ताजा समाचार

सन्दिपको ५ विकेटको मद्दतले सिंगापुर ७३ रनमा अलआउट

काठमाडौं, २ साउन । यू–१९ विश्वकप छनोट क्रिकेटमा सिंगापुरले नेपालसामू ७४ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ । सिंगापुर क्रिकेट क्लब, पादाङमा नेपालले टस जितेर फिल्डिङ रोजेको थियो । ब्याटिङको निम्तो पाएको घरेलु टोली सिंगापुरको सुरुवात राम्रो हुन सकेन । सिंगापुरको ४ रन मात्रै हुँदा किशोरी महतोले नेपाललाई पहिलो सफलता दिलाए । नेपाल बलरहरुका सामू सिंगापुरका ब्याट्सम्यान निकै दबावमा रहे ।

दोस्रो विकेटका लागि सिन अग्रवालले युवराज सिंहसँग १३ रनको साझेदारी गरे । अग्रवाल ११ रनमा आउट भए । त्यसपछि नेपाल बलरहरु लगातार विकेट लिन सफल भए । तर, आठौं नम्बरमा ब्याटिङका लागि आएका ब्रिगु आयरले आक्रामक पारी खेले । उनले आठौं विकेटका लागि बीबी विक्रमसँग २४ रनको साझेदारी गरे भने दशौं विकेटका लागि अंशत भार्गवसँग १९ रनको साझेदारी गर्दै टिमको स्कोर ७३ रन बनाए ।

दशौं विकेटका रुपमा आउट भएका ब्रिगुले ३९ बलमा ६ चौका र एक छक्काको मदतमा ४२ रनको महत्वपूर्ण पारी खेलेका थिए । नेपालका कप्तान सन्दिप लामिछाने एक्लैले ५ विकेट लिए । ८ ओभर बलिङ गरेका उनले दुई मेडन राख्दै मात्र २१ रन दिएका थिए । शाहब आलमले २ र महतोले २ विकेट लिए । नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org