जसले चैट पारे लोकमानको जागिर !

काठमाडौं । लोकमानको नियुक्तिमाथि कानुनी प्रश्न उठाउँदा उनलाई धेरैले धेरै कुरा सुनाए । कसैले भने, ‘विचार गर्नुस् है ।’ कोहीले भने, ‘लोकमान अरुजस्ता हैनन्, फरक मान्छे हुन् ।’ जसले जे भने पनि ओमप्रकाशले एउटै कुरा सोचे, ‘न्याय मर्न दिनु हुँदैन ।’
अधिवक्ता ओमप्रकाश अर्यालको फोन आइतबार साढे चार बजेपछि लगातार बज्न थाल्यो । उनी फोनमा गफिरहेका बेला पत्नी पुन्देवी महर्जनको मोबाइल बज्थ्यो । उनी कसैलाई भन्थिन्, उहाँ अन्तर्वार्तामा हुनुहुन्छ । कसैलाई भन्थिन्, अर्को फोनमा व्यस्त हुनुहुन्छ । साँच्चै ओमप्रकाशलाई चटारो थियो– बधाई लिने र प्रतिक्रिया दिने ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की पदका निम्ति अयोग्य भएको निर्णय सार्वजनिक भएपछि उनी एकाएक ‘हिरो’ भए । समयको यो विन्दुसम्म आइपुग्न उनले निकै अप्ठेरो उकालीओराली हिँडे । कैयन् कथा र किस्सा झेले । चालीस वर्षे ओमले नहौसीकन भने, ‘सत्यको जित हुन्छ भन्नेमा म दृढ थिएँ ।’
ओमप्रकाश कसरी लोकमानको अयोग्यताको फाइल खोतल्न पुगे भन्ने प्रश्न जान्न २०६९ चैत १ मा पुग्नुपर्ने हुन्छ । जतिबेला संविधानसभा विघटनपछि प्रधानन्यायाधीश खिलराज रेग्मीको अध्यक्षतामा चुनावी सरकार गठन भएको थियो । उनले खिलराज नेतृत्वमा बनेको चुनावी सरकार कानुनी रूपमा अवैध भएको भन्दै सर्वोच्चमा ‘चुनौती’ दिएका थिए । तर ओमले गरेको कानुनी जिकिरलाई सर्वोच्चले उल्टाइदियो । लगत्तै सारा चासो, सरोकार र जिम्मेवारीलाई थाती राखेर उच्चस्तरीय राजनीति संयन्त्रले लोकमानसिंह कार्कीलाई ‘उच्च नैतिक चरित्र’ भएको भन्दै अख्तियारको प्रमुख आयुक्तमा सिफारिस गर्यो । जति हतारोमा सिफारिसमा भयो त्यति नै चटारोमा मन्त्रिपरिषदका अध्यक्ष रेग्मीले संवैधानिक परिषदको बैठक बोलाई कार्कीलाई नियुक्त गर्न सिफारिस गरे भने तत्कालीन राष्ट्रपति रामवरण यादवले उनलाई अख्तियार प्रमुख पदमा आसीन गराए ।
लोकमान नियुक्तिको दिन ओमप्रकाशलाई लागेको थियो, नियुक्तिको जरो रेग्मीको चुनावी सरकारसँग जोडिएको छ । उनले आफूले हारेको मुद्दासँग लोकमान नियुक्ति प्रकरण जोडेर हेरे । त्यसपछि निष्कर्ष निकाले, कानुन विपरीतको यो नियुक्तिविरुद्ध नलडी हुन्न । उनले पुराना दिन सम्झँदै भने, ‘खिलराजले लोकमानको नियुक्ति थोपर्नु आफैंमा विधिको शासनमाथि अर्को प्रहार थियो ।’ खिलराजको नियुक्ति असंवैधानिक भन्ने कानुनी लडाइँ फेल भएपछि ओमप्रकाशले सोचे, हारसँग जोडिएको अर्को मुद्दा लोकमानको गैरकानुनी नियुक्ति हो ।
कानुन व्यवसायीले खिलराजको नियुक्तिविरुद्ध ०६९ चैत ५ मा कार्यक्रम नै गरेका थिए । त्यसपछि ओम झनै तरंगित भए, साँच्चै लोकमानको नियुक्ति विधि र प्रक्रियाविपरीत छ र त्यसमा खिलराज जोडिएका छन् । २०५५ देखि कानुन व्यवसायमा लागेका ओमलाई पहिल्यै लागेको थियो, रायमाझी आयोगले दोषी किटेका व्यक्ति संवैधानिक निकायको उपल्लो पदमा कसरी योग्य हुन सक्छन् ? यही प्रश्नले उनलाई लोकमानको नियुक्तिविरुद्ध कानुनी लडाइँ लड्ने आँट दियो ।
सार्वजनिक सरोकारका मुद्दामा कैयन् कानुनी लडाइँ लडेको अनुभवले पाको बनाएको थियो । २०५८ मा उनले मुस्ताङी, जाजरकोटी, सल्यानी र बझाङी राजाको पदवी र भत्ता उन्मूलन गर्नुपर्छ भन्दै मुद्दा लडेका थिए । लोकमानको नियुक्तिमाथि कानुनी प्रश्न उठाउँदा उनलाई धेरैले धेरै कुरा सुनाए । कसैले भने, ‘विचार गर्नुस् है ।’ कोहीले भने, ‘लोकमान अरूजस्ता हैनन्, फरक मान्छे हुन् ।’ जसले जे भने पनि ओमप्रकाशले एउटै कुरा सोचे, ‘न्याय मर्न दिनु हुँदैन ।’
प्रमुख दलका शीर्ष नेताहरू लोकमान नियुक्तिको बचाउमा थिए । शक्ति भएका भनिएकाहरू कि त यसबारे बोल्दैनथे, बोले पनि मधुरो स्वरमा बोल्थे । त्यही बेला ओमप्रकाशको मनमा थियो, ‘न्याय अझै मरेको छैन ।’ २०६९ चैत ७ गते उनले लोकमानको नियुक्ति गैरकानुनी भन्दै सर्वोच्चमा रिट हाले । त्यसयताका झन्डै चार वर्षमा उनले कति उल्झन झेले, कति दौडधुप गरे, त्यसको कुनै हिसाब छैन । उनले गर्विलो स्वरमा भने, ‘यो मुद्दालाई मैले सुरुदेखि नै नैतिकताको मुद्दा ठाने ।’
उनले ‘जस’ का लागि भन्दा पनि निष्ठाका लागि यो मुद्दा लडे । त्यसैले २०७१ असोज ८ मा रिट निवेदन खारेज हुँदा पनि हार मानेनन् । न्यायिक लडाइँमा दलहरूको भूमिका, मौन बस्ने नागरिक समाजको चरित्र सबैलाई उनले नजिकबाट नियाल्ने मौका पाए । तैपनि उनले ठानिरहे, स्वार्थी भए पनि दलका नेताहरू समाजका स्थायी शक्ति होइनन् । उनले दलभित्र थोरै भए पनि न्याय र सत्यको पक्षमा बोल्ने आँट र हिम्मत भएका नेता भेटे । तिनीहरूसँगको भेट, न्यायको पक्षमा बोल्ने डाक्टर गोविन्द केसीजस्ताको आवाजले ओमलाई थाक्न दिएन । उनले भने, ‘नयाँ पुस्ताले यसलाई पक्कै बुझ्लान् ।’
ओमप्रकाशको लोकमानसँग कहिल्यै दोहोरो संवाद भएन । न उनी लोकमानलाई प्रत्यक्ष चिन्छन् नै । उनले हाँस्दै सुनाए, ‘मंसिर १६ मा दोस्रोचोटि तारेख लिन आउँदा नै हो पहिलोपटक नजिकबाट देखेको ।’ उनलाई सबैले सोध्छन्, ‘सबै ठूला नेता लोकमानको पक्षमा थिए, शक्तिकेन्द्र उनकै पक्षमा थियो, तपाईंलाई उनीविरुद्ध मुद्दा लड्न डर लागेन ?’ उनको एउटै जवाफ छ, ‘अहँ पटक्कै लागेन । लोकमानलाई धेरै नै दानवीकरण गरियो । यो त प्रवृत्तिको कुरा थियो । त्यसलाई चुनौती दिने को छ भनेर कसैले ख्याल नै गरेन ।’ उनलाई झनै धेरैले सोधे, ‘धम्की आएन ?’ ओमले शान्त भएर भने, ‘झूटो बोल्नु हुँदैन, मलाई प्रत्यक्ष धम्की कसैले दिएन ।’ त्यसो त शुभेच्छुक र मित्रहरूले उनलाई भनिरहन्थे, ‘सजग हुनुपर्छ है ।’ यसलाई उनले स्नेहका रूपमा मात्रै बुझे । अन्तमा सोधियो, ‘यति लामो कानुनी लडाइँ, अनेकन उल्झन खेप्ने हिम्मत कसरी आयो ?’ शान्त भएजसरी उनले भने, ‘लोभ त्यागियो भने डर हराउँदो रहेछ ।’
शब्द,तस्बिर कान्तिपुर दैनिक
Comments
अरु समाचार
-
चिनियाँ जनताको जापानी आक्रमणविरुद्दको युद्ध विजय र विश्व फासिष्टविरुद्दको युद्ध विजयको ८० औं वार्षिकोत्सव हामीले किन मनाउनुपर्दछ ?
चिनियाँ राष्ट्रपति सी चिन् फीङ्ले भन्नु भएको छ, इतिहास भनेको एउटा ऐना हो , जसले वर्तमान र भविष्यलाई उजागर गर्दछ।...
-
राष्ट्रपति सी चिनपिङसँग नजिकका दुई दिन
नेपाल सरकारले मलाई सन् २०२४ को अगष्ट २९ का दिन ल्हासाका लागि महावाणिज्यदूतका रुपमा नियुक्त गरेपछि ममा एक प्रकारको खुशी...
-
‘कानुन निर्माणमा संसद् सकारात्मक र दृढताका साथ लागेको छ’ : सुहाङ
काठमाडाैं । बुबा सुवासचन्द्र र आमा विशाल नेम्वाङका कान्छा छोरा सुहाङको जन्म विसं २०४६ फागुन ६ गते काठमाडौँमा भएको हो...
-
डा. टेकबहादुर घिमिरे: अब्बल सरकारी वकिलदेखि अनुसन्धान र प्रविधिका ज्ञातासम्म
काठमाडाैं । सरकारी सेवा तथा रोजगारीमा धेरै आउँछन्-जान्छन्। सप्तकोशी नदीमा आज भएको पानी भोलि त्यहाँ रहँदैन, त्यो बगेर जान्छ। यो...
-
‘संवैधानिक निकायमा हस्तक्षेपको प्रवृति लोकतन्त्रमाथिको प्रहार’
सागर पण्डित (विचार): सरकारले संघीय लोकतान्त्रिक गणतन्त्रको मेरुदण्डका रुपमा रहेका संवैधानिक निकायहरु– अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोक सेवा आयोग, निर्वाचन...
-
‘गणतन्त्रको रक्षा गर्नु संघीय लोकतान्त्रिक गणतन्त्रको मात्र होइन समाजवाद उन्मुख समावेशीताको रक्षा गर्नु हो’
काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायण काजी श्रेष्ठले गणतन्त्रको रक्षा गर्नु भनेको संघीय लोकतान्त्रिक गणतन्त्रको मात्र नभएर समाजवाद...
-
मृत्युनजिक पुगेको मानिसले कस्तो अनुभव गर्छ ?
काठमाडौं । मृत्यु जीवनको अन्त्य हो, यसको बारेमा हाम्रो ज्ञान धेरै सीमित छ। जब स्नायु प्रणालीको अध्ययन गर्ने वैज्ञानिक जिमो...
-
नेपाल बारको आसन्न निर्वाचन र डीएलए नेतृत्व !
विषय प्रवेश: बहुदलीय व्यवस्थाको प्रार्दुभावसँगै प्रजातन्त्रवादी कानून व्यावसायीहरुको समूहले गठन गरेको संस्था हो, डीएलए नेपाल। हाल यसको नेतृत्व सिताराम के.सी.जी...
-
अनुहारमा होइन विचारमा सुन्दरताको खोजी
काठमाडौं । जङ्गबहादुरको बेलायत यात्रा वृत्तान्तमा उमेरदार युरोपेली नारीहरुको सौन्दर्यको थोरै बयान गरिएको पढ्न पाइन्छ । त्यस यात्रा वृत्तान्तमा युरोपेली...












