कोरोना भाइरस व्यवस्थापनमा कहाँ चुके ट्रम्प ?
एजेन्सि । अहिले कोरोना भाइरसबाट सबैभन्दा धेरै मानिस संक्रमित छन् संयुक्त राज्य अमेरिकामा ।
अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा हालसम्म कोरोना भाइरसबाट १ लाख ८९ हजार जना भन्दा बढी संक्रमित छन् ।
कोरोना भाइरसको उद्गमस्थल चीनमा अहिले संक्रमितको संख्या ८१ हजार ५ सयको आसपास छ । यसअनुसार चीनमा भन्दा अमेरिकामा संक्रमित दोब्बरभन्दा धेरै छन् । अमेरिकामा संक्रमित हरेक दिन हजारौँको संख्यामा थपिँदै छन् । कोरोना भाइरसका कारण अमेरिकामा मृतकको संख्या ४ हजार नाघिसकेको छ ।
अमेरिकाले यो स्तरको स्वास्थ्य प्रकोप व्यवस्थापन गर्न सक्नेमा धेरैले शंका गरेका छन् । राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोना भाइरसको व्यवस्थापनका लागि गठन गरेको कार्यदलकी सदस्य डेबोरा बिस्र्कले नै अमेरिकामा सबैभन्दा खराब अवस्थामा २४ लाखसम्म मानिसहरूको ज्यान जानसक्ने चेतावनी दिएकी थिइन् । उनले १ लाख देखि २ लाख ४० हजारम्म सीमित पार्न सके उपलब्धि हुनसक्ने पनि बताएकी छन् ।
ठूलो स्वास्थ्य एवं मानवीय चुनौती बनेको कोरोना भाइरस नियन्त्रणका लागि ट्रम्पकोसर्वत्र आलोचना भइरहेको छ । उनी कहिले आगामी इष्टरसम्म कोरोना भाइरसको प्रकोप सकिन्छ भन्छन् त कहिले सबैभन्दा खराब असर परेको न्यूयोर्क राज्यले मागेअनुसारको परिमाणमा भ्यान्टिलेटर लगायतका उपकरण दिन नसक्ने बताउँछन् ।
यस्तो अवस्थामा अमेरिका कहाँ चुक्यो भन्ने समीक्षा पनि भइरहेको छ ।
कोरोना भाइरसको महामारीका बीच सुनसान रहेको अमेरिकाको वाशिङ्टन डिसीस्थित एक मेट्रो स्टेशन । तस्वीर– सिन्ह्वा
अमेरिकाको वासिंटन राज्यमा गत जनवरी २० मा चीनको वुहान शहरबाट फर्केका ३५ वर्षे व्यक्तिमा पहिलो पटक कोरोना भाइरस पुष्टि भएको थियो । सोही दिन दक्षिण कोरियाले पनि पहिलो पटक कोरोना संक्रमित पुष्टि गरेको थियो ।
अमेरिका र दक्षिण कोरियामा एकैदिन संक्रमित देखा परेको ७० दिन बितेको छ । यही समयमा दुबै मुलुकमा कोरोना भाइरसको अवस्थामा आकाश—जमिनको फरक छ । अमेरिका प्रकोपको ठूलो चपेटामा परेको छ भने दक्षिण कोरियाले ठूलो क्षति नब्यहोरी कोरोना भाइरस व्यवस्थापनको उदाहरण पेश गरेको छ ।
कोरोना भाइरसको आक्रमक व्यवस्थापनका कारण चीनबाट नजिकै रहेको दक्षिण कोरियामा संक्रमितको संख्या १० हजार भन्दा कम छ भने १६५ जनाको मृत्यु भएको छ ।
कोरोना भाइरसको पहिलो संक्रमित पुष्टि भएको दुई दिनपछि ट्रम्पले सीएनबीसी टेलिभिजनमा ‘अवस्था पूरा नियन्त्रणमा छ’ भने । उनले भनेका थिए, ‘चीनबाट आएका एकजनामा देखिएको हो, आत्तिनु पर्दैन ।’
त्यसको एक सातापछि वाल स्ट्रिट जर्नलमा लेख लेख्दै ट्रम्प प्रशासनमै काम गरेका दुई पूर्ववरिष्ठ स्वास्थ्य अधिकारी लुसियाना बोरियो र स्कट गोट्टलेबले स्वास्थ्य विपद आउन नदिन ट्रम्प प्रशासनले चाल्नुपर्ने कदमहरु प्रस्तुत गरेका थिए । उनीहरूले दिएको प्राथमिक सल्लाह थियो— निजी कम्पनीहरुसँग मिलेर कोरोना भाइरस सहज परीक्षण गर्न मिल्ने प्रणलीको विकास गर ।
वाल स्ट्रिट जर्नलमा लेख छापिएको एक महिनाभन्दा धेरै र अमेरिकामा कोरोना भाइरसको पहिलो संक्रमित पुष्टि भएको करिब ६ सातापछि २९ फेब्रुअरीमा बल्ल ट्रम्प प्रशासनले अस्पताल र प्रयोगशालाहरूलाई आफैँले कोरोना भाइरस परीक्षण गर्नसक्ने अनुमति दियो ।
यही ४ देखि ६ साताको अलमलका कारण अमेरिकाले कोरोना भाइरसको प्रकोपमा ठूलो मूल्य चुकाउनुपरेको छ ।
‘कोरोना भाइरसविरुद्ध अमेरिकी कदम आगामी पुस्ताले भयानक असफल प्रयासको उदाहरणका रुपमा पाठ्यपुस्तकमा पढ्नेछ ।’ यो भनाइ सन् २०१४ मा इबोला महामारीविरुद्ध काम गरेका रोन क्लेइनको हो । हालै जर्जटाउन विश्वविद्यालयको प्यानलमा भनेका हुन् । उनले यसो पनि भने, ‘वासिंटनमा जे भयो, त्यो विशाल अनुपातको असफलता हो ।’
सन् २०१३ देखि सन् २०१४ सम्म अन्तर्राष्ट्रिय विपदको समयमा अमेरिकी सहयोग निकाय युएसएडको नेतृत्व गरेका जेरेमी कोन्यन्डिकको भनाइ पनि यस्तै छ । उनी भन्छन्, ‘अमेरिकामा अहिले आधारभूत शासन र आधारभूत नेतृत्वको क्षेत्रमा आधुनिक समयकै सबैभन्दा ठूलो असफलता देखापरेको छ ।’
उनको विश्लेषणमा ह्वाइट हाउससँग कोरोना भाइरसको निर्णयक व्यवस्थापनका लागि जनवरीको अन्त्यसम्म सबै जानकारी उपलब्ध थिए । राष्ट्रपति ट्रम्पले भने कोरोना भाइरसलाई कहिले ‘चाइनिज भाइरस’ को संज्ञा दिन र चीन तथा युरोपेली मुलुकमा लागू गरेको आशिंक यात्रा प्रतिबन्धले कोरोना भाइरस रोकथाम हुने अड्डी कसेर बस्नतर्फ लागे ।
क्यालिफोर्नियाको लङ्ग बीचमा चुम्बन गर्दै एक जोडी । कोरोना संक्रमणको जोखिम कम गर्न सरकारले सामाजिक दूरी कायम गर्न भनेपनि अमेरिकी नागरिकहरुले त्यसको खासै पालना गरेका छैनन् । तस्वीर– एएफपी
ट्रम्पले लागू गरेको यात्रा प्रतिबन्धले केही नभए पनि एक हदसम्म अमेरिकामा कोरोना भाइरस भित्रिन कम भएको थियो । यसबाट अमेरिकालाई त्यसबेला आवश्यक छोटो तर महत्वपूर्ण समय प्राप्त गरेको थियो । ट्रम्प प्रशासनको निर्णयक कदमको अभावमा यात्रा प्रतिबन्धले पनि अमेरिकामा कोरोना भाइरसको महामारी रोक्न सकेन ।
‘हामीले त्यो समय राम्रोसँग सदुपयोग नै गर्न सकेनौँ’ वाण्डरबिल्ट विश्वविद्यालयको चिकित्सा केन्द्रका संक्रमक रोग विशेषज्ञ विलियम शाफ्नर भन्छन्, ‘हामीले त्यसबेला कोरोना परीक्षणमा जोड दिनुपथ्र्यो ।’
पछि निजी एवं राज्यस्तरका प्रयोगशालालाई कोरोना भाइरसको परीक्षण गर्ने अनुमति दिइसकेपछि पनि परीक्षण गर्न किटको अभाव थियो । यो अझै पूरा भइसकेको छैन । पर्याप्त परीक्षण नहुँदा अमेरिकामा कोरोना भाइरसको नयाँ केन्द्रविन्दु कहाँ उत्पन्न हुन्छ, पूर्वानुमान लगाउन कठिन छ ।
पर्याप्त किटको अभावमा अमेरिकाको रोग नियन्त्रण एवं रोकथाम केन्द्र सीडीसीले कोरोनाको पर्याप्त परीक्षण पनि गर्न सकेन । ‘सीडीसी खाली खुट्टा (प्रकोप व्यवस्थापनका लागि तयार थिएन) थियो भन्ने मेरो बुझाइ छ,’ गत ७ मार्चमा न्यूयोर्क राज्यका गभर्नर एण्ड्रियू कुओमोको भनाइ छ । उनका अनुसार सीडीसीका कारण राज्य नै कमजोर भइरहेको छ ।
सीडीसीको पहिलो कदमले नै ट्रम्प प्रशासन असफलतातर्फ गइरहेको संकेत मिलेको थियो । पर्दा पछाडि पनि संघीय निकायहरुमा ठूल्ठूला कमजोरी लुकेका थिए ।
अमेरिकाको राष्ट्रिय सुरक्षा निकायमा अहिलेको जस्तो स्वास्थ्य प्रकोप आइहालेको खण्डमा व्यवस्थापनका लागि स्वास्थ्य प्रकोप एकाइ हुने गथ्र्यो । ट्रम्प प्रशासनले त्यसलाई सन् २०१८ मा विघटन गरिदियो । ‘उक्त एकाइ विघटन गरेकै कारण संघीय सरकारको कदम सुस्त बन्न गएको हो ।’ उक्त एकाइमा वरिष्ठ निर्देशकका रुपमा काम गरेकी बेथ क्यामरनले हालै वासिंटन पोष्ट अखबारमा लेखेकी छिन् ।
ट्रम्पले उक्त एकाइ विघटन गर्नुअघि नै सीप र अनुभव भएका धेरै जनशक्तिले उक्त एकाइ छाडिसकेका थिए । उक्त एकाइमा काम गरेका अधिकारीका अनुसार एकातिर त्यहाँ कार्यरत जनशक्तिमा काम गर्ने जाँगर मरिसकेको थियो भने कोही पनि नयाँ मानिस त्यहाँ काम गर्ने चाहँदैनथ्यो ।
विश्व स्वास्थ्य संगठन डब्लूएचओले कोरोना भाइरसलाई सार्वजनिक जनस्वास्थ्य संकट घोषणा गरेको ११ दिनपछि अर्थात् १० फेब्रुअरीका दिन ट्रम्पले सीडीसीको बजेटमा १६ प्रतिशत कटौती गर्ने प्रस्ताव गरे ।
शाफ्नरका अनुसार कोरोना भाइरसको महामारी चलिरहेका बेला दुई महिनायता सीडीसी छायाँमा परेको छ । उनी भन्छन्, ‘यतिबेला हाम्रो जमानाको सबैभन्दा नराम्रो स्वास्थ्य संकट चलिरहेका छ तर हामीले सीडीसीबाट केही सुन्दैनौँ ।’
निदानात्मक परीक्षणको नियमन गर्दै आएको अमेरिकाको खाद्य तथा औषधि प्रशासन एफडीएले कोरोना भाइरसको नयाँ उपचारको पनि नियमन गर्नेछ । यो निकायले हालै औलोको औषधिका रूपमा प्रयोग हुने क्लोरोकिनलाई कोरोना भाइरसको उपचारका लागि सिफारिस गर्नसक्ने संकेत दिएको थियो ।
यसले कोरोना भाइरस निको पार्छ भन्ने कुनै अध्ययनबाट पनि प्रमाणित भएको छैन । वैज्ञानिकहरूले बरु यसबाट स्वास्थ्यमा उल्टै खराब असर पर्ने चिन्ता व्यक्त गर्दै आएका छन् । यही घटनालाई हेर्दा एफडीए पनि असफलताको बाटोमा हिडिरहेको स्पष्ट हुन्छ ।
धेरै विज्ञहरु ट्रम्प प्रशासनले विज्ञानबाट प्रमाणित नभएको औषधि कोरोना भाइरसको उपचारका लागि सिफारिस गर्दा अचम्ममा नै परेका थिए । यद्यपि धेरैले भने ट्रम्प प्रशासनमा विज्ञानका विरोधीहरूको बिगबिगी रहेका कारण यस्तो हुनु स्वाभाविक नै मानेका छन् ।
एक पूर्ववरिष्ठ अधिकारी भन्छन्, ‘एफडीएले राजनीतिक दबाबको अगाडि झुकेर आधुनिक विज्ञानविपरीत निर्णयहरु गरिरहेको छ ।’
यस्तै, धेरै अध्ययन गरेका प्रतिष्ठित राष्ट्रसेवकहरूलाई भने बाहिर आउन मुश्कील परेको छ । अमेरिकामा कोरोना भाइरस व्यवस्थापनका लागि गठित कार्यदलमा सहभागी संक्रमक रोग विशेषज्ञ डा. एन्थोनी फाउचीले पनि आफ्नो निराशा प्रकट गरेका छन् ।
केही दिनअघिमात्रै फाउचीलाई साइन्स म्यागजिनका जोन कोहेनले सोधेका थिए— राष्ट्रपति ट्रम्पले पत्रकार सम्मेलनहरूमा अमेरिकी जनतालाई गुमराहमा राख्दै वक्तव्य दिइरहेका बेला तपाईं ट्रम्पकै छेउमा कसरी उभिरहन सक्नुहुन्छ ?
फाउचीको जवाफमा निराशा प्रष्ट झल्किन्छ— मलाई थाहा छ, तर यो अवस्थामा म के गरौँ भन्ने चाहनुहुन्छ ? मैले साँच्चै भनेको जोन, तपाईं यस्तो अवस्थामा म के गरौँ भन्ने चाहनुहुन्छ ?’
कोरोना भाइरसको महामारीबीच ट्रम्पले आफैंलाई ‘युद्धकालीन राष्ट्रपति’ को दर्जा दिएका छन् । उनका सैन्य निर्णयहरु जति विवादास्पद र आलोचित छन्, कोरोना भाइरस विरुद्धको ‘युद्ध’ का क्रममा उनले लिएका निर्णय पनि त्योभन्दा कम आलोचित छैनन् । उनको नेतृत्वमा यो युद्धमा अमेरिकी संघीय निकायहरू तातो आलु खेलिरहेको प्रतीत हुन्छ ।
उनले गत जनवरी २९ मा कोरोना भाइरस महामारी व्यवस्थापनका लागि विशेष कार्यदल गठन गरी यसको जिम्मा उपराष्ट्रपति माइक पेन्सलाई दिएका थिए । पेन्सले त्यसलगत्तै डेबोरा बिस्र्कलाई ‘कोरोना भाइरस व्यवस्थापन संयोजक’ को जिम्मेवारी दिए ।
त्यसपछि अमेरिकाको संघीय संकट व्यवस्थापन निकायले कोरोना भाइरसविरुद्धको अभियानका प्रमुख कार्यक्षेत्रको जिम्मा लियो । अर्कोतर्फ प्रकोप व्यवस्थापनका लागि ट्रम्पका ज्वाइँ जारेड कुश्नेरले छायाँ टिम गठन गरे ।
‘जिम्मेवारीको कुनै भावना छैन,’ पूर्व वरिष्ठ अधिकारी भन्छन्, ‘कसैलाई पनि यसको जिम्मेवारी छैन ।’
नोबेल कोरोना भाइरससँग सम्बन्धित नियमित प्रेस ब्रिफिङकका क्रममा राष्ट्रपति डोनाल्ड ट्रम्प । तस्वीर– एएफपी
यो विलखबन्द बीच प्रकोपको दैनिक व्यवस्थापनमा ट्वीटरमार्फत् ट्रम्प आफैं अघि सरिरहेका छन् । उनको ध्यान एकातर्फ बढ्दो प्रकोपतर्फ छ भने अर्कोतर्फ न्यूयोर्कका शेयर बजारमा पनि छ ।
जनवरी ३० मा डब्लूएचओले कोरोना प्रकोपलाई विश्व संकट घोषणा गरेकै दिन ट्रम्पले भनेका थिए, ‘५ जनामात्र संक्रमित छन् । आशा गरौं सबै कुरा ठिक हुनेछ ।’
२४ फेब्रुअरीमा पनि ट्रम्पले ‘कोरोना भाइरस अझै नियन्त्रणमा रहेको’ जनाएका थिए । त्यसको भोलिपल्ट सीडीसीकी वरिष्ठ अधिकारी न्यान्सी मेसिओनेरले हिम्मत गरेर अमेरिकी जनतालाई चेतावनी दिएकी थिइन्, ‘ठूलो स्तरमा दैनिक जनजीवन अस्तव्यस्त हुनसक्छ ।’
उनको भनाइले अमेरिकी शेयर बजारमा नकारात्मक असर परेपछि चिढिएका ट्रम्पले मेसिओनेरका हाकिम अर्थात् अमेरिकाको स्वास्थ्य एवं मानव सेवामन्त्री एलेक्स अजरलाई फोन गरेर हप्काएको अमेरिकी सञ्चारमाध्यममा समाचार छापिएको थियो ।
‘मेसिओनेर शत प्रतिशत सही थिइन् । उनको भनाइ पूर्णरूपमा इमानदार र तथ्यपरक थियो,’ कोन्यनडिक भन्छन् । ट्रम्पको प्रतिक्रियाबारे उनी भन्छन, ‘एलेक्स अजरलाई हप्काउने ट्रम्पको प्रतिक्रियाबाट अधिकारीहरूलाई के बोल्ने के नबोल्ने भन्ने स्पष्ट सन्देश दिएको छ ।’
गत फेब्रुअरी महिनाको मध्यमा ट्रम्प प्रशासनका वरिष्ठ पदाधिकारी सम्मिलत बैठकमा सहभागी कोन्यनडिकका अनुसार त्यसबेला यात्रा प्रतिबन्धबारे मात्र छलफल भएको थियो । ‘मैले सोचेँ, हे भगवान ! हाम्रा अस्पताललाई जोगाउने सन्दर्भमा छलफल खै ? उच्च जोखिममा रहेका मानिसहरूलाई ध्यानमा राखेर छलफल गरिएको खै ? त्यसबेला मैले बुझेँ प्रकोप व्यवस्थापनका लागि राष्ट्रपतिले निश्चित प्राथमिकता तोकेका रहेछन् र कर्मचारीतन्त्रले त्यही अनुसार काम गरिरहेको रहेछ तर ती प्राथमिकताहरू पनि गलत थिए ।’
त्यही क्रम चलिरह्यो । कोरोना भाइरसको परीक्षण गर्नै आपत परिरहेका बेला पर्सनल प्रोटेक्टिभ एकुपमेन्ट पीपीईमा आपत आइलाग्यो, अस्पतालका शैयामा आपत आइलाग्यो अहिले भेन्टिलेटर पुर्याउन आपत परिरहेको छ ।
मानिसको ज्यान जोगाउने महत्वपूर्ण उपकरण भेन्टिलेटरको अहिले अमेरिकाभर अभाव छ । विभिन्न राज्यका गर्भनरहरूले राष्ट्रपति ट्रम्पसमक्ष भेन्टिलेटरको माग गरिरहेका थिए, अझै पनि गरिरहेका छन् । बल्ल मार्च १६ मा ट्रम्पले राज्यका गभर्नरहरूलाई जवाफ दिए, ‘रेस्पिरेटर, भेन्टिलेटर सबै उपकरणको आफैँ जुगाड लगाऊ ।’
न्यूयोर्क राज्यका गर्भनर कुओमोको अनुमानमा राज्यमा कम्तीमा ३० हजार भेन्टिलेटर आवश्यक छन् । हालसम्म ट्रम्प प्रशासनले राज्यलाई केबल ४ सयमात्र भेन्टिलेटर उपलब्ध गराएको छ ।
‘४ सय भेन्टिलेटर पठाएकोमा अब म के तपाईंलाई धन्यवाद दिऊँ ?’ कुओमोले भनेका थिए, ‘अब को को मर्छन् र को को बाँच्छन्, तपाईं नै आएर छान्नुहोस् ।’
संघीय स्तरमा प्रभावकारी कदम नचालिँदा स्थानीय एवं राज्य तहले आफ्नै शैलीमा कोरोना भाइरसको महामारी व्यवस्थापन गर्ने प्रयास गरिरहेका छन् ।
‘प्रभावकारी संघीय नेतृत्व नहुँदा हामी अहिले ५० राज्यको अराजकता महसुस गरिरहेका छौँ । केही थिंकट्यांक र ट्वीटरले बरु संघीय सरकारले भन्दा गतिला मार्गनिर्देशन दिइरहेका छन्,’ कोन्यनडिक भन्छन् ।
(द गार्जियनबाट)
Comments
अरु समाचार
-
Free Air Tickets to China for Friendly Football Spectators
Kathmandu — Nepal–China friendly football match will be held again this year. Organized on the occasion of China’s traditional New...
-
Nepali Consul General Niraula and Yunnan Normal University Professor Lu Hold Meeting
Lhasa, Magh 15 — A meeting was held on Thursday at the Consulate General office in Lhasa between Nepali Consul...
-
Alexander Kadakin: The Diplomat Who Turned Service into a Lifelong Mission
The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most often associated with India, as it were the relations with this...
-
विनोद चाैधरीलाई अदालतको झड्का, केवाइसी भ्यानको मोनोपोली तोडिदै
काठमाडाैं । अदालत गएर भएपनि शक्ति प्रदर्शन गर्ने ठानेका डलर अर्बपति विनोद चाैधरीलाई जिल्ला अदालत काठमाडाैंको आदेशले झड्का दिएको छ...
-
‘नेपाल मानव अधिकारको संरक्षणप्रति प्रतिबद्ध छ’: परराष्ट्र सचिव अमृतबहादुर राई
काठमाडाैं । नेपाल सरकारका परराष्ट्र सचिव अमृतबहादुर राईले मानव अधिकारको संरक्षण र प्रवर्द्धनप्रति नेपाल पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।...
-
चीनकी नेपाल मामिला प्रमुख झेङ युहा काठमाडौँ आउँदै
काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) को एक उच्चस्तरीय टोली बिहीबार काठमाडौँ आउने भएको छ । बदलिँदो अन्तर्राष्ट्रिय शक्ति सन्तुलन,...
-
Kathmandu Event Highlights Mountaineering Tourism in Nepal–Canada Ties
Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program in Kathmandu to commemorate the 61st year of Nepal–Canada diplomatic...
-
अमेरिकी नागरिकलाई तुरुन्तै इरान छोड्न एडभाइजरी
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग व्यापार गर्ने देशहरूमाथि कडा आर्थिक कारबाहीको घोषणा गरेका छन्। ट्रम्पका अनुसार इरानसँग कुनै...
-
ट्रम्पले आफूलाई घोषणा गरे भेनेजुएलाको कार्यवाहक राष्ट्रपति
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति भएको दाबी गर्दै सनसनी फैलाएका छन्। उनले आफ्नै...











