कुँडीएको मनले नै उखु बुझाउँदै किसान
काठमाडौं । उखुको मूल्यमा मन कुँडाइरहेका जिल्लाका किसानले चिनी उद्योगलाई उखु दिन बाध्य भएका छन् । गौशाला–१ रामनगरस्थित एभरेष्ट सुगर एन्ड केमिकल इन्डष्ट्रिज (एभरेष्ट चिनी उद्योग)ले यसपालिको उखु क्रसिङ सुरु गरेपछि मूल्यमा चित्त नबुझे पनि किसानले उखु बुझाउन थालेका हुन् । गत शुक्रबार (६ पुस) उद्योगले उखु क्रसिङ सुरु गरेपछि अहिले आफ्नो उखु तौलको पालो पर्खेका किसानको लाम लागेको छ ।
“मूल्य त चित्त बुझेको छैन नि, के गरौँ ? खुट्टी (दोस्रो वर्षको उत्पादन) उखु काटेर खेतमा अरू बाली लगाउन समय धेरै छैन, बुझाउनै पर्यो नि”, उखु तौलका लागि उद्योगको ढोकामा पालो पर्खेर बसेका किसान अरुण गिरीले भने, “हामी (किसान) यति निरिह छौँ कि आफ्नो मेहनतको मूल्य तोक्न पनि उभ्याउँदैनौँ, जो तय हुन्छ, हामीले दिनुपर्छ ।”
गत साता उखुको मूल्य प्रतिक्विन्टल रु छ सय ३५ पाउने सरकारले निर्णय गरेलगत्तै किसान र किसानका प्रतिनिधि संस्थाले आफुहरुलाई समावेश नगराई सरकारले मूल्य तोकेको भन्दै चित्त दुखाएका थिए । “हामीले यसपालिको चिनीको मूल्य, खेती लागत (खनजोत, बीउ, मल, श्रम)को मूल्याङ्कन गरी प्रतिक्विन्टल रु सात सय ५० पाउनुपर्ने माग गरेका थियौँ”, उखु उत्पादक कृषक सङ्घका जिल्ला अध्यक्ष नरेश सिंह कुशवाहाले भने, “सरकारले हामीलाई नराखी उद्योगसँगको सल्लाहमा मूल्य निर्धारण गर्यो ।”
दोस्रो वर्षको उत्पादन (खुट्टी) काटेर तत्काल अन्य बाली लगाउन पर्ने हुँदा मूल्य चित्त नबुझे पनि किसान उद्योगलाई उखु बुझाउन विवश हुनुपरेको उनको भनाइ थियो । सरकारले अहिले तोकेको रु छ सय ३५ मध्ये पाँच सय ६५ उखुको मूल्य र रु ७० सरकारले दिने अनुदानबापतको रकम भन्ने स्पष्ट पारिएको छ ।
मुडन (पहिलो वर्षको उत्पादन) उखु काट्न ढिलो नभइसके पनि खुट्टी उखुको खेत खाली गर्न अहिले किसानलाई भ्याइनभ्याइ छ । त्यसैले अहिले अरू बाली लगाउने समय नपुग्ने चिन्ताले किसान उखु बुझाउन हतारिएका हुन् । “पछि जे होला, जे पाइएला, खेत खाली गरेर अन्य बाली लगाउन ढिलो हुँदैछ, त्यसैले खुट्टी उखु बुझाउन हतार छ”, गौशाला–१ का किसान चन्देश्वर महतोले भने, “सरकारले हाम्रो मर्का बुझेर मूल्य बढाइदिने आश मरेको छैन ।” खुट्टी उखु भएको खेतबारी खाली गरेर पुस २२ भित्र गहुँ र दलहन लगाइसक्नु पर्ने बाध्यताले अहिले उखु बुझाउन किसानलाई हतार भएको हो ।
गत शुक्रबार चिनी उत्पादन थालेको चिनी उद्योगले अहिले दैनिक २५ हजार क्विन्टल उखु क्रसिङ गर्दैछ । यसपालि गत वर्षभन्दा अलि ढिलो उखु क्रसिङ सुरु भएको हो । “हामी त मङ्सिर चौथो साता लाग्दै क्रसिङ थाल्ने तयारीमा थियौँ,” उद्योगका महाप्रबन्धक सुरेन्द्र शर्माले भने, “तर किसान आन्दोलनले ढिलो भयो । यो ढिलाइले उद्योगको ढोकामै आइपुगेको करिब दुई हजार पाँच सय क्विन्टल उखु सुकेर नोक्सान भएको छ ।”
अर्को यामका लागि उद्योगले ३० लाख क्विन्टल उखु क्रसिङ गरेर दुई लाख ७० हजार क्विन्टल चिनी उत्पादन गर्ने लक्ष्य लिएको छ । उद्योगको लक्ष्यअनुसार आवश्यक पर्ने उखुमध्ये १८ लाख क्विण्टल महोत्तरी जिल्लाबाट प्राप्त हुने महाप्रबन्धक शर्माले बताए । यसैगरी अन्य अपुग उखु सर्लाही, धनुषा, रौतहट र बारा जिल्लाबाट लिइने भएको छ ।
यसपालि उद्योगलाई आवश्यक पर्ने उखुमध्ये धेरैजसो उद्योगमै आउने हुने उद्योग प्रशासनले जनाएको छ । यसरी करिब २० लाख क्विण्टल उखु उद्योग गेटमा आउने र बाँकी दस लाख क्विण्टल महोत्तरी र सर्लाहीका ग्रामीण भेगमा सञ्चालित ३३ खरिद केन्द्रमार्फत आपूर्ति हुने उद्योगको अनुमान छ ।
यसवर्ष गत वर्षभन्दा उखुको उत्पादन बढेको महाप्रबन्धक शर्माले बताउनुभयो । गत वर्ष उद्योगले २६ लाख ३० हजार ७४७ क्विण्टल उखु क्रसिङ्ग गरी दुई लाख ४२ हजार तीन क्विण्टल चिनी उत्पादन गरेको थियो । यसपालि उखु चार लाख क्विण्टल बढेसँगै चिनी उत्पादन पनि बढ्ने भएको हो। महोत्तरीमा यसपालि आठ हजार किसानले सात हजार बिघामा उखु लगाएका प्रबन्धक विके यादवको भनाइ थियो ।
एक दशक पहिले १८ हजार बिघासम्म पुगेको उखु खेती खस्कदै तीन वर्ष पहिले पाँच हजार बिघामा झरेको थियो । पछिल्ला दुई÷तीन वर्षदेखि उखुको भुक्तानी सहज हुनथालेपछि फेरि यो खेती बढ्दै अहिले सात हजार बिघामा पुगेको छ । उद्योगले उखु तौल भएको एक साता नबित्दै भुक्तानी दिइने जनाएको छ । यद्यपि यसपालि मूल्यमा मन कुँडाएका किसानले सरकारले केही मूल्य बढाइदिने आश भने मारेका छैनन् ।
Comments
अरु समाचार
-
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
‘निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश पनि आउँदैन’
काठमाडौं। निजामती कर्मचारीसम्बन्धी अध्यादेश आउन सक्ने आशंकाका कारण कर्मचारीहरूले राजीनामा दिने क्रम बढिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा...
-
बूढीगण्डकी बाढीः फसेका ३६ जनाको उद्धार, १० सम्पर्कविहीन, ६ पुल र ३५ बढी घरमा क्षति
काठमाडौं । बूढीगण्डकी बाढीमा फसेका ३६ जनाको उद्धार भएको छ । नेपाली सेनाले उनीहरूलाई उद्धार गरेको हो । सेनाका अनुसार...
-
सिँजा उपत्यका र खस सभ्यतालाई अन्तर्राष्ट्रियकरण गर्ने सरकारको योजना
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले खस सभ्यताको उद्गमस्थल सिँजा उपत्यकालाई पुर्ख्यौली पहिचान र पर्यटनको अन्तर्राष्ट्रिय गन्तव्यका...
-
दशैंमा घर जानेहरुका लागि आजदेखि अग्रिम टिकट बुकिङ खुला
काठमाडौं । दशैंमा घर जानेहरुका लागि सरकारले आजदेखि अग्रिम टिकट बुकिङ खुला गरेको छ । टिकट छिटो पाइने आशमा युवाहरु...
-
आजका लागि विदेशी मुद्राको विनिमयदर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
बाढी, पहिरो र हिमपात: मुस्ताङको लेतेदेखि कोरला नाकासम्म रोकिए ५०० बढी कन्टेनर
मुस्ताङ। मुस्ताङको लेतेदेखि कोरलानाकासम्म झन्डै पाँच सयको सङ्ख्यामा कन्टेनर सडकमा लामबद्ध रूपमा रोकिएको अवस्थामा रहेका छन्। यही असोज ८ देखि...
-
नबिल एसएसई फेलोसिप तथा सर्टिफिकेट कोर्सको सातौँ समूहका लागि आवेदन खुला
काठमाडौं । नबिल बैंकले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) अन्तर्गत सञ्चालन हुने फेलोसिप तथा सर्टिफिकेट कोर्सका लागि आवेदन...
-
‘दसैँलगायत चाडपर्वमा एटिएमबाटै १०० रुपियाँका नयाँ नोट’
काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले दसैँलगायत चाडपर्वलाई लक्षित गर्दै बैङ्क तथा वित्तीय संस्थालाई एटिएमबाटै १०० रुपियाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन...












