कोरोनाभन्दा ‘ओली प्रवृत्ति’ खतरनाक, यसको अन्त्य गरौं : बाबुराम भट्टराई
काठमाडौं । दुई पार्टीको एकीकरणपछि बनेको जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले कोरोना भाइरसभन्दा ओली प्रवृत्ति खतरनाक भएको टिप्पणी गरेका छन्।
शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत् यस्तो प्रवृत्ति सदाका लागि विदा गर्नुपर्ने बताएका हुन्।
पूर्व प्रधानमन्त्रीसमेत रहेका भट्टराईले प्रधानमन्त्री केपी ओलीको चरित्रलाई भष्मासुरको समेत संज्ञा दिएका छन्। ‘अति भएपछि खति हुन्छ’, उनले लेखेका छन्, ‘यो कोरोना भाइरसभन्दा खतरनाक ओली प्रवृत्ति सदाका निम्ति विदा गरौँ ! नत्र यो भष्मासुरले सखाप पार्नेछ।’ भट्टराईले सबै पार्टीहरू, सञ्चार माध्यम, नागरिक अभियन्ता लगायतले ‘ओली प्रवृत्ति’ को छिटोभन्दा छिटो अन्त्य गुर्नपर्ने बताएका छन्।
भट्टराईले प्रधानमन्त्री ओलीको कार्यशैलीलाई विश्वका विभिन्न तानाशाहसँगसमेत तुलना गरेका छन्। उनले जर्मन शासक हिटलर, रुसी नेता स्टालिन तथा रुमानियाका कम्युनिष्ट नेता निकोलाइ चाउचेस्कुसँग तुलना गरेका हुन्। उनले यी शासकले आफ्नै प्रवृत्तिका कारण पतन हुनु परेको धारणा राखेका छन्।
प्रधानमन्त्री ओलीले सोमबार राजनीतिक दल र संवैधानिक परिषद् सम्बन्धित दुवै अध्यादेश ल्याएका थिए। सबैतिरबाट चर्को विरोध र आलोचनापछि शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले दल विभाजनलाई खुकुलो पार्ने र संवैधानिक परिषदमा प्रतिपक्षको भूमिकालाई निषेध गर्ने अध्यादेश फिर्ता लिने निर्णय गरे लगत्तै राष्ट्रपतिले दुवै अध्यादेश खारेज गरेकी हुन् ।
राजनीतिक दलसम्बन्धी संशोधन अध्यादेश जारी भएपछि राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टीको एकता भएको हो। एकीकृत पार्टी गठनको जानकारी निर्वाचन आयोगमा दर्ता भएसँगै समाजवादी र राजपा विभाजनबाट जोगिएका छन्। समाजवादीकी उपाध्यक्ष रेणु यादव नेतृत्वमा असन्तुष्ट समूहले शुक्रबारसम्म छुट्टै पार्टी गठन गर्ने तयारी गरेको थियो। असन्तुष्ट समूहमा यादवसहित मो. ईश्तियाक राई, प्रदीप यादव, उमाशंकर अरगरिया, कलुदेवी विश्वकर्मा, सुरेन्द्र यादव र रेणुका गुरुङ छन्।
तर, एक सांसद उपत्यका बाहिर भएका कारण असन्तुष्ट समूहले समयमै नयाँ पार्टी गठन गर्न सकेन। यही समयमा समाजवादीले राजपासँग एकता गर्यो। बुधबार राजपा र समाजवादीबीच एकता प्रक्रिया फेरि सुरु भएको सूचना पाएपछि असन्तुष्ट समूहले सरकारको सहयोगमा उपत्यका बाहिर रहेका सांसद सुरेन्द्र यादवलाई तत्काल उपत्यका भित्र्याउने तत्परता देखायो।
बिहीबार बिहान दुवै दलका अध्यक्षसहितका नेताहरु कान्तिपथस्थित आयोगको कार्यालयमा पुगेर पार्टी दर्ता गराएका हुन्। दल दर्ताका लागि राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टीका नेता बिहीबार बिहानै निर्वाचन आयोगको कार्यालय पुगेका थिए। बिहान ११ बजेर १६ मिनेटमा निर्वाचन आयोगमा जनता समाजवादी पार्टी, नेपाल १३८८ नम्बरमा दर्ता भएको छ। दल दर्ताका लागि राष्ट्रिय जनता पार्टीका संयोजक शरत सिंह भण्डारी र समाजवादी पार्टीको तर्फबाट अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गरी निवेदन दिएका थिए।
सामाजिक संजाल फेसबुकमा भट्टराईले लेखेको स्टाटस जस्ताको तस्तै
यो भष्मासुर प्रवृत्ति हो: हिन्दू मिथकमा भष्मासुर भन्ने रा़क्षसले महादेवबाट उसले जसको टाउकोमा हात राख्यो उ जलेर भष्म हुने वरदान पाउँछ! तर उसले पछि ऋषिहरू( कुनै शास्त्रमा महादेव स्वयम्)को टाउकोमा हात राख्न खोजेपछि विष्णुले अति सुन्दर मोहिनी रूप धारण गरेर उसलाई नृत्यमा लठ्याउँदै आफनै टाउकोमा हात राख्न लगाएर उसको वध गर्छन्!ओली प्रवृत्तिले पनि अहिले नेपाली जनता र नेकपा पार्टीको वरदानले सत्तामा पुगेर त्यसको चरम दुरूपयोग गर्दै आफ्नै पार्टीका नेता,सांसद,विपक्षी दल, मिडिया,नागरिक अभियन्ता र आम जनता सबैको टाउकोमा हात राख्ने र आतंकित पार्ने हर्कत गरिरहेछ!
– यो हिटलर प्रवृत्ति हो: जर्मन चान्सलर हिट्लरले कथित आर्य नस्लका शुद्ध जर्मन बाहेक यहूदी लगायत अन्य प्रति चरम घृणा र त्यसको जगमा जर्मन अन्धराष्ट्रवादको क्षणिक उन्माद जगाएर सत्ता प्राप्त गर्ने र अन्तत: दोश्रो विश्वयुद्ध जन्माएर करोडौं मान्छेको ज्यान लिएको इतिहास ताजै छ।नेपालमा पनि ओली प्रवृत्तिले मधेसी लगायतका उत्पीडित जाति/समुदायप्रति चरम घृणा र त्यसको जगमा एकल जातीय अहंकारवाद तथा अन्धराष्ट्रवादको खाँडो जगाएर सत्तामा पुग्ने र अहिले चौतर्फी वितण्डा मच्चाएर देशका सबै लोकतान्त्रिक संस्था ध्वस्त पार्दै र राज्यको अपराधीकरण गर्दै चरम संकटको स्थिति सिर्जना गरिरहेछ।
– यो स्टालिन प्रवृत्ति हो: रूसी बोल्सेभिक क्रान्तिमा लेनिन पछिको अतुलनीय योगदान गरेका स्टालिनले सत्तामा पुगेपछि सम्पूर्ण शक्ति आफ्नो हातमा केन्द्रित गरेर कम्युनिष्ट पार्टीका सबै विधिविधान र आन्तरिक जनवाद नष्ट गर्दै आफ्ना प्रतिद्वन्द्वी सबैको भौतिक सफाया गरेका थिए र अदूरदर्शी र लहडी आर्थिक नीति ( मुख्यत: कृषि क्षेत्रमा ) लिएर लाखौं जनता भोकमरीले मर्ने स्थिति ल्याएका थिए।नेपालमा ओली प्रवृत्तिले झापा आन्दोलनमा चौध बर्ष जेल बसेको जस भजाएर पार्टीभित्रको सत्ता हत्याउने र पार्टी तथा राज्यको सत्ता प्राप्त गरेपछि पार्टी र राज्यका सबै विधि-प्रणाली भत्काएर निरंकुश बन्ने, पार्टी भित्र र वाहिरका विरोधीहरूमाथि विविध ढंगले दमन गर्ने,स्वेच्छाचारी र लहडी पाराले विकासका सपना बाँड्ने तर गलत नीति अवलम्बन गरेर देशमा चरम वेरोजगारी लगायत आर्थिक संकट निम्त्याउने,कोरोना संकटको वेला पार्टी फुटाउने खेलमा लागेर चरम ग़ैरज़िम्मेदारी र असंवेदनशीलता प्रदर्शन गर्ने काम गरिरहेछ।
– यो चाउचेस्कु प्रवृत्ति हो: पूर्वी युरोपेली ‘कम्युनिष्ट’ देश रूमानियाका कम्युनिष्ट पार्टी सुप्रीमो तथा राष्ट्रपति निकोलाइ चाउचेस्कु र उनकी पत्नी तथा उपराष्ट्रपति एलिना चाउचेस्कुले कम्युनिष्ट पार्टी र सर्वहारावर्गको आवरणमा यति धेरै भ्रष्टाचार,विलासिता ( उनको दरवार विश्वकै सबभन्दा ठुलो भवन मध्येमा गनिन्छ ),फजुलखर्च, स्वेच्छाचारिता,आफन्त/आसेपासेवाद,मनपरीतन्त्र गर्थे र पार्टी नेता/कार्यकर्ता तथा जनता यति निरीह, लाचार,पीडित थिए कि अन्तत: जनता र पार्टी कार्यकर्ता नै खुला विद्रोहमा उत्रिएर उनीहरूको अन्त्य गर्नुपरेको थियो! नेपालमा ओली प्रवृत्तिले हुर्काएको यतिप्रकरण/ओम्नीप्रकरण लगायतका अनगिन्ति भ्रष्टाचार,राष्ट्रपति/प्रधानमन्त्रीको फजुल खर्च/विलासी शैली /ढाँटबाँट,आसेपासेको बाक्लो घेरा/उदण्ड शैली,मदन भण्डारी फाउन्डेशन लगायतका अनगिन्ति फ़ाउन्डेशन/एनजीओ/आइएनजीओको विशाल तथा अपारदर्शी आर्थिक साम्राज्य एकातिर र अर्कोतिर संवैधानिक लगायत राज्यका अंगहरूको निरीहता,आम पार्टी कार्यकर्ता तथा जनताको दीनहीन अवस्था सबैको सामु छर्लंग छ!
* अति भए पछि खति हुन्छ भनिन्छ । त्यसैले अब छिटो भन्दा छिटो सबै पार्टीहरू,संसद,अदालत,मिडिया,नागरिक अभियन्ता र आम जनताको सक्रियतामा यो कोरोनाभाइरसभन्दा ख़तरनाक ओली प्रवृत्तिको भाइरसलाई सदाकानिम्ति विदा गरौं ! नत्र यो भष्मासुरले सबैलाई सखाप पार्नेछ !
Comments
अरु समाचार
-
रास्वपा केन्द्रीय समितिको बैठक आजदेखि सुरू हुँदै
काठमडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दुईदिने केन्द्रीय समितिको बैठक आजदेखि काठमाडौँमा सुरू हुँदैछ । शनिबार र आइतबार बस्ने रास्वपाको...
-
परराष्ट्रमन्त्रीद्वारा अमेरिकी पूर्वराष्ट्रपति कार्टरप्रति श्रद्धाञ्जली
काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले अमेरिकी पूर्वराष्ट्रपति जिम्मी कार्टरको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै उहाँप्रति श्रद्धाञ्जली अर्पण गरेकि...
-
बन्धक वार्ताका लागि इजरायलीली प्रतिनिधिमण्डल कतार जाँदै
काठमाडौं । गाजा युद्ध र बन्धक सम्झौताका सम्बन्धमा वार्ता सुरु गर्न इजरायलले कतारको राजधानी दोहामा एक प्रतिनिधिमण्डल पठाउने तयारी गरेको...
-
सचिन परियारको निधनप्रति प्रधानमन्त्री द्वारा दुःख वक्त
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बाल गायक सचिन परियारको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै सामाजिक सञ्जाल मार्फत् श्रद्धाञ्जली व्यक्त...
-
राज्य व्यवस्था समितिबाट भ्रष्टाचार निवारणसम्बन्धी विधेयक पारित
काठमाडौं । प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिबाट भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयक पारित भएको छ...
-
शेरा दरबारको जग्गाको दोषीलाई कारबाही हुन्छ: गृहमन्त्री लेखक
काठमाडौं । गृहमन्त्री रमेश लेखकले शेरा दरबारको जग्गाको दोषीलाई कारबाही हुने बताएका छन्। बिहीबार बसेको राज्य व्यवस्था समितिको बैठकमा गृहमन्त्री...
-
पहिलो नेपाली महिला राजदूत बिन्दा स्वारी शाहको निधन
काठमाडौं । पहिलो नेपाली महिला राजदूत बिन्दा स्वारी शाहको बिहीबार निधन भएको छ । २ फागुन १९८९ मा जन्मेकी शाहको...
-
प्रधानमन्त्री ओली र श्रीलङ्काका पूर्व राष्ट्रपतिबीच आज भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र श्रीलङ्काका पूर्व राष्ट्रपति रनिल विक्रमासिङ्घेबीच आज भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा...
-
केन्द्रीय कमिटीका कार्यसूची टुङ्ग्याउन एमाले सचिवालय बैठक बस्दै
काठमाडौं । नेपाल कम्युनिष्ट (एमाले)को सचिवालय बैठक आज अपराह्न १ः०० बजे केन्द्रीय कार्यालय च्यासलमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा...