‘नेपाल भ्रमण वर्ष २०२०’ सफल बनाउन जुट्यो कामपा
काठमाडौं । महानगरपालिकाले ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई सफल बनाउन महानगरको सौन्दर्य अभिवृद्धिमा सक्रियता बढाएको छ । अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँमा नै रहेको अर्थात पहिलोपटक विदेशी पर्यटक आएर काठमाडौँलाई नै अवलोकन गर्ने भएकाले पनि यहाँको सौन्दर्यलाई विशेषरूपमा लिएको कामपाले जनाएको छ । नेपाल आउने पर्यटकमध्ये ९० प्रतिशत हवाईमार्ग भएर आउने गर्दछन् ।
हाल कामपाले तार व्यवस्थापन, सम्पदामा रङरोगन गर्ने र अन्य सरसफाइको काम तीव्ररूपमा गरिरहेको छ । त्यस्तै शहरलाई कुरूप बनाई राखिएको विभिन्न किसिमका विज्ञापन हटाउनका लागि पनि कामपाबाट दैनिक चार टोली खटिएको छ । शहरको मुख्य स्थानमा विज्ञापन हटाउने कार्य सकिसकेको छ । काठमाठौँको मुख्य पर्यटकीय गन्तव्यको रूपमा रहेको ठमेलमा यतिबेला तार व्यवस्थापनको कार्य सकिइसकेको छ भने अन्य स्थानमा पनि यस किसिमको काम भइरहेको कामपाका प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिनुभयो । ठमेलबाट मात्रै अव्यवस्थित रूपमा रहेको १६ गाडी तार व्यवस्थापनको कार्य सकिएको छ ।
प्रमुख शाक्यले रासससँग कुरा गर्दै भन्नुभयो, “काठमाडौँलाई सुन्दर बनाउने प्रमुख दायित्व कामपाको नै हो त्यसैले सोहीअनुरूप काम भइरहेको छ, । प्रमुख शाक्यले सम्बन्धित सबै वडाका वडाध्यक्षलाई सरसफाइ गरी पाहुनालाई स्वागत गर्न तयार रहन निर्देशन दिइसक्नुभएको छ ।
चार सम्पदाको स्वरूप फेरिँदै
काठमाडौँको मुख्य आकर्षणका रूपमा रहेका चार सम्पदा हनुमानढोका, स्वयम्भूनाथ, बौद्ध र पशुपतिनाथ मन्दिरलाई सुन्दर र आकर्षक बनाउन रङ लगाउने र सरसफाइको काम भइरहेको छ । प्रमुख शाक्यले कुराकानीकै क्रममा भन्नुभयो, “काठमाडौँ आउने पर्यटकमध्ये ९० प्रतिशतले यी चार सांस्कृतिक सम्पदाको अवलोकन गर्ने पाइएकाले सोहीअनुरूप सौन्दर्य अभिवृद्धिमा खटिएको हो ।” सहकार्य गरेर मात्रै भ्रमण वर्ष सफल बनाउन सकिने भन्दै प्रमुख शाक्यले कामपासँग भगिनी सम्बन्ध भएका विभिन्न मुलुकका नगरलाई नेपाल भ्रमण गर्नका लागि निम्तो दिएको पनि जानकारी गराउनुभयो ।केन्द्र सरकारको भन्दा पनि भ्रमण वर्षलाई सफल बनाउन स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुने भन्दै उहाँले यसका लागि सबै स्थानीय तहनै जिम्मेवार बन्नुपर्ने बताउनुभयो । सौन्दर्य अभिवृद्धिका लागि चालू आर्थिक वर्षमा कामपाले रु १० करोड विनियोजन गरेको छ ।
इन्द्रजात्रा अवलोकनले भ्रमण वर्षलाई सहयोग
पहिलो पटक कामपाले गत भदौ अन्तिम साता भएको इन्द्रजात्राको अवलोकन गर्न विदेशी पाहुनालाई आमन्त्रण गरेको थियो । एघार देशका ४१ पहुनाले इन्द्रजात्राको मात्रै अवलोकन नगरी काठमाडौँ उपत्यकाको विभिन्न सांस्कृतिक सम्पदाको अवलोकन गरेकाले भ्रमण वर्षलाई थप सहयोग पुग्ने कामपाले विश्वास लिएको छ । उक्त समयमा पाहुनाले हनुमानढोका क्षेत्रमा रहेका सम्पदा, पशुपति मन्दिर, चन्द्रागिरि, पाटनको सङ्ग्रहालय, कृष्ण मन्दिर र भक्तपुरको पचपन्न झ्याले दरबारको अवलोकन गरेका थिए । जात्रा अवलोकन गर्न चीन, भारत, अमेरिका, भूटान र जापानका ११ शहरबाट ४१ पहुना आएका थिए । उक्त समयमा अवलोकन गरेका पाहुनाले पुनः नेपाल भ्रमणको लागि आउने बताएका थिए ।
भ्रमण वर्षको औपचारिक शुरुआत
सरकारले राष्ट्रिय महोत्सवकै रूपमा मनाउन लागेको ‘नेपाल भ्रमण वर्ष २०२०’ औपचारिक शुरुआत आगामी बुधबारदेखि गर्ने तयारी गरेको छ । यही पुस १६ गते काठमाडौँको दशरथ रङ्गशालामा विशेष समारोहसहित भ्रमण वर्षको औपचारिक शुभारम्भ गरिँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमण वर्षको औपचारिक शुभारम्भ गर्नुहुनेछ भने सो अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ । रङ्गशालासँगै सातै प्रदेशका मुख्यमन्त्रीले आआफ्नो प्रदेशबाट भ्रमण वर्षको शुभारम्भ गर्नुहुनेछ । त्यस्तै जनवरी ७ तारिख (पुस २२ गते) विदेशस्थित नेपाली दूतावासमा भ्रमण वर्षको उद्घाटन गरिने र दूतावास नभएका मुलुकमा गैरआवासीय नेपालीमार्फत उद्घाटन गरिने कार्यक्रम तय भएको छ । भ्रमण वर्षको उद्घाटन कार्यक्रममा सरकारले ३१ मुलुकका पर्यटनमन्त्री एवं विशिष्ट व्यक्तिलाई आमन्त्रण गरेको छ । तीमध्ये १० मुलुकका पर्यटनमन्त्री तथा अन्य केही मुलुकका विशिष्ट पाहुनाको सहभागिता निश्चित भइसकेको पर्यटन मन्त्रालयले जनाएको छ ।
उद्घाटन कार्यक्रममा मार्चपास तथा विविध सांस्कृतिक प्रस्तुति हुनेछन् । कार्यक्रममा सम्भव भएसम्म औपचारिक पोशाकमा सहभागी हुन आग्रह गरिएको छ । मार्चपास तथा ¥यालीमा राष्ट्रिय झण्डाका साथ सम्बन्धित संस्थाको झण्डा प्रयोग गर्न सकिनेछ । तीन घण्टा सञ्चालन हुने उद्घाटन समारोह दिउँसो तीन बजे शुरु हुनेछ । भारत, चीन, बङ्गलादेश, युरोपलगायत मुलुकका गरी ४० भन्दा बढी विदेशी सञ्चारमाध्यमका सञ्चारकर्मीको सहभागिता उद्घाटनको दिन रहने छ । सरकारले भ्रमण वर्षको अवधिमा २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार सन् २०१८ मा १२ लाख हाराहारीमा विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । सन् २०१९ को १० महिनामा १० लाख विदेशी पर्यटक नेपाल घुम्न आएका छन् ।
Comments
अरु समाचार
-
निरन्तर हिमपात : अन्नपूर्ण आधार शिविरबाट ७२ जना पर्यटकको उद्धार
म्याग्दी । हिमपातका कारण समस्यामा परेका १७ जना विदेशी सहित ७२ जना पर्यटकहरुलाई सुरक्षाकर्मीहरुको टोलीले म्याग्दीको अन्नपूर्ण आधार शिविरबाट उद्धार...
-
नुम्बुर हिमालको चुचुराेमा पहिलाे पटक मानव पाइला !
काठमाडाैं । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका –१ मा अवस्थित नुम्बुर हिमालको पहिलो पटक सफल आरोहण भएको छ । प्रसिद्ध धार्मिकस्थल दुधकुण्ड...
-
रामेछाप-काठमाडौँ सातामा तीन दिन उडान हुने
काठमाडाैं । बुधबारदेखि रामेछाप–काठमाडौँ रुटमा हवाई उडान हुने भएको छ । स्थानीय प्रशासन, राजनीतिक दल, जनप्रतिनिधि, नागरिक समाजलगायतको पहलमा आजदेखि...
-
टिकटको मिति हेरफेर गर्दा शुल्क लाग्दैनः हिमालय एयरलाइन्स
काठमाडौं । हिमालय एयरलाइन्सले प्रतिकूल मौसमका कारण प्रभावित यात्रुहरूको टिकटको मिति हेरफेर गर्दा शुल्क नलिने भएको छ । एयरलाइसन्ले सोमबार...
-
प्रशासन कार्यालयले भन्याे, ‘हिमपात र भारी वर्षाको सम्भावना छ पदयात्रामा नजानु’
काठमाडौं । कास्की जिल्ला प्रशासन कार्यालयले उच्च हिमाली क्षेत्रमा हिमपात र भारी वर्षाको सम्भावना रहेकाले पदयात्रामा ननिस्कन पर्यटकहरूलाई आग्रह गरेको...
-
अगष्टमा ८८ हजार ६८० पर्यटक नेपाल भित्रिए, २२ प्रतिशतले आगमनमा वृद्धि
काठमाडौं । सन् २०२५ को अगष्टमा ८८ हजार ६८० पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले सोमबार सार्वजनिक गरेको...
-
बाैद्वमा २५ र २६ गते गाई-राेपाई जात्रा भव्य रूपमा मनाइने, विभिन्न विधाका प्रतियाेगिलाई पुरस्कार समेतकाे व्यवस्था
काठमाडौं । श्री बाैद्वनाथ स्तुपा परिसर बाैद्व क्षेत्रमा यही साउन २५ र २६ गते श्री बाैद्व तामाङ गुठीकाे आयाेजनामा गाईजात्रा...
-
नेपालमा बाघको संख्या ३५५ पुग्यो
काठमाडाैं । पाटेबाघ संरक्षणको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ मा ‘विश्व बाघ दिवस’ मनाइन्छ । सन् २०१०...
-
वनमन्त्री शाहीले गरे नागार्जुन रिसोर्टको औपचारिक उद्घाटन
काठमाडौं । ओसो तपोवन नजिकै फोर स्टार लक्जरी नागार्जुन रिसोर्ट मंगलबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ । तारकेश्वर नगरपालिकाभित्र ठूलो...












