‘कानुन निर्माणमा संसद् सकारात्मक र दृढताका साथ लागेको छ’ : सुहाङ
काठमाडाैं । बुबा सुवासचन्द्र र आमा विशाल नेम्वाङका कान्छा छोरा सुहाङको जन्म विसं २०४६ फागुन ६ गते काठमाडौँमा भएको हो । न्याय क्षेत्रमा नेम्वाङ परिवारमा सांसद नेम्वाङ तेस्रो पुस्ता हुनुहुन्छ । उहाँका हजुरबुबा न्यायाधीश र बुबा संविधानसभाका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता हुनुहुन्थ्यो । सुहाङको पृष्ठभूमि पनि कानुन व्यवसायी नै रहेको छ ।
सांसद नेम्वाङसँग राससका लागि प्रमुख समाचारदाता नारायणप्रसाद न्यौपाने र समाचारदाता सुशील दर्नालले संसदीय अनुभव, कानुन निर्माण, जनताका सवाल, जनशक्ति विदेश पलायन, आर्थिक समृद्धि, संविधान संशोधन, सुशासन र निर्वाचन प्रणालीलगायतका विषयमा गरिएको कुराकानीको सम्पादित अंश:
यहाँको संसदीय अनुभव कस्तो हुँदैछ ?
म प्रतिनिधिसभा सदस्यको जिम्मेवारीमा आएको एक वर्ष दुई महिना भयो । सांसद हुनुभन्दा पहिले बुबा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी एमाले उपाध्यक्ष तथा सभामुख सुवासचन्द्र नेम्वाङका अनुभव, विचार, सिद्धान्त संसदीय गतिविधि सुन्ने र बुझ्ने गर्थे । त्यतिबेला मैले संसदीय अभ्यासलाई हल्का रुपमा लिएको रहेछु भन्ने अहिले महसुस हुन्छ । तर सांसदका रुपमा संसदीय अभ्यासमा सहभागी हुँदा सतहीबाट हेरेकोभन्दा यो निकै फरक रहेछ भन्ने बुझेको छु । प्रतिनिधिसभा सदस्य भएपछि धेरै विषय जान्ने र सिक्ने मौका पाएको छु । संसदीय कार्यक्रम कसरी अगाडि बढ्छ रु ऐन/कानुन, नीति निर्माण र कार्य योजनाको तय कसरी हुन्छ भन्ने सिक्ने मौका पाएको छु ।
संसद्ले कानुन निर्माणलाई कति प्राथमिकता दिएको पाउनुभएको छ ?
कानुन वा नीति निर्माणको पाटोमा संसद् सकारात्मक र दृढताका साथ लागेको छ । मेरो अनुभवमा संसद्ले कैयौँ नीति निर्माण गरेको छ । विभिन्न विधेयकमाथि पटक–पटक समितिमा छलफल भएको छ । विधेयक निर्माणमा सांसदले खेल्नुपर्ने भूमिका प्राथमिकताका साथ निर्वाह गरिएको छ । सक्रियताको हिसाबले सबै सांसदले कानुन निर्माणमा सकारात्मक भूमिका खेल्नुभएको छ ।
संसद्मा जनताका विषय उठ्छन् ? र सरकारले त्यसलाई कति सम्बोधन गरेको पाउनुभएको छ?
मैले पटक–पटक भन्ने गरेको छु, संसद् पवित्र स्थल हो । यो सुशासनको मन्दिर हो । सुशासनको मन्दिर र सम्मानित स्थलमा जनगुनासा र वास्तविक समस्या सबै जनप्रतिनिधिहरूले उठाउनुहुन्छ । जनताका गुनासालाई छिटो–छरितो रुपमा समाधानको प्रयास पनि गरिएको छ । सरकारले पनि प्राथमिकताका आधारमा समाधान गर्दै आएको छ । मैले प्रतिनिधित्व गर्ने इलामको हकमा दुई महिनाअघि त्यहाँका छुर्पी उद्यमीका समस्या पटक–पटक सदनमा उठाएको छु । उहाँहरूको समस्या भ्याट ९कर०सँग सम्बन्धित थियो । मैले इलाममा बाटो र पुलको कुरा पनि थिएँ । मैले समस्या उठान गरेपछि अहिले सरकार समस्या समाधानमा लागेको छ । यद्यपि प्रणालीभित्र केही कमीकमजोरी छैनन् भन्दिन, त्यसबाट पाठ सिकेर समाधान खोजिनुपर्छ भन्ने लाग्छ ।
मुलुकबाट युवा जनशक्ति विदेश पलायन बढ्दो छ, विभिन्न तथ्याङ्कमा पनि त्यो देखिन्छ । त्यसलाई कसरी कम गर्न कसरी ?
जनशक्ति पलायन हुनु भनेको युवाको मात्रै विषय होइन, यो समग्र नेपालका सचेत नागरिकसँग जोडिएको विषय हो । युवा वा अर्को समूह छुट्याएर सोच्नु हुँदैन । विदेश पलायन हुनेमा युवा शक्ति मात्रै छैनन् । पचास वर्ष उमेर पुगेका पनि पलायन भएको देखिन्छ । उहाँहरू रोजगारी वा राम्रो सेवा सुविधाका लागि पलायन हुनुभएको छ । हामीले युवा पलायनलाई रोजगारीसँग मात्रै जोडेर हेरेका छौँ, कुरा रोजगारीको मात्रै होइन । यसमा सरकारले जनतालाई उपलब्ध गराउने सेवा सुविधाका विषय र प्रक्रियाले पनि प्राथमिक महत्व राख्छ । देशमा भएका कमीकमजोरी बुँदागत रुपमा टिपोट गर्नुपर्छ । समस्या सेवा, रोजगारी वा युवा उद्यमशीलता के हो रु त्यसपछि समाधानको उपाय खोज्नुपर्छ । जनताको स्वास्थ्य र शिक्षाको पनि कुरा हुनसक्छ । युवा पलायनलाई विभिन्न कोणबाट अध्ययन गरी समस्याको समाधान खोज्नुपर्छ । यस सम्बन्धमा सरकारले पनि काम नगरेको होइन तर पर्याप्त छैन ।
मुलुकलाई समृद्ध बनाउन के कसरी अघि बढ्नुपर्छ जस्तो लाग्छ ?
कृषि र पर्यटनमा अथाह सम्भावना छन्, त्यसैले रणनीतिक रुपमा यी क्षेत्रमा लगानी बढाउनुपर्छ । म सांसद भएपछि धेरै ठाउँको बाटो र सरकारी भवनको अनुगमन गर्न गएँ । सडकको गुणस्तर र मर्मतमा कमीकमजोरी भएको देखिन्छ । समयमै सडकलगायतका पूर्वाधार नबनाउँदा ८० प्रतिशत काम र लगानी भइसकेका आयोजना पुनः शून्यमा झरेको पनि अवस्था छ । मुलुकमा आर्थिक समृद्धि ल्याउन विशेषगरी कृषि र पर्यटनलाई प्राथमिकतामा राखेर काम गर्ने हो भने चाँडो लक्ष्य प्राप्तिमा पुग्न सक्छौँ भन्ने मेरो बुझाइ छ ।
वर्तमान सरकार गठनसँगै चर्चामा रहेको संविधान संशोधनको विषयमा तपाईँको धारणा के छ ?
संशोधनभन्दा पनि पहिले संविधान कसरी प्राप्त गरियो भन्ने कुरा बुझ्न जरुरी छ । अग्रजहरूको ठूलो सङ्घर्ष र बलिदानीबाट प्राप्त संविधान अहिले कार्यान्वयनमा छ । संविधानमाथि समीक्षा गर्नुपर्ने कैयौँ ठाउँ छन् । संविधान जारी भएपछि मानव अधिकारसँग सम्बन्धित विषय कति कार्यान्वयन गरियो त रु संविधान संशोधनभन्दा पनि कार्यान्वयनको पाटोलाई विशेष प्राथमिकतामा दिनु अहिलेको आवश्यकता हो । संविधानभित्रै रहेका व्यवस्था सुदृढ बनाउन ध्यान दिनुपर्छ । हामीले कानुन बनाउँछौँ, तर कानुन बनाएर मात्रै पुग्दैन त्यसको सही र प्रभावकारी कार्यान्वयन अहिलेको मुख्य विषय हो । संविधान संशोधनभन्दा पहिला कार्यान्वयनको पाटोमा समीक्षा गर्नुपर्छ । संविधानको कुन भाग र धारामा अस्पष्टता छ, त्यसको समीक्षा गरेपछि मात्रै संशोधनको मार्ग तयार हुन्छ ।
मुलुक हाँक्ने जिम्मेवारीमा रहेका राजनीतिक दललाई तपाईँको सल्लाह र सुझाव के छ ?
संसद्भित्र यो वा त्यो पार्टीभन्दा पनि जनताको समस्या र देशको चुनौतीका विषयमा संवाद गर्नुपर्छ । कुनै पनि कुराको समाधान संवादमार्फत नै गर्न सकिन्छ । तर, संसद्मा दलहरूका बीचमा जुन प्रकारका गतिविधि भइरहेको छ, त्यसलाई उचित भन्न सकिन्न । हामी संयमित र संसदीय ढङ्गले एकजुट भएर अगाडि बढ्न जरुरी छ । यहाँ नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेकपा (माओवादी केन्द्र) मात्रै होइन, देशप्रति सम्पूर्ण पार्टीको उस्तै र उत्तिकै दायित्व छ । त्यो दायित्व सबैले निर्वाह गर्नुपर्छ ।
संसद्मा दलहरूले एक अर्काप्रति लक्षित गर्दै भ्रष्टाचार र सुशासनका विषयलाई तीव्र रूपमा उठाई रहनुभएको छ नि ?
मेरो फेरि पनि आग्रह छ, संसद् भनेको अनावश्यक टीकाटिप्पणी र गाली गलौच गर्ने ठाउँ होइन । त्यहाँ जुन तरिकाले कुराहरू उठ्छ, त्यो प्रमाणसहित सत्य तथ्यका आधारमा विषयवस्तु उठाइनुपर्छ । कुनै सांसदले गल्ती गरेको छभने त्यसलाई सुधार्न सिङ्गो पार्टी लाग्नुपर्छ । पूरै प्रणाली लाग्नुपर्छ । सच्याएर अगाडि बढ्नुको विकल्प हुँदैन ।
अहिलेको निर्वाचन प्रणालीले भ्रष्टाचारलाई बढाउन मलजल गरेको छ भन्ने कोणबाट कुरा उठाइन्छ यसमा तपाईँको धारणा के छ?
हामीले निर्वाचन प्रणालीलाई मात्रै दोष दिएर हुँदैन । राजनीतिमा पढे-लेखेको वा जाने-बुझेका व्यक्तिलाई मात्र मापदण्डका रुपमा लिने गरेका छौँ । हामीले कहिले पनि इमान र निष्ठापूर्वक काम गर्ने मानिस चाहिएको छ भनेनौँ । त्यस कारणले निर्वाचनमा इमान र निष्ठापूर्वक काम गर्ने व्यक्तिलाई जिताएर पठाऔँ भने निर्वाचन भड्किलो र महँगो हुँदैन । जनताको भावना, देशको परिस्थिति र भूगोललाई बुझ्ने व्यक्तिलाई छान्नुपर्छ ।
आम नागरिकलाई के भन्न चाहनुहुन्छ ?
नागरिकका सवाललाई सदनमा उठाउँदै आएको छु । उहाँहरूका सुझाव र सल्लाहलाई मनन गरेर अगाडि बढेको छु । म निर्वाचित भएको इलाम जिल्लाको सम्बन्धमा सेवायुक्त वा सुविधा सम्पन्न बनाउन उपनिर्वाचन हुनुभन्दा पहिलेदेखि नै सबैसँग सल्लाह सुझाव लिएको थिए । सेवा सुविधा बढाउन बाटो र पुलको अति आवश्यक भएकाले त्यसलाई नै प्राथमिकतामा राखेर काम गर्ने पहल गरिरहेको छु । इलामको शिक्षा र स्वास्थ्यलाई पनि मैले प्राथमिकतामा राखेको छु । हरेक सुख दुःखमा जनताका साथमै रहनेछु ।
Comments
अरु समाचार
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
‘बिपी राजमार्ग अवरुद्ध भए ३० मिनेटभित्र सञ्चालन गर्ने आवश्यक तयारी’
काभ्रेपलाञ्चोक । बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्ड वर्षायाममा पनि सहज सञ्चालन गर्ने तयारी गरिएको छ। डिभिजन...












