वसन्त चौधरीको भावुक फेसबुक स्टाटस, लेखे– मेरो के कसुर थियो र ५० वर्षे इतिहास बोकेको घर जलाइयो ?
काठमाडौं । वरिष्ठ उद्यमी तथा साहित्यकार बसन्त चौधरीले जेनजी प्रदर्शन तीन महिना पूरा भएको अवसर पारेर सामाजिक सञ्जाल फेसकुमा एक भावनात्मक स्टाटस लेखेका छन् । जेनजी प्रदर्शनका क्रममा काठमाडौंको ठमेलस्थित आफ्नो पुर्ख्यौली घर जलेर नष्ट भएको तीन महिना पूरा हुँदै गर्दा बुधबार गहिरो पीडा र स्मृतिबोध समेटेर भावनात्मक स्टाटस सार्वजनिक गरेका हुन्।
पाँच दशकको मेहनतले बनेको “सरस्वती सदन” खरानीमा परिणत भएपछि त्यो घरसँग जोडिएका सपना, इतिहास र सम्झनाहरू समेत जलेको महसुस भएको उनले गुनासो गरेका छन् । पचास वर्षको इतिहास, सपना र स्मृतिले भरिएको “सरस्वती सदन” खरानीमा परिणत भएपछि उनले त्यसले आफूभित्र बनाएको घाउ अझै आलै रहेको बताएका छन्। जलेर बाँकी रहेको खण्डहरमा पुग्दा भित्ताहरू, सन्नाटा र भग्नावशेषले आफूलाई “मेरो कसुर के थियो ?” भनी प्रश्न गरिरहेजस्तो महसुस भएको उनले लेखेका छन।
आगलागीले हराएको घरलाई माता–पिताको निसानी र आफ्नो अस्तित्वको प्रतीक ठान्दै चौधरीले प्रत्येक भदौ २४ गते त्यही स्थानमा गएर आँसुले तर्पण गर्ने प्रणसमेत गरेका छन्। आगलागीको तीन महिनासम्म आफू उत्तर खोज्न असफल रहेको र जन्म–कुल वा आफ्नो शुभचिन्तन नै दोषी ठहरिए जस्तो महसुस भएको भावना व्यक्त गरेका छन् ।
वसन्त चौधरीले लेखेकोे भावुक स्टाटस जस्ताको तस्तै:
“जेन्जी प्रदर्शनले आज तीन महिना पूरा गर्यो। उक्त प्रदर्शनसँगै, मेरो मुटुमा खोपिएको घाउले पनि आज तीन महिना पूरा गर्यो। मेरा पिताजीले पाँच दशकको अथक परिश्रमले निर्माण गर्नुभएको घर, जहाँ पुस्तौँको आशा, सपना, सम्झना र इतिहास बाँचेको थियो, आज ती आशा, सपना, सम्झना र इतिहास खरानी भई मेराअगाडि उडिरहेका छन्।
बिजमान्डू अनलाइनका सम्पादक मेरा मित्र बिज्ञान अधिकारी तथा भावना शर्माले त्यही जलेर बचेको खण्डहरमा मसँग साक्षात्कार गर्ने इच्छा व्यक्त गर्नुभयो। मैले मेरा मित्रहरूको आग्रहलाई नकार्न सकिनँ र निर्धारित समयमा म ठमेल स्थित मेरो पैतृक घरमा पुगेँ।
कुनै बेला मेरा पूज्य बुबा–आमाको पदचाप प्रतिध्वनि, श्रीमतीको स्वप्न प्रस्फुटन, छोरी-नातिनीको हाँसोको गुञ्जनसँगै आमा द्वारा स्थापित राधा-कृष्ण मन्दिरको धूप–बत्तीले पवित्र बनाएको त्यो स्थान… आज श्मशानझैँ सुनसान थियो। एउटा विचित्र सन्नाटा मात्रै छाएको थिएन त्यहाँ; त्यहाँ त केवल अन्धकार र मौनता पसारिएको थियो।
भदौ २४ को साँझ, ५० वर्षदेखि जुन छानोमुनि आफ्नो युवावस्थादेखि बुढ्यौलीले छोइसक्तासम्म बस्यौँ, त्यो फगत इँटा-सिमेन्टबाट निर्मित भौतिक संरचना मात्र थिएन, त्यो त एउटा पवित्र मन्दिरसमान थियो। बुबाले बडो गर्वका साथ उक्त घरको नाम “सरस्वती सदन” राख्नुभएको थियो, जहाँ म दिनरात सरस्वती-साधना गर्दथें। त्यस्तो पवित्र स्थानमाथि हुँदै गरेको आक्रमण र आगजनीलाई अश्रुपुरित निस्सहाय आँखाले फर्कीफर्की हेर्दै म र मेरी पत्नी मीना एकसरो लुगामा एकअर्काका हात समातेर मूल ढोकाबाट सडकतिर बाहिरियौं। त्यस बखत यस्तो लाग्यो, मानौँ हाम्रो मुटु जलेर खरानीमा परिणत हुँदैछ।
आज ठीक तीन महिनापछि फेरि त्यही स्थानमा फर्किंदा त्यहाँ जलेर कालो भएको भित्ताले निनाउरो मुख लगाएर मलाई एकटक हेरिरहेको आभास गरेँ। म नजिक गएँ, जलेर प्लास्टरसमेत उप्किएका चिसा र खस्रा भित्ताहरू सुमसुमाएँ, जसरी कुनै दिन मेरा माता-पिताको स्नेहशील हातहरूले मेरो शिर सुमसुमाउने गर्दथे। तर मेरो सुमसुमाइले जलेका ती भित्ता, दलिन र झ्यालढोकाको पीडा कम भएन।
त्यहाँ छरिएर रहेका भग्नावशेषले मलाई एउटै मात्र प्रश्न सोधिरहेका थिए– “हाम्रो के दोष थियो, हामीले के त्यस्तो जघन्य अपराध गरेका थियौँ र यस्तो नियति भोग्नुपर्यो हामीले?”
मसँग कुनै उत्तर थिएन। थियो त केवल मौनता, थर्थराउँदा ओठहरू, काँपिरहेका हातहरू र अविरल बगिरहेका आँसु। म निरुत्तर थिएँ, किनभने म आफैँ पनि बितेका तीन महिनादेखि यही प्रश्नको उत्तर खोज्दै थिएँ।
मैले सुनेको थिएँ– जसले सबैको भलो चाहन्छ, खुसी चाहन्छ, सबैको सुखदु:खमा साथ दिन्छ, त्यो मान्छे दुनियाँमा सबैभन्दा बढी दुखी हुन्छ ! यस्ता उक्तिहरू दन्त्यकथा होइनरहेछन्।
एउटा अबोध बालकलाईझैं मलाई पनि अहिलेसम्म ज्ञान छैन, मेरो के गल्ती थियो? मैले कुन अपराध गरेको थिएँ? के म “मारवाडी” कुलमा जन्मिनु नै मेरो कसुर थियो?”
भित्ताहरू सोध्दै थिए तर मेरा आँखा जवाफ दिन डराइरहे। म त्यहाँ निकै बेर अर्धाचेत अवस्थामा उभिरहेँ। जसरी एउटा सन्तानले आफ्नो माता-पिताको चिताअगाडि उभिएर केही भन्न खोज्छ तर शब्द भेट्दैन। त्यसैगरी म पनि मूकदर्शकझैँ उभिइरहेँ। धेरै बेर एकटक नियालिरहेँ। खण्डहरमा परिणत भएको त्यो घर जुन मेरा माता-पिताको निसानी मात्र हैन, मेरो “म” हुनुको जिउँदो प्रमाण पनि थियो, अब त्यो “नहुनु” को सन्ताप बोकेर म फर्किएँ।
आज तीन महिना पुग्दा शरीरमा नभै मनमा बसेको घाउ उस्तै छ, आलै छ। सायद समयले केही भरिदेला वा कहिले नभरिने नासूर बनी मुटुमा बसिदेला।
आज एउटा प्रण गरेर फर्केको छु, म ! जसरी एउटा पुत्रले आफ्नो माता-पिताको पुण्यतिथिमा निष्ठापूर्वक श्राद्धकर्म गरी आफ्नो पुत्र हुनुको कर्तव्य निर्वाह गर्छ, त्यसै गरी प्रत्येक भदौ २४ गते आफ्नो आँसुले तर्पण दिन यल स्थानमा अवश्य आउने छु, किनभने जसरी म मेरा जन्मदाताको ऋणबाट मुक्त हुन् सक्दिनँ, त्यसैगरी म यो पवित्रस्थानबाट पनि कहिल्यै ऋण मुक्त हुन चाहन्न।”
Comments
अरु समाचार
-
शेयर बजारमा देखियो उछाल, झण्डै ६५ अंकले बढ्दा २१ अर्ब २२ करोडको शेयर किनबेच
काठमाडौं । शेयर बजारमा उछाल देखिएको छ । साताको अन्तिम कारोबार दिन आज बिहिबार नेप्से ६४ दशमलव ६९ अंकले बढेर...
-
‘निर्वाचन हुन्छ, कि हुन्न भन्ने अन्योलको वातावरण चिरेर प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गरायौं’
काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन हुन्छ, कि हुन्न भन्ने अन्योलको वातावरण चिरेर निर्वाचन आयोगले प्रतिनिधि सभा...
-
नेपाल मूलका नेपालीलाई पहिचान दिलाउने प्रतिबद्धता
काठमाडौं । गैरआवासीय नेपाली संघको १२ औं वार्षिक सभामा नेपाल मुलका नेपालीहरुलाई समावेश गराउने प्रतिवद्धता व्यक्त भएको छ । भिन्न...
-
कांग्रेस सभापति गगन थापाले दिए राजीनामा, शुक्रबार बोलाइयो केन्द्रीय कार्यसमिति बैठक
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राजीनामा दिएका छन् । गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका...
-
आजदेखि चैत्र दसैँको नवरात्र सुरु गरिँदै, हनुमानढोकामा घटस्थापना गरी पूजाआराधना
काठमाडौं । चैत्र शुक्ल प्रतिपदाका अवसरमा आजदेखि चैत्र दसैँको नवरात्र सुरु गरिँदै छ । चैत्र नवरात्रका अवसरमा आज हनुमानढोका दरबारमा...
-
बालाबेँसी हेलिकप्टर दुर्घटनामा सवार भन्छन्, ‘दुर्घटना लगत्तै चालकले इन्जिन अफ गर्नुभयो’
खोटाङ । केपिलासगढी गाउँपालिका-२ खार्तम्छास्थित बालाबेंसीमा आज एयर डाइनेष्टी कम्पनीको हेलिकप्टर दुर्घटना हुँदा छ जना घाइते भएका छन् । काठमाडौँबाट...
-
जेनजी आन्दोलनका क्रममा भागेका कैदीबन्दीमध्ये एक हजार २०० हाराहारीमा अझै फरार
काठमाडौं । जेनजी आन्दोलनमा केन्द्रीय कारागार सुन्धाराबाट भागेका एक हजार बढी कैदीबन्दी अझै फरार छन् । केन्द्रीय कारागार कार्यालयका सूचना...
-
खाडीका ७ देशमा पुनः श्रम स्वीकृति दिने निष्कर्षमा सरकार
कठमाण्डौ – सरकारले संयुक्त अरब इमिरेट्स (यूएई)सहित कतार, ओमान, यमन, जोर्डन, साउदी अरब, र टर्कीएमा कार्यरत नेपाली श्रमिकलाई पुनः श्रम...
-
इरान–इजरायल युद्ध अपडेट: तेहरानमा शीर्ष सुरक्षा अधिकारी लारिजानी र सोलेमानी मारिएपछि तनाव
तेहरान । मध्यपूर्वमा जारी युद्धकाबीच इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानी मारिएका इरानी सञ्चार माध्यमले पुष्टी गरेका छन्...












