ताजा समाचार

गायिका अञ्जु गौतम र गायक सुशील भट्टराईको स्वरमा ‘सयपत्री माला’ सार्वजनिक

काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार नजिकिँदै गर्दा देउसी–भैलोको मौलिकता र सांस्कृतिक रौनक बोकेको नयाँ गीत ‘सयपत्री माला’ सार्वजनिक भएको छ।

गायिका अञ्जु गौतम र गायक सुशील भट्टराईको सुमधुर स्वरमा सजिएको उक्त देउसी–भैलो गीतले तिहारको उल्लास, नेपाली मौलिक संस्कृति र चाडपर्वको खुसीलाई समेट्ने प्रयास गरेको छ। तिहारको सांस्कृतिक महत्त्वलाई संगीतमार्फत प्रस्तुत गरिएको गीतले दर्शक तथा श्रोतामाझ उत्साह थप्ने अपेक्षा गरिएको छ।

गीतमा गायत्री लम्सालको शब्द रचना रहेको छ भने बलराम समालले संगीत भरेका छन्। त्यसैगरी राजु कार्कीले गीतको संगीत संयोजन (एरेन्जमेन्ट) तथा मिक्सिङ र मास्टरिङ गरेका छन्।

I गीतको रेकर्डिङ काठमाडौंस्थित किङ स्टुडियो र इटहरीस्थित पूर्वाञ्चल डिजिटल रेकर्डिङ स्टुडियोमा गरिएको हो।

तिहारमा घर–घरमा देउसी–भैलो खेल्ने, सयपत्री फूलको माला लगाउने, आफन्त तथा साथीभाइसँग खुसी साटासाट गर्ने नेपाली परम्परालाई गीतको शीर्षक र दृश्य प्रस्तुतिमार्फत झल्काइएको छ। आकर्षक दृश्य, सांस्कृतिक पहिचान र चाडपर्वको उल्लास समेटिएको म्युजिक भिडियोले तिहारको माहोललाई थप रंगीन बनाउने विश्वास गरिएको छ।

नेपाली मौलिक गीतसंगीत र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा यस्ता सिर्जनाले महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गर्न सकिन्छ।

‘सयपत्री माला’ अहिले युट्युबमार्फत हेर्न तथा सुन्न सकिन्छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org