ताजा समाचार

प्रविधि र एल्गोरिदमले समाजलाई भ्रमित पार्ने काम गर्‍योः शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालका एल्गोरिदम र प्रविधिको दुरुपयोगले समाजमा विकृति तथा भ्रम फैलाइरहेको आरोप लगाएका छन्। उनले सूचना प्रविधिको विकाससँगै त्यसको दुरुपयोगबाट उत्पन्न चुनौती नियन्त्रण गर्नुपर्नेमा जोड दिएका छन्।

आइतबार काठमाडौंको टोखामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले सामाजिक सञ्जालको प्रभावले समाजका मौलिक संस्कृति, परम्परा र मूल्य–मान्यतामाथि नकारात्मक असर पारिरहेको बताएका हुन्।

उनले समाजलाई पपुलिस्ट, अराजकतावादी र अवसरवादी प्रवृत्तिबाट जोगाउनुपर्ने अवस्था आएको टिप्पणीसमेत गरे।

कार्यक्रममा पोखरेलले वर्तमान सरकारको कार्यशैलीमाथि पनि प्रश्न उठाए। सरकारले महँगी नियन्त्रण गर्न र जनताको जीवनस्तर सुधार गर्न नसकेको उनको आरोप थियो। सरकारको प्रमुख दायित्व नागरिकको सुख, सुविधा र समृद्धि सुनिश्चित गर्नु भए पनि त्यसअनुसार काम हुन नसकेको उनले बताए।

यसअघि एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले पनि वर्तमान सरकार र आफ्नो नेतृत्वको सरकार विस्थापन भएको घटनालाई लिएर लगातार आलोचना गर्दै आएका छन्।

केहि दिनअघि मात्रै ओलीले सामाजिक सञ्जालका एल्गोरिदममार्फत एमालेविरुद्ध भ्रम र घृणा फैलाइएको दाबी गरेका थिए। सामाजिक सञ्जालको प्रयोगबाट आफूहरूलाई जनताबाट टाढा पुर्‍याइएको र सुरक्षा निकायलाई समेत अनावश्यक रूपमा संलग्न गराएर एमालेलाई निर्वाचनमा पराजित गरिएको उनको आरोप थियो।

ओलीले एमालेको सत्ता विस्थापनलाई पार्टीको आन्तरिक कमजोरीसँग मात्र जोडेर हेर्न नहुने तर्क गर्दै त्यसपछाडिको राजनीतिक वातावरणबारे विश्लेषण गर्नुपर्ने बताएका थिए।

यसरी एमालेका महासचिव पोखरेल र अध्यक्ष ओली दुवैले सामाजिक सञ्जालको एल्गोरिदम, भ्रमपूर्ण सूचना र वर्तमान राजनीतिक परिस्थितिलाई जोडेर अभिव्यक्ति दिइरहेका छन्। पोखरेलले सरकारको कार्यसम्पादनमाथि प्रश्न उठाएका छन् भने ओलीले सरकार विस्थापन र एमालेको राजनीतिक पराजयमा सामाजिक सञ्जालको भूमिकालाई मुख्य रूपमा उठाउँदै आएका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org