नेपालका लागि जर्मनीका राजदूत काठमाडौंदेखि जर्मनीसम्म गाडी हाँकेर जाँदै
काठमाडौँ, २५ जेठ । नेपालको कूटनीतिक इतिहासमा पहिलोपटक पश्चिमा मुलुकका एकजना राजदूत आफ्नो कार्यकाल पूरा गरी झण्डै ११ हजार किलोमिटर पर रहेको आफ्नो निवासतिर मोटरकार हाँकेर जाँदै हुनुहुन्छ ।
आफ्नो ३७ वर्षे कूटनीतिक सेवाबाट आगामी शनिबार निवृत्त हुन लाग्नुभएका नेपालका लागि सङ्घीय गणतन्त्र जर्मनीका राजदूत माथियस मायर यही जेठ २८ गते सखारै ज्ञानेश्वरस्थित दूतावासबाट मित्सुबिसी मोटर हाँकेर महाकाली अञ्चलको महेन्द्रनगरतर्फ प्रस्थान गर्दै हुनुहुन्छ ।
जेठ २९ गते कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीले उहाँलाई बिदाइ गरेपछि राजदूत मायर नेपाल र नेपालीलाई सुखद स्मृतिको गर्भमा राखेर भारत–पाकिस्तान–इरान–टर्की हुँदै युरोपेली देश प्रवेश गर्नुहुनेछ ।
“करिब आठ साता लामो यात्रामा फगत एकजना सहयोगीका साथ म गृहनगर हेम्बर्गतर्फ लाग्दैछु, केही घण्टाको हवाई यात्राभन्दा स्थलमार्गबाट घर फर्कन लागेको हुँ” आज बिहान आफ्नै निवासमा कूटनीतिक मामिलामा कलम चलाउने केही पत्रकारसँग कुरा गर्दै उहाँले भन्नुभयो ।
“कूटनीतिक सेवाबाट निवृत्त भएपछि म एक स्वतन्त्र नागरिक हुँ, मेरो निर्णयबाट मेरो देशको सरकार र नेपाल सरकारमात्र होइन मैले यात्रा गर्ने विभिन्न मुलुकका सरकार पनि आश्चर्यचकित भएका छन्,” आफ्नो साहसिक यात्रा र स्थलमार्गबाट यात्रा गर्दाका रोमाञ्चबारे सुनाउँदै उहाँले भन्नुभयो ।
विश्वको भूगोल र प्रकृतिलाई नियाल्दै हिँड्न आफूलाई परमानन्द प्राप्त हुने बताउँदै उहाँले अनुपम सौन्दर्यको खानी नेपालको मुस्ताङको पनि आफूले धेरैपटक यात्रा गरेको स्मरण सुनाउनुभयो ।
परराष्ट्र मन्त्रालयका अनुसार आजसम्म कुनै पनि राजदूत सेवाअवधि सकेर स्थलमार्गबाट घर फर्केका छैनन् । “राजदूत मायर आफैं मोटर हाँकेर जर्मनी फर्कने जानकारी मन्त्रालयलाई प्राप्त भएको छ, हामी पनि उहाँको साहसिक यात्राको खबर सुनेर अचम्भित भएका छौँ, शुक्रबार उहाँको बिदाइ हुन्छ,” प्रचलित कूटनीतिक अभ्यासअनुरुप उहाँलाई बिदाइ गरेपछि स्वतन्त्र नागरिकका रुपमा राजदूतले आफू खुसी यात्रा गर्नसक्ने बताउँदै शिष्टाचार महापाल दीपक अधिकारीले भन्नुभयो । नेपाल सरकारले नेपाली भूमिमा रहेसम्म राजदूतलाई आवश्यक सेवा र सुरक्षा प्रदान गर्ने जानकारी पनि उहाँले दिनुभयो ।
नेपालमा रहँदा आफूलाई नेपाल सरकार, कर्मचारी प्रशासन, राजनीतिक दल, सञ्चारकर्मी, निजी क्षेत्रका उद्यमी–व्यवसायी, नागरिकलगायत सबैबाट सहयोग प्राप्त भएकामा सन्तोष प्रकट गर्नुहुने उहाँले नेपालीहरुको अतिथि सत्कार, यहाँको सांस्कृतिक विविधता, दालभात र मोमो, मुस्ताङ अनि लुम्बिनी तथा नेपालका अनेकौं पदयात्रा आफ्नो मानसपटलमा सधैं रहिरहने तथा तिनबाट आफू अत्यन्त प्रभावित भएको बताउनुहुन्छ ।
तीन वर्षमा चारजना प्रधानमन्त्रीलाई स्वागत गर्न पाउनु राजनीतिक रुपमा आफ्ना लागि अलि नौलो विषय भए पनि नेपाल क्रमशः राजनीतिक स्थायित्वतर्फ उन्मुख भएकामा उहाँ सन्तुष्ट देखिनुहुन्छ ।
मानिसको काबु बाहिरको परिस्थिति भूकम्पबाहेक नेपालसँगका कुनै तीता सम्झना आफूसँग नरहेको बताउनुहुने राजदूत मायर नेपालको भविष्य उज्ज्वल देख्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “एसियाली मुलुककै उत्कुष्ट संविधान प्रगतिशील छ, त्यसको कार्यान्वयनको पहिलोचरण स्थानीय तह निर्वाचनले प्रतिबिम्बित गरिसकेको छ । नेपाल अग्रगमनतर्फ उन्मुख भएको छ, म यहाँको द्रुत विकास हुनेमा आशावादी छु ।”
चीनले अघि सारेको ‘एक मार्ग एक क्षेत्र’ (ओबर) परियोजनामा नेपालले हस्ताक्षर गर्नुलाई उहाँ सकारात्मक कदमको संज्ञा दिनुहुन्छ । उक्त परियोजना पूरा हुँदा नेपाली उत्पादन सहजरुपमा जर्मनी पुग्ने र यहाँको व्यापार व्यवसायमा वृद्धि हुने उहाँको विश्लेषण छ ।
नेपालको सामाजिक–आर्थिक विकास प्रयास र नेपाल सरकारले निर्धारण गरेका प्राथमिकताका आयोजनामा जर्मनीको निरन्तर साथ, सहयोग र समर्थन रहने बताउँदै उहाँ चीन र भारतको विकासबाट लाभान्वित हुन नेपालले सुझबुझपूर्ण रुपमा सन्तुलित ढङ्गले काम गर्नुपर्ने ठान्नुहुन्छ ।
भूकम्पपछि जर्मनीले तीन करोड ८० लाख युरो उपलब्ध गराएको थियो । दुई देशबीच आर्थिक सहयोगका आयामहरु अझ विस्तार हुने प्रशस्त संभावना रहेको उहाँ बताउनुहुन्छ ।
घर फर्कनुअघि राजदूत मायरले आगामी शुक्रबार अर्थ मन्त्रालयमा नेपाल–जर्मनी आर्थिक सहयोगसम्बन्धी वित्तीय व्यवस्थापनका विविध आयाम समेटिएको द्विपक्षीय सम्झौतापत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ ।
Comments
अरु समाचार
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...












