गगन थापालाई रविन्द्र मिश्रको खुल्लापत्र-‘कांग्रेसलाई बीपीको मार्गमा फर्काउने चेष्टा गर्नुभयो भने तपाईं ‘राजनेता’ बन्नुहुनेछ’
देशभन्दा माथि विचार कसरी हुन्छ?
काठमाडौँ । राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई खुल्ला पत्र लेखेका छन् ।
महामन्त्री थापाले बुधवार अन्तर्राष्ट्रिय आदिवासी दिवसको सन्दर्भमा बोल्ने क्रममा ‘विचारभन्दा माथि देश’ मान्ने पार्टी कांग्रेस होइन भन्ने अभिव्यक्तिको आलोचना गर्दै मिश्रले थापालाई खुल्ला पत्र लेखेका हुन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत पत्र लेख्दै मिश्रले कांग्रेसले लिएको विचार सिद्धान्तमाथि टिप्पणी गर्दै महामन्त्री थापाले दिएको अभिव्यक्तिको कटाक्ष गरेका छन् ।
यस्ताे छ खुलापत्र:
प्रिय गगनजी,
तपाईंले अन्तर्राष्ट्रिय आदिवासी दिवसको सन्दर्भमा बोल्ने क्रममा “विचारभन्दा माथि देश” मान्ने पार्टी कांग्रेस होइन। कांग्रेस विचार र सिद्धान्तमा चल्ने पार्टी हो” भन्नुभएको रहेछ। तपाईंप्रति मेरो धेरै सम्मान छ तर थोरै विमति राख्नै पर्ने देखेर यो छोटो टिप्पणी गरेको छु। विचार व्यक्तिको हुन्छ — व्यक्ति एकल हुन्छ। विचार पार्टीको हुन्छ — पार्टी समूहको हुन्छ। देश — सबै जनताको हुन्छ, जसभित्र व्यक्ति र पार्टी दुबैको विचार अटाउनु पर्छ। अनि देशभन्दा माथि विचार कसरी हुन्छ? देशभन्दा ठूलो सिद्धान्त कसरी हुन्छ? जुन समयसम्म नेपाली कांग्रेसले देशलाई प्रधानता दियो, कांग्रेस ठिक ठाऊँमा थियो। पहिले पनि भनेको/लेखेको छु, बीपी कोइराला वैचारिक रूपमा राजसंस्थावादी हुनै सक्दैन थिए, किनभने उनी उत्कृष्टता (meritocracy) मा विश्वास गर्दथे।
उत्कृष्टताले ‘कर्मसिद्ध अधिकार’मा विश्वास गर्छ, जब कि राजसंस्था (monarchy) ले ‘जन्मसिद्ध अधिकार’मा विश्वास गर्छ। ती एक-आपसमा बाझिने विचार हुन्। तर ती दुबै विचारभन्दा माथि माथि देश हुन्छ। देशको भूराजनीतिक र आन्तरिक अवस्थालाई मनन गरेर वैचारिकरूपमा आफू राजसंस्थावादी नभए पनि बीपी कोइरालाले अत्यन्त कठिन घडीमा समेत आफ्नो विचारभन्दा माथि देशलाई राखे र त्यसै अनुरूप क्रियाशील रहे।
त्यसैले उनी ‘राजनीतिकर्मी’ होइन, ‘राजनेता’ कहलिए। तर जहाँबाट तपाईं लगायतका कतिपय कांग्रेसी नेताले जानी-नजानी देशभन्दा विचारलाई प्रधान बनाएर गणतन्त्रको नाममा कांग्रेसलाई ‘प्रचण्डीकरण’को दिशामा लैजानुभयो, त्यही विन्दूबाट कांग्रेस र देश दुबैको अधोगति तिब्र भयो। आज देश विश्व विख्यात पत्रिका The Economist लगायत धेरैको आँखामा “Fragile (अति कमजोर) अथवा Failing (असफलता-उन्मुख) राज्य” भएको छ। शब्द र आफ्नो अनुकूलता अनुरूपका तथ्याङ्कको लेप लगाएर मात्र यो डरलाग्दो अवस्था छोपिन सक्दैन।
त्यसले देशको हित गर्दा पनि गर्दैन। आज आफ्नै कार्यकर्ता र नेताको घाँटी रेट्ने, छातिमा गोली ठोक्ने माओवादीको वैशाखी नटेकी कांग्रेसले राजनीति गर्नै नसक्ने भएको छ। गरिहाल्यो भने पनि त्यसले कांग्रेसको पुरानो प्रतिष्ठा र गौरव फर्काउन नसक्ने अवस्थामा पुगेको छ। कांग्रेस यस्तो अवस्थामा पुगिसक्यो, हेरिराख्नोस्, तपाईं नै प्रधानमन्त्री हुनुभयो भने पनि, तपाईंले फाट्टफुट्ट केही राम्रा काम बाहेक समग्र देश रूपान्तरणको कार्य गर्नै सक्नुहुन्न। त्यतिबेला “म देशको प्रधानमन्त्री भएँ” भन्ने भावनालाई नै तपाईंले जीवनको सबैभन्दा ठूलो उपलव्धिका रूपमा हेर्नु पर्ने अवस्था आउने छ।
प्रधानमन्त्री हुनु राजनीतिक जीवनको उत्कर्ष हो — त्यो आफैँमा उपलब्धि होइन। त्यसपछि तपाईंले “यो, यो कारणले मैले केही गर्न सकिन” भनेर अन्तर्वार्ता दिँदै हिँड्नु पर्नेछ, जसरी अहिले “महामन्त्री भए पनि मैले यो, यो कारणले केही गर्न सकिन” भन्दै औचित्य दर्शाउनु पर्ने स्थिति छ। के कांग्रेसले विचार प्रधान भएकै कारण सरकारी वेतनधारीको भातृ संगठन चलाएको हो, जसले विद्यालय, विश्वविद्यालय, कर्मचारीतन्त्रदेखि सबै संस्थालाई ध्वस्त-ध्वस्त बनाइसकेको छ ? समाजका पत्र-पत्रलाई पतित बनाइसकेको छ।
के कांग्रसले विचार प्रधान भएकै कारण पेशाकर्मीहरूको भातृ संगठन बनाएको हो, जसले गर्दा तपाईंहरू जस्ता सांसद वकिलको भातृ संगठन बनाएर संसदमा मच्चीमच्ची “न्यायलय राजनीतिकरण भयो” भनेर विरोधाभाषपूर्ण भाषण गर्न वाध्य हुनुभएको छ? के कांग्रेसले विचार प्रधान भएकै कारण कांग्रेसका सांसदहरूले नीतिगत भ्रष्टाचारको एउटा ज्वलन्त नमूना “सांसद विकास कोष” लिएको हो, जसमा संघ र प्रदेश दुबै गरेर वार्षिक रूपमा झण्डै रू १७ अर्ब खर्च हुन्छ ? जबकी स्वास्थ्यमन्त्री भइसकेका कारण तपाईंलाई थाहा छ, देशमा सरकारी डाक्टर लगभग १,४०० मात्र छन्।
निजी डाक्टरहरू झण्डै १९ हजार छन्। झण्डै २० वर्षदेखि सरकारी डाक्टरको दरबन्दी खुलेको छैन। तत्काल ७ हजार सरकारी डाक्टरको आवश्यकता भएको विज्ञहरू बताउँछन्। वार्षिक रू १७ अर्ब स्वास्थ्य क्षेत्रमा खर्च गर्ने हो भने तुरून्तै ७ हजार सरकारी डाक्टर भर्ना गर्न सकिन्छ। यसले कति विपन्न नेपालीको कल्याण गर्थ्यो, त्यो गनेर गरेर साध्यै हुँदैन। यस्ता अनगिन्ती विषयहरू छन्। यी विषयमा पार्टीभित्र र पार्टी बाहिर तपाईंले बोल्दा त्यसको धेरै प्रभाव हुन्छ किनभने तपाईं ठूलो पार्टीको महामन्त्री हुनुहुन्छ। म चुनाव हारेको मान्छे हुँ, मैले बोल्दा खासै असर पर्दैन। तर अधिकांश नेताले यस्ता विषय बोल्नै सक्दैनन् किनभने उनीहरूका लागि देशभन्दा माथि व्यक्ति, पार्टी र विचार छ।
राजनीतिक स्वार्थ छ। पदीय आकांक्षा छ। फेरि भनौँ: प्रधानमन्त्री हुनु राजनीतिक जीवनको उत्कर्ष हो — त्यो आफैँमा उपलब्धि होइन। राजनीति सही ट्र्याकमा ल्याउन सक्नु र देशको दूरगामी हितसहितको रूपान्तरण गर्न सक्नु चाहिँ उपलब्धि हो। तपाईं चार पटक सांसद, एक पटक मन्त्री र पार्टीको महामन्त्री भएको मान्छे, तपाईंले विचारभन्दा माथि देशलाई राखिदिनुभयो र कांग्रेसलाई बीपीको मार्गमा फर्काउने चेष्टा गर्नुभयो भने, यो देश र कांग्रेस पार्टीका लागि त्यो भन्दा ठूलो देन अर्को हुने छैन। तपाईं ‘राजनीतिकर्मी’बाट ‘राजनेता’ बन्नु हुनेछ! राजनेता बन्ने कि राजनीतिकर्मी बन्ने आफैँ निर्क्यौल गर्नुहोला।
मेरा टिप्पणी र सुझावलाई तपाईं “चुनाव हार्ने नेताको ठूला कुरा” भनेर पनि लिन सक्नुहुन्छ। अथवा, “चुनाव हारे पनि यसका कुरामा दम छ” भनेर पनि सोच्न सक्नुहुन्छ। बाँकी तपाईंको निर्णय।
स-स्नेह
रवीन्द्र मिश्र
(झिनो मतले दुई पटक चुनाव हारेको तर हरेस नखाएको व्यक्ति)
पुनश्च: कांग्रेसका नेता तथा कार्यकर्ता वैचारिक स्वतन्त्रतामा विश्वास गर्छन्। त्यसैले भद्ररूपमा फरक धारणा राखेकै कारण तथानाम गाली गर्नुहुने छैन भन्ने विश्वास लिएको छु। यसमा भद्रतापूर्वक आउने फरक धारणालाई सदा झैँ सम्मान गर्ने नै छु।
Comments
अरु समाचार
-
पेट्रोलियम उत्खननका लागि सम्झौताको गृहकार्य
काठमाडौं । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्खननका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य गरेको छ । विभागले व्यावसायिक उत्खननका लागि...
-
फागुनको निर्वाचन परिणाम अस्वभाविक, संविधान र लोकतन्त्र संकटमा : ओली
काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको संविधान, लोकतान्त्रिक गणतन्त्र र संसदीय लोकतन्त्रमाथि गम्भीर चुनौती उत्पन्न भएको दाबी...
-
टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस (फोटो फिचर)
काठमाडौँ । काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा शुक्रबार विशेष समारोहको आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ । उक्त समारोहमा राष्ट्रपति रामचन्द्र...
-
गणतन्त्र दिवसमा राष्ट्रपतिकाे सन्देश: सुशासन र समृद्धिमा जोड
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पाैडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई विश्वकै उत्कृष्ट राजनीतिक व्यवस्था भएको बताउँदै सुशासन, सामाजिक न्याय र समृद्धिका लागि...
-
गणतन्त्र दिवस देशभर मनाइँदै, गणतन्त्र समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने
काठमाडौं । आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।...
-
राष्ट्रिय सभामा आर्थिक सर्वेक्षण पेस, अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने
काठमाडौँ । सरकारले राष्ट्रिय सभामा ‘आर्थिक सर्वेक्षण २०८२ र २०८३’ पेस गरेको छ । बुधबार बसेको सभाको बैठकमा अर्थमन्त्री डा....
-
बैठक चल्दाचल्दै रोस्ट्रमबाट माइक फाल्ने पूर्वमुख्यमन्त्री राईको प्रयास
विराटनगर । कोशी प्रदेश सभाको बैठकमा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रमको माइक फाल्ने प्रयास गरेका छन् । प्रतिपक्षीको विरोधका बावजुत सभामुख...
-
आज पनि प्रतिनिधिसभा बैठक, अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची
काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । आजको बैठकमा...
-
वीरगञ्ज महानगरपालिकाका मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी
वीरगञ्ज । बीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह विरुद्ध मंगलबार पक्राउ पुर्जी जारी भएको छ । लिखत सम्बन्धी कसुरमा जिल्ला अदालत...












