रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
रसूवा बाढी सम्बन्धमा प्रधानमन्त्री बालेनले लेखे स्टाटस
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बसेको छ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले बाढी प्रभावित क्षेत्रमा तत्काल उद्धार तथा राहतका कार्यलाई प्रभावकारी बनाउन राज्यका सबै संयन्त्र परिचालन गर्ने निर्णय गरेको छ।
बैठकले विपद् प्रभावित क्षेत्रमा उद्धार, राहत तथा आवश्यक सहयोग उपलब्ध गराउन सम्बन्धित निकायबीच प्रभावकारी समन्वय गर्ने निर्णयसमेत गरेको छ। सरकारी संयन्त्रलाई आवश्यकताअनुसार परिचालन गरी प्रभावित नागरिकको उद्धार, राहत वितरण तथा क्षतिको व्यवस्थापनलाई प्राथमिकताका साथ अघि बढाउने निर्णय बैठकले गरेको हो।
धादिङबेसी–फुर्केखोला (मलेखु) जोड्ने त्रिशूली नदीमाथिको पक्की पुल बाढीले बगाएको छ । रसुवा हुँदै आएको बाढीले बुधबार अपराह्न फुर्केखोलाको पुल बढाएको हो । बाढीको बहाव धादिङस्थित त्रिशूली नदी आसपास पुगेको छ । तल्लो तटीय क्षेत्रमा पुग्न थालेपछि जोखिम बढेको छ । बाढीले गल्छीस्थित बैरेनी क्षेत्रका बस्तीमा पनि क्षति पुर्याएको छ ।
नेपाली सेनाले बाढी प्रभावित क्षेत्रबाट हेलिकोप्टरमार्फत १२ जनाको उद्धार गरेको छ । “बुधबार बिहान आएको बाढीका कारण प्रभावितहरूको उद्धारका क्रममा नेपाली सेनाको हेलिकोप्टरमार्फत स्याप्रुबेसीबाट–६, मैलुङबाट–२ र धुन्चेबाट–४ गरी हालसम्म जम्मा १२ जनालाई उद्धार गरिएको छ,” नेपाली सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ । उक्त इलाकामा नेपाली सेनाको चार र निजी कम्पनीका आठ गरी जम्मा १२ वटा हेलिकोप्टर उद्धार कार्यमा खटिइरहेको सेनाले जनाएको छ ।
भोटेकोसीमा आएको बाढीका कारण ११ वटा जलविद्युत् आयोजनामा क्षति पुगेको छ । बाढीले ४३० मेगावाट बराबरको आयोजनामा क्षति पुर्याएको हो । जसमा ४०५ मेगावाटको रसुवागढी, त्रिशूली–३ बी हब, त्रिशूली जलविद्युत्, माथिल्लो त्रिशूली–३ ए तथा देवीघाटलगायतका आयोजना छन् । यस्तै २५ मेगावाट सोलार आयोजना पनि बगाएको हो । यसको विस्तृत जानकारी आउने क्रममा रहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
रसुवा र त्रिशूलीका बाढी प्रभावित क्षेत्रमा उद्धारका लागि नेपाली सेनाका चारवटा हेलिकोप्टर परिचालन गरिएको छ । “अहिले बाढी प्रभावित क्षेत्रमा एमआई–१७ सहित नेपाली सेनाका चारवटा हेलिकोप्टर परिचालन गरिएको छ । थप तीनवटा सेनाका हेलिकोप्टर त्यसतर्फ पठाउँदै छौँ,” नेपाली सेनाका प्रवक्ता सहायत रथी राजाराम बस्नेतले जनाए । प्रधानमन्त्री वालेन्द्र (बालेन्द्र) शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बोलाएका हुन् ।
बाढीमा परी घाइते भएकाहरूको उपचारको लागि नेपाली सेनाले त्रिशूलीस्थित सैन्य तालिम केन्द्रमा २० जनाको मेडिकल टिम राखेको छ । मेडिकल टिमलाई बुधबार विहान काठमाडौंबाट त्रिशूलीस्थित सैन्य तालिम केन्द्रमा पुर्याइएको नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले जानकारी दिए । “त्रिशुलीस्थित सैन्य तालिम केन्द्रमा २० जनाको मेडिकल टिम लगेर राखिएको छ । शैल्य चिकित्सकसहितको टिम त्यहाँ राखिएको छ,” सैनिक प्रवक्ता बस्नेतले जनाए ।
बाढी प्रभावित रसुवाको टिमुरे र स्याफ्रुबेसीबाट सातजनालाई उद्धार गरी नुवाकोटको त्रिशूलीस्थिल सैन्य तालिम केन्द्रमा राखिएको छ । “टिमुरेबाट चार र स्याफ्रुबेसीबाट तीन गरी कुल सातजनालाई उद्धार गरी त्रिशूलीस्थित सैन्य तालिम केन्द्रमा राखिएको छ,” नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले भने । सैनिक प्रवक्ता बस्नेतका अनुसार बाढी प्रभावित क्षेत्रमा सेनाले हेलिकोप्टरमार्फत उद्धार कार्य गरिरहेको छ । उद्धार गरिएको विवरण आउन बाँकी रहेको उनले जनाए ।
चीन तर्फबाट आएको भीषण बाढी भोटेकोसी हुँदै त्रिशूली नदीतर्फ आउन थालेपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै काठमाडौं उपत्यकाबाट धादिङ, रसुवा र चितवनतर्फ जाने सवारीसाधनलाई रोकिएको छ । बाढीका कारण सडक तथा नदी आसपासका क्षेत्रमा जोखिम बढ्न सक्ने आकलन गर्दै उपत्यका ट्राफिक प्रहरी कार्यालयले नागढुंगा र भीमढुंगा नाका हुँदै बाहिरिने सवारीसाधनलाई काठमाडौंमै रोकेको हो । उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीका अनुसार जोखिमको अवस्था रहेकाले ती जिल्लातर्फ जाने सवारीसाधनलाई तत्काल नजान आग्रह गरिएको छ ।
रसुवा जिल्लाको भोटेकोसी नदीमा आएको बाढीका कारण त्रिशूली, नारायणीका तटीय क्षेत्रमा विशेष सर्तकता अपनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ । विशेषगरी पृथ्वी राजमार्ग, गल्छी–नुवाकोट–रसुवा– स्याफ्रुबेँसी, मुग्लिङ–नारायणगढ सडकमा आवाजावत पूर्ण बन्देज गर्न प्रहरी प्रशासनलाई आग्रह गरेको हो ।
प्राधिकरणले रसुवा, धादिङ, नुवाकोट, गोरखा, चिवन एवं तनहु जिल्लाका नदी तटीय क्षेत्रमा बसोबास गर्ने घरपरिवारलाई सुरक्षित स्थानमा तत्काल जान आग्रह गरेको छ । यस्तै उद्धारको आवश्यकता परेमा टोल फ्रि नम्बर १००, १२३४ वा १११४ मा सम्र्पक गर्न आग्रह गरेको छ । बाढीले स्याफ्रुबेसी र टिमुरे बजार पूरै बगाएको छ ।
चीनकको तिब्बतबाट बुधबार बिहान ८:४० बजेतिर बाढी नेपाली प्रवेश गरेको रसुवाका सहायक सीडीओ ध्रुवप्रसाद अधिकारीले जानकारी दिए । “स्याफ्रुबेसी र टिमुरे बजार पूरै बगाएको छ बाढीले । धेरै जलविद्युत् आयोजना थिए र निर्माण भइरहेका थिए । ती आयोजनामा पनि बाढीले क्षति गरेको छ । उत्तरगया, बेत्रावतीमा पनि बाढीले ठूलो क्षति गरेको छ,” रसुवाका सहायक सीडीओ अधिकारीले भने ।
अन्य बेलामा त्रिशुलीमा हुने पानीको सतहभन्दा बाढी १५० देखि २०० मिटर माथिसम्म आएको उनले जनाए । “अवस्था भयावह छ,” उनले भने । बाढीले गर्दा सडक, पुलहरू बगेका छन् । हेलिकोप्टर बस्ने ठाउँ नहुँदा उद्धारमा कठीनाइ भइरहेको उनले बताए । “बाढीले ठूलो क्षति गरेको छ,” सहायक सीडीओ अधिकारीले भने ।
रसुवास्थित भोटेकोशी क्षेत्रमा आएको बाढीको सम्भावित कारणबारे चिनियाँ पक्षले समेत अहिलेसम्म यकिन जानकारी पाउन सकेको छैन। चीनको छेन्दुमा रहेका विपद् विज्ञ वसन्तराज अधिकारीका अनुसार बाढी कहाँबाट सुरु भयो भन्ने विषयसमेत स्पष्ट हुन सकेको छैन।
अधिकारीले चिनियाँ विज्ञ तथा स्थानीय अधिकारीहरूसँगको सम्पर्कका आधारमा हालसम्म बाढीको स्रोत र कारण पहिचान हुन नसकेको जानकारी दिए। उनका अनुसार प्रभावित क्षेत्रमा प्रत्यक्ष सम्पर्क स्थापित हुन नसकेकाले घटनासम्बन्धी पर्याप्त सूचना संकलन गर्न कठिनाइ भइरहेको छ।
बाढी कहाँबाट सुरु भयो र त्यसको वास्तविक कारण के हो भन्ने पहिचानका लागि चिनियाँ पक्षले अध्ययन अघि बढाइरहेको अधिकारीले बताए। घटनास्थल पहिचान गर्न भू–उपग्रह (स्याटेलाइट) तस्बिरको समेत प्रयोग भइरहेको उनको भनाइ छ।
बाढीको सुरुआती बिन्दु नै पहिचान हुन नसकेकाले यसको कारणसमेत यकिन गर्न नसकिएको अधिकारीले बताए। यद्यपि प्रारम्भिक आकलनमा बाढी आउनुका दुई सम्भावित कारण हुन सक्ने उनको भनाइ छ।
उनका अनुसार हिमपहिरो खसेर ठूलो बाढी आएको हुन सक्ने वा पहिरोका कारण नदीमा अस्थायी बाँध बनेर त्यसपछि पानी एक्कासि फुट्दा बाढी आएको हुन सक्ने सम्भावना छ। घटनाको वास्तविक कारण र बाढीको स्रोतबारे थप तथ्य प्राप्त भएपछि मात्रै यकिन निष्कर्षमा पुग्न सकिने अधिकारीले बताएका छन्।
रसूवा बाढी सम्बन्धमा प्रधानमन्त्री बालेनले लेखे यस्तो स्टाटस:
-उद्धार तथा राहत कार्यका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल (APF) र नेपाल प्रहरी परिचालन गरिएको छ अन्य जिल्लाहरू बाट पनि अतिरिक्त जनशक्ति प्रभावित क्षेत्र तर्फ move भइसकेको छ ।
-विपद् व्यवस्थापन प्राधिकरण सक्रिय छ, मेडिकल टिम, स्काउट, रेडक्रस सबै सँग समन्वय हुँदै आवश्यक कदम चाल्न काम शुरु भएको छ । अतिरिक्त एम्बुलेन्स र मेडिकल जनशक्ति पनि प्रभावित एरियामा पठाउने प्रक्रिया अघि बढिसकेको छ ।
-तल्लो तटीय क्षेत्रका बासिन्दाहरूलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न सम्बन्धित CDO लाई निर्देशन दिईएको छ , sms कल मार्फत जानकारी गराउने सुरक्षित स्थानमा जान अलर्ट गरिएको छ ।
-सम्भावित उद्धार तथा राहत कार्यका लागि सबै हेलिकप्टरहरूलाई प्रभावित क्षेत्र तर्फ पठाइएको छ । निजी हेलिकप्टर कम्पनीहरूलाई पनि हेलिकप्टरहरु standby राख्न जानकारी गराइएको छ भने केही हेलिकप्टर प्रभावित क्षेत्र तर्फ गएका छन् ।
-अबको केही बेरमा आगामी आवश्यक कदमहरू चाल्न उच्च स्तरीय बैठक बोलाइएको छ ।
-सबै जना सुरक्षित स्थानमा बस्नुहोला र आफन्तहरू सँग सम्पर्क नभएमा हाम्रो निकायहरूको रेस्क्यु अपडेट कुर्नुहोला । १२३४ / १००/ 1111 नम्बरमा सम्पर्क गरी अन्य जानकारी र राहत बारे बुझ्न सकिनेछ ।
Comments
अरु समाचार
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...
-
सर्वोच्च बारले कानून व्यवसायीसँग माग्यो दश वर्षयताका महत्त्वपूर्ण फैसला
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले पछिल्लो दश वर्षयताका प्रकाशित तथा अप्रकाशित महत्त्वपूर्ण फैसला उपलब्ध गराउन कानून व्यवसायीहरूलाई आग्रह गरेको...
-
प्रधानमन्त्री बालेन र सांसदबीच बुधबार प्रश्नोत्तर, नाम टिपाउने ११ सांसद को-को हुन् ?
काठमाडौं । प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री बालेन शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा विभिन्न दलका...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...
-
युवापुस्ताको मनोविज्ञान बुझेर पार्टीका नीति र कार्यक्रम परिमार्जन गरिनुपर्छ: शंकर पोखरेल
काठमाडौँ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले प्रविधिसँगै हुर्किएको युवापुस्ताको मनोविज्ञान बुझेर राजनीतिक दलहरूले आफ्ना नीति, कार्यक्रम र कार्ययोजना...
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
अपाङ्गता भएका २४ प्रतिशत बालबालिका अझै विद्यालयबाहिर
काठमाडौं । अपाङ्गता भएका बालबालिकामध्ये २४ प्रतिशत बालबालिकाहरु शिक्षाबाट बञ्चित भएका छन् । भौगोलिक अवस्था, विद्यालयसम्मको पहुँच, अपाङ्गतामैत्री पूर्वाधारको अभाव,...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...












