपमा कानुनअनुसार व्यापार–व्यवसाय गर्दै आएको बताएका छन्। उनले सम्पत्ति शुद्धीकरणको आरोप निराधार रहेको जिकिर गर्दै आफूविरुद्ध हालसम्म कुनै फौजदारी कसुर प्रमाणित नभएको उल्लेख गरेका छन्।

भट्टले हिमालयन रिइन्सुरेन्सको रकम प्रयोग गरी शेयर खरिद गरेको, ब्रोकर नम्बर ५५ मार्फत गैरकानुनी कारोबार गरेको तथा नेपाल रिइन्सुरेन्सको शेयर बजारलाई प्रभावित पार्ने योजनामा संलग्न रहेको आरोपलाई अस्वीकार गरेका छन्। उनका अनुसार आफू हिमालयन रिइन्सुरेन्सको व्यवस्थापन वा वित्तीय निर्णय प्रक्रियामा प्रत्यक्ष संलग्न व्यक्ति होइनन् र कम्पनीको रकम दुरुपयोग भएको भए त्यसको जिम्मेवारी सम्बन्धित संस्था र ब्रोकरकै हुने हो।

उनले आफ्ना नाममा भएका शेयर कारोबारसमेत आफूले प्रत्यक्ष सञ्चालन नगरेको दाबी गरेका छन्। शुलभ अग्रवालले टीएमएस, मेरो सेयर र डिम्याट खातासम्बन्धी पहुँच प्रयोग गरेको उल्लेख गर्दै वास्तविक कारोबार कसले र कहाँबाट सञ्चालन गर्‍यो भन्ने विषय डिजिटल फुटप्रिन्ट तथा प्राविधिक परीक्षणबाट स्पष्ट हुनुपर्ने बताएका छन्।

भट्टले आफूविरुद्ध प्रस्तुत गरिएको घटनाक्रमलाई राज्य पक्षले योजनाबद्ध रूपमा आपराधिक रंग दिन खोजेको आरोप लगाएका छन्। उनका अनुसार विभिन्न कम्पनीहरूमा गरिएको लगानी, पूँजी वृद्धि, जग्गा कारोबार तथा लाभांश प्राप्ति सबै कानुनी प्रक्रिया र कर प्रणालीभित्र रहेर सम्पन्न भएका आर्थिक गतिविधि हुन्।

नेपाल रिइन्सुरेन्सको बहुमत शेयर नियन्त्रण गर्ने, बीमा क्षेत्रमा प्रभाव विस्तार गर्ने वा शेयर बजारमा कर्नरिङ गर्ने कुनै योजना वा समूहमा आफू संलग्न नरहेको उनको भनाइ छ। उनले आफ्नो नाममा भएका कारोबार मात्र देखाएर आफूलाई योजनाको ‘नेतृत्वकर्ता’ का रूपमा चित्रित गर्नु तथ्यसँग मेल नखाने बताएका छन्।

भट्टले अनुसन्धान निकायलाई आफ्नो नाममा सञ्चालन भएका डिजिटल खाताहरू, आइपी एड्रेस तथा कारोबारको प्राविधिक परीक्षण गर्न आग्रह गर्दै त्यसबाट वास्तविक जिम्मेवार व्यक्ति पहिचान हुने विश्वास व्यक्त गरेका छन्।

राज्य पक्षले भने हिमालयन रिइन्सुरेन्सको रकम ब्रोकर खातामार्फत प्रयोग गरी ठूलो परिमाणमा शेयर कारोबार भएको, त्यसबाट धितोपत्र बजार प्रभावित पार्ने प्रयास भएको तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुर भएको आरोप लगाएको छ। उक्त आरोपमाथि अनुसन्धान तथा न्यायिक प्रक्रिया जारी छ।

भट्टको बयानको पूर्णपाठमा के छ ?

क. प्रतिवादी दीपक भट्टको बयान

म विरुद्ध लागेको आरोप सरासर झुठा हो । म कुनै पनि राजनैतिक एवं अन्य लाभको पदमा रहेको व्यक्ति होइन।म विशुद्ध रुपमा एउटा व्यावसायी हुँ । एउटा व्यावसायीको प्रमुख कार्य भनेकै राज्यको प्रचलित कानुनभित्र रहेर आफ्नो व्यापारिक एवं व्यावसायिक धर्म निर्वाह गर्नु हो । एउटा नागरिकले प्रचलित कानुन अन्तर्गत रही कुनै कम्पनी स्थापना वा सञ्चालनको काममा भाग लिने वा व्यापारिक एवं व्यावसायिक कार्यहरु गर्न नपाउने भन्ने हुदैन । म विरुद्ध सम्पत्ति शुद्धीकरणको कसूरमा लागेको आरोप सरासर झुठा हो । सम्पत्ति शुद्धीकरणको कसूर हुनका लागि कसूरबाट सम्पत्ति आर्जन गरेको हुनु पर्छ भन्ने मेरो बुझाई हो । म विरुद्ध हालसम्म पनि कहि कतै कुनै फौजदारी मुद्दा परेको छैन । मैले कुनै पनि सरकारी नियुक्ति आदिमा सेटिङ गर्ने लगायतका कार्यहरु गरी सम्पत्ति आर्जन गरेको छैन । मैले विभिन्न बैंक तथा वित्तीय संस्थाहरु र व्यक्तिहरुबाट ऋण एवं सरसापटी कर्जा समेत लिई व्यापार एवं व्यावसाय गर्दै आएको छु । म विरुद्ध लागेको आरोप झुठा हो। मेरो थाईल्याण्ड दुवई र सिंगापुर लगायतका देशहरुमा घर खरिद गरेको भन्ने कुरा सरासर झुठा हो। मैले कही कतै हिमालयन रिको रकम दुरुपयोग गरी ५५ नम्बर ब्रोकर कम्पनीमा सो रकम ल्याई दुरुपयोग गरेको होइन।म हिमालयनको दैनिक प्रशासनिक एवं व्यवस्थापकिय कार्यमा संलग्न हुने पनि होइन । म यस कम्पनीको सञ्चालक पनि होइन। हिमालयन रीमा म सञ्चालक रहेको ईन्फिनिटी होल्डिङ्सको शेयर रहेको छ। मैले हिमालयन रीको व्यवस्थापक तथा सञ्चालक समितलाई समेत प्रभावमा पारी मेरा व्यक्तिगत नाउँमा शेयर खरीद गर्न ५५ नम्बर ब्रोकरमा रकम पठाउन लगाएको समेत होइन। मैले ५५ नम्बरबाट कारोवार गर्ने भएकोले शेयर खरिद गर्न भनेको हो। कारोवार सेटलमेन्टका लागि हिमालयन रिको रकम प्रयोग गर्न लगाएको होइन । मेरो नियत पनि हिमालयन रिको रकम प्रयोग गरी आफ्ना नाउँमा शेयर खरीद गर्ने होइन । ब्रोकरले नै पछि हिसाव मिलान गर्ने गरी ब्रोकरको खातामा मौज्दात रहेको रकम प्रयोग गरेको हुन सक्छ। यो मेरो सरोकारको विषय होइन । हिमालयन रिले व्रोकरलाई दिएको रकमको खोजतलास एवं संरक्षण गर्ने दायित्व मेरो नभई हिमालयन रिकै हो।म व्यक्तिगत रुपमा संलग्न भई हिमालयन रि. बाट ५५ नम्बरको व्रोकरको खातामा रकम ल्याई मैले मेरा नाउँमा शेयर खरीद गरेको पनि होइन । ब्रोकरले कारोवार गरेको विषयमा मेरो जवाफदेहिता हुदैन । मैले ब्रोकरलाई दिनु पर्ने रकम उक्त ब्रोकरसँग शेयर कारोवार सम्बन्धमा भएको सम्झौता बमोजिमको रकम तिर्ने बुझाउने मेरो दायित्व हो । शेयर खरिद विक्रीको विषय सम्पत्ति शुद्धीकरणको कसूरको अनुसन्धानको दायरामा पर्दैन भन्ने मेरो बुझाई हो।मेरा नाउँमा शेयर खरीद भएको विषय हिमालयन रि.सँग कुनै पनि अर्थमा सम्बन्धित छैन। मैले शेयरको कारोवार गर्न नपाउने गरी मलाई कुनै कानुनले रोक लगाउन सक्दैन।यदि हिमालयन रि. को रकम ब्रोकरले दुरुपयोग वा हिनामिना गरेको भए त्यो विषय हिमालयन रि. र ब्रोकर वीचको विषय हो । म र जगदम्बा स्टिल्स प्रा. लि. विच मेरा नाउँको जग्गा खरिद विक्री गर्ने कुराकानी भए बमोजिम मैले जगदम्बा स्टिल्सबाट बैना वापत रकम लिएकोमा पछि कम्पनीले कोभिड लगायतका असहज परिस्थितिका कारण कम्पनीले जग्गा राजिनामा गर्न अस्वीकार गरेकाले मैले बैना वापतको रकम व्याज सहित कम्पनीलाई फिर्ता गरेको हुँ। ईन्फिनिटी होल्डिङ्गसको पूँजी बृद्धि भई रु. ३ करोडबाट ४८ करोड पुगेको ठिक हो । मैले माथि खुलाए अनुसार मैले जगदम्बा स्टिल्सलाई जग्गा विक्री गर्नका लागि लिएको बैना वापतको रकमबाट ईन्फिनिटीको शेयर पूँजी बृद्धि गरिएको हो । ईन्फिनिटी होल्डीङ्गस प्रा. लि. को समेत लगानीमा ग्रीन नेपाल डेभलपर्स प्रा. लि., फेवा डेभलपर्स प्रा. लि., डेल्टा डेभलपर्स प्रा. लि., ईन्फिनिटी इन्फ्रा स्ट्रक्चर प्रा. लि., लेखनाथ डेभलपर्स प्रा. लि. लगायत स्थापना भएका हुन्। उल्लिखित कम्पनीहरु व्यावसायिक प्रयोजनका लागि स्थापना भएका कम्पनीहरु भएकोले कुनै गलत काम गर्नका लागि स्थापना गरिएको होइन । यी कम्पनीहरुबाट कुनै गैरकानुनी कार्य भएको छैन । एउटा नियमित एवं व्यावसायिक रुपमा गरेको कार्य कसूर हुन सक्दैन । मैले मेरा नाउँका डिबेन्चरहरु NIMBD90, SBID83, SBLD89 हरु HLI Large Cap Fund लाई वा को कसलाई विक्री गरेको हो भन्ने विषय थाहा छैन । म र ब्रोकर नं. ५५ वीच भएको शेयरको कारोवारको करार बमोजिम मेरो TMS समेत ब्रोकरले नै प्रयोग गर्ने भएकोले कोबाट शेयर / डिबेन्चर खरिद गर्यो र को कसलाई विक्री गरेको हो भन्ने बारेमा मलाई थाहा छैन। यो कारोवारबाट कुनै कसूरजन्य कार्य समेत भएको छैन । कृतिम मूल्य सिर्जना गरी गराई धितोपत्र सम्बन्धी कानुनको बर्खिलाप गरी धितोपत्र बजारलाई प्रभावित पार्ने लगायतका कसूरजन्य कार्य मैले गरेको छैन र धितोपत्र बजारलाई प्रभावित पार्ने मेरो मनसाय पनि होइन । मैले कुनै अपराधिक षडयन्त्र गरी गैरकानुनी स्रोतको रकमको वैधता स्थापित गराउन कुनै कार्य गरेको छैन । HLI Large Cap Fund बाट भृकुटी स्टक ब्रोकिङ कम्पनीमा म समेतलाई व्यक्तिहरुलाई शेयर खरिदको भुक्तानी सेटलमेन्ट/ राफसाफ गर्न जे जुन समयमा रकम आवश्यक परेका बखत रकम ट्रान्सफर भई ५५ नम्बरको ब्रोकरको खातामा रकम जम्मा भएको कुरा मलाई थाहा पनि छैन र मैले शेयर डिवेञ्चर खरिद गर्नका लागि HLI Large Cap Fund को रकम प्रयोग पनि गरेको होइन। यो संस्थासँग मेरो कुनै सम्बन्ध छैन । मेरो श्रीमती संस्थापक शेयरधनी हुन् तर निज सञ्चालक समितिमा छैनन् । अन्य को को व्यक्तिका नाउँमा शेयर वा डिवेञ्चरको कारोवार यस संस्थाको रकमबाट वा अन्य के कुन रकमबाट भएको छ भन्ने कुरा मलाई थाहा हुने विषय होइन । मैले कोही कसैको रकम प्रयोग गरी मेरा नाउँमा शेयर वा डिवेन्चर खरिद गरेको छैन। ब्रोकरले गरेको कारोवारका बारेमा मैले माथि पनि खुलाएको छु ।

नेपाल रिइन्सुरेन्सको प्रमुख कित्ता शेयर ( Majority Shares) हात पार्ने र बीमा व्यावसायको क्षेत्रमा समेत आफ्नो पकड राख्ने तयारी सहितको योजना बनाई सोही योजना अनुसार कोही कसेलाई पनि ५५ नम्बर ब्रोकर कम्पनीमा रकम जम्मा गर्न लगाएको होइन । निजहरुले के कति कारणले रकम जम्मा गरेका हुन् भन्ने बारेमा मलाई थाहा छैन । सम्बन्धित व्यक्तिलाई नै थाहा होला । शेखर गोल्छा लगायतको कारावरको बारेमा मैले जवाफ दिनु पर्ने होइन । मैले उक्त ब्रोकिङ कम्पनीलाई रकम उपलब्ध गराई नेपाल रिइन्सुरेन्सको शेयर खरिद गर्ने योजना बनाएको पनि होइन । मैले कुनै पनि रकम उक्त ५५ नम्बरको खातामा जम्मा पनि गरेको छैन । म र ब्रोकर नं. ५५ वीच भएको शेयर कारोवारको सम्झौता बमोजिमको कारोवार भएको हो।म हिमालयन रिइन्स्योरेन्समा प्रत्यक्ष रुपमा आवद्ध छैन । । म सञ्चालक रहेको ईन्फिनिटि होल्डिङ्गसको शेयर रहेको छ । म हिमालयन रीको सञ्चालक समिति वा अन्य कुनै यसको समितिमा रहको छैन।म प्रशासनिक एवं वित्तीय कारोवारमा समेत संलग्न हुने अधिकारप्राप्त व्यक्ति पनि होइन। हिमालयन रिको कुनै पनि रकम मैले प्रयोग गरेको होइन । मैले ब्रोकर नं. ५५ को खाता प्रयोग गरी रिइन्स्योरेन्सको रकमबाट मैले रु.३ अर्व ८१ करोड बढी रकमको शेयर खरिद गरी विक्रिको लागि प्रयोग गरेको होइन । यो विशुद्ध रुपमा ५५ नम्बर ब्रोकर र मवीचको कारोवार हो । मैले उक्त ब्रोकर कम्पनीमा शेयर कारोवारको रकम तिर्न बाँकि छ । म ब्रोकर कम्पनी वीच सम्झौता भएको छ । सोही बमोजिम शेयर कारोवार भएको हो।मेरा नाउँको कुनै पनि बैंक खाताम हिमालयन रिबाट कुनै पनि रकम आएको छैन।यस अवस्थामा मैले हिमालयनको रकम प्रयोग गरेको भन्ने विषय झुठा हो । मैले म आफ्ना नाउँमा हिमालयन रिबाट रकम ल्याई त्यस्तो रकम प्रयोग गरी मेरा नाउँमा शेयरको कारोवार गरेको छैन । मेरा कुनै पनि व्यक्तिगत नाउँका खाताबाट मेरा नाउँको शेयरको रकम भुक्तानी भए गरेको छैन । हिमालयन रिको रकम अपचलन गर्ने कार्यमा म संलग्न भएको भन्ने कुनै तथ्यगत र प्रमाणिक आधार छैन । ब्रोकरले के कसरी के कुन स्रोतबाट रकम ल्यायो र त्यो रकम के कहाँ प्रयोग ग-यो भन्ने कुराको चासो र सरोकार मेरो होइन। मेरो नियत र संलग्नता देखिनका लागि म आफै सहभागी भएर हिमालयन रिको रकम लिने खाने मनसायले रकम अपचलन गरेको हुनु पर्ला । मलाई ब्रोकरले हिमालयनको रकम प्रयोग गरेको होला भन्ने कल्पनासम्म पनि थिएन । म र ५५ नम्बरको ब्रोकरवीच जे सम्झौता भएको छ, सोही बमोजिम ब्रोकरले कारोवार गरेको मैले मान्नु पर्छ । ब्रोकरले गर्ने कारोवारको नियमन र निगरानी गर्ने कानुनी जिम्मेवारी र कर्तव्य मेरो होइन। मेरा नाउँमा ५५ नम्बर ब्रोकर मार्फत खरिद भएको शेयर मेरै नाउँमा रहेको छ । यो वेचविखन भएको छैन।यति मात्र कुरा हो मैले ५५ नम्बर ब्रोकरलाई शेयर खरिदको रकम तिर्न बाँकी छ।हिमालयन रिइन्सुरेन्स कम्पनी लिमिटेडको कुनै आधिकारिक कागजात वा वित्तीय विवरणबाट मेरा नाउँमा कुनै वाँकी वक्यौता वा तिर्न बुझाउन बाँकी रहेको रकम छ भन्ने कुरा देखिदैन । यसमा म विश्वस्त छु।अर्को तर्फ यदि मैले हिमालयन रिइन्सुरेन्स कम्पनी लिमिटेडबाट कुनै रकमकलम लिएको भए सायद म उपर रकमकलम असुल उपर सम्बन्धी मुद्दा हुन्थ्यो होला । यसरी यी सबै कुराहरु एवं प्रमाणिक र तथ्यगत आधार समेतबाट मैले हिमालयन रिको रकम अपचलन गरेको छैन भन्ने कुरा पुष्टि हुन्छ। हिमालयन रीसँग मेरो कुनै पनि सम्बन्ध र लेनादेना छैन । मैले हिमालयन रीको कुनै चल अचल सम्पत्ति खाईमासी गरेको वा निजी प्रयोजनमा लगाएको अवस्था नहुँदा म यसमा जिम्मेवार हुनु पर्ने कुनै कारण छैन । मैले हिमालयन रिसँग कुनै कारोवार नभई ब्रोकर नं ५५ सँग गरेको कारोवार हो । हिमालयन रि र ५५ नम्बर ब्रोकरवीचको कारोवार के छ? लेनादेना के छ? भन्ने कुराको चासो र सरोकार मेरो होइन।मैले शुलभ अग्रलाल र शाहिल अग्रवाल लगायतको मिलेमतोमा हिमालयन रिइन्स्योरेन्सको रकम समेत ब्रोकरको खातामा जम्मा गरी धितोपत्र कारोवारलाई नै आफ्नो प्रभाव एवं नियन्त्रणमा लिने मनसायले नेपाल रिइन्सुरेन्सको प्रमुख कित्ता शेयर (Majority Shares ) हात पार्ने र बीमा व्यावसायको क्षेत्रमा समेत आफ्नो पकड राख्ने तयारी सहितको योजना बनाई सोही योजना अनुसार हिमालयन रिले उक्त ब्रोकिङ कम्पनीमा रकम जम्मा गरेको होइन । किनभने मैले माथि पनि खुलाएको छु । हिमालयन रिसँग मेरो कुनै सम्बन्ध छैन र मैले यसप्रकारका कार्यहरु गरी नेपाल रिइन्सुरेन्सको शेयर खरीद गर्नु पर्ने कुनै कारण पनि छैन भन्ने समेतका व्यहोराको बयान ।

क १. प्रतिवादी दीपक भट्टको थप बयान
शुलभ अग्रवालले मलाई शेखर गोल्छा, रोहित गुप्ता, अमित मोर र राजबहादुर शाह समेत भई शेयर बजारमा लगानी गर्ने कुरा भएको छ । ब्रोकरले Margin lending गर्छ, तपाईको नाममा शेयर खरिद गरी दिन्छु भनी शुलभ अग्रवालले भने अनुसार निजले मेरो नाममा शेयर कारोवार गरेको होला । माथि उल्लेख भएका TMS, Mero Share, Demat लगायतका पासवर्ड शुलभ अग्रवालले नै ब्रोकरबाट लिई चलाउने गरेका हुन्। मैले आफूले चलाएको छैन । ब्रोकर नं. ५५ सँग कारोवार मैले गरेको होइन । ५५ नम्बरका अध्यक्ष सन्दिप चाचन अग्रवाललाई म चिन्दिनँ । शेयर कारोवार गर्नु अघि ब्रोकरले Margin lending गर्छ भनी मलाई शुलभ अग्रवालले भनेका हुनाले निजको विश्वासमा परी सम्झौताको कागजमा सहीसम्म गरिदिएको हुँ । मैले यसलाई सामान्य व्यापारको विषयको रुपमा लिई आफ्नै साथी शुलभ अग्रवाललाई विश्वास गरेको थिएँ । निज शुलभ अग्रवालले मेरो नाममा शेयर कारोवार गरेका रहेछन् । मैले माथि खुलाए अनुसार भएका TMS, Mero Share, Demat लगायतका पासवर्ड समेत मसित छैन । त्यो पनि निज शुलभ अग्रवालले नै चलाएका हुन्। के कुन IP Address प्रयोग गरी के कहाँबाट कुन कुन मितिमा कारोवार भएको छ भन्ने कुरा समेत प्राविधिक परीक्षण गरी यकिन गरी पाउँ भन्न चाहन्छु । यदि मेरो नाममा शुलभ अग्रवालले शेयर कारोवार गर्दा हिमालयन रिइन्सुरेन्स कम्पनी लिमिटेड लगायतका कुनै संस्थाको रकम प्रयोग भएको छ भने त्यो मेरो कुरा नभई आफ्नो लगानी रकमको संरक्षण र खोजवीन गर्ने जिम्मा सम्बन्धित संस्थाकै होला।कुनै पनि संस्थाको खाताबाट मेरो नाममा कुनै पनि रकम आएको छैन । र मैले त्यस्तो रकम प्रयोग गरी शेयर खरिद गरेको छैन। मैले ब्रोकरलाई नै मेरो पोर्टफोलियो व्यवस्थापन गर्न मौखिक रुपमा जिम्मेवारी दिएको हो। ब्रोकरले margin lending दिएको हो । उक्त ब्रोकरले के कति कारणले शेयर खरिद विक्री गयो मलाई थाहा भएन भन्ने समेतका व्यहोराको थप बयान ।

क २. प्रतिवादी दीपक भट्टको मिति २०८३ / १ / २ गतेको थप बयान
नेपाल रिइन्सुरेन्सको शेयर बजारलाई प्रभावित पार्न संगठित योजना बनाई नेपाल रिइन्स्योरेन्सको पब्लिकमा जारी भएको २ करोड १४ लाख कित्तामध्ये मेरो नेतृत्वको समूहले १४०१३३५२ कित्ता शेयर खरिद गरी शेयर बजारलाई प्रभावित पारेको होइन । म उक्त समूहमा छैन । यसमा मेरो मनसाय र कार्य छैन।सदस्य नै नरहेको अवस्थामा नेतृत्व मेरो हुने कुरा भएन । शेयर खरिद विक्री सम्बन्धमा ५५ नम्बर ब्रोकरले मेरो अनुमति नलिई प्रचलित कानुन बमोजिम विना सुरक्षण सम्झौता विपरीत गरेको खरिद विक्रीमा कानुन बमोजिम गर्ने नै छु । हिमालयन लाइफ इन्स्योरेन्सको हकमा खरिद विक्री संलग्नता नरहेको, निर्णय प्रक्रियामा संलग्न नरहेको हुनाले म निर्दोष छु । मेरो नाममा खाता खोल्दैमा र कारोवार हुदैमा मैले कारोवार गरेको तथ्य प्रष्ट हुन सक्दैन । म र ब्रोकर वीचमा भएको सम्झौता बमोजिम नगरी मेरो अनुमति मन्जुरी बेगर ५५ नम्बर व्रोकरले गरेको कारोवारमा ब्रोकरकै दायित्व रहन्छ । मेरो नाममा खोलिएको TMS मैले प्रयोग नगरेको तथ्य म विदेशमा रहेको समयमा ब्रोकरले चलाएको तथा मेरो TMS एकाउण्टको डिजिटल फुट प्रिन्टबाट समेत पुष्टि हुन्छ । मेरो अनुमति, निर्देशनमा खरिद विक्री हुनु र सोको सूचना प्राप्त हुनु फरक विषय हो । ब्रोकर र म वीचमा भएको संझौतामा दोस्रो पक्षले खरिद विक्री गर्ने र सोको दायित्व पनि दोस्रो पक्षमा रहने भन्ने उल्लेख छ । शेयर खरिद विक्री प्रक्रियामा मेरो संलग्नता नरहेको तथ्यबाट पुष्टि भईरहेको अवस्थामा कर्नरिङ्ग गरी योजनाबद्ध रुपमा मूल्य प्रभावित गरेको भन्ने विषय निराधार छ । उल्लिखित व्यक्तिहरुलाई साथमा लिई कारोवार गरेको अवस्था नै छैन । सम्बन्धित व्यक्तिहरुले नै अहिलेको सन्दर्भमा जवाफदेहिता वहन गर्नु पर्ने हुन्छ । शेयर खरिद विक्री गर्नु पूर्व सहमति लिनु र खरिद विक्री पश्चात जानकारी गराईनु फरक विषय हो । खाताको विवरण जानकारी गराउदैमा सोको दायित्व मैले बहन गर्नु पर्ने होइन। ब्रोकर आफैले शेयर खरिद विक्री गरी मेरो मोबाइलमा SMS आएकाले मात्र मेरो नियन्त्रण, निर्देशनमा शेयर खरिद विक्री भएको भन्न मिल्दैन ।

कानुन बमोजिम अनुमति भई स्थापना भएका कम्पनीहरुले प्रचलित कानुनको प्रक्रिया पुरा गरी आर्थिक कारोवार गरी कानुन बमोजिम कर तिरी बुझाई आफूले प्राप्त गरेको लाभांश आफ्नो कम्पनीको निर्णय बमोजिम गर्न संविधानले नै प्रत्याभूत गरेको छ । मेरो एलियण्ट कम्पनीसँग कुनै वित्तीय स्वार्थ छैन । सो कम्पनीको अन्तिम हिताधिकारी मेरो सासुको हो भन्ने लाग्छ। निजले नै आफ्नो व्यावसायबाट प्राप्त गरेको रकममा कर भुक्तानी गरी लाभांशका रकमहरु मेरो श्रीमति हुदै मेरो खातामा आएको हो भन्ने समेतका व्यहोराको बयान।

क ३. प्रतिवादी दीपक भट्टको थप बयान
सोधनी भए अनुसारको विवरण मलाई अहिले यकिन जानकारी छैन । कसुर गर्ने मनसायले उक्त कुनै पनि कारोवार भएको होईन । थप विवरण म पछि मेरो लेखा हेर्ने कर्मचारीसंग बुझी खुलाउने छु।शंकरलाल अग्रवालसँग Green Nepal Developers Pvt. Ltd. सम्बन्धी मिति २०७९/११/३० को शेयर विक्री लिखत,सो लिखतमा नोटरी पब्लिकको रूपमा टेक प्रसाद सुवेदीले गरेको प्रमाणीकरण गरेको २९,००० कित्ता शेयर प्रति कित्ता रु. ८,५८६।– का दरले जम्मा रु. २४,८९,९४,०००।– मा शंकरलाल अग्रवाललाई विक्री गरेको भनी सम्झौता अग्रवालले खरिद गर्न अस्विकार गरे पश्चात उक्त गरिसकेको छु।श्रीराम टोवाको प्रा.लि.को शेयर खरिद गर्ने कार्य इन्फिनिटी होल्डिग्स प्रा. लि. ले विशुद्ध व्यवसायिक रुपमा लगानी गरेको हो । कम्पनीमा जे जति रकम लगानी गर्न सम्झौता गरेको हो सोही अनुसार लगानी गरेको हो।उक्त कम्पनीले आफ्नो आम्दानी नाफा र लाभांशको रणनीति अनुसार लाभांश दिएको हो। यसमा मेरो कार्य सम्पत्ति शुद्धीकरणको उद्देश्यप्रेरित रहेको छैन । फेवा डेभलपर्स प्रा.लि. समेतका कम्पनीहरुको शेयर मैले एकै पटक नगरी पटक पटक गरेको हो । उक्त कम्पनी जग्गा खरिद गर्ने मनसायलेनै शेयर खरिद गरेको हो । प्रचलित मूल्यमा नै खरिद गरेको हो। यसमा मैले सम्पत्ति शुद्धीकरण गर्ने र सम्पत्तिको स्रोतलाई छल्ने मनसायले कुनै कारोवार गरेको छैन भन्ने समेतका व्यहोराको
थप बयान।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org