कागती खेतीप्रति कृषकको आकर्षण
काठमाडौं । पछिल्लो समय दिनप्रति दिन युवा शिक्षा तथा रोजगारीका लागि विदेशी जान थालेपछि गाउँ सुनसान बन्दैछन् । सुनसान गाउँका खेतीयोग्य जमिनमा वनमारा पलाउन थालेका छन् । गाउँमा भएका बालबालिका पढ्नका लागि बजार आउन थालेका छन् । अहिले धेरैको रोजाइ विदेश र सहररबजार पर्न थालेको छ ।
बागलुङको निसीखोला गाउँपालिका–५ कारिगाउँका धर्मराज पोखरेलले भने गाउँमा कृषि कर्मबाट मनग्य आम्दानी गरिरहनुभएको छ । पोखरेल पनि १२ वर्ष अगाडिसम्म विदेशमै हुनुहुन्थ्यो । पच्चीस वर्ष भारत र दुई वर्ष कतारमा पसिना बगाउनुभएका उहाँले १० वर्षदेखि व्यावसायिक कृषि कर्ममा लाग्नुभएको छ ।
पोखरेल बिहान उठेदेखि राति नसुतुन्जेलसम्म बारीमै काम गनुहुन्छ । उहाँको बारीमा कागती, सुन्तला, टिमुर लटरम्म फलेका देखिन्छन् । अहिले तीन सय बोट कागती, झन्डै एक सय सुन्तला र २५ टिमुरका बाट रहेका पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार सबै बोटमा फल लागेका छन् ।
‘कागती खेतीलाई विशेष प्राथमिकतामा राखेको छु । कागतीसँगै सुन्तला र टिमुर उत्पादन राम्रै भइरहेको छ’, पोखरेलले भन्नुभयो, ‘बोटबाटै रू एक सयमा कागती बिक्री हुन्छ ।’उहाँले कागतीको माग पहिलेको तुलनामा अहिले बढे्को भन्दै यहाँ उत्पादित कागती स्थानीय बजारका साथै बुटवलसम्म जाने गरेको बताउनुभयो । यस वर्ष रू १३ लाख बढीको कागती, सुन्तला र टिमुर बिक्री भएको उहाँले जानकारी दिनुभयो ।
वर्षभरी घरपरिवारसँगै बसेर काम गर्दा लाखौँ आम्दानी गर्न सकिने भएकाले विदेश गएर परिश्रम गर्नुभन्दा स्वदेशमै स्वरोजगार बन्नु उपयुक्त हुने पोखरेलले सुझाव दिनुभयो । कागतीसँगै यसबाट बनेको काँचो तथा पकाएको चुकसमेत बजारमा पठाउने गरेको उहाँले बताउनुभयो । कागती खेतीमा कृषकको राम्रो भविष्य रहेको जनाउँदै उहाँले यो बहुउपयोगी हुनेहुँदा धेरै ठाउँबाट माग आउने गरेको बताउनुभयो । गाउँमा भएका बाँझो जमिनमा पनि कागती खेती विस्तार गर्ने योजना रहेको पोखरेलले सुनाउनुभयो ।
‘हाम्रो ठाउँमा कागती राम्रो उत्पादन हुन्छ । छोटो समयमा धेरै उत्पादन गर्नसक्ने, जाडो र गर्मी दुवै याममा खपत हुने भएकाले पनि बजारमा यसको माग धेरै छ’, उहाँले भन्नुभयो, ‘पहिले माग धेरै आएपछि उत्पादन बढाएको थिए । अहिले भनेअनुसारको बजार पाउन सकिरहेको छैन । उत्पादन भएका सबै कागतीले बजार पाउने हो भने यसबाट मात्रै लाखौँ कमाउन सकिन्छ ।’
पोखरेल जस्तै बागलुङमा थुप्रै कृषक कागती खेतीतर्फ आकर्षित भएका छन् । एकदशक अगाडिसम्म जिल्लामा परम्परागत खेती हुने गरेकामा पछिल्लो समय यहाँका किसान व्यावसायिकरुपमा कागती खेतीतर्फ आकर्षित भएका हुन् । निसीखोला, बडिगाड, गलकोट, बरेङ, काठेखोलालगायत अधिकांश पालिकामा कागती खेती गर्नेको सङ्ख्या बढेको छ । पाँच वर्ष पहिले बागलुङका बजारमा भारतबाट आयातित कागती पाइन्थ्यो तर अहिले स्थानीयस्तरमै उत्पादन भएका कागती बजारमा आउने गरेका स्थानीय बताउँछन् ।
निसीखोला–४ झिम्पाका रेमबहादुर क्षेत्रीले १८ वर्ष कतारमा बिताउनुभयो । लामो समय विदेशमा बिताउँदा नपाएको खुसी अहिले आफ्नै बारीमा कागती खेती गरेर पाएको उहाँले अनुभव सुनाउनुभयो । हाल चार सय कागतीका बोटमध्ये दुई सयले फल दिन थालेका क्षेत्रीले बताउनुभयो । उहाँका अनुसार बारीमा कागतीसँगै एभोकाडो र टिमुरका बोट पनि छन् । सात वर्षदेखि व्यावसायिकरुपमा कागती खेती थाल्नुभएका क्षेत्रीले यस वर्ष रू चार लाख बराबरको बिक्री गरेको जानकारी दिनुभयो ।
‘विदेशमा धेरै दुःख गरियो, सुख मिलेन । अहिले परिवारसँगै बिहान बेलुका आफ्नै बारीमा काम गर्छु, फलफूलसँगै रमाउछु, आम्दानी पनि राम्रो हुँदै गएको छ’, उहाँले भन्नुभयो, ‘पहिले बाध्यताले विदेश गएँ, पैसा आफ्नै बारीमा कमाउन सकिने रैछ ।’ क्षेत्रीले सात वर्षदेखि कागती खेतीमा लगानी गर्दै आएको जनाउँदै अहिले प्रतिफल आउन थालेको बताउनुभयो । उत्पादित कागती बिक्री हुन थालेपछि जीविकोपार्जनमा सहज भएको उहाँको भनाइ थियो ।
समुद्री सतहबाट एक हजार पाँच सय मिटरसम्म कागती खेतीको राम्रो सम्भावना रहेका कृषि ज्ञानकेन्द्र बागलुङले जनाएको छ । जिल्लामा ४० हेक्टर क्षेत्रफलमा कागती खेती गरिँदै आएको केन्द्रका सूचना अधिकारी कुमार पुन मगरले जानकारी दिनुभयो । ‘कागती स्वास्थ्यका लागिसमेत निकै लाभदायक मानिन्छ । यसबाट भिटामिन ‘सी’ प्राप्त हुन्छ’, उहाँले भन्नुभयो, ‘यसको काँचो र पकाएको चुक, अमिलो अचारलगायत विभिन्न परिकार बनाएर बिक्री गर्न सकिन्छ ।’
सूचना अधिकारी मगरले ४० हेक्टरमा खेती गरिए पनि अहिले २५ हेक्टरबाट उत्पादन भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाभर तीन सय मेट्रिक टन कागती उत्पादन हुने गरेको छ । पछिल्लो समय कागती खेतीको उत्पादन हुने क्षेत्रफल बढ्दो क्रममा रहेको भन्दै उहाँले केन्द्रले कृषकलाई बिरुवा वितरण, कागती खेतीसम्बन्धी तालिम तथा परामर्श सेवा दिँदै आएको बताउनुभयो ।
‘जिल्लामा कागती खेतीको क्षेत्र व्यापकरुपमा विस्तार भइरहेको छ । उत्पादन पनि हरेक वर्ष बढेको पाएका छौँ, बजारका लागि खास्सै गुनासो आएको छैन, कतिपय किसानले गाउँ नजिकैको बजारमा बिक्री गर्नुहुन्छ भने कतिले बुटवललगायत सहरसम्म पुर्याउने गर्नुभएको छ’, सूचना अधिकारी मगरले भन्नुभयो, ‘कागतीखेती गर्दा किसानलाई आइपरेका समस्या समाधानका लागि हामी लागिरहेका छौँ । अहिले समस्या नआए पनि आउँदाबित्तिकै कृषकलाई खबर गर्न भनेका छौँ ।’ बजार व्यवस्थापन, बिरुवा वितरण, रोग लागेमा रोगको पहिचान गरी उपचार, आवश्यक परामर्शलगायत काममा केन्द्र सहजीकरण गर्न तयार रहेको उहाँको भनाइ थियो ।
Comments
अरु समाचार
-
रविविरुद्धको सङ्गठित अपराध मुद्दा फिर्ता लिन अदालतको अनुमति
काठमाडौँ। जिल्ला अदालत काठमाडौँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराधसम्बन्धी अभियोगको मुद्दा फिर्ता लिन अनुमति दिएको छ...
-
अदालतबाट हुने फैसला सरकारको हार–जित होइन : मुख्य रजिस्ट्रार पौडेल
काठमाडौँ । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले अदालतका निर्णयलाई सरकारको जित वा हारका रूपमा व्याख्या गर्नु उपयुक्त नहुने...
-
रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री शाह सहभागी हुने
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी असार ७ गतेदेखि चितवनमा सुरु हुने प्रथम महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
विभागले म्यानपावर कम्पनीलाई भन्यो- विदेशमा रहेका श्रमिकको अवस्थाबारे नियमित अनुगमन गर्नु
काठमाडौं । वैदेशिक रोजगार विभागले इजाजतप्राप्त म्यानपावर कम्पनीहरूलाई आफूहरूले वैदेशिक रोजगारीमा पठाएका नेपाली श्रमिकहरूको अवस्था नियमित रूपमा अनुगमन गर्न निर्देशन...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...
-
त्रिभुवन विमानस्थलबाट २७ महिला रोकिए, मानव बेचबिखनमा परेको आशंका
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जान लागेका २७ महिलालाई मानव बेचबिखनको आशंकामा रोकिएको छ। बुधबार उनीहरूलाई विदेश लैजान खोजिएको...
-
‘सरकारको मुख्य प्राथमिकता भ्रष्टाचार नियन्त्रण र सुशासन कायम’
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन्। प्रतिनिधिसभामा गृह मन्त्रालयअन्तर्गत...











