प्रचण्ड–नेपाल समूहको निष्कर्ष : ‘ओलीलाई सच्याउने कोसिस असफल, उनको भूमिका बदल्ने मात्रै विकल्प बाँकी’
काठमाडौं । नेकपाभित्रको शक्तिसंघर्ष उत्कर्षमा रहेकै वेला पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले प्रधानमन्त्री एवं अर्का अध्यक्ष केपी शर्मा ओलीलाई ‘सच्याउने’ कोसिस असफल भएको निष्कर्ष सुनाएको छ ।
बुधबार पत्रकारहरूसँगको अन्तरक्रियामा सहभागी प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, नेपाल र पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले अब ओलीको भूमिका बदल्ने एक मात्र विकल्प बाँकी रहेको बताएका छन् ।
नेताहरूले पार्टी निर्णयअनुसार भूमिका बदल्ने विकल्पमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली तयार नभए पार्टी विभाजनको खतरासमेत आउन सक्ने संकेत गरेका छन् । नेकपाका चार नेताहरूले नेकपाको आन्तरिक विवाद तत्काल नटुंगिने र अन्तरसंघर्ष महाधिवेशनसम्म लम्बिने सन्देश पनि प्रवाह गरेका छन् ।
गत ४ मंसिरदेखि २० वैशाखसम्म अन्तरविरोधको अघिल्लो शृंखलामा ओलीमा देखिएको कार्यशैलीगत समस्या सच्याउन अनेकन कोसिस गर्दा पनि उनको हठ र दम्भका कारण पार नलागेको दाबी गर्दै उनीहरूले त्यसयता अन्तरविरोध नयाँ चरणमा प्रवेश गरेको बताए । ‘हामी सधैँ राम्रोभन्दा राम्रो परिस्थिति तयार गर्न लागिरहनुपर्छ । तर, कम्युनिस्टहरू खराबभन्दा खराब परिस्थितिका लागि पनि तयारचाहिँ हुनुपर्छ,’ प्रचण्डले विभाजनको खराब अवस्थासमेत आउन सक्ने संकेत गर्दै भने, ‘वर्गसंघर्ष, समाज विकास र प्रकृतिको नियमअनुसार पनि अहिले कोरोना आउला अनि संसारभर यस्तो समस्या र संरचना पैदा गर्ला भन्ने कुरा चार महिनाअघिसम्म केही थाहा थिएन, सोचिएको पनि थिएन । पार्टीमा पनि यस्तो हुन सक्छ ।’
प्रचण्डले अन्तरसंघर्ष सुखद र दुःखद दुवै तरिकाले टुंगिन सक्ने भन्दै त्यसका लागि नेता–कार्यकर्ता मानसिक रूपमा तयार हुनुपर्नेसमेत बताए । ‘विश्व अर्थतन्त्र, राजनीतिक प्रणाली, सोच्ने तरिकामा पनि परिवर्तनको आवश्यकता बोध गरायो । अहिले पनि समस्या निम्त्याइरहेको छ, तर त्यसको सामना गर्न तयार रहनुपर्छ । कम्युनिस्ट, प्रगतिशीलहरू राम्रोभन्दा राम्रो परिस्थिति बनाउन लाग्ने हो । तर, खराबभन्दा खराब परिस्थितिका लागि पनि तयार त भएर बस्नुपर्छ । किनभने खराब परिस्थितिका लागि मानसिक रूपमा तयार भइएन भने परिस्थिति आइहाले अताल्लिएर डिप्रेसनमा जाने खतरा पैदा हुन्छ भन्नेतिर पनि सोच्नुपर्ने हुन्छ ।’
प्रचण्डले अहिले पार्टीभित्र चलिरहेको छलफललाई बुँदागत रूपमै सैद्धान्तिकृत गर्ने प्रयास पनि गरे । ‘अहिलेको छलफल नेकपालाई माक्र्सवाद–लेनिनवादको आधारमा निर्देशित गर्ने कि बुर्जुवा मान्यतालाई पक्रेर जाने बहस हो । यसभित्र गम्भीर सैद्धान्तिक र दार्शनिक बहस अन्तर्निहित छ । पार्टीलाई निश्चित राजनीतिक मान्यताअन्तर्गत संगठित गर्ने कि अराजक भिड बनाउने ?’ प्रचण्डले पार्टी विवादको पछिल्लो लडाइँबारे भने, ‘पार्टीको अधीनमा व्यक्ति हुने कि व्यक्तिको अधीनमा पार्टी ? विवेकले सत्ता चलाउने कि सत्ताले विवेक ? बुर्जुवा (पुँजीवादी) व्यवस्थामा जस्तो प्रधानमन्त्री नै सर्वेसर्वा हुने कि कम्युनिस्ट पार्टीको नेतृत्वमा सरकार चलाउने ? अहिले यिनै विषयमा पार्टीभित्र अन्तर्संघर्ष चलिरहेको छ ।’
वरिष्ठ नेता माधवकुमार नेपालले म राज्य हुँ, म नै पार्टी हुँ भन्ने प्रवृत्तिबाट चलेका कारण समस्या देखिएको बताए । ‘आई एम स्टेट, आई एम दि पार्टी भन्ने मान्यताबाट चल्दा लामो समयदेखि पार्टी एकीकरणको काम सम्पन्न हुन सकेन, कागजमै सीमित भयो’, नेपालले भने ।
पार्टी एकतापछि दुई अध्यक्षको सहमति नै पार्टी निर्णयका रूपमा गलत ढंगले व्याख्या गरिएको भन्दै उनले आफू नै सबैथोक हुँ भन्ने भ्रम त्याग्न आग्रह गरे । उनले पार्टी विधानमा बहुमतको निर्णय नै पार्टी निर्णय हो भन्ने व्यवस्थालाई ख्याल गर्न त्यसअनुसार आफूले नोट अफ डिसेन्ट दर्ज गर्दा पनि निर्णय भएको स्मरण गरेका थिए । ‘विधानको धारा ६० मा बहुमतको निर्णय पार्टी निर्णय भन्ने स्पष्ट व्यवस्था छ । मैले नोट अफ डिसेन्ट लेखेपछि बहुमतका आधारमा निर्णय हुन्छ भने अध्यक्षले पनि नोट अफ डिसेन्ट लेखेर किन निर्णय हुन सक्दैन ?’ नेपालको प्रश्न थियो, ‘पार्टी नीति र विधिबाट चल्छ, बैठकबाट डराउने नेता र पानीसँग डराउने किसानको काम छैन ।’
उनले अहिलेको लडाइँ पद प्राप्तिको नभएर पार्टीलाई गतिशील, क्रान्तिकारी, राम्रो संस्कृति हुर्काउने, पार्टीलाई विधि र पद्धतिसम्मत ढंगले सञ्चालन गर्ने विषयसँग जोडिएको बताए ।
वरिष्ठ नेता झलनाथ खनालले ओलीले मदन भण्डारी फाउन्डसेनका नाममा वडासम्म कमिटी बनाएर गुटबन्दी गर्ने र आफूहरूलाई बदनाम गर्ने प्रयास गरेपछि त्यसविरुद्ध अन्तर्संघर्ष सुरु भएको बताए ।
खनालले परम्परागत बुर्जुवा संसदीय व्यवस्थामा जस्तो प्रधानमन्त्री नै सर्वेसर्वा हुने कि कम्युनिस्ट नीति सिद्धान्तअनुसार मुलुकलाई समाजवादतिर लैजाने गरी पार्टी निर्णय र निर्देशनमा सरकार चलाउने भन्ने गम्भीर अन्तर्विरोध पैदा भएको बताए । ‘पार्टी एकतापछि गुट अन्त्य होला भन्ने अपेक्षा थियो । तर, ओलीजीले झन् गुट चलाउन लाग्नुभो । पूर्वएमाले र माओवादीका आ–आफ्ना गुट छँदै थिए । ओलीजीले मदन भण्डारी फाउन्डेसनलाई सक्रिय बनाएर जिल्ला, गाउँपालिकादेखि वडासम्म कमिटी बनाएर हामीलाई गाली गर्ने, बदनाम गर्ने काम गरिराख्नुभएको छ,’ खनालले भने, ‘उहाँले गुटलाई सत्ता चलाउने भर्याङ बनाउनुभएको छ ।’
प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले ओलीलाई रूपान्तरणका लागि गरिएका प्रयास असफल भएकाले विकल्पमा नकारात्मक पात्र र उसको भूमिका परिवर्तनको बहस अघि बढेको बताए । ‘४ मंसिरदेखि २० वैशाखसम्म आइपुग्दा व्यक्ति होइन, प्रवृत्ति सच्याएर जाने कोसिस भएको हो, तर त्यस्तो प्रयास सफल भएन । त्यसैले नकारात्मक प्रवृत्ति र पात्रको भूमिकामै फेरबदल गरेर भए पनि सच्याउनुपर्छ, नत्र पार्टी चुनावमा जाने स्थिति पनि बन्दैन, क्रान्तिकारी दिशामा पार्टीलाई अघि बढाउन सकिँदैन । यो निष्कर्ष निकाल्न पनि बैठक बसाउनुपर्ने हुन्छ, तर अहिले बैठक बसाउनै दिइएको छैन,’ प्रवक्ता श्रेष्ठले भने ।
उनले पार्टीभित्र कम्युनिस्ट पार्टीलाई बुर्जुवा पुँजीवादी पार्टीमा रूपान्तरण गर्ने कि कम्युनिस्ट पार्टीकै रूपमा समाजवादी दिशातिर अघि बढ्ने, पार्टी र सरकारलाई वैचारिक मार्गदर्शन, कार्यदिशा, चुनावी घोषणापत्रका आधारमा चलाउने कि नचलाउने अन्तर्संघर्ष चलिरहेको बताए । पार्टीभित्र चरम व्यक्तिवाद, सांस्कृतिक क्षेत्र र आचरणमा भ्रष्टीकरण देखिएको भन्दै त्यसलाई सच्याउनका लागि दुई लाइन संघर्ष चलिरहेको बताए । नेकपाको नौ सदस्यीय सचिवालयमा उपाध्यक्ष वामदेव गौतम र रामबहादुर थापा भने चार नेतासँगै देखिएनन् ।
Comments
अरु समाचार
-
कांग्रेस र एमालेबाट अहिलेसम्म निर्वाचित सांसदहरू काे-काे हुन् ? कति ठाउँमा अग्रता ?
काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत १६५ क्षेत्रमध्ये अहिलेसम्म १२५ ठाउँको नतिजा आइसकेको छ । याे समाचार तयार पार्दासम्म रास्वपा ९८...
-
सर्लाही ४ मा अमरेश गरे ह्याट्रिक, गगनको पहिलो हार
सर्लाही । सर्लाही ४ मा नेपाली कांग्रेसका सभापति गगन थापालाई हराउँदै रास्वपाका अमरेशकुमार सिंह प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका छन्...
-
श्रम संस्कृति पार्टीले खोटाङबाट खोल्यो खाता, आरेन राई विजयी
विराटनगर । श्रम संस्कृति पार्टीले खोटाङबाट खाता खोलेको छ । सो पार्टीका उम्मेदवार आरेन राई विजयी भएका हुन् । उनी...
-
ओलीलाई करिब ५० हजार मतान्तरले हराए बालेनले, को हुन् बालेन ?
काठमाडौं । झापा क्षेत्र नम्बर ५ बाट रास्वपा वरिष्ठ नेता बालेन शाह निर्वाचित भएका छन् । अन्तिम मतपरिणाम अनुसार, बालेन...
-
प्रतिनिधिसभा निर्वाचन अपडेट: अहिलेसम्म पाँच स्थानमा महिला उम्मेदवार विजयी
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा हालसम्म पाँच स्थानमा महिला उम्मेदवार विजयी भएका छन् । निर्वाचन आयोगका अनुसार काठमाडौं–...
-
भक्तपुर-२ मा रास्वपाका राजीव खत्रीकाे जित, महेश बस्नेतले कति ल्याए भाेट ?
भक्तपुर । भक्तपुर-२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का राजीव खत्री भारी मतान्तरले विजयी भएका छन् । अन्तिम परिणामअनुसार रास्वपाका राजीव...
-
चितवन ३ मा सोविता गौतमकाे जित, रेनु दाहालकाे कति भाेट ?
चितवन । चितवन क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार सोविता गौतम अत्याधिक मतसहित विजयी भएकी छिन् ।...
-
हर्क साम्पाङ रास्वपाका उम्मेदवारसँग दोब्बर मतले पछाडि
विराटनगर । सुनसरी क्षेत्र नम्बर १ को ४३०९ मत गनिसक्दा हर्क साम्पाङ रास्वपाका उम्मेदवार भन्दा पछाडि परेका छन् । याे...
-
हार स्वीकार गर्दै कुलमानले भने- मलाई विश्वास गर्ने मतदाताप्रति ऋणी छु
काठमाडौं । पराजित उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले काठमाडौं क्षेत्र नं. ३ बाट विजयी राष्ट्रिय स्वतन्त्र पार्टीका राजुनाथ पाण्डेलाई बधाई...











