लिपुलेकमा भारतीय र चिनियाँ सैनिकको ‘मुभमेन्ट’ बढ्यो, के गर्दैछ नेपाल?
काठमाडौं । नेपाली भूमि लिपुलेक क्षेत्रमा भारत र चीनका सैनिक गतिविधि बढाएका छन्।
पूर्वी लद्दाखको गलवान घाटीमा भारत र चीनका सैनिकबीच भएको हिंस्रक झडपपछि नेपाल-भारत-चीन त्रिदेशीय विन्दु भनिएको लिपुलेक क्षेत्रमा सैन्य गतिविधि बढेको हो। हिंस्रक झडपमा २० जना भारतीय सैनिक मारिएका थिए।
सन् १८१६ को सुगौली सन्धीअनुसार लिपुलेक नेपाल र चीनको सीमा हो। त्रिदेशीय विन्दु त लिम्पियाधुरा हो। तर, भारतले कब्जा गरेर लिपुलेकलाई त्रिदेशीय सीमा नाका भन्दै आएको छ। लिपुलेक नेपालको भनेर सीमा सम्झौता गरेकै कारण सन् १९६२ को युद्धमा चीन त्यहाँबाट अघि नबढेको बताइन्छ। नेपालसँग सम्झौता नभएको भए चीन नयाँ दिल्लीसम्मै पुग्थ्यो भनिन्छ। युद्ध हुँदा धेरै भारतीय सैनिक नेपाली भूमि लिपुलेकमा शरण लिएर बसेका थिए।
पछिल्लो समय नेपालले लिपुलेकमात्रै होइन कालापानी, लिम्पियाधुरालाई समेत आफ्नो नक्सामा समेटेर भूमिमा स्वामित्वका लागि भारतसँग कुटनीतिक वार्ता पर्खिरहेको छ। अर्कोतिर भारतले नेपाली भूमिलाई जबरजस्ती आफ्नो नक्सामा समावेश गरेर मानसरोवर जोड्ने सडक बनाइरहेको छ।
आफ्नो भूमिमा स्वामित्वका लागि नेपाल वार्ता पर्खिरहेका बेला लिपुलेकमा भारतले सैन्य उपस्थिति बढाएको छ। भारतको उपस्थितिको प्रतिक्रियामा पारी चीनले पनि सैन्य उपस्थिति बढाएको समाचारहरु आइरहेका छन्।
भारत र चीनले लिपुलेकमा चीनले सैन्य उपस्थिति बढाएका बेला नेपालले के गर्दैछ भन्ने प्रश्न उठेको छ। केन्द्र (काठमाडौं)मा सरकार परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठकको तयारीमा लागेको छ। प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच साउन ३१ गते भएको टेलिफोन वार्तापछि दुवैतर्फ सीमा विवाद सुल्झाउन वार्ताको तयारी भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार सीमा विवाद सुल्झाउन सुरुमा नेपाल–भारत बाउन्ड्री वर्किङ ग्रुपको बैठक बस्ने तयारी छ।
केन्द्रमा वार्ताबाट भारतसँग सीमा विवाद सुल्झाउने र लिम्पयाधुरा, लिपुलेक र कालापानीमा स्वामित्व हासिल गर्ने कसरत भइरहँदा जिल्लामा भने सुरक्षा निकाय सक्रिय भएको छ। सुरक्षा निकायले लिपुलेकमा भारतीय सेनाको गतिविधि बढिरहेको रिपोर्टिङ केन्द्र (गृह मन्त्रालय)मा गरेका छन्। भारतीय सैनिकको अस्वभाविक उपस्थितिबारे नेपाली सुरक्षा निकाय जानकार छ। तर, चिनियाँ सेनाको गतिविधिबारे अनभिज्ञ छ। यद्यपि भारतीय सेनाको गतिविधि प्रतिक्रिया स्वरुप चिनियाँहरु सक्रिय भएको शंका नेपाली सुरक्षा अधिकारीको छ। चिनियाँहरुको सूचना लुकाउने, गुपचुप काम गर्ने बानीबारे पनि सुरक्षा अधिकारीहरु जानकार छन्।
लिपुलेकमा सशस्त्रको गस्ती तयारी
लिपुलेक दुई छिमेकीको रणभूमि बन्ने खतरा बढिरहेका बेला सशस्त्र प्रहरी बलले गस्ती गर्ने भएको छ। सशस्त्र प्रहरी बल ४४ नम्बर गण दार्चुलाले लिपुलेक क्षेत्रमा गस्ती गर्न हेडक्वार्टरमा अनुमति मागेको छ। यसका लागि पत्र समेत लेखिसकेको छ। छोटो र नियमित गस्तीका लागि अनुमति नचाहिने भए पनि लङ्ग रुट पट्रोलिङ (एलआरपी) का लागि अनुमति लिनुपर्छ।
४४ नम्बर गणका गणपति एसपी नरेन्द्र बमले लिपुलेक क्षेत्रमा गस्तीका लागि केन्द्रमा अनुमति मागिएको जानकारी दिए।
‘चिठ्ठी लेखेर पठाइसकेका छौं। एक नम्बर पिल्लरलाई केन्द्र बनाएर हाम्रो टोली छिट्टै लिपुलेक क्षेत्रमा फोर्स मार्चमा जान्छ,’ उनले भने। बमका अनुसार लिपुलेकमा संयुक्त गस्तीका लागि भारतीय कमाण्डरसँग समन्वयको प्रयास भइरहेको छ। सीमामा भारतीय एसएसबीसँग सकारात्मक कुराकानी र नियमित भेटघाट भइरहेको छ।
एसपी बम लिपुलेकमा भारतीय सेनाको बढ्दो गतिविधिबारे जानकार छन्। दार्चुलाका स्थानीयसमेत रहेका बमले भने, ‘गलवान घाटी घटनापछि इण्डियनहरुले लिपुलेकमा मुभमेन्ट बढाएका छन्। आर्मी, सीमा सुरक्षा बल, प्रहरीको उल्लेख्य उपस्थिति देखिन्छ। संख्या बढाएको छ। हेलिकोप्टर उडान बढेको छ। मुभमेन्ट धेरै बढेको छ।’
चिनियाँ सेनाको गतिविधिबारे भने उनले पनि सञ्चारमाध्यमबाटै सुनेका हुन्।
‘चाइनिज आर्मीको मुभमेन्टबारे केही जानकारी छैन। प्रतिक्रिया स्वरुप लिपुलेकमा चिनियाँ उपस्थिति बढेको हुनसक्छ। शंकाको विषय हो, अहिलेसम्म कुनै खबर आएको छैन,’ एसपी बमले भने।
उनका अनुसार चिनियाँ भूभाग धेरै उचाईंमा रहेकाले गतिविधिबारे जानकारी पाउन सहज छैन।
‘हाम्रो इलाका तलतिरै छ। चिनियाँ पुलिससँग हाम्रो निरन्तर सम्पर्क भइरहेको हुन्छ। तिंकरमा नेपाल प्रहरीले सम्पर्क गर्छ। तर चिनियाँ गतिविधिबारे औपचारिक जानकारी छैन,’ उनले भने।
चीनले सेना बढाएकोदेखि क्षेप्यास्त्र तैनाथ गरेको भारतीय दावी
लिपुलेकमा भारतीय सेनाको सक्रियता बढेको सूचना नेपाली सुरक्षा निकायको जानकारीमा भए पनि चिनियाँ सक्रियताबारे भने भारतीय मिडियाबाट मात्रै आइरहेको छ। भारतीय सुरक्षा स्रोतलाई उद्धृत गर्दै चीनले लिपुलेक पासमा सैनिक संख्या हजारौले वृद्धि गरेको र स्थायी क्याम्प स्थापना गरेको खबरहरु भारतीय मिडियामा आएका छन्।
त्यतिमात्रै होइन चिनियाँ सेनाले लिपुलेकमा जमिनबाट आकाशमा मार हान्न सक्ने क्षेप्यास्त्र नै तैनाथ गर्न लागेको समाचार पनि भारतीय मिडियाबाट आएका छन्। क्षेप्यास्त्र तैनाथीका लागि संरचना निर्माण गरिरहेको पनि दावी गरिएको छ।
भारतीय मिडियाको दावीमा कति सत्यता छ त्यो त विस्तारै बाहिर आउँदै गर्ला। तर, हावा नचली पात हल्लिदैन भनेजस्तै नेपाली भूमि लिपुलेक दुई छिमेकीको झगडामा परेको छ। यो झगडालाई एक सुरक्षा अधिकारीले भन्छन्, ‘भारतीयको प्रतिक्रयास्वरुप लिपुलेक पासमा चिनियाँ सेना आएको हो कि वा चिनियाँ सेना आयो भन्ने हल्ला फैलाएर भारतीय सैनिकले आफ्नो उपस्थिति बढाएको हो? बुझ्न गाह्रो छ।’
Comments
अरु समाचार
-
GFCN and TASS Launch Fact-Checking Video Course for Asia-Pacific News Agencies
Kathmandu, The Global Fact-Checking Network (GFCN) and Russia’s TASS news agency have launched an educational video course on fact-checking for...
-
परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता, नेपालको जलवायु संवेदनशीलतालाई अन्तर्राष्ट्रियकरण
काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनाल फिजी र टुभालुमा आयोजित जलवायु परिवर्तनसम्बन्धी उच्चस्तरीय ‘प्रि–कोप लिडर्स इभेन्ट’ मा सहभागी हुनुका साथै अस्ट्रेलियाको औपचारिक...
-
ट्रम्प-पुटिन डिजेल सम्झौताको भोलिपल्टै रुसले युक्रेनमा किन गर्यो आक्रमण ?
किएभ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच डिजेल सम्झौताको भोलिपल्टै रुसले युक्रेनमा आक्रमण गरेको छ । अमेरिकी...
-
८५ वर्षीया नवनीतम नावी पिल्लेलाई नोबेल शान्ति पुरस्कार, मानवअधिकार र न्यायका लागि जीवनभरको संघर्षको सम्मान
काठमाडौं । यस वर्षको नोबेल शान्ति पुरस्कार नवनीतम नावी पिल्लेलाई पुरस्कृत गर्ने निर्णय गरेको छ। उनलाई शान्ति र अन्तर्राष्ट्रिय कानुन...
-
JJN, Russian Union of Journalists Sign MoU to Boost Media Cooperation
Kathmandu. A memorandum of understanding has been signed between Journalists for Justice Nepal (JJN) and the Russian Union of Journalists...
-
नेपाल र रुसबीचको द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज बस्दै
काठमाडौं । नेपाल र रुसबीचको द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज बुधबार काठमाडौमा बस्ने भएको छ । नेपाल र रुसबचि...
-
दीपक भट्टसंग जोडिएका सुलभ, साहिल र ललिताविरुद्ध झण्डै २ अर्बको विदेशी मुद्रा अपचलनको मुद्दा दर्ता गरिदै
काठमाडौं । विवादास्पद व्यवसायी दीपक भट्टसंगको अवैध कारोबार र विदेशी विनिमय अपचलनको आरोपमा सुलभ अग्रवाल, साहिल अग्रवाल र ललिता अग्रवालविरुद्ध...
-
युक्रेन युद्ध अझ नबढाउन पश्चिमा मुलुकहरूलाई पुटिनको चेतावनी
मस्को। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमा मुलुकहरूलाई युक्रेन युद्ध अझ नबढाउन चेतावनी दिँदै यदि रुसको बाल्टिक क्षेत्रमा रहेको भूभाग (इन्क्लेभ)...
-
Renewing Efforts on a New Great Journey: Commemorating 77th Anniversary of Founding of People’s Republic of China
Beijing,(Xinhua): The golden wind is refreshing, and the mountains and rivers are beautiful. As we embark on a new journey...












