ताजा समाचार

स्थानीय निर्वाचन वैशाखमै र प्रदेशको मंसिरमा हुनुपर्छ : ओली

सरकारलाई संविधान मिच्न नदिने चेतावनी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचन आगामी वैशाखको अन्तिममा र प्रदेशसभा निर्वाचन मंसिरमा हुनुपर्ने बताएका छन्।

संविधानले तोकेको समयमा निर्वाचन हुनुपर्नेमा जोड दिँदै उनले सरकारले संविधान मिच्ने प्रयास गरे एमालेले त्यसमा सहमति नजनाउने चेतावनीसमेत दिएका छन्।

शुक्रबार काठमाडौंमा एमालेबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरूको भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले संविधानअनुसार जनप्रतिनिधिले पाँच वर्षको कार्यकाल पूरा गर्न पाउनुपर्ने बताए। स्थानीय तहको निर्वाचन वैशाखको अन्तिममा र प्रदेशसभाको निर्वाचन मंसिरमा हुनुपर्ने उनको भनाइ थियो।

‘संविधानले तोकेको समयमा निर्वाचन हुनुपर्छ। एक ठाउँमा संविधान मिचियो भने अर्को ठाउँमा मिचिन्छ, संविधान मिच्ने कुरामा हामी भर्‍याङ लगाइदिन सक्दैनौँ,’ ओलीले भने।

उनले स्थानीय तहको निर्वाचनलाई सामान्य राजनीतिक प्रतिस्पर्धाका रूपमा मात्र नलिन पनि पार्टीका जनप्रतिनिधिहरूलाई आग्रह गरे। स्थानीय तह नै जनताको समर्थन र विरोध निर्माण हुने प्रमुख राजनीतिक मैदान भएको उल्लेख गर्दै उनले आगामी निर्वाचनका लागि अहिलेदेखि नै तयारीमा जुट्न निर्देशन दिए।

‘मान्छे खुसी हुने, रिसाउने, पक्षमा आउने, विपक्षमा जाने त्यहीँबाट हुन्छ। त्यसो भएकाले अहिले लडाइँको थलो स्थानीय तहको निर्वाचन बन्नेवाला छ,’ ओलीले भने।

आफ्नो कार्यकालमा भएका कमजोरी सुधार्न, अधुरा काम पूरा गर्न र जनतासँगको सम्बन्ध बलियो बनाउन उनले स्थानीय जनप्रतिनिधिहरूलाई निर्देशन दिए। बाँकी रहेको समय सदुपयोग गर्दै जनताको विश्वास जित्न सक्रिय हुनुपर्ने उनको भनाइ थियो। पार्टीभित्रैबाट अन्तर्घात गर्ने, पार्टी नछाडी मत परिवर्तन गर्ने र आफ्नै उम्मेदवारलाई असहयोग गर्नेहरूलाई एमालेमा स्थान र अवसर नदिने चेतावनीसमेत उनले दिए।

ओलीको यो अभिव्यक्ति सरकारविरुद्ध एमालेले राजनीतिक तथा सांगठनिक प्रतिरोधको तयारी गरिरहेको पृष्ठभूमिमा आएको हो। यसअघि पार्टीको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले वर्तमान सरकार स्वेच्छाचारी र प्रतिशोधपूर्ण बाटोमा अघि बढेको आरोप लगाएका थिए। सरकारले जुनसुकै बेला राजनीतिक दलका नेता तथा कार्यकर्तामाथि धरपकड र आक्रमण गर्न सक्ने भन्दै उनले पार्टी पंक्तिलाई आन्दोलनका लागि तयार रहन निर्देशन दिएका थिए।

सरकारले संविधान, कानुन र विधिको शासनको पालना नगरेको आरोप लगाउँदै ओलीले संविधान रक्षाका लागि राष्ट्रियता तथा स्वाधीनताको पक्षमा रहेका शक्तिहरू एकजुट हुनुपर्ने बताएका थिए। शान्तिपूर्ण आन्दोलनमा दमन भए प्रतिरोधमा उत्रिनुपर्ने उनको चेतावनी थियो। उनले आफू, नेकपाका संयोजक पुष्पकमल दाहाल र कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवालाई पक्राउ गरेर देखाउन पनि चुनौती दिएका थिए।

एमालेले आगामी निर्वाचनलाई लक्षित गर्दै संगठन सुदृढीकरण, उम्मेदवार छनोट, प्रचारप्रसार र निर्वाचन परिचालनसम्बन्धी १५ बुँदे कार्ययोजना अघि सारेको छ। करिब तीन हजार चार सय नेता तथा कार्यकर्ता सहभागी राष्ट्रिय भेलामा ओलीले निर्वाचनको तयारीलाई आन्दोलनकै शैलीमा अघि बढाउन निर्देशन दिएका थिए। पार्टीले स्थानीय तहमा संगठन विस्तार र जनसम्बन्ध सुधारलाई समेत प्राथमिकतामा राखेको छ।

यसैबीच, शुक्रबार निर्वाचन आयोगले राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका शीर्ष नेताहरूसँग आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनको मितिबारे छलफल गरेको थियो। आयोगले स्थानीय तहको निर्वाचन वैशाखमा र प्रदेशसभाको निर्वाचन मंसिरमा गर्ने प्रस्ताव अघि सारेको छ।

छलफलमा सहभागी हुन आयोग पुगेका ओली भने बैठकमा नबसी बाहिरिएका थिए। एमालेका तर्फबाट निर्वाचन विभाग प्रमुख देवेन्द्र दाहाल सहभागी हुने भएपछि ओली बाहिरिएका हुन्। शीर्ष नेताहरू सहभागी हुने बैठकमा एमालेबाट पनि सोही तहको प्रतिनिधित्व हुनुपर्ने उनको अपेक्षा थियो। बाहिरिने क्रममा उनले एमालेको पनि सोही तहको नेता रहेको भन्दै आफ्नो उपस्थिति देखाउन मात्र आएको प्रतिक्रिया दिएका थिए।

आयोगको प्रस्तावप्रति नेकपाका संयोजक पुष्पकमल दाहालले भने प्रारम्भिक रूपमा सकारात्मक प्रतिक्रिया दिएका छन्। पार्टीभित्र थप छलफल र अध्ययन गरेर औपचारिक धारणा बनाउने उनको भनाइ छ।

निर्वाचन आयोगले संविधान र कानुनको मर्मअनुसार स्थानीय तह र प्रदेशसभाको निर्वाचन गर्नुपर्ने तथा सम्बन्धित तहका जनप्रतिनिधिको कार्यकाल समाप्त हुनुभन्दा दुई महिना अगावै निर्वाचन गर्नुपर्ने विषयमा राजनीतिक दलहरूसँग परामर्श गरेको जनाएको छ।

यसरी एकातिर निर्वाचन आयोगले आगामी निर्वाचनको समयतालिका र व्यवस्थापनबारे राजनीतिक दलहरूसँग परामर्श अघि बढाएको छ भने अर्कातिर एमाले अध्यक्ष ओलीले निर्वाचनलाई सरकारविरुद्धको राजनीतिक प्रतिस्पर्धासँग जोड्दै पार्टीलाई सडक र निर्वाचन दुवै मोर्चामा तयार रहन सन्देश दिएका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org