ओली र नेपालको आआफ्नै रणनीतिले एकतामा ढिलाइ
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल आआफ्नै रणनीतिअनुसार अघि बढ्न खोजेपछि विवाद समाधान गरी पार्टी एकता जोगाउनमा ढिलाइ भइरहेको छ ।
यद्यपि, दुवै नेताका तर्फबाट गठित कार्यदल भने पार्टी एकताका लागि सहमतिनजिक पुगेको छ । शुक्रबार बसेको कार्यदल बैठकले धेरै विषयमा सहमति जुटाएको कार्यदलका सदस्यले बताएका छन् ।
यद्यपि, कार्यदलले जुटाएको सहमतिलाई अध्यक्ष ओली र वरिष्ठ नेता नेपालले अन्तिम रूप दिनुपर्ने भएकाले कार्यदलले खोजेको सहमति नै अन्तिम नहुने अवस्था देखिएको छ । यसैका कारण शुक्रबार कार्यदलले सहमति भएको बताए तापनि एमाले नेता कार्यकर्ताहरू विश्वस्त हुन सकेका छैनन् । कार्यदल आफंैले पनि सहमति भएका विषय सार्वजनिक गर्न भने सकेनन् ।
कार्यदल भने सहमतिनजिक
कार्यदल सदस्य तथा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले एमालेमा देखिएको सबै विवादमा समाधान खोजिएको बताए । ‘लगभग सहमति भइसकेको छ, शनिबार एकताको घोषणा गर्नेछांै,’ प्रवक्ता ज्ञवालीले भने । कार्यदल सदस्य एवं एमाले सचिव गोकर्ण विष्टले पनि एकाधबाहेक सबै विषयमा सहमति भइसकेकाले शनिबार एकताको घोषणा हुने बताए ।
अध्यक्ष ओली र वरिष्ठ नेपाल सहमत भएपछि मात्रै कार्यदलले गरेको सहमति एकता सन्देशका रूपमा सार्वजनिक गर्ने तयारी कार्यदलका सदस्यहरूले गरेका छन् ।
प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले सहमति गर्दा नेपालपक्षबाट आफू नेतृत्वको सरकारको निरन्तरतामा सहमति जनाउनुपर्ने अडानमा छन् । प्रतिनिधिसभा विघटन भएपछि पुनस्र्थापनाको मागसहित कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर फिर्ता लिनुपर्ने अडान ओलीले राख्दै आएका थिए ।
तर, नेपाल समूहका सांसदले हस्ताक्षर फिर्ता लिन नमानेपछि सर्वोच्चको फैसलाजस्तो सुकै आए पनि त्यसलाई स्वीकार गर्दै आफ्नै नेतृत्वको सरकारले निरन्तरता पाउनुपर्ने प्रतिबद्धता नेपालबाट ओलीले खोजेको एमाले स्रोतको दाबी छ ।
तर, नेपालले संविधान र लोकतान्त्रिक व्यवस्थाविपरीत ओलीले दुईपटक प्रतिनिधिसभा विघटन गरेको र उनको कार्यशैली पार्टी विधान, विधिअनुसार नभएकाले त्यस्तो प्रतिबद्धता जनाउन नसकिने अडानमा छन् । ‘एक व्यक्ति एक पदको जिम्मेवारी’को एजेन्डा उठाउँदै आएका नेपाल अहिले पनि सो अडानमा अडिग रहेको बताइएको छ । त्यसैले सहमतिमा ओलीले दुई पदमध्ये एक पद छोड्नुपर्ने खालका बुँदाहरू समेट्नुपर्ने अडान वरिष्ठ नेता नेपालको छ ।
पार्टीभित्रको विवाद समाधानका लागि निरन्तर छलफलमा रहेको कार्यदलको प्रयासपश्चात् केही दिनअघि मात्रै ओली र नेपालबीच छलफल भएको थियो । सो छलफलपश्चात् पार्टी एकताको सन्देश दिनेगरी संयुक्त विज्ञप्ति आउने विश्वास नेताको थियो । तर, ठीक त्यसविपरीत कुनै सहमति नभएपछि कार्यदलका सदस्य अहिले पनि वार्ता गर्दै सहमति खोजिरहेका छन् ।
नेकपा भएको बेला अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपालले ओलीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेका थिए । एमाले ब्युँतिएपछि ओलीले नेपालसहित उनी निकट नेतालाई कारबाही गरे । तर, सर्वोच्च अदालतको फैसला र नेपाल समूह विपक्षीसँग मिल्दा आफू नै अप्ठ्यारोमा परेपछि ओली पार्टी एकताका लागि तयार भए ।
नेपाल समूह नयाँ दल दर्ता गराउने अन्तिम तयारीमा पुगेपछि दोस्रो तहका नेताहरूको दबाबका कारण ओली र नेपाल पार्टी एकताका लागि तयार भएका हुन् । तर, उनीहरूले आआफ्नो अडान नछोड्दा पार्टी एकतामा समस्या देखिएको हो ।
एमाले स्रोतका अनुसार पार्टी एकतापश्चात् अब हुन स्थानीय तह, प्रदेश सभा तथा प्रतिनिधिसभाको निर्वाचनमा आफू निकटका नेताहरूलाई ओलीले भेदभाव गर्न सक्ने भएकाले नेपाल सशंकित छन् । साथै पार्टीमा समेत ठोस जिम्मेवारी नदिने र निर्वाचनमा ओलीले पेल्न सक्ने भएकाले पार्टीको निर्णय सहमतिमा र आफ्नो हस्ताक्षरसहितको पत्र मात्रै आधिकारिता पाउनेगरी व्यवस्था लागू हुनुपर्ने अडानमा नेपाल रहेका छन् ।
ओली र नेपाल अदालतको फैसलाअनुसार अघि बढ्ने, २ जेठ २०७५ कै अवस्थाबाट पार्टी र जनवर्गीय संगठनहरूको सञ्चालन गर्ने, एमाले प्रवेश गरेका पूर्वमाओवादी केन्द्रका नेताहरूलाई पार्टीमा सम्मानका साथ जिम्मेवारी दिने विषयमा सहमत छन् । तर, केन्द्रीय कमिटीको संख्यामा अझै विवाद मिल्न सकेको छैन । मुख्य विवादित विषयमा दुवै नेताहरू सहमत भए पनि जारी हुने भनिएको संयुक्त विज्ञप्तिको भाषाबारे मतभेद कायम नै रहेको कार्यदलका एक सदस्यले बताए ।
सहमतिनजिक पुगेका छौंः कार्यदल
पार्टीभित्रको विवाद समाधानका लागि गठन भएको कार्यदल निरन्तर छलफलमै रहेको छ । सहमतिनजिक पुगेका कार्यदलका सदस्यहरूले शनिबार नै पार्टी एकताको घोषणा गर्ने दाबी गरेका छन् । शुक्रबार सिंहदरबारमा करिब ८ घण्टाभन्दा बढी समय छलफल भएपछि नेताहरूले केही विषय मात्रै मिलाउन बाँकी रहेको भन्दै शनिबार टुंगोमा पुग्ने दाबी गरेका हुन् ।
एमाले नेता सुवासचन्द्र नेम्वाङले कार्यदलभित्र सदस्यहरू सहमतिनजिक पुगेको र छिटै नै पार्टी एकताको सन्देश दिने अपिल जारी हुने बताए । विवादित विषयमा छलफल जारी नै रहेको बताउँदै आफूहरू सहमतिनजिक पुगिसकेको उनले बताए ।
एमाले प्रवक्ता एवं कार्यदलका सदस्य प्रदीप ज्ञवालीले शनिबार भाषिक शुद्धतालगायतका विषयलाई पूर्णता दिएर एकता टुंग्याउने बताए । कार्यदलको बैठकले एकताको आधार तयार गरिसकेको बताउँदै उनले भाषिक शुद्धता मिलाउन मात्रै बाँकी रहेको दाबी गरे ।
एमाले सचिव एवं कार्यदलका सदस्य गोकर्ण विष्टले लामो छलफलपछि सहमतिमा पुगेको दाबी गरे । आधा दर्जन विषयमा सहमति भइसकेको बताउँदै उनले एकाध विषयमा मात्रै सहमति जुटाउन बाँकी रहेकाले शनिबार सहमति जुट्ने बताए ।
एमाले नेता एवं कार्यदलका सदस्य रघुजी पन्तले सहमति भइसकेको र साझा भाषाको ड्राफ्ट तयार भइरहेको बताए । कार्यदलभित्र हरेक विषयमा सबै सदस्यहरूले आफ्नो धारणा राखिसकेको बताउँदै उनले अब जारी हुने संयुक्त अपिलको साझा भाषा तयार भइरहेको बताए ।
कार्यदलमा ओली समूहबाट संयोजक नेम्वाङ, सदस्यमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल रहेका छन् । यस्तै, नेपाल समूहबाट भीम रावल संयोजक र सदस्यमा घनश्याम भुषाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, रघुजी पन्त रहेका छन् ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












