पोसिला खानेकुरा पाउँदैनन् एचआइभी सङ्क्रमितहरु
लम्की । कैलालीका एचआइभी सङ्क्रमितले पोसिला खानेकुरा खान पाएका छैनन् । उनीहरुलाई खाली पेट औषधि (एआरटी) खानुपर्ने बाध्यता छ । सङ्क्रमितमा पनि यहाँका एकल महिला र बालबालिकाको अवस्था दयनीय छ ।
एआरटी औषधि नियमित रुपमा आजीवन सेवन गर्नुपर्छ । औषधिले शरीर कमजोर बनाइदिन्छ । उनीहरु नियमित खाना खान सक्ने अवस्था मै छैन । सङ्क्रमित एकल महिला चम्फा धामीले भनिन्, ‘सङ्क्रमित धेरै महिलाका श्रीमान् बितिसके । बालबालिका स–साना छन्, कमाउने कोही छैन । छाक टार्नै समस्या छ, कसरी पोषणयुक्त खाना खानु ?’
सङ्क्रमितहरुका अनुसार औषधि नखाँदा स्वास्थ्यमा असर गर्छ । खाँदा पोषणयुक्त खानेकुरा बढी चाहिन्छ । कैलालीको धनसिंहपुरकी शारदा बिकले भनिन्, ‘चार बच्चा छन् । खानै पुग्दैन । चार वर्षअघिसम्म सरकारले पोषणका लागि लिटो दिन्थ्यो, त्यही खान्थ्यौं । अहिले त त्यो पनि बन्द भयो । निकै समस्या छ ।’
उनले सङ्क्रमितमध्ये पनि महिलाको शारीरिक अवस्था कमजोर रहेको बताइन् । सङ्क्रमितका बालबालिकाले सहज वातावरणमा शिक्षा आर्जन समेत गर्न पाएका छैनन् । आर्थिक अवस्था कमजोर भएपछि आठ कक्षामा अध्ययनरत १४ वर्षीया छोरोलाई भारत कमाउन पठाएको शारदाले बताइन् ।
उनले भनिन्, ‘कैलालीमा म जस्ता धेरै महिलाले चाहेर पनि छोराछोरीलाई उच्च शिक्षा दिन पाएका छैनन् । धेरै बालबालिका पाठ्यपुस्तक, लुगाकपडाको अभावमा विद्यालय जान पाएका छैनन् । हामीलाई त कसरी छाक टार्ने भन्ने चिन्ता छ ।’
नवजीवन एकता समाज कैलालीले सङ्क्रमितका समस्यामाथि छलफल गर्न केही दिनअघि जिल्लाभरिका सङ्क्रमितको भेला गरेको थियो । समाजका अध्यक्ष जगत भण्डारी भने, ‘प्रदेश सरकार र सबै स्थानीय तहसँग बजेट र कार्यक्रम माग गरेका छौं । हाम्रा समस्याप्रति सरोकारवाला गम्भीर नभएको महशुस गरेका छौं ।’ उनका अनुसार अहिले पनि धेरै सङ्क्रमितहरु समाजमा अपहेलित भएर बाँचिरहेका छन् ।
नेपालको संविधानमा असहाय/अशक्तलाई सामाजिक सुरक्षाभित्र राख्ने उल्लेख भए पनि एअचाइभी सङ्क्रमितका बारेमा केही व्यवस्था भएको छैन । आफूहरुलाई सामाजिक सुरक्षा भत्ताको व्यवस्था गर्नुपर्ने माग भण्डारीले गरे । सरकारले सङ्क्रमितलाई निःशुल्क स्वास्थ्य बीमाको व्यवस्था गर्ने भनेको छ तर, टीकापुर लगायतका क्षेत्रमा एक जनाले पनि त्यो सुविधा पाएका छैनन् ।
कैलालीको लम्की चुहा नगरपालिकाले बिरामी हुँदा उपचारका लागि प्रतिव्यक्ति चार हजार रुपैयाँ सहयोग गर्न थालेको छ । सङ्क्रममितका लागि यो वर्ष २ लाख बजेट विनियोजन गरिएको छ । अन्य स्थानीय तहले भने सहयोग गरेका छैनन् ।
चार वर्ष अघि पोषणका लागि भनेर सरकारले एक जनालाई मासिक पाँच किलो लिटो दिन्थ्यो । हाल त्यो पनि बन्द भएको छ । समाजका अध्यक्ष भण्डारी थप्छन्, ‘सरकारले हाल एआरभी औषधि भने निःशुल्क दिने गरेको छ ।
कहिलेकाहीँ फाट्टफुट्ट स्थानीय सरकारले कार्यक्रम दिन्छन्, यत्तिले पुग्दैन ।’ टीकापुर नगरपालिकाले चार वर्षअघि एचआइभी सङ्क्रमितका लागि नेपाल रेडक्रस सोसाइटीमा उपचार कोष स्थापना गरेको थियो । सङ्क्रमितलाई निःशुल्क रगत दिने व्यवस्था गरिएको छ ।
भण्डारी भन्छन्, ‘हामीलाई रगत भन्दा पोषण चाहिएको छ । पोषण र उपचारको व्यवस्था गरिनुपर्छ । रगत त सबैलाई चाहिँदैन । हामीलाई खानकै समस्या छ ।’
कैलालीमा ३ हजार ५५३ जना एचआइभी सङ्क्रमित रहेको तथ्याङ्क छ । सेती अञ्चल अस्पताल धनगढी र टीकापुर अस्पतालमा सङ्क्रमितको उपचारका लागि एआरटी सेन्टर सञ्चालित छ । सेती अञ्चल अस्पतालमा २ हजार ७६७ र टीकापुर अस्पतालमा ७६५ जना एचआइभी सङ्क्रमित दर्ता रहेका छन् ।
सेती अस्पतालमा एआरटी सेवा लिनेमा ३२४ पुरुष, ३९८ महिला, ३२ बालिका र ३८ बालक रहेका एड्स हेल्थ केयर फाउण्डेशनका एआरटी काउन्सिलर ज्ञानेन्द्र शाहीले जानकारी दिए ।
त्यस्तै, ४७१ जनाले टीकापुर अस्पतालबाट नियमित एआरटी सेवा लिइरहेका छन् । काउन्सिलर मीनबहादुर बोहराका अनुसार सेवा लिनेमा ३०० महिला, ४४ बालबालिका र १२७ पुरुष छन् । कैलालीमा पुरुष भन्दा सङ्क्रमित महिलाको सङ्ख्या धेरै छ । यहाँ आफ्ना श्रीमान्को रोग पत्ता नलागेरै मृत्यु भएका एकल महिला धेरै छन् । उनीहरुको शारीरिक अवस्था दयनीय छ ।
कैलाली, कञ्चनपुर सहित सुदूरपश्चिमका जिल्लामा एचआइभी सङ्क्रमणको उच्च जोखिम छ । अझ सबैभन्दा बढी एचआइभीको सङ्क्रमण अछाम जिल्लामा छ । यहाँका पुरुषहरु रोजगारीका सिलसिलामा भारत जान्छन् र धेरैजसो रोग बोकेर फर्कन्छन् । परदेशमा यौन क्रियाकलाप गर्दा सावधानी नअपनाउने भएबाट उनीहरु सङ्क्रमित हुन पुग्ने अभियन्ताहरु बताउँछन् ।
अभियन्ता द्रोपति तिमिल्सिनाले आफूहरुले भारत आवतजावत गर्ने नेपालीलाई एचआइभी एड्स रोग लाग्ने कारण, लक्षण र रोकथामका उपायबारे सीमामै बसेर जानकारी दिने गरेको बताइन् । उनले भनिन्, ‘हामीले भारतबाट नेपाल फर्कने नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई एचआइभी परीक्षण गर्न पनि सन्देश दिन थालेका छौं ।’
असुरक्षित यौन सम्पर्क, असुरक्षित रगत, एचआइभी सङ्क्रमित आमा, लागुपदार्थ सेवन जस्ता कार्यबाट एचआइभी सर्छ । टीकापुर नगरपालिकाका सिनियर अहेव बलबहादुर रावलका अनुसार एचआइभी सङ्क्रमित व्यक्तिसँग असुरक्षित यौन सम्पर्क गरे, स्वच्छ व्यक्तिले एचआइभीबाट प्रदूषित रगत लिए, गर्भवती आमा एचआइभी सङ्क्रमित भए शिशुमा एचआइभी सर्ने सम्भावना ४५ प्रतिशत रहन्छ । एचआइभी सङ्क्रमितले नशाद्वारा लागुपदार्थ लिँदा प्रयोग गरेका प्रदूषित सूई स्वस्थ व्यक्तिले प्रयोग गरे एचआइभी सर्छ ।
एचआइभी एड्स लागेको मानिसको विना कारण हरेक महिना १० प्रतिशतसम्म तौल घट्छ । एक महिनाभन्दा बढी समयसम्म पखाला लागिरहने, जुनसुकै स्वास्थ्य समस्याले आक्रमण गर्ने, एक महिनाभन्दा बढी ज्वरो आउने, मुखभित्र ढुसी देखापर्ने, शरीर जीर्ण हुँदै जाने जस्ता लक्षणहरु उनीहरुमा देखिन्छन् ।
बचत गर्दै सङ्क्रमितहरु
कतिपय सङ्क्रमितले आर्थिक गर्जो टार्न मासिक बचत गर्ने गरेका छन् । कैलालीको टीकापुर लम्की, सुगरखाल, जानकी, धनसिंहपुर, नारायणपुर लगायतका क्षेत्रमा बचत समूह गठन भएका छन् । शुरुमा टीकापुरस्थित बाल कल्याण सङ्घले दुई÷दुई लाख सहयोग गरेर समूह निर्माण गरिदिएको हो ।
सो समूहमार्फत ऋण लगेर केहीले तरकारीखेती, फलफूल व्यवसाय र बाख्रापालन जस्ता आयआर्जनका कार्य गरिरहेका छन् । लम्कीकी नम्रताका श्रीमान् १० वर्षअघि बिते । श्रीमान्को रोग पहिचान हुनै पाएन । त्यसको एक वर्षपछि उपचारका क्रममा उनले आफू पनि सङ्क्रमित भएको थाहा पाइन् । श्रीमान् बितेपछि चार बच्चाको जिम्मेबारी उनीमाथि आइप¥यो ।
उनी भन्छिन् – ‘सङ्क्रमित महिलाको बचत समूह बनायौं । त्यहीँबाट एक प्रतिशत ब्याजदरमा २० हजार ऋण लिएर दुई बाख्रा किनें । यसैले घरखर्च चलेको छ । बचत समूह जिउने आधार बनेको छ । भोको मर्नुपरेको छैन ।’ उनले ऋण पनि तिरिसकेकी छन् । हाल उनीसँग १२ बाख्रा छन् ।
Comments
अरु समाचार
-
शेयर बजारमा देखियो उछाल, झण्डै ६५ अंकले बढ्दा २१ अर्ब २२ करोडको शेयर किनबेच
काठमाडौं । शेयर बजारमा उछाल देखिएको छ । साताको अन्तिम कारोबार दिन आज बिहिबार नेप्से ६४ दशमलव ६९ अंकले बढेर...
-
‘निर्वाचन हुन्छ, कि हुन्न भन्ने अन्योलको वातावरण चिरेर प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गरायौं’
काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन हुन्छ, कि हुन्न भन्ने अन्योलको वातावरण चिरेर निर्वाचन आयोगले प्रतिनिधि सभा...
-
नेपाल मूलका नेपालीलाई पहिचान दिलाउने प्रतिबद्धता
काठमाडौं । गैरआवासीय नेपाली संघको १२ औं वार्षिक सभामा नेपाल मुलका नेपालीहरुलाई समावेश गराउने प्रतिवद्धता व्यक्त भएको छ । भिन्न...
-
वर्ल्डलिंकको ७ अर्ब कर छली प्रकरणमा मुद्दा फिर्ता गराउने प्रयास !
काठमाडौं । नेपालका एक इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडको सात अर्ब रूपैयाँ कर छली प्रकरणमा मुद्दा फिर्ता गराउने कुटिल...
-
निर्वाचन आयोगले निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन राष्ट्रपतिलाई बुझाउँदै
काठमाडौँ । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन निर्वाचन आयोगले आज राष्ट्रपति रामचन्द्र...
-
कांग्रेस सभापति गगन थापाले दिए राजीनामा, शुक्रबार बोलाइयो केन्द्रीय कार्यसमिति बैठक
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राजीनामा दिएका छन् । गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका...
-
आजदेखि चैत्र दसैँको नवरात्र सुरु गरिँदै, हनुमानढोकामा घटस्थापना गरी पूजाआराधना
काठमाडौं । चैत्र शुक्ल प्रतिपदाका अवसरमा आजदेखि चैत्र दसैँको नवरात्र सुरु गरिँदै छ । चैत्र नवरात्रका अवसरमा आज हनुमानढोका दरबारमा...
-
बालाबेँसी हेलिकप्टर दुर्घटनामा सवार भन्छन्, ‘दुर्घटना लगत्तै चालकले इन्जिन अफ गर्नुभयो’
खोटाङ । केपिलासगढी गाउँपालिका-२ खार्तम्छास्थित बालाबेंसीमा आज एयर डाइनेष्टी कम्पनीको हेलिकप्टर दुर्घटना हुँदा छ जना घाइते भएका छन् । काठमाडौँबाट...
-
जेनजी आन्दोलनका क्रममा भागेका कैदीबन्दीमध्ये एक हजार २०० हाराहारीमा अझै फरार
काठमाडौं । जेनजी आन्दोलनमा केन्द्रीय कारागार सुन्धाराबाट भागेका एक हजार बढी कैदीबन्दी अझै फरार छन् । केन्द्रीय कारागार कार्यालयका सूचना...












