चितवनमा शव व्यवस्थापनबारे कोशहरी निरौलाको सुझाव : ‘हतार गरेर नगाडौं, लासको सम्मानपूर्वक सद्गत गराउन केही समय धैर्य गरौं’
काठमाडौं । भोटेकोशी बाढीका कारण मृत्यु भएका व्यक्तिहरूको शव हतारमा व्यवस्थापन गरिएको भन्दै नेपाल सरकारका वरिष्ठ अधिकारी कोशहरी निरौलाले यस कार्यप्रति संवेदनशीलता अपनाउन आग्रह गरेका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै कोशी प्रदेश सरकार आर्थिक मामिला तथा योजना मन्त्रालयका प्रदेश सचिव निरौलाले मृतकको अन्तिम संस्कार धार्मिक, सांस्कृतिक तथा पारिवारिक संवेदनासँग जोडिएको विषय भएकाले शवको पहिचान र आफन्तको खोजीका लागि पर्याप्त समय दिनुपर्ने बताएका हुन्।
कोभिड–१९ महामारीका समयमा मोरङका प्रमुख जिल्ला अधिकारी रहेका निरौलाले महामारीका बेला शव व्यवस्थापनमा आफूले भोगेको अनुभवसमेत सार्वजनिक गरेका छन्। उनका अनुसार कोभिडका कारण मृत्यु भएका करिब १५ जनाको शव कडा स्वास्थ्य सुरक्षा प्रोटोकलअनुसार व्यवस्थापन गरिएको थियो।
त्यसक्रममा नेपाल विद्युत् प्राधिकरणमा कार्यरत एक कर्मचारीको मृत्यु भएपछि उनका परिवारलाई भेट्न जाँदा बुबाले व्यक्त गरेको पीडाले आफूलाई गम्भीर रूपमा सोच्न बाध्य बनाएको निरौलाको भनाइ छ। मृतकको अनुहारसमेत हेर्न नपाएको पीडाले आफूलाई शव व्यवस्थापनसम्बन्धी तत्कालीन अभ्यासबारे पुनर्विचार गर्न प्रेरित गरेको उनले उल्लेख गरेका छन्।
निरौलाका अनुसार त्यसपछि मोरङमा सुरक्षा निकायको बैठक बसेर कोभिडका कारण मृत्यु भएकाको अन्तिम संस्कारमा केही सहज व्यवस्था गरिएको थियो। नेपाली सेनाले शवलाई घाटमा तयार पारिएको चितासम्म पुर्याएर चितामा राखिदिने र आफन्तले चिता नछोई परबाट फूलमाला चढाउन तथा आगो लगाउन पाउने निर्णय गरिएको थियो।
उनले उक्त व्यवस्थाले मृतकका आफन्तले अन्तिमपटक अनुहार हेर्न र आफ्नो संस्कारअनुसार बिदाइ गर्न नपाउँदाको पीडा केही हदसम्म कम गरेको बताएका छन्। मोरङमा गरिएको उक्त अभ्यासका कारण सुनसरीलगायत अन्य क्षेत्रबाट समेत शव ल्याएर दाहसंस्कार गरिएको उनले स्मरण गरेका छन्।
हाल चितवनमा देखिएको शव व्यवस्थापनको अवस्थालाई संकेत गर्दै निरौलाले विपद्का बेला पनि मृतकको सम्मान र आफन्तको भावनालाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन्। ‘मृत्यु संस्कार आफैँमा मानवीय संवेदना र संस्कारसँग जोडिन्छ,’उनले लेखेका छन्, ‘यसलाई यति हतार गरेर नगाडौँ। लासको सम्मानपूर्वक सद्गत् गराउन केही समय धैर्य गरौँ।’
सामाजिक सञ्जाल फेसबुकमा कोशहरी निरौलाले लेख्नु भएको स्टाटस जस्ताको तस्तै :
“ हतार गरेर चितवनमा लास गाडेको समाचार सुनेपछि एउटा फोकटको सल्लाह दिन मन लाग्यो । हुनसक्छ म धेरै गाली खाउँला ।
कोभिडको बेला थियो । म मोरङ्गको प्रमुख जिल्ला अधिकारी थिएँ । कोभिडले मानिसहरुको ज्यान लिन शुरु गरिसकेको थियो । त्यसबेला कोभिड लागेर ज्यान जानु कति भयावह थियो भनी साध्य नै छैन । मरेको लास छुनु त पर जावस देख्नु पनि नहुने !! अस्पताल पुगेको मानिस कसरी मर्छ, अनि कसरी सदगत् गरिन्छ ? केही थाहा नहुने । कडा प्रोटोकलसहित जङ्गलमा गाड्नु पर्ने । एकातिर आफन्तलाई मर्यो भन्ने विश्वास गर्नसम्म गार्हो थियो, अर्कोतिर प्रशासनलाई प्रोटोकल बमोजिम सबै जुटाउन त्यत्तिकै सकस थियो । करिब १५ वटा जति लास यसै गरी व्यवस्थापन गरियो ।
यहीबीचमा नेपाल विद्युत प्राधिकरणमा कार्यरत एकजना कर्मचारी बित्नु भयो । उहाँको सद्गत पनि त्यही प्रोटोकल बमोजिम गरिएको थियो । कर्मचारी भएकोले उहाँको आफन्तलाई भेट्न सुरक्षा निकायका प्रमुखसहित म पनि पुगें । उहाँको बुबाले सुनाएको “मेरो छोरो कोभिड लक्षण देखिएर हिड्दै अस्पताल पुगेको थियो । मर्यो कि मारियो, कसले भनिदिने ? उसको अनुहार मात्रै देख्न पाएको भए, हामी बितेछ भनेर चित्त बुझाउथ्यौ । जन्मेपछि मर्छौ भन्ने थाहा सबैलाई छ । बिचराले रोग जित्न सकेन मरेछ भन्थ्यौं । हाम्रो संस्कार अनुसार सके, मिले दागबत्ती दिन्थ्यौ नमिले परबाट माला चढाएर भए पनि अन्तिम अनुहार हेर्थ्यौ ” भनेको पीडा, दुखेसो साँच्चै नै हृदयविदारक थियो । यो उहाँको मात्रै पीडा वा वेदना थिएन, सयौं आफन्त गुमाउनेहरुको सामूहिक आवाज थियो । उहाँको पीडादायी दुखेसो पछि म आफैले आफैलाई प्रश्न गरे, के म आफन्त गुमाउने मानिसका लागि यति काम पनि गर्न सक्दिनँ ? हामीले अवलम्बन गरेको यो अन्तिम संस्कार मानवीय संवेदनशीलताको हिसाबले कति सही छ ? प्रोटोकलका नाममा हामीले गरेको कामले हामीले मृतकप्रति सम्मान गर्न सकेउ ? के साँच्चै मानवीय संवेदना नजीक छ ? म भोलि यसै गरी मरे भने मेरो आफन्तले मेरो अनुहार पनि देख्न नपाउने हो ? त्यतिबेलासम्म मृत लासबाट कोभिड सर्छ कि सर्दैन ? कसैले भन्न सकेको पनि थिएन ।
त्यहाँबाट फर्केपछि सुरक्षा निकायको बैठक बस्यौं । कोभिडबाट मृत्यु हुनेको अन्तिम संस्कारको जिम्मा नेपाली सेनाको थियो । सुरक्षा समितिबाट एउटा निर्णय गर्यौ । “घाटमा बनाएको चितासम्म नेपाली सेनाले पुर्याउने र चितामा राखीदिने । चितालाई नछोइकन परबाट आफन्तले फुलमाला राख्न सक्ने र आगो लगाउन सक्ने” निर्णय गरेका थियौं । त्यसपछि कोभिडबाट मृत्यु भएका सबैको अन्तिम संस्कार त्यही अनुसार भयो । कोभिडबाट मृत्यु हुनेको दाहसंस्कार यसरी गर्न दिने निर्णय मोरङ्गले सबै भन्दा पहिले गरेको थियो । कोभिड सकिने बेलासम्म सुनसरीका धेरै घाटमा यसरी जलाउन समेत दिइएन तर मोरङ्गमा सहज भएकोले धरानमा बितेकालाई सम्म मोरङ्गमा ल्याएर दाहसंस्कार गरिएको थियो । मानिसको मृत्युको भरपाई त कसले गर्न सक्छ र? तर पनि यसले हामीलाई गुमनाम रुपमा अन्तिम संस्कार गर्नु पर्ने झन्झट र बाध्यताबाट सहज बनायो भने आफन्तले अनुहारसमेत नदेखी आफ्ना आफन्त गुमाउदाको पीडालाई अलिकति भए पनि कम गर्यो ।
मृत्यु संस्कार आफैमा मानवीय संवेदना र संस्कारसँग जोडिन्छ । यसलाई यति हतार गरेर नगाडौं । लासको सम्मानपूर्वक सद्गत गराउन केही समय धैर्य गरौं । यति ठूलो विपद् एकैपटक नभोगेकोले हाम्रा प्रयास कम देखिन सक्छन् । अलि व्यवस्थापन गरौं । आफन्त नभेटिए ६/७ महिना पछि जे गर्नुपर्छ, गरौंला । मृतक वा परिवार गुमाएका, हराएका आफन्तले रसुवादेखि गण्डक ब्यारेजसम्म आफन्तको सास वा लास खोज्छन् । सबैले आफ्नो धर्म, परम्परा, रीतिरिवाज र संस्कार अनुसार अन्तिम संस्कार गर्छन् र गर्न पाउनुपर्छ । त्यहाँ नेपालीमात्रै छैनन्, विदेशी पनि छन् । उनीहरुका परिवारसमेत खोजतलास गर्दै आइपुग्नु हुन्छ । परिवार नआउँदा उक्त नागरिकको राज्यले खोज्छ । जो भए पनि तिनको आत्माको चीरशान्तिको कामना गरौं । कृपया संवेदनशील बनौं । चाहिने प्लास्टिक वा ठूला फ्रिजको व्यवस्था गरौं । लासलाई अन्याय नगरौं र आफन्तको भावनामा कुठाराधात पनि नगरौं । यति कुरा भन्न मन लाग्यो र भने ।“
Comments
अरु समाचार
-
राष्ट्रपति पौडेलको आह्वान : ‘यो विभाजन होइन, राष्ट्रिय एकता र पुनर्निर्माणको समय हो’
काठमाण्डाै – राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढीबाट सिर्जित कठिन घडीमा सम्पूर्ण देशवासीलाई संयम रहँदै एकताबद्ध हुन आह्वान गर्नुभएको छ ।...
-
रसुवा बाढीमा १२१ जना सुरुङभित्र फसेको सेनाको अनुमान
काठमाडौं । भदौ १० गते रसुवामा आएको बाढीका कारण विभिन्न जलविद्युत आयोजनाका सुरुङभित्र १२१ जना फसेको अनुमान नेपाली सेनाले गरेको...
-
काठमाण्डौ उपत्यकामा खाना पकाउने एलपी ग्यासको चरम अभाव
काठमाण्डाै । काठमाण्डौ उपत्यकामा खाना पकाउने एलपी ग्यासको अभाव चरम अवस्थामा पुगेको छ । साउनको पहिलो हप्तादेखि नै सहजरूपमा ग्यास...
-
विनाशकारी बाढीमा मृत्यु भएका व्यक्तिहरूको सम्झनामा झुकाइयो आधा राष्ट्रिय झण्डा
काठमाडौँ । रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु भएका व्यक्तिहरूको सम्झनामा आज राष्ट्रिय शोक मनाइँदै छ। भदौ १८...
-
‘सार्वजनिक प्रतिष्ठामा आँच आउनेगरी बनाइयो एमाले अध्यक्ष ओलीको एआई तस्बिर’
काठमाडौं । नेकपा (एमाले) ले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको सार्वजनिक प्रतिष्ठामा आँच आउनेगरी बनाइएको एआई तस्बिरप्रति गम्भीर...
-
बाढी पीडितको पक्षमा निकालियो ऐक्यवद्धता र्याली, बेपत्ताहरूको खोजीमा उच्च प्राथमिकता दिन माग
काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीले पुर्याएको अकल्पनीय क्षतिप्रति दुःख व्यक्त गर्दै काठमाडौँमा ऐक्यवद्धता र्याली निकालिएको छ ।...
-
पदीय मर्यादाको उल्लंघन: प्रहरी इन्स्पेक्टर र गाउँपालिका अध्यक्ष रातभरि क्यासिनोमा
काठमाडौँ । नेपाल प्रहरीका इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना वीरगञ्जस्थित एक क्यासिनोबाट पक्राउ परेका छन् । क्यासिनो प्रवेश गरी...
-
भोटेकोशी बाढी: आठ जिल्लामा १,३३१ शव फेला, ५ हजार जना अझै सम्पर्कविहीन
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला परेको...
-
बाढी प्रभावितलाई प्रधानमन्त्री शाहको सन्देश– हजुरहरू एक्लो हुनुहुन्न, सरकार तपाईंको साथमा छ
काठमाडौँ भदौ २० गते । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रका आमाबुबालाई आफूहरू एक्लो नरहेको महसुस गर्न आग्रह गर्दै राज्य...












