चुनावमा अपवित्र गठजोड भयो, तर हामीले राजनीति जित्यौँ : शेखर कोइराला
काठमाडौं । कांग्रेस सभापतिमा पराजित नेता डा. शेखर कोइरालाले आफ्नो लडार्इँँ पार्टीभित्र हुर्केको र झ्याङ्गिएको अराजनीतिक प्रवृत्ति, गलत संस्कृति र संस्कारविरुद्ध भएको बताएका छन् ।
कोइरालाले शुक्रबार बिहान विज्ञप्ति जारी गर्दै पार्टीभित्र गुट र भागबण्डा अनि पार्टीको नाममा अँध्यारो कोठामा विधान बिपरित हुने निर्णयविरुद्ध आफूहरु लडिरहने दृढता व्यक्त गरेका छन् । ‘पार्टीभित्र रुपान्तरण र परिवर्तनको यो लडाई हामीलाई सहज थिएन’ कोइरालाले भनेका छन्, ‘शेरबहादुर देउवासँग मात्र हामी प्रतिस्पर्धा गरिरहेका थिएनौं, पार्टीभित्र हुर्केको र झ्याङ्गिएको अराजनीतिक प्रवृत्ति, गलत संस्कृति र संस्कारविरुद्ध हामी लडिरहेका थियौँ ।’
कोइरालाले कांग्रेसलाई एकढिक्का बनाएर मात्र हामी फेरि कांग्रेसलाई एक नम्वरको पार्टी बनाउने दृढता पनि व्यक्त गरेका छन् । ‘पार्टीको १४औँ महाधिवेशनको मत परिणामपछिका दिन राष्ट्रिय निर्वाचनको चहल पहल शुरु हुनेछ’ कोइरालाले भनेका छन्, ‘कांग्रेसलाई एक नम्वरको पार्टी बनाउन हामी फेरी हिमाल, पहाड र तराई–मधेश आउने नै छौं तपाईहरुको घर दैलोमा ।’
कोइरालाले पराजयबाट हतोत्साहित नहुन पनि आग्रह गरेका छन् । उनले भनेका छन्, ‘आशा छ कांग्रेस परिवर्तनको पक्षमा उभिने हामी मत परिणामबाट धेरै उत्साही र धेरै हतोत्साही हुनेछैनौँ । पार्टीको आन्तरिक निर्वाचनमा जय र पराजयलाई स्वभाविक रुपमा लिदै कांग्रेस रुपान्तरणको एजेन्डामा निरन्तर कृयाशिल हुनेछौँ ।’
कोइरालाको वक्तव्यको पूर्ण पाठः
प्रिय साथीहरु,
नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट पार्टीको केन्द्रीय सभापति चयन गर्ने प्रकृया पूरा भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा सभापतिमा निर्वाचित हुनुभएको छ । म उहाँलाई बधाई र शुभकामना दिन चाहन्छु । साथै उहाँको कार्यकालमा नेपाली कांग्रेसको गौरव पुनर्स्थापित हुनेछ भन्ने विश्वास पनि गर्दछु ।
पार्टीका अन्य पदाधिकारी र केन्द्रीय सदस्यहरुको मत गणना अगाडि बढ्दै छ । मत गणना सकिएर विजय हुनुभएका साथिहरुलाई हार्दिक बधाई । आशा छ कांग्रेस परिवर्तनको पक्षमा उभिने हामी मत परिणामबाट धेरै उत्साही र धेरै हतोत्साही हुनेछैनौँ । पार्टीको आन्तरिक निर्वाचनमा जय र पराजयलाई स्वभाविक रुपमा लिदै कांग्रेस रुपान्तरणको एजेन्डामा निरन्तर कृयाशिल हुनेछौँ ।
नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा म पार्टी सभापतिमा पराजित भएको छु । केही मतबाट पराजित भए पनि हामीले प्रतिनिधि साथीहरु र लोकतन्त्रवादीहरुको ‘मन’ जित्न सफल भएका छौं । पार्टीभित्र मात्र होइन, पार्टी बाहिरका आम लोकतन्त्रवादीहरु बीच पनि हामीले कांग्रेसप्रति आकर्षण बढाएका छौँ, भरोसा र विश्वासको वृद्धि गराएका छौं ।
मलाई प्राप्त मतले कांग्रेस सुधारको प्रकृयालाई अगाडि बढाउने थप जिम्मेवारी मेरो काँधमा आएको छ । मलाई प्रतिनिधि साथीहरुबाट प्राप्त ४० प्रतिशत मतले म भावविभोर भएको छु । प्रतिनिधि साथीहरुले म प्रति देखाएको विश्वास र भरोसा प्रति म अविचलित रहने प्रण गर्दछु ।
मलाई विश्वास छ, पार्टीका प्रतिनिधि साथीहरु, शुभेच्छुक मित्रहरु र आम नेपाली जनता बीच मेरो उम्मेदवारीले पार्टीलाई रुपान्तरण गर्ने र नयाँ ढंगले चलाउन चाहिने मत प्राप्त भएको छ । म लगायत मेरो टिम विश्वास दिलाउन चाहन्छ, हामी निरन्तर पार्टीलाई सुधार, नीतिमुखी र परिवर्तनकारी शक्तिको रुपमा सञ्चालन गर्न जागृत रहने छौँ ।
पार्टीभित्र रुपान्तरण र परिवर्तनको यो लडाई हामीलाई सहज थिएन । वर्तमान सभापति शेरबहादुर देउवासँग मात्र हामी प्रतिस्पर्धा गरिरहेका थिएनौं । पार्टीभित्र हुर्केको र झ्याङ्गिएको अराजनीतिक प्रवृत्ति, गलत संस्कृति र संस्कारविरुद्ध हामी लडिरहेका थियौँ । हामी लडिरहेका थियौँ पार्टीभित्र गुट र भागबण्डा अनि पार्टीको नाममा अँध्यारो कोठामा विधान बिपरित हुने निर्णय विरुद्ध ।
पार्टीलाई जवाफदेही, उत्तरदायी, पारदर्शी र जिम्मेवार बनाउने यो अभियानमा हामीसँग लड्न राजनीतिक सिद्धान्त थियो । हामीसँग उर्जावान युवाहरुको समूह थियो । पार्टीमा यथास्थिति चाहने सबैको अपवित्र गठजोड पनि हामी विरुद्ध भयो, तर पनि हामी लड्यौँ र राजनीति जित्यौँ ।
पार्टीको १४औँ महाधिवेशनको प्रतिस्पर्धा पार्टी भित्र यथास्थितिवादी र परिवर्तनकारी बीच थियो । हामी परिवर्तनकारी शक्ति थियौँ । हामीसँग निष्ठावान कार्यकर्ताहरुको भरोसा र विश्वास थियो । हामीसँग हाम्रा अग्रज मूर्धन्य नेताहरु विपी कोइराला, सुवर्ण शमशेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला, महेन्द्रनारायण निधी लगायत कैयन ज्ञात अज्ञात शहिदहरुको प्रेरणा थियो । जसलाई हामीले छातिमा राखेर कांग्रेसमा परिवर्तनको लागि नेपालका गाउँ शहर, हिमाल पहाड र तराई – मधेश गयौ ।
हामी कांग्रेस कार्यकर्ता साथीहरुको घर दैलोमा पुग्यौँ । हामी काठमाण्डौँको आराम जीवन छोडेर जब गाउँ घर पुग्यौँ कांग्रेस हुनुको गौरव र भावना बुझ्यौँ । कांग्रेसको १४औँ महाधिवेशनबाट आउने परिणामको महत्व आफ्नो ठाउँमा छ तर हामीले कांग्रेस यथास्थितिमा चल्न सम्भव छैन भन्ने सन्देश सम्पूर्ण कांग्रेसजनमा मात्र होइन आम नेपालीको घर दैलोमा पु¥याएका छौँ ।
म आभार प्रकट गर्दछु, ती तमाम प्रतिनिधि साथीहरुप्रति जसले अनेकन् प्रतिकुलताको बीच पनि हामीप्रति निरन्तर विश्वास र भरोसा प्रकट गर्नुभयो । म आभार प्रकट गर्छु ती तमाम सञ्चारकर्मीहरुप्रति जसले हामीलाई कांग्रेस सुधारको प्रकृयामा सकृय भै सहयोग र समर्थन प्रदान गर्नुभयो ।
सञ्चार क्षेत्रको सहयोग नभएको भए हाम्रो एजेन्डा सीमित श्रोत र साधनको कारण आम कांग्रेसजन र प्रवुद्ध नागरिकसँग जोडिन सम्भव थिएन । म आभारी छु, ती तमाम लोकतन्त्रवादी नागरिकप्रति जसले हामीलाई निरन्तर निष्ठाप्रति अविचलित रहन प्रेरणा मात्र दिनु भएन दबाव पनि दिनुभयो । निर्वाचन समितिले अनेक प्रतिकुल परिस्थितिको सामना गर्दै लामो प्रकृयामा गएको कांग्रेस महाधिवेशनलाई अहोरात्र खटेर सम्पन्न गरेकोमा धन्यवाद दिन चाहन्छु ।
अन्त्यमा,
पार्टीको १४औँ महाधिवेशनको मत परिणामपछिका दिन राष्ट्रिय निर्वाचनको चहल पहल शुरु हुनेछ । कांग्रेसलाई एकढिक्का बनाएर मात्र हामी फेरी कांग्रेसलाई एक नम्वरको पार्टी बनाउन सक्छौं । कांग्रेसलाई एक नम्वरको पार्टी बनाउन हामी फेरी हिमाल, पहाड र तराई–मधेश आउने नै छौं तपाईहरुको घर दैलोमा ।
हामीप्रति देखाएको स्नेह, सहयोग र सद्भावप्रति म धन्यवाद ज्ञापन गर्दछु र भविष्यमा पनि हामीलाई यस्तै माया र सद्भावको अपेक्षा गर्दछु । धन्यवाद ।
Comments
अरु समाचार
-
प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले लिए शपथ
काठमाडौं। प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन्। बिहीबार दिउँसो सिंहदरबारस्थित नयाँ संसद् भवनमा आयोजित समारोहमा उनीहरूले पद तथा गोपनीयताको...
-
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज
काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ आज अपराह्न २ः०० बजे हुने भएको छ । शपथका लागि सबै...
-
राष्ट्रपतिसमक्ष सर्वोच्च अदालत, न्यायपरिषद् र न्यायसेवा आयोगको वार्षिक प्रतिवेदन पेस
काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सर्वोच्च अदालत, न्यायपरिषद् र न्यायसेवा आयोगको आर्थिक वर्ष २०८१/०८२ को...
-
कस्तो छ सिंहदरबार परिसरमा निर्माणाधीन संसद भवन ?
काठमाडौँ । मुलुकमा संविधानसभा सदस्यको निर्वाचनपछि २०६५ जेठदेखि सिंहदरबारभन्दा बाहिर बस्दै आएको संसद् अधिवेशन १७ वर्षपछि सिंहदरबारमै बस्न लागेको छ...
-
पार्टीको आधिकारितासम्बन्धी मुद्दाको फैसला नभई कांग्रेसको नियमित महाधिवेशन हुँदैनः देउवा पक्ष
काठमाडौं । निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले अदालतमा विचाराधीन पार्टीको आधिकारितासम्बन्धी मुद्दाको फैसला नभई नेपाली कांग्रेसको नियमित महाधिवेशन गर्न नहुने...
-
वित्तीय लगानी न्यूनीकरणका लागि सहयोग गर्न गृह मन्त्रालयको आग्रह
काठमाडौं । गृह मन्त्रालयले सम्पत्ति शुद्धीकरणमा वित्तीय लगानी न्यूनीकरणका लागि आवश्यक सहयोगका लागि आग्रह गरेको छ । मन्त्रालयले एक...
-
निर्वाचनको समीक्षा गर्न आज कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक, गगन थापा उपस्थित हुने
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । आज दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद...
-
निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन सर्वसम्मत नेतृत्व चयन गरौं : चन्द्र ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन आगामी निर्वाचनमा सर्वसम्मत नेतृत्व चयन गर्न...
-
निर्वाचनको समीक्षा गर्न भोलि (मंगलबार) केन्द्रीय कार्यसमितिको बैठक, गगन थापाले सभापतित्व गर्ने
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । भोलि (मंगलबार) दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको कार्यवाहक मुख्यसचिव...












