लिपुलेकमा भारतीय र चिनियाँ सैनिकको ‘मुभमेन्ट’ बढ्यो, के गर्दैछ नेपाल?
काठमाडौं । नेपाली भूमि लिपुलेक क्षेत्रमा भारत र चीनका सैनिक गतिविधि बढाएका छन्।
पूर्वी लद्दाखको गलवान घाटीमा भारत र चीनका सैनिकबीच भएको हिंस्रक झडपपछि नेपाल-भारत-चीन त्रिदेशीय विन्दु भनिएको लिपुलेक क्षेत्रमा सैन्य गतिविधि बढेको हो। हिंस्रक झडपमा २० जना भारतीय सैनिक मारिएका थिए।
सन् १८१६ को सुगौली सन्धीअनुसार लिपुलेक नेपाल र चीनको सीमा हो। त्रिदेशीय विन्दु त लिम्पियाधुरा हो। तर, भारतले कब्जा गरेर लिपुलेकलाई त्रिदेशीय सीमा नाका भन्दै आएको छ। लिपुलेक नेपालको भनेर सीमा सम्झौता गरेकै कारण सन् १९६२ को युद्धमा चीन त्यहाँबाट अघि नबढेको बताइन्छ। नेपालसँग सम्झौता नभएको भए चीन नयाँ दिल्लीसम्मै पुग्थ्यो भनिन्छ। युद्ध हुँदा धेरै भारतीय सैनिक नेपाली भूमि लिपुलेकमा शरण लिएर बसेका थिए।
पछिल्लो समय नेपालले लिपुलेकमात्रै होइन कालापानी, लिम्पियाधुरालाई समेत आफ्नो नक्सामा समेटेर भूमिमा स्वामित्वका लागि भारतसँग कुटनीतिक वार्ता पर्खिरहेको छ। अर्कोतिर भारतले नेपाली भूमिलाई जबरजस्ती आफ्नो नक्सामा समावेश गरेर मानसरोवर जोड्ने सडक बनाइरहेको छ।
आफ्नो भूमिमा स्वामित्वका लागि नेपाल वार्ता पर्खिरहेका बेला लिपुलेकमा भारतले सैन्य उपस्थिति बढाएको छ। भारतको उपस्थितिको प्रतिक्रियामा पारी चीनले पनि सैन्य उपस्थिति बढाएको समाचारहरु आइरहेका छन्।
भारत र चीनले लिपुलेकमा चीनले सैन्य उपस्थिति बढाएका बेला नेपालले के गर्दैछ भन्ने प्रश्न उठेको छ। केन्द्र (काठमाडौं)मा सरकार परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठकको तयारीमा लागेको छ। प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच साउन ३१ गते भएको टेलिफोन वार्तापछि दुवैतर्फ सीमा विवाद सुल्झाउन वार्ताको तयारी भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार सीमा विवाद सुल्झाउन सुरुमा नेपाल–भारत बाउन्ड्री वर्किङ ग्रुपको बैठक बस्ने तयारी छ।
केन्द्रमा वार्ताबाट भारतसँग सीमा विवाद सुल्झाउने र लिम्पयाधुरा, लिपुलेक र कालापानीमा स्वामित्व हासिल गर्ने कसरत भइरहँदा जिल्लामा भने सुरक्षा निकाय सक्रिय भएको छ। सुरक्षा निकायले लिपुलेकमा भारतीय सेनाको गतिविधि बढिरहेको रिपोर्टिङ केन्द्र (गृह मन्त्रालय)मा गरेका छन्। भारतीय सैनिकको अस्वभाविक उपस्थितिबारे नेपाली सुरक्षा निकाय जानकार छ। तर, चिनियाँ सेनाको गतिविधिबारे अनभिज्ञ छ। यद्यपि भारतीय सेनाको गतिविधि प्रतिक्रिया स्वरुप चिनियाँहरु सक्रिय भएको शंका नेपाली सुरक्षा अधिकारीको छ। चिनियाँहरुको सूचना लुकाउने, गुपचुप काम गर्ने बानीबारे पनि सुरक्षा अधिकारीहरु जानकार छन्।
लिपुलेकमा सशस्त्रको गस्ती तयारी
लिपुलेक दुई छिमेकीको रणभूमि बन्ने खतरा बढिरहेका बेला सशस्त्र प्रहरी बलले गस्ती गर्ने भएको छ। सशस्त्र प्रहरी बल ४४ नम्बर गण दार्चुलाले लिपुलेक क्षेत्रमा गस्ती गर्न हेडक्वार्टरमा अनुमति मागेको छ। यसका लागि पत्र समेत लेखिसकेको छ। छोटो र नियमित गस्तीका लागि अनुमति नचाहिने भए पनि लङ्ग रुट पट्रोलिङ (एलआरपी) का लागि अनुमति लिनुपर्छ।
४४ नम्बर गणका गणपति एसपी नरेन्द्र बमले लिपुलेक क्षेत्रमा गस्तीका लागि केन्द्रमा अनुमति मागिएको जानकारी दिए।
‘चिठ्ठी लेखेर पठाइसकेका छौं। एक नम्बर पिल्लरलाई केन्द्र बनाएर हाम्रो टोली छिट्टै लिपुलेक क्षेत्रमा फोर्स मार्चमा जान्छ,’ उनले भने। बमका अनुसार लिपुलेकमा संयुक्त गस्तीका लागि भारतीय कमाण्डरसँग समन्वयको प्रयास भइरहेको छ। सीमामा भारतीय एसएसबीसँग सकारात्मक कुराकानी र नियमित भेटघाट भइरहेको छ।
एसपी बम लिपुलेकमा भारतीय सेनाको बढ्दो गतिविधिबारे जानकार छन्। दार्चुलाका स्थानीयसमेत रहेका बमले भने, ‘गलवान घाटी घटनापछि इण्डियनहरुले लिपुलेकमा मुभमेन्ट बढाएका छन्। आर्मी, सीमा सुरक्षा बल, प्रहरीको उल्लेख्य उपस्थिति देखिन्छ। संख्या बढाएको छ। हेलिकोप्टर उडान बढेको छ। मुभमेन्ट धेरै बढेको छ।’
चिनियाँ सेनाको गतिविधिबारे भने उनले पनि सञ्चारमाध्यमबाटै सुनेका हुन्।
‘चाइनिज आर्मीको मुभमेन्टबारे केही जानकारी छैन। प्रतिक्रिया स्वरुप लिपुलेकमा चिनियाँ उपस्थिति बढेको हुनसक्छ। शंकाको विषय हो, अहिलेसम्म कुनै खबर आएको छैन,’ एसपी बमले भने।
उनका अनुसार चिनियाँ भूभाग धेरै उचाईंमा रहेकाले गतिविधिबारे जानकारी पाउन सहज छैन।
‘हाम्रो इलाका तलतिरै छ। चिनियाँ पुलिससँग हाम्रो निरन्तर सम्पर्क भइरहेको हुन्छ। तिंकरमा नेपाल प्रहरीले सम्पर्क गर्छ। तर चिनियाँ गतिविधिबारे औपचारिक जानकारी छैन,’ उनले भने।
चीनले सेना बढाएकोदेखि क्षेप्यास्त्र तैनाथ गरेको भारतीय दावी
लिपुलेकमा भारतीय सेनाको सक्रियता बढेको सूचना नेपाली सुरक्षा निकायको जानकारीमा भए पनि चिनियाँ सक्रियताबारे भने भारतीय मिडियाबाट मात्रै आइरहेको छ। भारतीय सुरक्षा स्रोतलाई उद्धृत गर्दै चीनले लिपुलेक पासमा सैनिक संख्या हजारौले वृद्धि गरेको र स्थायी क्याम्प स्थापना गरेको खबरहरु भारतीय मिडियामा आएका छन्।
त्यतिमात्रै होइन चिनियाँ सेनाले लिपुलेकमा जमिनबाट आकाशमा मार हान्न सक्ने क्षेप्यास्त्र नै तैनाथ गर्न लागेको समाचार पनि भारतीय मिडियाबाट आएका छन्। क्षेप्यास्त्र तैनाथीका लागि संरचना निर्माण गरिरहेको पनि दावी गरिएको छ।
भारतीय मिडियाको दावीमा कति सत्यता छ त्यो त विस्तारै बाहिर आउँदै गर्ला। तर, हावा नचली पात हल्लिदैन भनेजस्तै नेपाली भूमि लिपुलेक दुई छिमेकीको झगडामा परेको छ। यो झगडालाई एक सुरक्षा अधिकारीले भन्छन्, ‘भारतीयको प्रतिक्रयास्वरुप लिपुलेक पासमा चिनियाँ सेना आएको हो कि वा चिनियाँ सेना आयो भन्ने हल्ला फैलाएर भारतीय सैनिकले आफ्नो उपस्थिति बढाएको हो? बुझ्न गाह्रो छ।’
Comments
अरु समाचार
-
अमेरिकी र इरानी अधिकारीहरु शान्ति वार्ता गर्न पुगे स्वीटजरल्याण्ड
काठमाडौं । शान्ति सम्झौताको प्रयासमा अमेरिकी र इरानी अधिकारीहरु वार्तामा बस्न स्वीटजरल्याण्ड पुगेका छन् । मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका कतार...
-
मध्यपूर्वमा ऊर्जा र अन्य आपूर्ति अवरोध हट्न अझै समय लाग्छ : आइएमएफ
काठमाण्डौ । अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै समय लाग्ने...
-
इरानमाथि कडा दबाब सिर्जना गर्दै २२ देशले चेतावनी
सिड्नी । संयुक्त राज्य अमेरिका, बेलायतसहित युरोपेली राष्ट्रहरू र अस्ट्रेलिया लगायत २२ देशले इरानमाथि कडा दबाब सिर्जना गर्दै आफ्ना भूभागमा...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
फ्लाईदुबईले सेप्टेम्बरदेखि पोखरा–दुबई दैनिक उडान गर्ने, मेयर आचार्यद्वारा सेवा सफल बनाउन अपिल
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको छ। उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी...
-
रुसी लगानीकर्तालाई नेपालको विद्युत क्षेत्रमा लगानी गर्न महतोको आह्वान
काठमाडाैं । व्यवसायी तथा उद्योगपति उपेन्द्र महतोले नेपालको जलविद्युत तथा ऊर्जा पूर्वाधार क्षेत्रमा लगानी गर्न रुसी व्यवसायी तथा लगानीकर्ताहरूलाई आह्वान...
-
इरानले भन्यो- फेरि कुनै युद्ध चाहिँदैन, हमला भए सशक्त जवाफ दिइनेछ
काठमाडौं । इरानले कुनै नयाँ युद्धको सुरुवात गर्न नचाहेको, तर आफूमाथि हमला भए पूर्ण तागतका साथ जवाफ दिने बताएको छ।...
-
आमनेसामने वार्ता गर्न जेलेन्स्कीले पुटिनलाई राखे प्रस्ताव
किभ। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई एक खुला पत्र लेख्दै युद्ध अन्त्यका लागि आमनेसामने वार्ता गर्न प्रस्ताव...
-
हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द गर्ने इरानको निर्णय, अमेरिकासँगको सन्देश आदानप्रदानमा समेत रोक
काठमाण्डौ। इरान र उसका सहयोगीहरूले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा रोक्ने भएका छन् । इरानले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा...











