ताजा समाचार

मूर्तिकला व्यवसायबाट मनग्य आम्दानी

काठमाडौं । कपिलवस्तु घर भएका पल्टुराम मगर अहिले मूर्तिकला व्यवसायमा गर्दै आएका छन् । ४४ वर्षीय मगर विगत १२ वर्षदेखि घोराही उपमहानगरपालिका–१७ गैरागाउँमा यही व्यवसायमा रमाउँदै आएका छन् । मगर कपिलवस्तुबाट दाङसम्म झरेको २५ वर्ष भएको छ । आफूमा भएको सीपलाई आयआर्जनसँग जोड्न पाउँदा उनी खुसी व्यक्त गर्छन् ।

वित्तीय संस्थाबाट रु तीन लाख कर्जा लिएर सुरु गरेको श्रीजनशील मूर्ति उद्योगले अहिले मगर परिवारलाई आत्मनिर्भरसमेत बनाएको छ । आफ्नो जीवन चित्रकला र मूर्तिकलामै समर्पित गर्न तथा यसैलाई जीविकोपार्जनको माध्यम बनाउन चाहेको मगर बताउछन् । हालसम्मको अनुभवबाट आफ्नो कला जीविकोपार्जनको भरपर्दो माध्यम हुन्छ भन्ने विश्वास भएको उनको भनाइ छ ।

“जिल्लामा सङ्ग्रहालय र उद्यान बन्ने क्रम बढेको छ । ठूला होटल र पार्टी प्यालेसले पनि विशेष कलाको खोजी गर्न थालेका छन्”, उनले भने, “आकर्षक भौतिक पूर्वाधार बढ्दै जाँदा कलाको बजार पनि फराकिलो हुँदै गएको छ । आफूले अहिले मागअनुसारको मूर्ति बनाउँदै आएको उनले बताए ।”

यही व्यवसायबाट मगरले वार्षिक रु १३ लाखको कारोबार गर्दै आएको छ । यसबाट छोराछोरीको पढाइ खर्च र घरायसी कामकाजमा खर्च हुने हुँदा बचत त्यति धेरै नहुने उनी बताउँछन् । मगरले विभिन्न खालका मूर्ति निर्माणका लागि कच्चा पदार्थ बुटवलबाट ल्याउने गरेका हुन् । पछिल्लो समय यसको माग बढ्दै जाँदा व्यवसाय राम्रो हुँदै गएको उनको अनुभव रहेको छ । यहाँ उत्पादित मूर्ति दाङसहित रोल्पा, सल्यान, प्युठान, रुकुमलगायत जिल्लामा बिक्री गर्न लैजाने गरिएको छ ।

मूर्तिकला व्यवसायमा महिलाको सहभागिता कमै देखिन्छ । तर पल्टुरामकी श्रीमती जानकी पनि लामो समयदेखि मूर्तिकला व्यवसायमै व्यस्त छिन् । जानकी सँगै श्रीमान् र छोराछोरी सबै सालिक तथा मूर्ति निमार्ण गरिरहेका छन् । सन्तानले बुबाआमाको सिको पनि गरिरहेका छन् । आफ्नो रुचि र स्वध्ययनले छोराछोरी पनि मूर्तिकलामा लागेपछि मगर दम्पती खुसी छन् ।

जानकीको दैनिकी सालिक तथा देवीदेवता र जनावरका आकर्षक मूर्ति तयार गर्नमा बित्छन् । उनको परिवारलाई नै मूर्ति बनाउन भ्याइनभ्याइ छ । पहिले पशुपालन गर्ने जानकी श्रीमानको मूर्तिकलाको सीप देखेर आफूले पनि सिको गरी श्रीमान्कै जस्तै दिनभर मूर्ति निर्माण गर्छिन।

जानकी र पल्टुरामका सन्तान पनि मूर्तिकलाप्रति चासो राख्छन् । सुदृढ र व्यावसायिक मूर्तिकार बन्न छोरी कृतिले यही सम्बन्धि उच्च शिक्षा हासिल गरिरहेको बुबा पल्टुराम बताउँछन् । उद्योगमा पत्थर, सिमेन्ट, मार्बल, फाइबरबाट मूर्ति निमार्णसँगै बिक्री भइरहेका छन् ।

न्यूनतम रु तीन हजारदेखि अधिकतम रु तीन लाखसम्ममा मूर्ति तयार हुन्छन् । कक्षा ९ मा अध्ययनरत छोरा प्रवीण पनि फुर्सदमा घरमै बुबाआमाको सिको गरिरहेका छन् । उनी चित्रकला र मूर्तिकला दुवै मन पराउँछन् । यसरी आफ्नो पेसा पुस्ता हस्तान्तरण गर्दै जाने र रुचि, ज्ञान सीपसहित मूर्ति व्यवसायमा लाग्ने हो भने परम्परागत पेसाको संरक्षणसँगै आर्थिकरुपमा सबल बन्न सकिन्छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org