सडक दुर्घटनामा परि १५ वर्षमा ३३ हजारको मृत्यु, ७२ हजार गम्भीर घाइते
काठमाडौं । नेपालमा सडक दुर्घटनामा परि १५ वर्षमा ३३ हजारको मृत्यु, ७२ हजार गम्भीर घाइते भएको तथ्याङ्क सार्वजनिक भएको छ ।
सडक दुर्घटनालाई ५० प्रतिशतले घटाउने सरकारी प्रतिबद्धता दिगो विकास लक्ष्य र अन्तर्राष्ट्रिय घोषणामा भएपनि ति सबै घोषणामा सीमित छन् । । सडक दुर्घटनाको तथ्यांकले यति भयानक चित्र देखाउँछ कि देशभर दैनिक ५५ सवारीसाधन दुर्घटनामा पर्छन् । सवारी दुर्घटनामा दैनिक ६ जनाको मृत्यु र १२ जना गम्भीर घाइते हुन्छन् । प्रहरी प्रधान कार्यालयका अनुसार पछिल्लो साढे १५ वर्षमा (०६५–०६६ देखि ०८०–०८१ मंसिरसम्म) देशभर ३ लाख १६ हजार २१२ सवारीसाधन सडक दुर्घटनामा परेको रेकर्ड छ । अर्थात् दैनिक औसत ५५ सवारी दुर्घटना भए । साढे १५ वर्षमा कुल ३२ हजार ८ सय ६१ जनाले सवारी दुर्घटनामा ज्यान गुमाए । ७१ हजार ७ सय ९९ जना गम्भीर घाइते भए ।
नेपालमा सडक दुर्घटनाबाट मृत्यु र घाइते हुनेमा महिलाको तुलनामा पुरुषको संख्या बढी छ । ०७८–०७९ को तथ्यांकअनुसार देशभर ३९ हजार ३७९ सवारी दुर्घटना हुँदा मृत्यु हुने महिला ४५० र पुरुष २ हजार २११ थिए । गम्भीर घाइते हुने महिला १ हजार ३२० र पुरुष ५ हजार १४७ जना थिए । सडकमा सवारी दुर्घटना नेपालमा मात्रै होइन, विश्वकै समस्या बनेको छ । विश्व स्वास्थ्य संगठनले सन् २०२३ को डिसेम्बरमा प्रकाशित गरेको अध्ययनअनुसार विश्वभर हरेक वर्ष औसत ११ लाख ९० हजारले सडक दुर्घटनामा ज्यान गुमाइरहेका छन् ।
सवारी चालकको तीव्र गति, मादक पदार्थ सेवन तथा मानसिक असन्तुलन, मोटरसाइकल चालकले हेल्मेटको प्रयोग नगर्ने, सिट बेल्ट नलगाउने, बच्चालाई असुरक्षित तरिकाले बोक्ने, सवारी चलाउँदा विचलित हुने, असुरक्षित सडक संरचना र मानवीय त्रुटिले हुने दुर्घटनामा विश्वभर बर्सेनि २ देखि ५ करोड मानिस घाइते हुने गरेका छन् । घाइतेमध्ये धेरैलाई अपांगता भएको छ ।
संयुक्त राष्ट्रसंघले सन् २०११ देखि २०२० लाई सडक दुर्घटनाबाट हुने मृत्यु र घाइते दर घटाउने दशकका रूपमा मनाएको थियो । नेपालले यसलाई अनुमोदन गर्दै सन् २०२० भित्रमा ५० प्रतिशतले सडक दुर्घटनाबाट हुने मृत्यु र घाइते दर घटाउने प्रतिबद्धता गर्यो र सडक सुरक्षा कार्ययोजना पनि लागू गर्यो । तर, संयुक्त राष्ट्रसंघको उक्त अभियान नेपालसहित अन्य देशमा नतिजामुखी भएन । यही अवधिमा हरेक वर्ष ७ देखि ८ प्रतिशतका दरले सडक दुर्घटना दर बढ्यो । नेपालमा यो अवधिमा सडक दुर्घटनाको वार्षिक मृत्युदर सबैभन्दा कम १ हजार ६ सय ८९ देखि ११ सयले बढेर २ हजार ७ सय ८९ सम्म पुगेको थियो ।
२०२० फेब्रुअरीमा सडक सुरक्षासम्बन्धी स्वीडेनको स्टकहोममा भएको तेस्रो विश्व मन्त्रीस्तरीय सम्मेलनमा नेपालले सडक दुर्घटना मृत्यु र घाइते दर सन् २०३० सम्म (दिगो विकास लक्ष्यसमेत) मा ५० प्रतिशत र सन् २०५० सम्ममा शून्यमा झार्ने प्रतिबद्धता गरेको छ । स्टकहोम घोषणापत्र नाम दिइएको उक्त प्रतिबद्धतामा तत्कालीन भौतिक पूर्वाधारमन्त्री वसन्तकुमार नेम्वाङ सामेल थिए । नेपालले सन् २०२१ देखि २०३० सम्मका लागि पुनः सडक सुरक्षा कार्ययोजना लागू गरेको छ । नेपालमा प्रति १०० किलोमिटर सडकमा ६४६ दुर्घटना हुने गरेको उक्त कार्ययोजनामा उल्लेख छ ।
साँघुरा र मापदण्डबिना निर्माण गरिएका सडक सवारी दुर्घटनाका प्रमुख कारण बनेको प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिको ‘सवारी दुर्घटना न्यूनीकरण अध्ययन उपसमितिको प्रतिवेदन ०७७’ ले समेत औंल्याएको छ । यस्ता सडकमा सवारी दुर्घटना गम्भीर चुनौती बनेको भन्दै राज्यका प्रचलित कानुन, नीति तथा प्रणालीमा रहेका कमीकमजोरी पहिचान गरेर दुर्घटना न्यूनीकरण प्रयास पहिल्याउन पूर्वसांसद गणेशकुमार पहाडीको संयोजकत्वमा ०७६ पुस ४ मा उपसमिति गठन गरिएको थियो ।
उपसमितिले काठमाडौंका विभिन्न अस्पताल, प्रदेशस्तरीय स्थलगत अध्ययन गरेर प्रतिवेदन तयार पारेको थियो । २० वर्ष पुराना सवारीसाधन चलाउन बन्द गर्नुपर्ने, गति नियन्त्रण गर्नुपर्नेलगायत यान्त्रिक सुधार, सडक संरचना सुधार, सवारी चालकलाई तालिम, सरोकारवाला, यात्रु, पैदल यात्रीलाई विद्यालय तहदेखि सडक सुरक्षाको पढाइ, जनचेतनालगायत मुख्य ९ बुँदामा सुझाव विकास समितिमा पेस गरेको थियो । सन् १९९० को दशकमा स्थापना गरेर हाल निष्क्रिय रहेको अधिकार सम्पन्न राष्ट्रिय सडक सुरक्षा परिषद्लाई कार्यादेश दिएर सक्रिय बनाउनुपर्ने उपसमितिको सुझाव छ ।
विकास तथा प्रविधि समितिकी तत्कालीन सभापति कल्याणी खड्का सरकारलाई दिएका महत्त्वपूर्ण निर्देशन पूर्ण रूपमा पालना नगरेको बताउँछिन् । ‘हामीले समितिको बैठकमा भौतिक पूर्वाधार मन्त्रालयकै उपस्थितिमा सबै निष्कर्ष र सुझावअनुसार निर्देशन दिएका थियौं,’ उनले भनिन्, ‘निर्देशनपछि ट्राफिक नियम पालना गराउने, लेन पालना गराउने, हेभी इक्युपमेन्टका सवारी सुरक्षित तवरले चलाउनेजस्ता केही काम ट्राफिक प्रहरीले गरेको थियो, बाँकी त कार्यान्वयन नै भएनन् ।’
प्रहरी प्रधान कार्यालयका प्रवक्ता भीमप्रसाद ढकालका अनुसार असुरक्षित सडकमा सवारी चलाउँदा, ओभर लोड र ट्राफिक नियम पालना नगर्दा दुर्घटना भइरहेको छ । त्यसमा पनि मोटरसाइकल दुर्घटना बढी छ । दुर्घटनासम्बन्धी नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ अनुसार दुर्घटनाका कुल मृत्यु वा घाइतेमध्ये सबैभन्दा बढी ६८ प्रतिशत मोटरसाइकल दुर्घटनाका छन् । सवारी दुर्घटनाबाट पैदल यात्रीले समेत अनाहकमा ज्यान गुमाइरहेका छन् । बाइसाइकल दुर्घटनाले १२ प्रतिशत, बस र तीनपांग्रे टेम्पोले ४–४ प्रतिशत, कार र ट्रकले ३–३ प्रतिशत, अरू सवारीले १ प्रतिशत र पैदल यात्री ५ प्रतिशत मृत्यु वा घाइते भएका छन् । १५ देखि २४ वर्ष उमेर समूहका प्रति १ लाख जनसंख्यामध्ये १ हजार ६ सय ५९ जनाको सडक दुर्घटनामा मृत्यु वा घाइते हुने गरेको छ ।
सर्वसाधारण सवारी दुर्घटनामा घाइते भएकाले जीवनभर अपांगता र अशक्तता खेप्न बाध्य छन् । देशैभर असुरक्षित सडक सञ्जालले गर्दा दुर्घटना भइरहेको र बढिरहेको यातायात विज्ञहरुको भनाई छ । ‘देशभर करिब एक लाख किलोमिटर सडक सञ्जाल छ, केही हदसम्म इन्जिनियरिङ प्रयोग गरेर बनाइएका २५ प्रतिशत मात्रै छन्, बाँकी अरू गाउँ जोड्न बनाइएका छन्,’ उनी भन्छन्, ‘सडक विभागबाहेक अरूले बनाएका त निकै असुरक्षित छन् । सडक प्रयोगकर्ताको लापरबाही, ट्राफिक नियम उल्लंघन, दक्षता नभएका चालक, मादक पदार्थ सेवन र ओभरटेकले दुर्घटनामा परेर मानिसले ज्यान गुमाइरहेका छन् ।
छिमेकी देश भारतको दिल्ली सरकारले सडक दुर्घटनामा हुने मृत्यु कम गर्न सन् २०१९ अक्टोबरदेखि ‘फरिस्ते दिल्ली के’ अभियान नै सुरु गरेको छ । अभियानको मुख्य लक्ष्य सडक दुर्घटनाका घाइतेलाई आपत्कालीन उपचारका लागि जतिसक्दो चाँडो अस्पताल पुर्याउनु हो । दिल्ली प्रदेश सरकारका अनुसार उक्त अभियान लागू भएपछिको करिब तीन वर्षमा १३ हजारभन्दा बढीको ज्यान जोगिएको छ । नेपालमा पनि विज्ञले यस्तै सुझाव दिइरहँदा सरकार भने चुपचाप छ ।
सडक दुर्घटना रोक्न सडकका खाल्डाखुल्डी पुर्नुपर्ने, पुराना गाडीको कन्डिसन जाँच गरेर मात्रै चलाउनुपर्ने, सडक प्रयोगकर्ता र गाडी व्यवसायी ट्राफिकमैत्री तथा सहयोगी हुनुपर्ने विज्ञहरु बताउँछन् । ‘ट्राफिक प्रहरीले सडक सुरक्षा व्यापक रूपमा गरेकै छ, चालकहरूले ट्राफिक नियम के छन्,’ ‘सडक, यातायात, स्थानीय तह, प्रहरीबीचको समन्वयलाई प्रभावकारी हुनुपर्छ ताकि धनजनको क्षति नहोस् र सवारी आवागमन सुरक्षित होस् ।’
Comments
अरु समाचार
-
गायिका अञ्जु गौतम र गायक सुशील भट्टराईको स्वरमा ‘सयपत्री माला’ सार्वजनिक
काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार नजिकिँदै गर्दा देउसी–भैलोको मौलिकता र सांस्कृतिक रौनक बोकेको नयाँ गीत ‘सयपत्री माला’ सार्वजनिक...
-
रास्वपाले भनेको राजनीतिमुक्त न्यायालय यही हो ?
काठमाडाैं । अघिल्लो वर्षको भदौ २३ र २४ गते किन जेनजी आन्दोलन भयो ? जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई १८२...
-
‘कुवाको पानी बाल्टिले तानी’ गीतले बटुल्दै दर्शक–श्रोताको माया
काठमाडौं। नेपाली लोकगीत सङ्गीतको क्षेत्रमा मौलिक शब्द र सिर्जनामार्फत आफ्नो पहिचान स्थापित गर्दै आउनुभएका गीतकार सरोज खड्का ‘निर्दोष’ को पछिल्लो...
-
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै
काठमाडौँ । नवरात्रको तेस्रो दिन मङ्गलबार दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ...
-
‘निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश पनि आउँदैन’
काठमाडौं। निजामती कर्मचारीसम्बन्धी अध्यादेश आउन सक्ने आशंकाका कारण कर्मचारीहरूले राजीनामा दिने क्रम बढिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा...
-
चाडपर्व नजिकिएसँगै काठमाडौँमा ट्राफिक प्रहरीको बढ्यो सक्रियता
काठमाडौँ। दसैँ, तिहारलगायतका प्रमुख चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सक्रियता थप बढाएको छ । चाडपर्वका समयमा सवारीसाधनको चाप...
-
चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो
काठमाडौं । चिनियाँ नागरिकबाट बरामद भएको साढे २१ किलो सुन प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान...
-
प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन प्रविधिको सदुपयोग आवश्यक: प्रधानमन्त्री शाह
काठमाडौँ, असोज २६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन सूचना प्रविधिको प्रभावकारी सदुपयोग...












