ताजा समाचार

ओपन एआई बन्यो संसारकै मूल्यवान कम्पनी

काठमाडौं । च्याटजीपीटी लगायत कृत्रिम बौद्धिकता प्रविधिको विकासमा अग्रणी कम्पनी ओपनएआई हालैको शेयर बिक्रीपश्चात संसारकै सबैभन्दा मूल्यवान निजी कम्पनी बनेको छ ।

ब्लुमबर्गमा प्रकाशित समाचार अनुसार, कम्पनीको पछिल्लो मूल्यांकन ५०० अर्ब अमेरिकी डलर पुगेको छ, जसले एलन मस्कको कम्पनी स्पेसएक्सलाई समेत पछाडि पारेको छ । स्पेसएक्सको पछिल्लो मूल्यांकन ३ सय ५० अर्ब अमेरिकी डलर छ ।

यो मूल्यांकन सेकेन्डरी स्टक सेलमार्फत भएको हो, जसमा कम्पनीका वर्तमान र पूर्व कर्मचारीहरूले करिब ६ दशमलव ६ अर्ब डलर बराबरको शेयर बिक्री गरेका थिए । यस शेयर खरिदमा सहभागी प्रमुख लगानीकर्ताहरूमा थ्राइभ क्यापिटल, सफ्टबैंक, एमजीएक्स अबुधावी लगायतका प्रतिष्ठित लगानी संस्था सामेल थिए ।

सन २०२५ को सुरुमा मात्र ओपन एआईको अनुमानित मूल्यांकन ३०० अर्ब डलर थियो । च्याटजीपीटी जस्ता उत्पादनको लोकप्रियता र व्यावसायिक विस्तारका कारण कम्पनीले छोटो समयमा मूल्य वृद्धिमा उल्लेखनीय फड्को मारेको हो । ओपनएआई हालसम्म प्रत्यक्ष रुपमा मुनाफामा पुगेको छैन, तर कम्पनीको आम्दानी र प्रयोगकर्ताको संख्यामा तीव्र वृद्धि हुँदै गएकाले लगानीकर्ताहरू उत्साहित छन् ।

कम्पनीले करिव १० अर्ब डलरको सेयर बिक्रीका लागि अनुमति दिएको भए पनि ६.६ अर्ब डलरको माक्र बिक्री भएको छ । अर्थात् लगानीकर्ताहरु अझै पनि कम्पनीको सेयर होल्ड गर्न चाहिरहेका छन् ।

यस घटनासँगै ओपन एआईले विश्वको अग्रणी स्टार्टअपको रुपमा आफूलाई स्थापित गरेको छ । प्रविधि क्षेत्रको प्रतिस्पर्धामा यसले महत्वपूर्ण मोड ल्याएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org