ताजा समाचार

रूसमा बेपत्ता जहाज दुर्घटनाग्रस्त अवस्थामा फेला

काठमाडौं । रूसमा बेपत्ता भएको जहाज दुर्घटनाग्रस्त फेला परेको छ।

साइबेरियामा सञ्चालन हुँदै आएको अङ्गरा एअरलाइन्सको विमान एक्कासी रडारबाट बेपत्ता भएको रुसी अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ । उक्त विमानले चीनसँग सीमा जोडिएको अमूर क्षेत्रको टिन्डा शहरका लागि उडान भरेको थियो ।

बुधबार खाबरोव्स्कबाट ब्लागोवेश्चेन्स्क हुँदै टिन्डा जाँदै गरेको एन्टोनोभ एन–२४ जहाज टिन्डाबाट केही माइल वर पुगेपछि सम्पर्कविहीन भएको थियो। उक्त जहाज दुर्घटना भएको भेटिएको रूसी समाचार संंस्था तासले जनाएको छ।

टिन्डाको विमानस्थलबाट केही माइल वर भिरालो जंगलमा जहाज दुर्घटनाग्रस्त भेटिएको हो । जहाज सम्पर्कविहीन भएपछि त्यसको खोजीका लागि हेलिकप्टर परिचालन गरिएको थियो।

ती हेलिकप्टरमा सवार उद्धारकर्ताहरूले टिण्डाभन्दा अगाडि नै ‍ जंगलमा धुवाँ आइरहेको फेला पारेका थिए। उनीहरूले आकाशबाटै अवलोकन गर्दा जहाजका भग्नावशेषहरू देखिएको भनेर रूसी अधिकारीहरूलाई उद्धृत गरेर अन्तरर्राष्ट्रिय सञ्चारमाध्यमहरूले लेखेका छन्।

उद्धारकर्ताहरूले जहाज दुर्घटनास्थलमा जिवित मानिस भेटिने सम्भावना नरहेको भनेका छन्। जहाज दुर्घटनापछि आगो लागिसकेको र अहिले भग्नावशेषमात्रै बाँकी रहेको देखिँदा जिवित भेटिने सम्भावना नरहेको भनेर तासले लेखेको छ।

जहाजमा चालक दलका ६ सदस्य र ४३ जना यात्रु गरी ४९ जना सवार रहेको बताइएको छ। तीमध्ये ५ जना बालबालिका रहेका छन्। दुर्घटनाको आधिकारिक पुष्टि हुन बाँकी रहेको भनिएको छ।

यद्यपि दुर्घटनास्थलको फोटो–भिडिओ सार्वजनिक भएको र स्थानीय अधिकारीहरूले पनि दुर्घटनाको पुष्टि गरेको भनिएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org