राष्ट्रपति पौडेलको आह्वान : ‘यो विभाजन होइन, राष्ट्रिय एकता र पुनर्निर्माणको समय हो’
काठमाण्डाै – राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढीबाट सिर्जित कठिन घडीमा सम्पूर्ण देशवासीलाई संयम रहँदै एकताबद्ध हुन आह्वान गर्नुभएको छ । भदाै १० गते भाेटेकाेशी बाढीले पुर्याएकाे अपूरणीय क्षतिप्रति दुःख व्यक्त गर्दै उहाँले आज राष्ट्रका नाममा विशेष सम्बोधन गर्नुभएको हो । सम्बोधनमा राष्ट्रपति पौडेलले यस प्राकृतिक प्रकोपलाई ‘कहालीलाग्दो र अकल्पनीय’ संज्ञा दिनुभएको छ । बाढी र पहिरोका कारण जनधनको ठूलो क्षति हुनुका साथै सडक, पुल र जलविद्युत् आयोजनाजस्ता राष्ट्रका महत्त्वपूर्ण पूर्वाधारहरू ध्वस्त भएकोमा उहाँले गम्भीर चिन्ता प्रकट गर्नुभयो ।
राष्ट्रपति पौडेलले विपत्तिमा परेर ज्यान गुमाउने नेपाली तथा विदेशी नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ । उहाँले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बेपत्ताहरूको खोजी तथा उद्धार कार्यलाई तीव्रता दिन सरकारलाई निर्देशन दिनुभएको छ । नेपालले आफ्नो भूमिमा रहेका हरेक विदेशी नागरिकलाई परिवारको सदस्य सरह मान्ने उल्लेख गर्दै उहाँले प्रभावित देशका सरकार तथा कूटनीतिक नियोगहरूसँग प्रभावकारी समन्वय भइरहेको जानकारी दिनुभयो ।
जोखिमपूर्ण अवस्थामा ज्यानको प्रवाह नगरिकन उद्धारमा खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्वास्थ्यकर्मी, स्थानीय प्रतिनिधि र स्वयंसेवकहरूको उच्च प्रशंसा गर्दै राष्ट्रपतिले उनीहरूको कार्यलाई नेपाली राष्ट्रिय चरित्रको उत्कृष्ट नमूनाका रूपमा चित्रण गर्नुभयो । भौगोलिक विकटता र प्रतिकूल मौसमका बाबजुद खोजी कार्यलाई निरन्तरता दिन र कुनै पनि अवस्थामा उद्धार कार्य परित्याग नगर्न उहाँले सम्बद्ध निकायको ध्यानाकर्षण गराउनुभयो ।
उद्धार गरिएका नागरिकका लागि स्वच्छ खानेपानी, खाद्यान्न, औषधि र सुरक्षित आश्रयस्थलको सुनिश्चितता गर्न राष्ट्रपति पाैडेलले जोड दिनुभयो । विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र गर्भवती महिलाहरूको संरक्षणमा संवेदनशील हुन उहाँले आग्रह गर्नुभयो । मृतकहरूको पहिचानका लागि डीएनए नमूना सङ्कलन र वैज्ञानिक अभिलेखीकरण गरी प्रक्रियालाई विश्वसनीय बनाउन उहाँले सरकारलाई सुझाव दिनुभएको छ ।
विपद्को समयमा प्राविधिक विशेषज्ञ, चिकित्सकीय टोली र उपकरणसहित सहयोग गर्ने छिमेकी मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय समुदायप्रति राष्ट्रपतिले कृतज्ञता ज्ञापन गर्नुभयो । यसै सन्दर्भमा उहाँले हिमाली क्षेत्रको नाजुक परिस्थितिलाई विश्वव्यापी तापक्रम वृद्धिसँग जोड्दै अन्तर्राष्ट्रिय मञ्चमा ‘जलवायु न्याय’ का लागि ठोस कदम चाल्न विश्व समुदायलाई आह्वान गर्नुभयो ।
राष्ट्रपति पौडेलले वर्तमान समय राजनीतिक विवाद वा एकअर्कालाई दोषारोपण गर्ने नभई राष्ट्रिय एकता र ऐक्यबद्धता प्रदर्शन गर्ने बेला भएको बताउनुभयाे । उहाँले भन्नुभयो, ‘यो विभाजनको समय होइन, यो त पुनर्निर्माण र आर्थिक पुनरुत्थानको समय हो ।’साथै भविष्यमा यस्ता जोखिम न्यूनीकरणका लागि नेपालको वर्तमान विकास मोडेलमाथि पुनर्विचार गर्नुपर्ने आवश्यकता उहाँले औँल्याउनुभयो ।
Comments
अरु समाचार
-
रसुवा बाढीमा १२१ जना सुरुङभित्र फसेको सेनाको अनुमान
काठमाडौं । भदौ १० गते रसुवामा आएको बाढीका कारण विभिन्न जलविद्युत आयोजनाका सुरुङभित्र १२१ जना फसेको अनुमान नेपाली सेनाले गरेको...
-
काठमाण्डौ उपत्यकामा खाना पकाउने एलपी ग्यासको चरम अभाव
काठमाण्डाै । काठमाण्डौ उपत्यकामा खाना पकाउने एलपी ग्यासको अभाव चरम अवस्थामा पुगेको छ । साउनको पहिलो हप्तादेखि नै सहजरूपमा ग्यास...
-
विनाशकारी बाढीमा मृत्यु भएका व्यक्तिहरूको सम्झनामा झुकाइयो आधा राष्ट्रिय झण्डा
काठमाडौँ । रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु भएका व्यक्तिहरूको सम्झनामा आज राष्ट्रिय शोक मनाइँदै छ। भदौ १८...
-
‘सार्वजनिक प्रतिष्ठामा आँच आउनेगरी बनाइयो एमाले अध्यक्ष ओलीको एआई तस्बिर’
काठमाडौं । नेकपा (एमाले) ले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको सार्वजनिक प्रतिष्ठामा आँच आउनेगरी बनाइएको एआई तस्बिरप्रति गम्भीर...
-
बाढी पीडितको पक्षमा निकालियो ऐक्यवद्धता र्याली, बेपत्ताहरूको खोजीमा उच्च प्राथमिकता दिन माग
काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीले पुर्याएको अकल्पनीय क्षतिप्रति दुःख व्यक्त गर्दै काठमाडौँमा ऐक्यवद्धता र्याली निकालिएको छ ।...
-
पदीय मर्यादाको उल्लंघन: प्रहरी इन्स्पेक्टर र गाउँपालिका अध्यक्ष रातभरि क्यासिनोमा
काठमाडौँ । नेपाल प्रहरीका इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना वीरगञ्जस्थित एक क्यासिनोबाट पक्राउ परेका छन् । क्यासिनो प्रवेश गरी...
-
भोटेकोशी बाढी: आठ जिल्लामा १,३३१ शव फेला, ५ हजार जना अझै सम्पर्कविहीन
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला परेको...
-
बाढी प्रभावितलाई प्रधानमन्त्री शाहको सन्देश– हजुरहरू एक्लो हुनुहुन्न, सरकार तपाईंको साथमा छ
काठमाडौँ भदौ २० गते । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रका आमाबुबालाई आफूहरू एक्लो नरहेको महसुस गर्न आग्रह गर्दै राज्य...
-
भोटेकोशी बाढी: खोज, उद्धार तथा जनधनको क्षतिको पछिल्लो विवरण सार्वजनिक
काठमाडौँ – नेपाल प्रहरीले रसुवाको भोटेकोशीमा आएको बाढी सम्बन्धी खोज, उद्धार तथा जनधनको क्षतिको पछिल्लो विवरण सार्वजनिक गरेको छ। प्रहरीले...












