कोशीटप्पुमा चराको संख्या घट्यो
काठमाडाैँ । कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रलगायत कोशी क्षेत्रमा यस वर्ष चराको सङ्ख्या घटेको छ। चराको गुणस्तरीय बासस्थानको अभाव, बासस्थान क्षेत्रमा भइरहेका विकास निर्माण, खेतीबालीमा बढ्दो विषादिको प्रयोग र मानवीय क्रियाकलापले गर्दा चराका संख्या घटेको हो।
मिड–विन्टर वाटर वर्ड सेन्सस २०२४ अन्तर्गत यस वर्ष कोशीटप्पु आरक्षलगायत कोशी नदी क्षेत्रमा गरिएको गणनामा यस वर्ष ५३ प्रजातिका पाँच हजार पाँच सय २७ को सङ्ख्यामा चरा फेला परेको छ। गत वर्ष ५६ प्रजातिका सात हजार पाँच सय ७३ चरा रहेको तथ्याङ्क रहेको छ। बर्सेनि नयाँ–नयाँ प्रजातिका चरा आउने क्रम थपिए पनि यस वर्षको गणनामा चराको प्रजाति र सङ्ख्यामा कमी आएको राष्ट्रिय प्रकृति संरक्षण कोष कोशी संरक्षण केन्द्रका प्रमुख वीरेन्द्र गौतमले बताए।
गत पुस २५ देखि २९ गतेसम्म पाँच दिन भएको चरा गणनाको विश्व सिमसार दिवसका अवसरमा तथ्याङ्क सार्वजनिक गरिएको हो। कोशीमा सबैभन्दा धेरै ८ सय ४८ को सङ्ख्यामा सिलसिले हाँस फेला परेका छन्। त्यसैगरी उच्च सङ्ख्यामा फेला परेका १० प्रजातिका चरामध्ये चखेवा पाँच सय छ, राज हुटिट्याउ चार सय ५५, जलेवा चार सय ४५, वस्तु बकुल्ला तीन सय ७६, सानो जलेवा तीन सय ७१, कर्रा सवारी दुई सय ५७, लामाऔँले दुई सय २२, आसकोटे बकुल्ला दुई सय १० र जलरङ्ग एक सय ८७ फेला परेका छन्।
पानीमा आश्रित चरालाई सिमसार संरक्षणको अभाव हुनुका साथै आहाराको कमीले चराको संख्या घटेको हुनसक्ने कोशी पक्षी समाजका अध्यक्ष चक्र तिम्सिना बताउँछन्।
‘मानव बस्ती र मानवीय व्यवहारले हैरानी खेप्नु नै मुख्यरूपमा पर्यटक चरा आउन ह्रास भएको हुनसक्छ,’ उनले भने।
उनका अनुसार रसिया, साइबेरियालगायतका मुलुकबाट जाडो छल्न आउने पर्यटक चरा खेल्ने सिमसारमा मोटरबोट सञ्चालनमा आउनाले पनि चराको सङ्ख्यामा कमी आएको बताउँछन्।
कोरोनाले विश्व आक्रान्त बनेको समय सन् २०१९ को गणनामा कोशीमा चराको सङ्ख्या अत्याधिक बढेर नौ हजार दुई सय ८९ पगेको थियो। यस समयमा मनाव चहलपहल कम हुनाले सिमसार खोलानालामा चराको सङ्ख्या बढेको हुनसक्ने राष्ट्रिय प्रकृति संरक्षण कोष कोशी संरक्षण केन्द्रका प्रमुख वीरेन्द्र गौतमले बताए।
असोजदेखि नेपाल आउने हिउँदे पर्यटक चरा पुुससम्म आउने क्रम जारी रहन्छ र चैत महिना लागेसँगै आफ्नै गन्तव्य स्थान फर्कने गर्दछन्। सुनसरी, सप्तरी र उदयपुर जिल्लाको सङ्गमस्थलमा रहेको कोशीटप्पु वन्यजन्तु आरक्ष नेपालमा चराको राजधानीजस्तै बनेको छ। करिब पचास प्रजातिका बटुवा चरा नेपालको बाटो हुँदै भारत, पाकिस्तान र श्रीलङ्कातिर जान्छन्। जाडो छल्न नेपाल आउने हिउँदे आगन्तुक चरा नेपालका प्रमुख सिमसार क्षेत्र कोशीटप्पु वन्यजन्तु आरक्ष, चितवन राष्ट्रिय निकुञ्ज, बिसहजारी, जगदीशपुर, घोडाघोडी ताल, शुक्लाफाँटा वन्यजन्तु आरक्ष तथा कोशी, गण्डकी, नारायणी नदी र त्यसका सहायक नदीमा नै प्रायः रहने गर्दछन्।
यसरी जाडो याममा नेपालमा बसाइँ सरेर आउने चराको अधिकांश हिस्सा हाँस प्रजातिले ओगट्छन् भने अन्य प्रजातिमा सिकारी तथा मांसाहारी चरा, चाँचर, साना फिस्टा, अर्जुनक, झ्याप्सी, भद्राइ आदि पर्दछन्।
दक्षिणी मुलुक र अफ्रिकाबाट हजारौँ ग्रिष्मकालीन आगन्तुक चरा बच्चा कोरल्न नेपाल आउने गर्दछन् । यी चरा असोजसम्ममा आफ्ना बच्चा हुर्काएर पुरानै बासस्थानमा फर्कन्छन् । यसरी आउने करिब ६० प्रजातिका चराको अधिकांश हिस्सा कोइली प्रजातिको हुन्छ । नेपालमा पाइने १९ प्रजातिका कोइलीमध्ये १५ प्रजातिले त आफ्नो गुँड नै बनाउँदैनन् र आफ्नो अण्डा अरु चराको गुँडमा पार्दिन्छन्।
उक्त चराले आफ्नै सन्तान ठानेर कोइलीको बच्चालाई हुर्काउँछ। नेपाल आउने अन्यमा मुरलीचरी, गाजले सुनचरी, स्वर्गचरी, चित्रक पिट्टा, कटुस टाउके आदि रहन्छन् । ग्रीष्मकालीन आगन्तुक चराको मुख्य बासस्थान भने वन र यस आसपासका घाँसेमैदान तथा कृषिभूमि हुन्।
Comments
अरु समाचार
-
अमेरिकी राष्ट्रपति ट्रम्प चीनको राजकीय भ्रमणका लागि बेइजिङमा
बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीनको राजकीय भ्रमणका लागि बुधबार साँझ बेइजिङ आइपुग्नुभएको छ। चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा...
-
प्रतिनिधिसभाको बैठक : प्रधानमन्त्री बालेनले आज नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने
काठमाडौं। संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै छ। आजको बैठक मुख्यत: सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४ को...
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर, अमेरिकी डलरको भाउ कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
प्रदेश र स्थानीय तहबीच अधिकार बाँडफाँडसहित जलस्रोतसम्बन्धी नयाँ छाता कानून ल्याउने तयारी
काठमाडौँ । जलस्रोत व्यवस्थापनलाई सङ्घीय संरचनाअनुरुप व्यवस्थित गर्न सरकारले जलस्रोतसम्बन्धी नयाँ छाता कानून ल्याउने तयारी तीव्र बनाएको छ । ऊर्जा,...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
विश्वकप लिग-२ : स्कटल्यान्डसँग नेपाल २ रनले भयो पराजित
काठमाण्डाै ।आईसीसी क्रिकेट विश्वकप लिग–२ एकदिवसीय त्रिदेशीय शृङ्खलामा नेपाल स्कटल्यान्डसँग डीएलएस नियमका आधारमा २ रनले पराजित भएको छ । वर्षाका...
-
सेना र रास्वपा नेतृत्वकाे सरकारमाथि एमाले संसदीय दलका नेता बादलले गरे ८ प्रश्न
काठमाडौं । नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले संसद्को बैठकमा नेपाली सेना र राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सरकारको नीति...
-
आकर्षण म्यानपावरमा तनाव: मलेसिया रोजगारीमा अनियमितताको आरोप, आवेदक आक्रोशित
काठमाडौं । आकर्षण म्यानपावरमार्फत वैदेशिक रोजगारीका लागि मलेसियाको जाबेल कम्पनीमा “फ्री भिसा, फ्री टिकट” भन्दै कामदार छनोट प्रक्रियामा अनियमितता भएको...
-
धादिङमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ यात्रु घाइते
काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका–६ बैरेनीमा तीन वटा सवारी साधन एकैठाउँ ठोक्किँदा ३७ जना घाइते भएका छन् ।...












