ताजा समाचार

पदीय मर्यादाको उल्लंघन: प्रहरी इन्स्पेक्टर र गाउँपालिका अध्यक्ष रातभरि क्यासिनोमा

इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना प्रहरी नियन्त्रणमा

काठमाडौँ । नेपाल प्रहरीका इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना वीरगञ्जस्थित एक क्यासिनोबाट पक्राउ परेका छन् । क्यासिनो प्रवेश गरी जुवा खेलिरहेको आरोपमा गाउँपालिका अध्यक्ष र प्रहरी इन्स्पेक्टरसहित आठ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव र इलाका प्रहरी कार्यालय पोखरियामा कार्यरत प्रहरी निरीक्षक प्रदीप पौडेल छन्।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वीरगञ्ज महानगरपालिका–१४ गण्डकस्थित गोल्डेन फिङ्गर गेमिङ जोन प्रालि (क्यासिनो) मा नेपालीहरू प्रवेश गरी जुवा खेलिरहेको सूचनाका आधारमा प्रहरीले राति छापा मारेको थियो। छापाका क्रममा जुवा खेलिरहेका चार जना र नेपालीलाई क्यासिनो प्रवेश गराई जुवा खेलाउन संलग्न चार कर्मचारी गरी आठ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार पक्राउ पर्नेमा सखुवाप्रसौनी गाउँपालिका–६ का ३६ वर्षीय अध्यक्ष जसवन्त यादव, ३० वर्षीय चन्दन सहनी, वीरगञ्ज महानगरपालिका–११ का ३२ वर्षीय ओमप्रकाश बैठा र म्याग्दीको हरिनास गाउँपालिका–७ का ३६ वर्षीय प्रहरी निरीक्षक प्रदीप पौडेल रहेका छन्।

यस्तै, नेपालीलाई क्यासिनोमा प्रवेश गराई जुवा खेलाउन संलग्न रहेको आरोपमा क्यासिनोका कर्मचारी विजयकुमार पटेल, दिनेशकुमार पटेल, जयदेव साह र प्रदेशी साहलाई पनि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org