ताजा समाचार

आज हरितालिका तीज पर्व : पशुपतिनाथमा बिहानैदेखि व्रतालुको घुइँचो

काठमाडौँ । हिन्दुको महान् चाड हरितालिका तिज आइतबार दर खाएर सुरु भएको छ। महिला दिदीबहिनीले आइतबार दर खाने र सोमबार दिनभर व्रत बसेर आआफ्नो श्रीमान् तथा घरपरिवारको सुख समृद्धिको कामना गर्दछन्। तिजको दिन निराहार व्रत बस्ने भएकाले त्यसका लागि शक्ति प्राप्त गर्न अघिल्लो साँझ पौष्टिक तत्व भएका खानेकुरा खाने गरिन्छ। माइतीले चेलीबेटीलाई बोलाई दर खुवाउने परम्परा छ।

परम्परागत रूपमा तिजको दर माइतीघरमा मात्र खाने गरिन्छ । केही वर्षदेखि भने राजधानी तथा अन्य क्षेत्रमा एक महिनाअघिदेखि नै दर खाने प्रचलन चलेको छ तर यस वर्ष भोटेकोशीको बाढीपछि तिजको रौनकमा कमी देखिएको छ । पोषणविद् डा. अरुणा उपे्रतीका अनुसार तिजको दर खाँदा स्वास्थ्यमा प्रतिकूल प्रभाव पार्ने तत्व, अखाद्य वस्तु, रङ हालेका मिठाई तथा विषादी हालेका तरकारी र फलफूल खानु हुन्न । सजाएर राखिएका मिठाई तथा फलफूलभन्दा घरमै बनाइएका ताजा परिकार खाएर तिज मनाउन उहाँको सुझाव छ।

तिज पर्वमा विशेष गरी माइती एवं दाजुभाइले छोरी, चेली, दिदीबहिनीलाई बोलाई दर खुवाउने गर्दछन् । दर दुई भाग रात हुँदै खाइसक्नुपर्ने शास्त्रीय विधान रहेको ज्योतिष विशाल गौतमले जानकारी दिनुभयो। महिलाले वर्ष दिनभर आफूलाई परेका दुःख, पीर, मर्कालाई पोख्ने पर्वका रूपमा समेत तिजलाई उपयोग गर्ने गरेका छन् । तिजको अवसरमा गीतका माध्यमबाट दुःख, पीर, मर्कालाई नारीले पोख्ने गरेका छन् । ज्योतिष गौतमका अनुसार दर खाएपछि औपचारिक रूपमा सुरु हुने तिज पर्व ऋषिपञ्चमीसम्म मनाइन्छ। उहाँले तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन, गणेश भगवान्को पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरी तिज समापन हुने जानकारी दिनुभयो।

परापूर्वकालमा देवी पार्वतीले भगवान् शिवलाई पतिका रूपमा पाउन निराहार प्रत बसेको र उहाँको कामना पूरा भएको विश्वासका आधारमा राम्रो पति पाउन र विवाहितले पतिको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै व्रत बस्ने चलन रहेको छ । हरितालिका तिज पर्वका अवसरमा पशुपतिनाथलगायत देशभरका शिवालयमा लाखौँ महिलाले शिवको पूजा तथा दर्शन गर्ने गर्दछन्।

यसबिच यस वर्षको हरितालिका तिज पर्वका अवसरमा पशुपतिनाथको दर्शनमा आउने व्रतालु भक्तजनका लागि सहज बनाउन चार स्थानबाट लामको व्यवस्था मिलाइएको छ । पशुपति क्षेत्र विकास कोषले तिज पर्वलाई सुरक्षित, व्यवस्थित र सहज बनाउन आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाउँदै तिजका अवसरमा पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजनका लागि सोमबार पशुपतिनाथ मन्दिरको चार वटा द्वार बिहान ३:०० बजे नै खोलिएको थियो।

कोषका अनुसार विगतका वर्ष जस्तै यस पटकको तिजमा विशेष पूजा, विशेष दर्शनको व्यवस्था मिलाइएको छ । त्यस्तै दर्शनार्थीलाई सहज मन्दिर दर्शनका लागि सोमबार बिहान मन्दिर खुलेदेखि उत्तर, पूर्व र दक्षिणतर्फको ढोकामा पारदर्शी जारी राखेर दर्शन गर्ने व्यवस्था मिलाइएको छ।

भिडभाडलाई व्यवस्थित गर्न दर्शन मार्ग मेला क्षेत्र र दर्शनार्थीको सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका साथै काठमाडौँ महानगरपालिकाको नगर प्रहरी बलको आआफ्नै कमान्ड पोस्ट खडा गरी सुरक्षा व्यवस्था मिलाइएको छ । यसै गरी कोषका अनुसार महिला व्रतालु भक्तजनको आत्मसम्मानलाई ध्यानमा राख्दै यस वर्ष पनि सामान्यतया पुरुष प्रवेश गर्न नपाउने नीतिलाई यस वर्ष निरन्तरता दिइएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org