चिकित्सकको सुरक्षाको जिम्मा सरकारले लिन्छ : मन्त्री बस्नेत
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले चिकित्सकहरूको सुरक्षाको जिम्मा सरकारले लिने बताउनुभएको छ । आज यहाँ पत्रकारहरूसँग कुरा गर्दै उहाँले चिकित्सकमाथि भएको घटना निन्दनीय रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘दिन प्रतिदिन दुःखद् घटना भएका छन् । यो खेदजनक छ । यसका बारेमा पटक–पटक उपप्रधानमन्त्री तथा गृहमन्त्री, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीबीच छलफल भइरहेको छ ।’ गृहमन्त्रालयले शान्ति सुरक्षाको प्रत्याभूति गराउने विषयमा छलफल भइसकेको भन्दै उहाँले चिकित्सकहरूलाई काममा फर्कन अनुरोधसमेत गर्नुभयो ।
उहाँले थप्नुभयो, ‘हाम्रो ऐनमा उल्लेख भएका स्वास्थ्यसम्बन्धी सुरक्षाका विषयलाई प्रभावकारी ढङ्गबाट कार्यान्वयन गर्ने र आगामी दिनमा यस्ता घटना नहुन् भनेर सबै सक्रिय रहने विषयमा छलफल भयो ।’ शान्ति सुरक्षा गृह मन्त्रालयले दिने गरी छलफल भएको उहाँको भनाइ थियो ।
मन्त्री बस्नेतले चिकित्सा शिक्षा ऐन लागू भएसँगै बन्द भएका शैक्षिक संस्थाहरू छ महिनाभित्र सञ्चालनमा ल्याइने बताउनुभयो । यस ऐनले गर्दा दुर्गममा अस्पताल खोल्ने, चिकित्सक पु¥याउने राम्रो देखिएको भए पनि दक्ष जनशक्ति उत्पादनमा भने समस्या देखिएको उहाँले बताउनुभयो । मन्त्री बस्नेतले भन्नुभयो, ‘यही अवस्था रहे पाँच वर्षमा चिकित्सक, नर्स र स्वास्थ्यकर्मी नभेटिने अवस्था आउन सक्छ ।’
यसका लागि चिकित्सा शिक्षा ऐन संशोधन गरेर बन्द भएका संस्था सञ्चालनको तयारीमा सरकार रहेको उहाँको भनाइ थियो । शिक्षामा गुणस्तरीयता कायम गर्दै शुल्क निर्धारण पनि सरकारले गर्ने मापदण्ड बनाएर बन्द भएका संस्था सञ्चालनमा ल्याइने उहाँले बताउनुभयो ।
फरक प्रसङ्गमा मन्त्री बस्नेतले स्वास्थ्य बीमा बोर्डका कारण केही अस्पतालमा बिरामीको चाप बढ्ने र केही बन्द हुने अवस्थामा पुगेको धारणा राख्नुभयो । यसलाई नियमन गर्नका लागि मन्त्रालय लागिपरेको उहाँको भनाइ छ । पक्षपातपूर्ण तरिकाले काम भएको भन्ने गुनासो बढेपछि आफैँले यसलाई हेरिरहेको उहाँको भनाइ थियो । यसलाई चाँडै नै सहज बनाएर अघि बढ्ने उहाँले बताउनुभयो ।
‘आँखा उपचारमा सामुदायिक क्षेत्रको योगदान महत्वपूर्ण’
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले सामुदायिक क्षेत्रको योगदान महत्वपूर्ण रहेको बताउनुभएको छ । नेपाल नेत्रज्योति सङ्घ चितवनले आज भरतपुर आँखा अस्पतालमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले सरकारले आँखा उपचारमा पर्याप्त काम गर्न नसकेको बताउनुभएको हो ।
मन्त्री बस्नेतले राजधानी बाहिर आँखाको उपचारमा देशले हेर्नलायक र बिरामीले सुविधा पाउने खालको अस्पताल भरतपुरमा स्थापना गरेको भन्दै यसलाई अझै विस्तार गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘७७ जिल्लामा आँखाको क्षेत्रमा राजधानी बाहिरको देशले हेर्नलायक, बिरामीले सुविधा पाउने खालको अस्पतालका रूपमा यो अस्पताल स्थापित गर्नुभएको छ ।’
उहाँले थप्नुभयो ‘आफ्नै मेहनत र परिश्रमले भएको यो प्रगतिमा सरकारको ध्यान जान्छ ।’आँखा उपचार सेवालाई विस्तार गर्न आग्रह गर्दै उहाँले सरकारको तर्फबाट प्रक्रियागतरूपमा सहयोग गर्न आफू तयार रहेको बताउनुभयो ।
अस्पतालको आफ्नै नाममा जग्गा नहुँदा समस्या भएको भन्ने गुनासोप्रति सम्बोधन गर्दै उहाँले मन्त्रिपरिषद्बाट निर्णय भइसकेको र लालपुर्जा धनीका तर्फबाट कुनै अवरोध नभएकाले यो समस्याको समाधान हुनेमा ढुक्क रहन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘लालपुर्जाको विषय मन्त्रालयमा छलफल चलाउँछु, प्रधानमन्त्रीसमक्ष पनि राख्छु ।’
सो अवसरमा सङ्घका केन्द्रीय सदस्य चिजकुमार मास्के, जिल्ला सभापति जयराम श्रेष्ठ, सचिव केशव अधिकारी र अस्पताल प्रशासक दयाशङ्कर चौधरीले अस्पतालका गतिविधि र समस्याका बारेमा जानकारी गराउनुभएको थियो ।
Comments
अरु समाचार
-
सिरहा भन्सारद्वारा लक्षभन्दा बढी राजस्व सङ्कलन
काठमाडौं । सिरहा भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को पाँच महिनाको अवधिमा लक्ष्यभन्दा बढी राजस्व गरेको छ । सो...
-
लेखा समिति सभापतिकी श्रीमती अदालत उपस्थित हुनुपर्छ : नेता भट्टराई
काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइराला अदालतमा उपस्थित हुनुपर्ने बताएका छन्...
-
मराङबेँसीमा कृषिबाट आत्मनिर्भर बन्ने अभियान
काठमाडौं । म्याग्दीको धवलागिरि गाउँपालिका–६ मराङबेँसीका स्थानीय कृषिबाट आत्मनिर्भर बन्ने अभियानमा लागेका छन् । केही वर्षअघि सम्म अन्नबाली मात्र लगाउने...
-
रोशीका वडाध्यक्ष लामाको निधन
काठमाडौं । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–१ का वडाध्यक्ष श्रीदास लामाको निधन भएको छ । डेढ वर्षदेखि क्यान्सर रोगको उपचार गर्दै आइरहेका...
-
एमाले केन्द्रीय सचिवालय बैठक बुधबार बस्दै
काठमाडौँः नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । आगामी बुधबार (पुस १० गते) ललितपुर च्यासलस्थित एमाले केन्द्रीय...
-
नेप्से परिसूचक २८ दशमलव ९१ अङ्कले बढ्यो
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २८ दशमलव ९१ अङ्क अर्थात् एक दशमलव ११ प्रतिशतले बढेर दुई हजार छसय...
-
काठमाडौं महानगरद्वारा १२ महिनामा १२ रोगको सचेतना अभियान
काठमाडौं । काठमाडौं महानगरपालिकाले १२ महिनामा १२ प्रकारका रोगको सचेतना अभियान सञ्चालन गरेको छ । महानगरले निरोधात्मक स्वास्थ्य सेवाको प्रवद्र्धनको...
-
एनपिएल फाइनलमा अभद्र व्यवहार गर्ने दुई जना पक्राउ
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनल खेलका क्रममा अभद्र व्यवहार गर्ने दुई जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।...
-
हुलाक कार्यालय दिक्तेलका प्रमुख आचार्य र छोराको हत्या
काठमाडौं । जिल्ला हुलाक कार्यालय दिक्तेलका कार्यालय प्रमुख कुलप्रसाद आचार्य र उनका छोरा प्रबिन आचार्यको भक्तपुरमा हत्या भएको छ ।...