के कांग्रेसमा फर्किएला कोइराला परिवारको बिरासत !
देउवासँग किन टाढिँदैछन् शशांक?
काठमाडाैँ ८,भदाै । १३औं महाधिवेशनमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट महामन्त्रीमा विजयी भएका डा शशांक कोइरालाले त्यसपछिका समयमा पनि सभापति शेरबहादुर देउवालाई चिढ्याएनन्। पौडल-देउवालाई समदुरीमा राख्ने प्रयास गरिरहे।
पार्टीमा दोहोरो भूमिका देखिएको भन्दै उनको आलोचना पनि समय समयमा हुने गरेको थियो। निर्वाचन पराजयपछि चैत र बैसाखमा बसेको केन्द्रीय समितिको बैठकका निर्णय एकतर्फी गरिएको भन्दै संस्थापन इतर समूहले उनको विरोध गर्यो। सभापतिको कदमप्रति महामन्त्री मौन बसेको जनाउँदै पौडेल समूहका नेताहरुले पनि महामन्त्रीको कार्यशैलीमाथि प्रश्न उठाएका थिए। पौडेल पक्षबाट कोइरालाको आलोचना भएपछि उनले भनेका थिए, ‘पार्टीको महामन्त्रीले सभापतिलाई अप्ठ्यारो पार्न हुँदैन।’
आफ्नो अभिव्यक्तिमा अडिग देखिएका कोइरालाले सभापतिलाई साथ दिनेगरी पदाधिकारी अनुमोदनमा स्विकृति जनाए। पौडेल समूहका नेताहरु मनोनीत पदाधिकारीमा नपर्ने अवस्थामा पनि सभापतिको साथ छोडेनन्। महामन्त्रीले पदाधिकारी मनोनीत प्रक्रियामा पनि संस्थापनइतर समूहलाई साथ नदिएपछि पौडेल समूह उनीसँग थप रुष्ट बनेको थियो।
देउवा र पौडेल एकै मञ्चमा भएको समय कोइरालाले एउटै बोली हुन्छ, ‘फरक सिन्द्धान्तका दुई कम्युनिस्ट मिल्न सक्छन्। डोनाल्ड ट्रम्प र किम जोङ उन मिल्न सक्छन्। तपाई दुई किन मिल्न सक्नुहुन्न?’
दुवै पक्षसँग टाढा नभएका कोइराला पछिल्लो समय भने सभापतिसँग चिढिएका छन्। सभापतिको कार्यशैली र कार्यक्षमतालाई लिएर कोइरालाले देउवासँगको दुरी टाढिँदो छ।
निर्वाचन पराजय, महासमिति बैठक अनिश्चित, विभागहरु गठन हुन नसक्नु जस्ता कारण महामन्त्री कोइराला देउवासँग टाढिएका हुन्। सभापतिले महासमिति बैठकलाई महत्व नदिएको उनी बताउँछन्। विधान मस्यौदा समितिको नामावली नदिएको भन्दै उनले असन्तुष्टि जनाए।
मध्यधारमा देखिएका कोइराला सभापतिको विपक्षमा कडा रुपमा प्रस्तुत भएको सम्भवत: पहिलो पटक हो।
विधान मस्यौदा समिति बनाउन लामो समय लागेपछि भदौमा गर्ने भनिएको महासमिति बैठक अनिश्चित बनेको छ। महासमिति बैठकबारे थप छलफल गर्न शुक्रबार (आज) केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको छ।
विरासत ब्युँताउने तानाबाना
कोइराला परिवार दिवंगत नेताहरुको विरासतमा पुन: मुख्य नेतृत्वमा आउने तयारीमा छ। त्यसको स्पष्ट सन्देश आइतबार महामन्त्री कोइरालाले दिए। १४औं महाधिवेशनका लागि सभापतिमा कोइराला परिवारबाट उनी वा शेखरमध्ये एक सभापतिको उम्मेदवार बन्ने प्रस्ट्याए।
देउवाइतरको समूहमा स्पष्ट चिनिँदै आएका शेखर र सुजाताको साथमा शशांक पनि थपिएपछि कोइराला परिवार बलियो बन्ने तयारीमा छ। यसअघि माघ २ मा नेतृ सुजाता कोइरालाको मण्डिखाटारस्थित घरमा नेतात्रयले भेट गरेकाथिए। निर्वाचनमा नेपाली कांग्रेसको पराजयपश्चात् पहिलो पटक छलफलमा बसेका नेतात्रयले पार्टी संस्थागत तरिकाले सञ्चालित नभएको निष्कर्ष निकालेका थिए। नेतृत्वको कार्यक्षमताका कारण नै कांग्रेसले पराजय भोगेको उनीहरुको निष्कर्ष थियो।
त्यसपछिका समयमा कोइराला परिवारका नेताहरुको छलफल भए पनि नेतृत्वमा दाबी गर्नेगरी अभिव्यक्ति भने आएको थिएन।
जोगिएला विरासत?
गण्डकी प्रदेशमा नेपाली कांग्रेसबाट प्रतिनिधिसभामा जित निकाल्ने शशांक एक मात्रै उम्मेदवार थिए। दन्तचिकित्सक समेत रहेका महामन्त्री सक्रिय राजनीतिमा २०६३ पछि प्रवेश गरेका हुन्। विराटनगरका कोइराला नवलपरासी १ बाट निर्वाचन जित्दै आएका छन्। कोइराला परिवारबाट फुत्केको मुख्य नेतृत्वलाई पुनः स्थापित गर्न कोइराला नेताहरु लागेका छन्।
महामन्त्री शशांकभन्दा कांग्रेसमा शेखरको इतिहास लामो छ। केशव कोइरालाका पुत्र शेखर फिजिसियन डाक्टर हुन्। डाक्टर पेसा छोडेर उनी राजनीतिमा प्रवेश गरेका थिए।
१४औं महाधिवेशनका लागि सभापतिमा देउवाले पुनः इच्छा देखाएका छन्। साथै, १३औं महाधिवेसनमा पराजय भोगेका पौडेल पनि स्वतः दाबेदार हुन्। देउवा र पौडेललाई चुनौती दिनेगरी कोइराला परिवार नेतृत्वमा आउने सुरमा छन्। अन्तमुर्खी स्वभावका शशांकलाई बिपीपुत्रका कान्छो छोराका रुपमा कार्यकर्ताहरुको सम्मान छ। तर विरासत कायम राख्न नसकेको कांग्रेसजनहरुकै कतिपयको बुझाइ छ। आमकार्यकर्ताको पहुँचबाट शशांक ‘टाढा’ देखिन्छन्। लेखक तथा बुद्धिजीवी गेजा शर्मा वाग्ले कार्यकर्ताहरुको सम्मानलाई महामन्त्री कोइरालाले न्याय गर्न नसकेको बताउँछन्।
कोइराला परिवारबाट नेतृत्व सरेपछि पार्टी कमजोर भएको ठम्याइ नेतात्रयमा भएको छ। त्यसैको लागि आन्तरिक छलफलमा पनि जुटेका छन्। कांग्रेसलाई बलियो बनाउन कोइराला परिवारबाटै नेतृत्व आउनुपर्ने विश्लेषण कोइराला परिवारमा भएको वाग्लेको बुझाइ छ।
कांग्रेस निकट लेखक पुरञ्जन आचार्य वाग्लेको तर्कमा सहमत देखिन्छन्। उनी भन्छन्, ‘शशांक वा शेखरमध्ये एक सभापतिका दाबेदार बन्न सक्छन्।’
१३औं महाधिवेशनपछि महामन्त्रीले कांग्रेसको संगठनलाई चुस्त बनाउन नसकेको शशांकमाथि पार्टीभित्रै आलोचना बढेको छ। नेतृत्वदायी भूमिका उनको कमजोर रहेको वाग्लेको तर्क छ। ‘शशांकमा राजनीतिक दृष्टिकोण देखिन्न,’ उनले दाबी गरे, ‘सांगठनिक क्षमता कमजोर,निष्क्रियता उनको कमजोरी हो। तर संगठन र जनतामा शशांकको भन्दा शेखरको छवि राम्रो छ।’
कोइराला परिवारबाट सभापतिको दाबी गर्न सक्ने सम्भावना रहे पनि अन्तिममा पौडेल पक्षसँगै मिलेर जाने वाग्लेको आंकलन छ। समूहको समीकरण अनुसार नेतृत्वको दाबी हुने उनले बताए।
निर्वाचन पराजयपछि कोइराला परिवारमा शेखरको सक्रियता बढेको छ। विगत ७ महिनामा सकिएका कांग्रेसका भातृ तथा शुभेच्छुक संगठनका महाधिवेशनमा शेखरको सक्रियताका कारण पनि संस्थापन पक्ष कमजोर भएको छ।
कोइराला परिवारमा महामन्त्री शशांक तार्किक र बौद्धिक बहसमा कमजोर देखिन्छन्। आवश्यकभन्दा पनि कम बोल्ने उनको बानी छ। १३औं महाधिवेशनमा महामन्त्रीमा उनलाई मत नदिँदा बिपी कोइरालामाथि अन्याय हुने ठानेर उनको पक्षमा सहानुभूतिको मत आएको कतिपयको बुझाइ छ। अर्कोतर्फ क्षमताभन्दा पनि गिरिजाप्रसाद कोइरालाको छोरी भएकै कारण लाभको पदमा पुगेकी सुजाता कोइरालाको संगठनमा पकड छैन। पार्टीका कार्यक्रममा उनको सहभागिता पछिल्लो समय पातलिँदै गएको छ।
विरासत जोगाउने तानाबाना बुनिरहेका कोइराला परिवारले नेतृत्व लेला/नलेला अहिले भन्न सकिन्न। पार्टी समूहको समीकरणले मात्र कोइराला परिवार नेतृत्वमा स्थापित हुने/नहुने निर्क्यौल हुनेछ।
Comments
अरु समाचार
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...
-
‘कुखराको मासुमा एन्टिबायोटिक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकता’
काठमाडौं (केशव भट्टराई)। 'कुखराको मासुमा एन्टिबायोटिकको हानिकारक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकतासम्बन्धी' एक छलफल कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ...
-
भीमफेदीमा जिप दुर्घटना ६ जनाको मृत्यु !
काठमाडाैं । हेटौँडा–कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरीखेतमा सुमो गाडी दुर्घटनामा परी ज्यान गुमाएका ६ मध्ये सोमबार (पुस २१) बिहानसम्म...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...
-
हितेन्द्रदेवले सम्हाले विद्युत प्राधिकरणको कार्यभार
काठमाडौं । सर्वोच्च अदालतको परमादेशमार्फत नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्स्थापित भएका हितेन्द्रदेव शाक्यले कार्यभार सम्हालेका छन् । शाक्यले बुधबार...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...











