ताजा समाचार

त्रिभुवन विमानस्थलबाट सुन जस्तो देखिने पहेंलो धातुसहित चारजना पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन जस्तो देखिने पहेंलो धातुसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ। अवैध रूपमा भन्सार छली गरी ल्याइएको आशंकामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

गएराति प्रहरीले करिब २५ ग्राम सुन जस्तो देखिने पहेंलो धातुको सिक्री र करिब ६९ ग्राम काँचो पहेंलो धातुसहित दुई जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा मोरङको केरावारी गाउँपालिका–९ का ३१ वर्षीय सरोज कोइराला र रौतहटको कटहरिया नगरपालिका–६ का २४ वर्षीय मोहम्मद इन्तेयाज आलम रहेका छन्।

कतार एयरको उडानमार्फत नेपाल आएका कोइरालाले उक्त धातु आलमलाई दिने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन पार्किङ क्षेत्रबाट नियन्त्रणमा लिइएको हो।

त्यसैगरी, शनिबार दिउँसो प्रहरीले करिब ५० ग्राम सुन जस्तो देखिने पहेंलो धातुको सिक्रीसहित थप दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सप्तरीको सुरुङ्गा नगरपालिका–५ का २१ वर्षीय मोहम्मद अरमान र सप्तरीको खडक नगरपालिका–६ का ३७ वर्षीय ज्याउदिन मियाँ रहेका छन्।

कतार एयरको उडानद्वारा दोहाबाट नेपाल आएका ज्याउदिनले उक्त धातु अरमानलाई दिने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन पार्किङ क्षेत्रबाट नियन्त्रणमा लिइएको हो। पक्राउ परेका सबैलाई आवश्यक कारबाहीको लागि भन्सार कार्यालय बुझाइने छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org