कुँडीएको मनले नै उखु बुझाउँदै किसान
काठमाडौं । उखुको मूल्यमा मन कुँडाइरहेका जिल्लाका किसानले चिनी उद्योगलाई उखु दिन बाध्य भएका छन् । गौशाला–१ रामनगरस्थित एभरेष्ट सुगर एन्ड केमिकल इन्डष्ट्रिज (एभरेष्ट चिनी उद्योग)ले यसपालिको उखु क्रसिङ सुरु गरेपछि मूल्यमा चित्त नबुझे पनि किसानले उखु बुझाउन थालेका हुन् । गत शुक्रबार (६ पुस) उद्योगले उखु क्रसिङ सुरु गरेपछि अहिले आफ्नो उखु तौलको पालो पर्खेका किसानको लाम लागेको छ ।
“मूल्य त चित्त बुझेको छैन नि, के गरौँ ? खुट्टी (दोस्रो वर्षको उत्पादन) उखु काटेर खेतमा अरू बाली लगाउन समय धेरै छैन, बुझाउनै पर्यो नि”, उखु तौलका लागि उद्योगको ढोकामा पालो पर्खेर बसेका किसान अरुण गिरीले भने, “हामी (किसान) यति निरिह छौँ कि आफ्नो मेहनतको मूल्य तोक्न पनि उभ्याउँदैनौँ, जो तय हुन्छ, हामीले दिनुपर्छ ।”
गत साता उखुको मूल्य प्रतिक्विन्टल रु छ सय ३५ पाउने सरकारले निर्णय गरेलगत्तै किसान र किसानका प्रतिनिधि संस्थाले आफुहरुलाई समावेश नगराई सरकारले मूल्य तोकेको भन्दै चित्त दुखाएका थिए । “हामीले यसपालिको चिनीको मूल्य, खेती लागत (खनजोत, बीउ, मल, श्रम)को मूल्याङ्कन गरी प्रतिक्विन्टल रु सात सय ५० पाउनुपर्ने माग गरेका थियौँ”, उखु उत्पादक कृषक सङ्घका जिल्ला अध्यक्ष नरेश सिंह कुशवाहाले भने, “सरकारले हामीलाई नराखी उद्योगसँगको सल्लाहमा मूल्य निर्धारण गर्यो ।”
दोस्रो वर्षको उत्पादन (खुट्टी) काटेर तत्काल अन्य बाली लगाउन पर्ने हुँदा मूल्य चित्त नबुझे पनि किसान उद्योगलाई उखु बुझाउन विवश हुनुपरेको उनको भनाइ थियो । सरकारले अहिले तोकेको रु छ सय ३५ मध्ये पाँच सय ६५ उखुको मूल्य र रु ७० सरकारले दिने अनुदानबापतको रकम भन्ने स्पष्ट पारिएको छ ।
मुडन (पहिलो वर्षको उत्पादन) उखु काट्न ढिलो नभइसके पनि खुट्टी उखुको खेत खाली गर्न अहिले किसानलाई भ्याइनभ्याइ छ । त्यसैले अहिले अरू बाली लगाउने समय नपुग्ने चिन्ताले किसान उखु बुझाउन हतारिएका हुन् । “पछि जे होला, जे पाइएला, खेत खाली गरेर अन्य बाली लगाउन ढिलो हुँदैछ, त्यसैले खुट्टी उखु बुझाउन हतार छ”, गौशाला–१ का किसान चन्देश्वर महतोले भने, “सरकारले हाम्रो मर्का बुझेर मूल्य बढाइदिने आश मरेको छैन ।” खुट्टी उखु भएको खेतबारी खाली गरेर पुस २२ भित्र गहुँ र दलहन लगाइसक्नु पर्ने बाध्यताले अहिले उखु बुझाउन किसानलाई हतार भएको हो ।
गत शुक्रबार चिनी उत्पादन थालेको चिनी उद्योगले अहिले दैनिक २५ हजार क्विन्टल उखु क्रसिङ गर्दैछ । यसपालि गत वर्षभन्दा अलि ढिलो उखु क्रसिङ सुरु भएको हो । “हामी त मङ्सिर चौथो साता लाग्दै क्रसिङ थाल्ने तयारीमा थियौँ,” उद्योगका महाप्रबन्धक सुरेन्द्र शर्माले भने, “तर किसान आन्दोलनले ढिलो भयो । यो ढिलाइले उद्योगको ढोकामै आइपुगेको करिब दुई हजार पाँच सय क्विन्टल उखु सुकेर नोक्सान भएको छ ।”
अर्को यामका लागि उद्योगले ३० लाख क्विन्टल उखु क्रसिङ गरेर दुई लाख ७० हजार क्विन्टल चिनी उत्पादन गर्ने लक्ष्य लिएको छ । उद्योगको लक्ष्यअनुसार आवश्यक पर्ने उखुमध्ये १८ लाख क्विण्टल महोत्तरी जिल्लाबाट प्राप्त हुने महाप्रबन्धक शर्माले बताए । यसैगरी अन्य अपुग उखु सर्लाही, धनुषा, रौतहट र बारा जिल्लाबाट लिइने भएको छ ।
यसपालि उद्योगलाई आवश्यक पर्ने उखुमध्ये धेरैजसो उद्योगमै आउने हुने उद्योग प्रशासनले जनाएको छ । यसरी करिब २० लाख क्विण्टल उखु उद्योग गेटमा आउने र बाँकी दस लाख क्विण्टल महोत्तरी र सर्लाहीका ग्रामीण भेगमा सञ्चालित ३३ खरिद केन्द्रमार्फत आपूर्ति हुने उद्योगको अनुमान छ ।
यसवर्ष गत वर्षभन्दा उखुको उत्पादन बढेको महाप्रबन्धक शर्माले बताउनुभयो । गत वर्ष उद्योगले २६ लाख ३० हजार ७४७ क्विण्टल उखु क्रसिङ्ग गरी दुई लाख ४२ हजार तीन क्विण्टल चिनी उत्पादन गरेको थियो । यसपालि उखु चार लाख क्विण्टल बढेसँगै चिनी उत्पादन पनि बढ्ने भएको हो। महोत्तरीमा यसपालि आठ हजार किसानले सात हजार बिघामा उखु लगाएका प्रबन्धक विके यादवको भनाइ थियो ।
एक दशक पहिले १८ हजार बिघासम्म पुगेको उखु खेती खस्कदै तीन वर्ष पहिले पाँच हजार बिघामा झरेको थियो । पछिल्ला दुई÷तीन वर्षदेखि उखुको भुक्तानी सहज हुनथालेपछि फेरि यो खेती बढ्दै अहिले सात हजार बिघामा पुगेको छ । उद्योगले उखु तौल भएको एक साता नबित्दै भुक्तानी दिइने जनाएको छ । यद्यपि यसपालि मूल्यमा मन कुँडाएका किसानले सरकारले केही मूल्य बढाइदिने आश भने मारेका छैनन् ।
Comments
अरु समाचार
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...
-
‘बिपी राजमार्ग अवरुद्ध भए ३० मिनेटभित्र सञ्चालन गर्ने आवश्यक तयारी’
काभ्रेपलाञ्चोक । बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्ड वर्षायाममा पनि सहज सञ्चालन गर्ने तयारी गरिएको छ। डिभिजन...
-
टेलिकम बिलिङ प्रणाली ठेक्का प्रकरण : विशेष अदालतद्वारा सबै आरोपितलाई सफाइ
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियासम्बन्धी भ्रष्टाचार मुद्दामा सबै आरोपितलाई सफाइ दिएको छ। अदालतले नेपाल टेलिकमका...
-
दिपक भट्टसँग जोडिएपछि देउवाका छोरा जय विरलाई बयानका लागि बोलायो विभागले
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जयवीर सिंह देउवालाई बयानका लागि बोलाएको छ । विभागले दिपक भट्ट र सुलभ अग्रवालसँग...
-
‘मौद्रिक नीतिबाट ठोस राहत नआए अर्थतन्त्रले नयाँ छलाङ मार्न सक्दैन’
काठमाडौँ । आगामी मौद्रिक नीतिमार्फत कर्जा प्रवाह विस्तार, उत्पादनमुखी लगानी प्रोत्साहन र नीतिगत स्थायित्व सुनिश्चित गर्न नसके अर्थतन्त्रले अपेक्षित गति...












